सङ्गीतमा जिङ्गल पुस्ता

सङ्गीतमा जिङ्गल पुस्ता

असार ८, २०७८ 0 By शकुन्तला जोशी
शेयर गर्नुहोस्

चार वर्ष अघि अन्तरवार्ताका क्रममा गायक प्रेमध्वज प्रधानले भनेका थिए, ‘एउटा कालजयी गीत एकान्त गुफामा ध्यान गरेर निस्केको तपस्वीको आवाजजस्तै हुन्छ । जसले चीरकालसम्म मान्छेको हृदय झङकृत गर्छ । त्यसो हुनुमा सङ्गीत र स्वर जति शक्तिशाली हुन्छ, शब्दमा पनि सोही भावको गहिराइ हुनु आवश्यक छ ।’
कालजयी सङ्गीतको प्रसंगमा उनको मत थियो त्यो । आफैं तपस्वीजस्ता साधक प्रेमध्वज वर्तमान सङ्गीतको बजारसँग भने उति सन्तुष्ट थिएनन् । हल्ला–खल्लाको बोलवालामा साधकहरू हराइरहेजस्तो उनलाई बोध थियो । एक वर्ष चर्चित भएको गीत अर्को वर्ष विस्मृतिको गर्तमा किन हराउन थाल्छ ? उनी वर्तमान पुस्तासँगै प्रश्न गर्दै थिए । आफूहरूको समयमा गायक बन्नु वा सङ्गीतकार बन्नु आफैंसँग चुनौती उठाउनु ठान्थे । त्यतिबेला जीवन–यात्राको ८० वसन्तमा हिँडिरहेका उनी नयाँ एल्बमको तयारीमा थिए ।

प्रेमध्वज प्रधान


दुःखद कुरा, भर्खरै उनलाई हामीले गुमायौं । तर उनका गीत नाति पुस्ताले पनि गुन्गुनाइरहेका छन् । तर तिनै नाति पुस्ताका अधिकांश गीत भने किन मनको गहिराइमा नपसी सतह–सतहमै चिप्ली बगेको होला ! त्यो भेटमा उनले पुराना दिन सम्झिएका थिए, ‘हाम्रो पालामा जीवन नै शान्त थियो, अहिलेजस्तो भागदौडको व्यवधान नि त थिएन । अहिले त हतार सबैलाई ।’
गायक कुवेर राई पनि प्रधानकै विचारमा सहमत हुन्छन् । अहिलेको पुस्तामा पनि साधना गर्ने नभएकै त हैनन् । तर, धेरै चाहिँ रातारात गायक बन्ने होडमा सस्तो लोकप्रियताको पछि दौडेका छन् भन्ने उनलाई लाग्छ । उनी भन्छन्, ‘त्यसरी हिँडे अलिकबेरमै थाकिन्छ, सङ्गीत त अमर आवाज हो, जो श्रष्टा मरेर गए पनि स्रोताहरूको मनमा गुञ्जिरहन्छ ।’
जसरी घुम्तीहरूमा नभेटिने गरी गइसके पनि प्रेमध्वजको आवाज हाम्रै ढुकुढुकीमा भेटिन्छ । फत्तेमान, नातिकाजी, अरुणा लामा, तारादेवी, मेलवादेवी, नारायणगोपाल, गोपाल योञ्जन हुन् वा झलकमान गन्धर्वहरू, आज पनि स्वरको दुनियाँमा अमर बनेर बाँचेका छन् । अग्रज पुस्ता अनुजहरूबाट यस्तै कालजयी गीत सिर्जना होस् भन्ने अपेक्षा गर्छन् ।

कुबेर राई

झुक्याउँछ प्रविधिले
अहिलेको समयमा प्रविधिविनाको जीवन कल्पनाभन्दा पनि टाढा छ । गीत–सङ्गीत पनि त्यसकै प्रवाहमा हेलिएको छ । यही कुराले सङ्गीतलाई कलाको उपजभन्दा पनि प्रविधिको उत्पादन बढी बनाइदिएको ठहर छ पुरानो पुस्ताको । कुवेर भन्छन्, ‘मेरो सङ्गीत यात्राको सुरुवातीकालमा गीतकार, सङ्गीतकार र गायक नै थोरै थिए । राम्रा गीत लेखिन्थे, त्यसमा उत्तिकै हृदय खर्चिएर सङ्गीत गरिन्थ्यो । उत्तिकै डुबेर गाइन्थ्यो । गाउँदा पनि लाइभ रेकर्डिङ हुन्थ्यो । त्यसैले जीवन्त अनुभूतिविना गीत तयार हुन सम्भव थिएन ।’
उनलाई त्यसबेलाको गीत रेकर्डिङको राम्रो सम्झना छ, २०४० सालतिरको कुरा, रेडियो नेपालमा सुक्मित गुरुङसँग उनले ‘नेपाली हो राष्ट्रको गौरव बढाइदेऊ’ बोलको राष्ट्रिय गीत रेकर्डिङ गर्नु थियो । गायक, सङ्गीतकारले एकैतालमा तयार हुनु पथ्र्यो । कतै सुरतालमा गडबड नहोस् भनी उनी बढी नै सचेत थिए । उनीहरू सबै रेडियो नेपालको स्टुडियोमा जम्मा भए । ‘प्रकाश गुरुङले अघिल्लो दिन नै रिदम सेटिङ गरिदिनु भएको थियो । मदन परियारले पियानो बजाउनु भएथ्यो, रेकर्डिङको पिस उहाँले नै तयार पार्नुभएको थियो । राजु अग्रवाललगायतका बाद्यवादकले ढोलक र तबला बजाउनु भयो । गीतमा सङ्गीत मानसिंह थुलुङले दिनु भएको थियो, उहाँले मेन्डोलिन बजाउनुभयो । यसरी एकर्काको अनुहारको भाव पढ्दै र सङ्गीतको लय पछ्याउँदै गीत रेकर्ड भयो’, उनले सम्झे । त्यसैबेला गीत रेडियोबाट गुञ्जियो । त्यतिबेला एउटा गीत गाएवापत रेडियो नेपालबाट २० रुपैयाँको चेक पाइथ्यो । थापाथलीस्थित नेपाल राष्ट्र बैंकमा चेक साटेर राम भण्डार आएर चिया पियौं ।
अहिले समय फेरिएको छ । गीत लेख्ने, सङ्गीत गर्ने र गाउनेबीच भेटघाटै नभई गीत बजारमा पुगिसक्छ । त्यसैले गीतमा भावनात्मक गहनता कमजोर हुनु स्वाभाविक भएको उनको बुझाइ छ । यद्यपि त्यसबेला सिंगै टोली सँगै जुट्नुको अप्ठ्यारा पनि आफ्नै ठाउँमा थिए । तसर्थ प्रविधिले बनाइदिएको सहजतालाई पनि उनी सकारात्मक मान्छन् । हालै उनले अन्जना गुरुङसँग गीत गाए । त्यो रेडियो नेपाल थिएन, व्यावसायिक रेकर्डिङ स्टुडियो थियो । उनी पुग्दा न त्यहाँ गायिका थिइन्, न सङ्गीत गर्नेको टोली । प्राविधिकहरूसँग बसेर उनको आफ्नो गाउनु पर्ने भाग रेकर्ड गराए र फर्किए । अन्जनाको स्वर कहिले रेकर्ड भयो ? सङ्गीत कहिले रेकर्ड भयो पनि उनले थाहा पाएनन् । अन्जनासँग अहिलेसम्म उनको प्रत्यक्ष भेटै भएको छैन, तर रेकर्ड भएर आउँदा गीतसँगै बसेर गाएजस्तो सुनियो । तर त्यो गायनमा हुनु पर्ने आत्मीयता चाहिँ बोध गर्न पाएनन् ।

कृष्णहरि बराल

पुराना पुस्तादेखि नयाँ पुस्ताका गायक सङ्गीतकारसम्मका लागि गीत लेखेका कृष्णहरि बराललाई पनि त्यस्तै लाग्छ । ‘अहिले प्रविधि यस्तो आयो कि बेसुरा गाएपनि मिलाएर राम्रै सुनिने बनाउन मिल्छ । धेरै दिन लगाएर रेकर्ड गर्न सकिन्छ । तर स्रोताले गीतमा भरिएको स्वरको मौलिकता कहाँनेर थियो भन्ने चाहिँ मेसो नपाउने अवस्था हुन थाल्यो ।’ प्रविधिको यो पहिरोले धेरै गीतकार, सङ्गीतकार र गायक बनाएको उनले देखेका छन् ।

मापदण्डको माग
कुनै पनि सिर्जना आफैंमा राम्रो वा नराम्रो भन्ने हुँदैन । त्यसो हुनका लागि केही न केही मानक हुनुपर्छ । यस्तो मानकको अभाव नेपाली गीत सङ्गीत क्षेत्रले बेहोरिरहेको छ । गीतकार बराल भन्छन्, ‘अहिले राम्रो–नराम्रो छुट्याउने प्रावधान नहुँदा जस्तासुकै गीत पनि बजारमा आए । सञ्चार माध्यमले पनि व्यावसायिकताको नाममा लहडमा आएका गीतलाई पनि उत्तिकै ठाउँ दिइरहेका छन् । तर, पैसा खर्च गर्न नसकेकै कारण कोही राम्रो गायक पछि पर्ने अवस्था पनि छ । यसले गर्दा आम स्रोतामा अहिलेका गीत राम्रा छैनन् भन्ने छाप परेको हो ।’
उनका अनुसार पहिलेका पुस्ताका पनि कतिपय गीत कमजोर थिए । सबै एकै तहका राम्रामात्र थिएनन् । अहिले पनि राम्रा गीत प्रशस्तै छन् । कमजोरको बाहुल्यका कारण भ्रम पैदा भइरहेकाले निश्चित मापदण्ड बन्नुपर्नेमा उनको जोड छ ।

रामकृष्ण ढकाल


गायक ढकालको जोड पनि यसैमा छ । सिनेमा सेन्सर भएर आउँछ भने सङ्गीतमा पनि मापदण्डको आवश्यकता रहेकोमा उनी जोड दिन्छन् । भन्छन्, ‘जो कोहीले आफ्नो सोख पूरा गर्ने अधिकार छ, तर समग्र क्षेत्रलाई नै कमजोर पार्ने गरी लहडका भरमा यसमा बाढी भएर ओइरिनु त्यति राम्रो होइन । आजको पुस्ताले कालजयी हुने गीतलाई जोगाउन सके मात्र आउने पुस्ताले पनि वर्तमान ट्रेन्डलाई पछ्याउने छन् ।’
त्यसो त सङ्गीतकार दीपक जंगम कालजयी गीत–सङ्गीतकै मापदण्ड स्पष्ट नभएको बताउँछन् । पछिल्लो समय यो क्षेत्रसँग सरोकारै नभएका मानिसले पनि यस्ता उपमाको जथाभावी प्रयोग गर्ने गरेकोमा उनको असन्तुष्टि छ । त्यसले ‘कालजयी’ शब्दकै दुरुपयोग भइरहेको उनको भनाइ छ । कालजयी गीत–सङ्गीतको एउटा आधार बनाइनुपर्नेमा उनको पनि जोड छ । भन्छन्, ‘एउटा पुस्ताका लागि गाइएको गीत अर्को पुस्तासम्मले रुचाए, गुन्गुनाए भने त्यसले समयलाई जितेको मान्न सकिन्छ । त्यो नै कालजयी गीत–सङ्गीत हो ।’

जिङ्गल पुस्ता
बजारले खोज्यो भनेर सस्तो कुरा बढी पस्किने लहरले गीत सङ्गीतलाई जिङ्गल बनाइदिने डर लाग्छ कुवेर राईलाई । बजारको कुनै सीमा छैन । राईले एउटा भेटमा गीतकार चेतन कार्कीसँग सोधेका थिए, ‘दाई तपाईको गीत किन हुनु पर्ने जति चर्चित भएन ?’ कार्कीले भनेका भनेका थिए, ‘ए भाइ ! बज्न दिनुपर्छ गीतहरूलाई आफ्नै समयमा । सधैँभरी सुन्यो भने त प्यान्थरको जिङ्गल पनि मिठो सुनिन्छ नि हैन ?’ उनलाई लाग्छ, कार्कीले भनेजस्तो गीत जीवनजस्तो हुनुपर्छ सरल तर गहिरो भाव दिने, जिङ्गल भइदियो भने त्यसको आयु र अर्थ दुवै छोटिन्छ ।
नयाँ पुस्ता जिङ्गलको युगमा छ, साधकहरू हुँदै नभएका होइनन् । तर बाढीको रूपमा आएकाहरूलाई एक वर्ष साधना गर्ने धैर्य छैन । त्यो वर्गले पाउने स्रोता पनि त्यस्तै हुन्छ । बाढीले हाम्रो सङ्गीतको मौलिकतालाई बगाएर कता–कता पुर्‍याइसक्यो ।

झुमा लिम्बू


नेपाली गीत–सङ्गीतमा जिङ्गल पुस्ता भएकोमा गायिका झुमा पनि सहमत छिन् । उनी भन्छिन्, ‘यस क्षेत्रमा हैन सारा दुनियाँ नै जीवन र जगतलाई जिङ्गलमा खुम्च्याएर जिउने हतार गर्छ त विचराहरू के गरोस् !’ यात्रामा छुटिहालिएला भन्ने डरले, जीविकोपार्जनको बाध्यताले यस क्षेत्रमा पनि जिङ्गल पुस्ता हुर्किदो छ । तर, साधक र त्यो पुस्ता आफैं छुट्टिदै जान्छ भन्नेमा उनी विश्वस्त छिन् । प्रविधिमा सहज पहुँचका कारण पनि यसो भएको उनलाई लाग्छ ।
पचासको दशकअघिसम्म गीत–सङ्गीतका लागि रेडियो नेपाल नै एउटा बलियो आधार थियो । तर त्यहाँ स्वर परीक्षा पास नगरी गीत रेकर्ड गर्न पाइँदैनथ्यो । तर एफएम रेडियोको विस्तारसँगै सञ्चारको संसार फराकिलो भयो । त्यसैले स्वर–परीक्षाको मापदण्ड पनि कमजोर भयो ।
‘अहिलेका गायकलाई स्वर परीक्षा लिने हो भने कति जना पास होलान् ?’, गीतकार बराल प्रश्न गर्छन् र उत्तर पनि दिन्छन्, ‘तर पनि सबै कमजोर नै छन् भन्ने होइन । राम्रो पनि आइरहेका छन् ।’ उनी पछिल्लो पुस्तामा रामकृष्ण ढकाल, अन्जु पन्तलगायतको स्वर कालजयी हुनेमा विश्वास गर्छन् ।

दीपक जंगम

गीतमा हराउँदै साहित्य
गीतमा शब्द र सङ्गीतको सम्बन्धलाई नङमासुको उपमा दिन्छन् सङ्गीतकार दीपक जंगम । आजको सङ्गीतमा शब्ददेखि नै कमजोरी सुरु भएको उनको ठहर छ । ‘हिजोका गीतमा साहित्यिक मूल्य हुन्थ्यो । जीवनसँगको मेल खोजिन्थ्यो र बिम्बमा अभिव्यक्त गरिन्थ्यो । तर अहिलेको धेरैजसो गीतका शब्द टुक्का मिलाएजस्ता लाग्छन्’, उनले भने l
गीतकार दिनेश अधिकारीको मत पनि उस्तै छ । ‘साहित्यसँग सङ्गीतको अन्योन्याश्रित सम्बन्ध हुनुपर्ने हो । यस्तो विचार हिजोका अग्रज सङ्गीत स्रष्टाले राख्नुभएको छ । तर, आजको सङ्गीत बिस्तारै साहित्यबाट टाढिँदै गएको देखिन्छ ।’

दिनेश अधिकारी


त्यसो भनेर अहिलेको सङ्गीत कमजोर छ भन्नेमा चाहिँ उनी पनि सहमत छैनन् । ‘अहिले संख्यात्मक उत्पादन धेरै छ । धेरैमा थोरै मात्र सुन्दर छन् । थोरै भएपनि सङ्गीतलाई साधना नै मानेर लागि परेकाहरूले नै कालजयी सङ्गीतको यात्रालाई अगाडि बढाइरहेका छन् ।’ त्यसो त सङ्गीतको कालजयीपन मापन गर्न केही समय पर्खनुपर्नेमा पनि उनी जोड दिन्छन् ।
एक दशकदेखि लोक सङ्गीतमाथि खोज–अनुसन्धान गर्दै आएकी गायिका झुमा लिम्बू पनि गम्भीर भावार्थ भएको गीत छनोट गर्छिन् । आवाजले मात्र नभई शब्द र सङ्गीत पनि उही गहिराई बोक्ने भएमात्र गीत जीवन्त हुनेमा उनी विश्वास गर्छिन् ।
गायिका अन्जु पन्त पनि शब्दको गहनताले गीत–सङ्गीतलाई लामो उमेर दिने कुरामा विश्वास गर्छिन् । भन्छिन्, ‘मानिसको जीवनमा मेल खाने कयौं गीतहरू आज पनि बजिरहेका छन् । जुन पक्कै कालजयी बन्ने छ । हिजो भन्दा आज प्रविधिका कारण गीतलाई बाहिर ल्याउन धेरै सहज छ ।’

अन्जु पन्त

साधनाको अभाव
‘हिजो एउटा गीतका लागि लामो समय साधना हुन्थ्यो । हामीले पनि त्यसरी नै गाउँदै आएका हौं,’ गायक ढकाल भन्छन्, ‘तर, अहिले ताल, सुर के हो थाहै नभएकाहरू गायक भनेर चिनिने समय आएको छ । योचाहिँ सङ्गीत क्षेत्रको विडम्बना हो ।’
पुराना पुस्ताका अधिकांश सर्जकको गुनासो नयाँ पुस्ता प्रविधिमा निर्भर बढी हुने तर साधनामा कमजोर हुने गरेकोमा छ । तर नयाँ पुस्ता भने समयको आवाजलाई सुन्न आफूहरू बाध्य भएको बताउँछन् । ढकाल भन्छन्, ‘अहिलेको युगमा गीतमा आवाजसँगै स्टेज पर्फमेन्स पनि आवश्यक भइसक्यो । स्टेजमा स्लो भन्दा फास्ट गीत चाहिन्छ । त्यसैले दर्शकलाई पनि गीत–सङ्गीत मनोरञ्जनमात्रै दिन्छ भन्ने एकप्रकारको भ्रम तय भएको छ ।’ यस्तो भ्रमले आनन्द अनुभूति दिने कालजयी गीत–सङ्गीत सिर्जनाको वातावरण कमजोर बनाउने उनको ठहर छ ।
तर गायिका झुमा लिम्बूको मत अलिक फरक छ । बाढी र हुलमुलमा जस्ता पनि आउँछन् । यो डिजिटल जमानाका मान्छेलाई जतिबेला पनि हतार छ । अहिलेका स्रोता पनि त्यस्तै, १३/१४ मिनेटको ट्य्राक सुन्न कहाँ फुर्सद छ र ! जमानाअनुसार छिटै हाइलाइट हुने, नाम र दाम कमाउने बाटो खोजी गर्नु स्वाभाविक हो । तर साधना गरेरै अघि बढ्न रुचाउनेहरू पनि कम छैनन् । उनको विचारमा सामाजिक सञ्जालको प्रभावले त्यस्तो देखिएको छ । भन्छिन्, ‘बाढी जसरी आउनेहरू सामाजिक सञ्जालमा देखिन्छन् । हल्ला गर्छन् । तर साधकहरू त्यता देखिँदैनन् ।’

बबिना किराँती

नयाँलाई चुनौती
प्रविधिको सुगमताले नयाँ पुस्तालाई यस क्षेत्रमा आउन त सहज भएको छ । तर साधनाको अभाव र भागदौडको समयले कालजयी गीत–सङ्गीत निर्माणमा भने चुनौती छ ।
सङ्गीत साधना गर्दै गरेकी पछिल्लो पुस्ताकी गायिका बबिना किराँती अरुणा लामाका कालजयी गीतबाट प्रभावित भएर गायनमा प्रवेश गरेकी हुन् । तर यो क्षेत्रमा स्थापित हुन सोचेजस्तो सजिलो रहनेछ, उनी भन्छिन्, ‘यति चर्को प्रतिस्पर्धा छ कि यो भीडमा पहिचान बनाउन हम्मे पर्ने रहेछ । तर निरन्तर लाग्यो भने भोलिसम्म सम्झिरहने गीत गाउन कसो नसकिएला ?’ नयाँ पुस्तामा पनि प्रतिबद्धता र आशा भने छ नै ।


प्रविधिको सहारामा रहरले आएकाहरूको भीड देखिने हुँदा साधनाले खारिन तयार हुनेहरूलाई पहिचान बनाउन निकै गाह्रो छ । तर, साधनामा विश्वास गर्नेहरूलाई भने गाह्रो नभएको गायक रामकृष्ण ढकालको ठहर छ । तथापि प्रतिस्पर्धा भने चुलिएको छ । दिनमै अनेकौं गीत सार्वजनिक भइरहेको हुन्छ । गायक प्रधानले भनेका थिए, ‘काठमाडौंमा भएका लगभग ६० ओटा जति रेकर्डिङ स्टुडियो सधैं हाउसफूल हुन्छन् । टेलिभिजन, रेडियोमा दिनमा कयौं नयाँ गीत बज्छन् । बजारमा यति धेरै नयाँ गायक, सङ्गीतकार जन्मिरहेका छन्, तिनलाई सम्झिन स्रोतालाई गाहै्र पर्छ ।’
यसैबीच पनि कालजयी गीत–सङ्गीतका लागि नयाँ पुस्ता साधना गरिरहेकोमा विश्वास दिलाउन चाहन्छिन् अन्जु पन्त । उनी भन्छिन्, ‘प्रतिस्पर्धा यति चर्को छ कि सङ्गीतमै आफ्नो पहिचान स्थापित गर्न निकै नै साधना गर्नु पर्छ । जसले सक्दैन ऊ बजारबाट बाहिरिन्छ । साधनामा अब्बल हुनेहरूले उत्कृष्ट गीत गाउँछन् नै, त्यस्ता गीत कालजयी हुन्छ । त्यसैले अहिले अवसर र चुनौती दुवै बढी छ ।’
܀܀܀