साहित्यकारका नामको कथा

साहित्यकारका नामको कथा

असार २७, २०७८ 0 By कला अनुरागी
शेयर गर्नुहोस्

नेपालको राष्ट्रिय गानका लेखक को हुन् ? यो प्रश्नको सहज जवाफ आउँछ– व्याकुल माइला । उनको वास्तविक नाम हो– प्रदिप राई । तर यो नामले उनलाई चिन्ने कमै छन् ।

त्यस्तै ०४८ सालको मदन पुरस्कार प्राप्त गर्ने कृति पागल बस्तीका लेखक भक्त श्रेष्ठ हुन् भन्यो भने कसले चिन्नु ? सरुभक्तलाई पो चिनिन्छ ।

नेपाली साहित्यमा उपनाममा लेख्ने साहित्यकार निकै छन्, पाठकलाई वास्तविक नाम थाहा नहुन पनि सक्छ । त्यसैमध्येका हुन् राष्ट्रिय गीतका रचनाकार व्याकुल माइला र लेखक सरुभक्त । साहित्यकारका उपनामको आ–आफ्नै कथा छन् ।

व्याकुल माइला

व्याकुल माइलाले यो नाम ०४७ सालबाट प्रयोग गर्न थालेका हुन् । प्रदीप राई एसएलसी पास गरेर भर्खर–भर्खर काठमाडौं आएका थिए । गाउँमा बस्दा युवा समूहको नेतृत्व गरेर बहुदलीय प्रजातन्त्रको पक्षमा सभागोष्ठीमा सक्रिय हुन्थे । यता आएपछि ती प्रिय साथी पनि छुटे, त्यस्ता सभागोष्ठी पनि छुटे ।

सभागोष्ठीमा अभिव्यक्त गर्ने विचारलाई त उनले कवितामा अभिव्यक्त गर्न थाले तर साथीसंगीको सम्झनाले व्याकुल बनाउन थाल्यो । उनी भन्छन्, ‘एकातिर आफूलाई कवितामा अभिव्यक्त गर्न थालेपछि फरक पहिचानसहित प्रस्तुत गर्नुपर्छ भन्ने सोचले मनमा घर गर्न थाल्यो । अर्कातिर भावविभोर बन्ने र कवितामा अभिव्यक्त हुने दिनचर्या बन्न थाल्यो । परिस्थिति, मनोदशा र फरक पहिचानको सोचका कारण मैले व्याकुल नाम राखेँ ।’

तर उनलाई व्याकुल नामले मात्रै चित्त बुझेन । त्यसैले अर्को शब्दको खोजी गरे । त्यसमा पनि पहिचानकै खोजीले काम ग-यो । उनका दुई आमा । उनी कान्छीका छोरा । तर दुवैतर्फका दाजुभाइका उमेरको हिसाबले माइला थिए, घरमा चाहिँ कान्छा भन्थे । उनलाई लाग्यो– माइला भन्ने पहिचान त हराउँदैछ ।

त्यसैले उनले आफ्नो नामाकरण गरे व्याकुल माइला । उनका कविता त्यही नाममा छापिन थाले । अहिले राष्ट्रिय गानको रचनाकारका रूपमा व्याकुल माइला नै प्रख्यात छन् ।
तर साहित्यकार सरुभक्त भने आफ्नो नामको पूर्णकथा गोप्य नै राख्न चाहन्छन् ।

सरुभक्त

उनी भन्छन्, ‘मेरो नामका बिषयमा धेरैले सोधेका छन् । तर यो नामसँग जोडिएका व्यक्तिगत बिषयलाई मैले सार्वजनिक गर्ने गरेको छैन । यो नाममा मेरो आत्मकथा जोडिएको छ । त्यसैले त्यो आत्मकथामा नै सार्वज्निक गर्नेछु ।’ उनले त्यसो भने पनिे नामबारे केही प्रसंग भने सञ्चारमाध्यममा आइसकेको छ । त्यसमा सत्यता कति छ, त्यो त उनले नै जान्ने कुरा हो ।

तर सरू नामकी प्रेमिका र आफ्नो नाम जोडेर उनले पुरानो नाम भक्तलाई सरुभक्त बनाएका हुन् भन्ने कथा साहित्यिक वृत्तले सुनेकै छ । ०१२ सालमा जन्मिएका सरुभक्त अविवाहित रहेर सरुप्रतिको समर्पण प्रमाणित गरिरहेका छन् ।

उनले ०३५ मा प्रकाशित आफ्नो पहिलो कृति बन्द खामभित्र मुक्तक संग्रहबाटै यो नामको प्रयोग थालेका हुन् ।
साहित्यकार श्यामललाई पनि हरिहर अधिकारी भनेर चिन्ने पाठक कमै छन् ।

श्यामल

नेपाली कवितामा आफ्नै मानक बनाइसकेका उनले भने नामबाटै आफ्नो फरक पहिचान दिन श्यामल नाम राखेका हुन् । किनकि हरिहर अधिकारी नाम गरेका धेरै व्यक्ति थिए । तर उनको पहिलो उपनाम भने यो होइन । उपयुक्त नामको खोजीमा आफूले पचासौं नाम राखेको उनी बताउँछन् ।

त्यसमध्ये कति त उनले पनि बिर्सिए भने कति अझै सम्झनामा छन् । हरिश दिकपाल, हरिहर विरही र नक्षत्र शर्मालगायतका नाम भने उनी सम्झन्छन् ।
उनी नामकै खोजीमा थिए । उनका साथी राजव । तीन अक्षरको त्यो नाम खुब मन परेको थियो उनलाई । उनले बेला–बेला राजवलाई भन्थे पनि, ‘यस्तै तीन अक्षरको नाम राख्न पाए हुन्थ्यो ।’

एक दिन उनको मनमा श्यामल भन्ने शब्द आयो । त्यसको अर्थ लाग्छ– हल्का कालो वर्णको । उनलाई लाग्यो– म पनि पूर्ण गोरो होइन, गहुँगोरो अर्थात हल्का कालो वर्णकै छु ।

उनले यो नाम राजवलाई पनि सुनाए । उनले पनि त्यो नाम मन पराए । ०३९ सालतिरको कुरा हो यो । त्यसपछि उनले त्यही नाम साहित्य लेखनमा प्रयोग गरे । तर उनलाई आफ्नो पिताले राखेको नाम पनि उत्तिकै प्रिय लाग्छ ।

उनी भन्छन्, ‘हरिहर अधिकारी मेरो पिताजीले राखिदिएको नाम हो । यो नाम पनि मलाई उत्तिकै प्रिय छ । कार्यालय प्रयोजनमा यही नाम प्रयोगमा छ ।’
श्यामलका साथी राजवले भने आफ्नो परम्परागत नामप्रति असन्तुष्ट भएर उपनाम रोजेका हुन् । उनी भन्छन्, ‘म आफ्नो परम्पारिक नाम जनार्दन पुडासैनीबाट सन्तुष्ट थिइनँ ।

राजव

आफ्नो नाम नयाँ र अलग होस् भन्ने हुटहुटी मनमा चलिरहन्थ्यो । मलाई नामको पछि उपनाम झुण्ड्याउन पनि मन थिएन । म छुट्टै सग्लो नामबाट चिनिन चाहन्थेँ ।’ यही इच्छाकै कारण उनले नामको खोजीमा धेरै दिनरात बिताए । त्यही घनिभूत धुनपकडपछि सुझेको नाम हो – राजव ।

उनले यो नाम उनको कथा रोलरमा प्रयोग गरे । ०३२ साल कार्तिकमा प्रकाशित विदेह त्रैमासिकको कथा विशेषांकमा प्रकाशित कथा चर्चित बन्यो । त्यसले उनलाई नामप्रतिको मोह बढायो ।

त्यसपछि उनले आफ्नो नाम अझ छोट्याए र राजव सैनी बनाए । त्यो नाम नयाँ कथा ‘एलबमहरू’ मा प्रयोग गरे । त्यसपछि उनलाई ‘जाति जनाउने थर राख्नु पनि मजस्तो युवा लेखकलाई सुहाउने कुरो हैन’ भन्ने मार्क्सीय सर्वहारा ज्ञान प्राप्त भयो ।

त्यसपछि सैनीलाई समेत सप्रेम बिदा गरे र राजव बने । त्यो नाम उनले ‘छ मन धान’ कथामा प्रयोग गरे । जुन मधुपर्कमा छापियो । त्यसपछि उनी राजव नामले नै चिनिन थाले । उनको भनाइ छ, ‘नयाँ नाम राखेर साहित्यमा स्थापित हुने युवा जोस र उत्साहले नै मलाई नाम फेर्न प्रेरित ग-यो ।’

इस्माली

महेश्वर प्रसाद उपाध्याय नेपाली साहित्यमा इस्माली नामले परिचित छन् । उनको २०३१ सालमा महेश ‘गरीब’का नामबाट पहिलो कथा प्रकाशित भयो । जुनताका उनी कथा, कविता र पाठक प्रतिक्रिया बराबरजसो लेख्ने गर्दथे । वीरगञ्जको शिक्षाशास्त्र क्याम्पसमा पढ्ने उनको एक साथी पनि साहित्यिक रूचिका थिए ।

उनी सम्झन्छन्, ‘वैचारिक रूपमा ती साथी पञ्चायती व्यवस्थाका हिमायती रहेछन् । ‘पञ्चम पत्र’नामक पत्रिका पनि प्रकाशित गर्ने गर्दथे । त्यस पत्रिकामा एकाध रचना छापियो मेरो र ती साथीसँग सम्पर्क सम्वाद बढ्यो ।’

एक दिन तिनैले एउटा पत्रमा ‘गरीब’ उपनाम नराख्न सल्लाह दिँदै भने– आफ्नो स्थिति जे छ, छँदैछ, त्यसैले गरीब भनेर आफैंमा किन हीनताबोध पालिरहने ? तिनको कुरो उनलाई बेठिक त लागेन ।

तर भन्छन्, ‘म वास्तवमा गरीबै थिएँ र गरीब उपनाम धारण गरेको थिएँ ।’ त्यो सम्भवत २०३२ सालतिरको कुरो हो ।

तर उनले त्यही नामबाट नै लेखिरहे २०३५ सालसम्म । जसबेला उनी कीर्तिपुर बहुमुखी क्याम्पसमा शिक्षा स्नातकको छात्र बनिसकेका थिए र वाम विचारका साथीहरूको सङ्गतमा पुगेका थिए । अध्ययनका क्रममा कतिपय साहित्यकारले छद्म नाम वा उपनाम प्रयोग गर्ने गरेको थाहा पाए ।

अर्कातिर अभिव्यक्तिको स्वतन्त्रता पनि एक किसिमले प्रतिबन्धित नै थियो । त्यसैले उनको पूर्ण साहित्यिक नाम राख्ने सुर कसे । उनलाई आफ्नो औपचारिक नाम लामो लाग्थ्यो, त्यसैले छोटो नामको खोजीमा थिएँ ।

महेश ‘गरीब’सम्म त भइसकेका पनि थिए । तर उनलाई लाग्दै गयो– साँच्चै नाममा गरिबीको विज्ञापन झल्केजस्तो भयो । अनि महेश भनेपछिचाहिँ जातिसम्प्रदायको छनक देखिन्थ्यो ।

त्यसैले उनी जाति, धर्म र क्षेत्र निरपेक्ष नामको खोजीमा लागे । त्यसै क्रममा उनले आफ्नो एउटा कथाको पात्रको नाम लिए– एस्माली थियो ।

त्यसमा उनले एको ठाउँमा इ राखे– इस्माली बन्यो । इस्माली भन्दा जाति, धर्म र क्षेत्र बुझिदैनजस्तो लाग्यो । र, उनले ०३५ सालदेखि साहित्यिक लेखनमा इस्माली नाम धारण गरे ।

बैरागी काइँला

आयामेली कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाको खास नाम तिलविक्रम नेम्वाङ हो । उनले लहैलहैमै आफ्नो नाम फेरे । तर त्यसमा अरूभन्दा फरक देखिने रहर त छँदै थियो ।

सन् १९६१/६२ तिर उनले उपनाम राखेका हुन् । त्यतिबेला साहित्यकारले नाम फेर्ने फेसनजस्तै बनेको थियो । उनी भन्छन्, ‘साहित्यकारहरू पागल, आँसु, रसिकजस्ता नाम राख्थे । त्यसै सन्दर्भमा मैले बैरागी भन्ने नाम राखेँ ।’

दाजुभाइमा काइँला उनले नाममा पनि काइँला थपे । त्यही नाम अहिले सम्मानित कविको परिचय बनेको छ ।
साहित्यकार मेघराज शर्मा नेपाललाई भने उनका शिक्षक यदुकुमार कार्कीले मञ्जुल नाम दिए ।

मन्जुल

उनी सम्झन्छन्, ‘मैले निम्नमाध्यामिक तहमा पढ्दै कविता लेख्न थालेको हुँ । मेरो लेखनमा रुचि देखेर उहाँले नयाँ नाम राखिदिनुभयो । तर मलाई त्यसबेला त्यो नामको अर्थ थाहा थिएन । निकै पछिमात्रै थाहा पाएँ, नामको अर्थ सुन्दर रहेछ ।’

उनले केही समय त्यो नाम आफ्नो नामसँग जोडेर मेघराज मञ्जुल लेखे । तर पछि मञ्जुलमात्रै लेख्न थाले । जुन नाम अहिले उनको परिचयको लागि पूर्ण बनेको छ ।

प्रगतिवादी कवि पूर्णविरामको कवितामामात्रै होइन, नाममा पनि विद्रोह छ । उनले लर्ड म्याकलेको कारिन्दा बनाउने शिक्षा प्रणालीलाई पूर्णविराम लगाउनुपर्छ भन्ने विचारका साथ पूर्णविराम नाम राखेका हुन् ।

पूर्णविराम

०३६ सालमा बलराम शर्माबाट पूर्णविराम बनेका उनले यो नाम आफ्नो पहिलो कृति ‘आफन्त’ कथा संग्रहमा प्रयोग गरे । उनी नाम परिवर्तनलाई आफ्नो नाम आफैं राख्न पाउने अधिकारको सम्मान पनि मान्छन् ।

युवा लेखक भुपेन्द्रबहादुर खड्का भन्यो भने कसले पो चिन्ला र ? तर भूपिन नाम साहित्यप्रेमी युवाबीच लोकप्रिय छ । सानैमा कविता लेख्न सिपालु उनले ८ कक्षा पढ्नुअगावै आफ्नो नाम भूपिन परमार्थी राखिसकेका थिए ।

कक्षा आठमा कवि शिरोमणि लेखनाथ पौडेलरचित तरुणतपसी नव्यकाव्यको अंश ‘चरीको विलाप’मा प्रयुक्त व्याकुल शब्दले उनलाई निकै छोयो । त्यसपछि आफ्नो नाम नै भूपिन व्याकुल राखे ।

भुपेन्द्रबाट भूपिन बनाउनेचाहिँ उनलाई माया गर्नेहरू थिए । जसले उनलाई माया गरेर भूपिन भनेर बोलाउँथे ।
नाम फेर्नुको पछाडि यतिमात्रै कारण थिएन । उनी भन्छन्, ‘मैले खड्का मेटेर जातीय विभेदविरुद्धको सन्देश दिन खोजेको थिएँ ।

किनकि मैले सानैदेखि परिवार र समाजमा साना जाति भनिएकाहरूलाई गरिएको विभेद देखेको थिएँ । त्यो मलाई पटक्कै चित्त बुझेको थिएन ।’

भूपिन

अर्को कारण हो– स्कूलमा हुने हाजिरजवाफमा सोधिने प्रश्नमा सोधिने उपनाम हुने साहित्यकारको वास्तविक नाम । उनलाई पनि लाग्यो– यदि म पनि भोलि प्रसिद्ध भएँ भने यसरी मेरो पनि वास्तविक नाम सोधिएला ।

कविता संग्रह ‘हजार बर्षको निद्रा’सम्म उनी भूपिन व्याकुल नै थिए । तर निबन्ध संग्रह ‘चौबिस रिल’मा आइपुग्दा भने भूपिन बने । उनी भन्छन्, ‘मैले त्यतिबेलै पनि यो व्याकुल छोड्न खोजेको हुँ । तर त्यही नामले चिन्दै आएकाले जोखिम नमोल्न साथीहरूले सल्लाह दिए । त्यसैले फेरिनँ ।’

बिस्तारै उनलाई लाग्न थाल्यो– आफ्नै जीवन दर्शन नामसँग मिलेन । ‘म जीवनमा निराश बन्न चाहन्नँ । आशावादी बन्न चाहन्छु । आशावादी बन्ने क्रममा यथार्थवाद र आशावादको बीचतिर आइपुगेपछि मैले व्याकुल हटाएँ । यसले मलाई खासै जोखिम पनि भएन ।’

उनी कृतिमा भूपिनमात्रै नाम राखे पनि पाठकलाई दुवै नामले चिन्न पाउने स्वतन्त्रता रहेको बताउँछन् । उनले व्याकुल नाम हटाउनुको अर्को कारण पनि छ ।

व्याकुल नाम भएका कवि अरू पनि छन्– व्याकुल माइला र व्याकुल पाठक । उनले हाँस्दै भने, ‘मलाई लाग्यो– यो देशलाई दुईजना व्याकुल भए पुगिहाल्यो नि ।’ त्यसपछि उनी भूपिनमात्रै प्रयोग गर्दै आइरहेका छन् ।

घरपरिवारमा लक्ष्मी क्षेत्री भनेर चिनिने आख्यानकार अनुपम रोशीको उपन्यास ‘कुमारी आमा’ र ‘नाङ्गो मान्छे’ले नेपाली साहित्यमा छुट्टै बहस चलायो । त्यसपछिका कृतिमा पनि उनी फरक विषय उठाउनेमै गनिइन् ।

अनुपम रोशी

उनले आफ्नो नाम गुरुबाट पाएकी हुन् । उनी सानैदेखि कविता, निबन्ध लेख्ने । अरूभन्दा फरक प्रतिभा देखेका नेपाली पढाउने शिक्षक लक्ष्मीनाथ शर्माले उनलाई अनुपम भन्न थाले ।

उनी सम्झन्छिन्, ‘९/१० कक्षा पढ्ने बेला उहाँले मलाई तिमी अरूभन्दा फरक छ्यौ, त्यसैले तिम्रो नाम अनुपम भन्नुहुन्थ्यो । मलाई पनि त्यो नाम मन प-यो ।’ रोशी भन्ने शब्दचाहिँ युगकवि सिद्धिचरण श्रेष्ठको कविता मेरो प्यारो ओखलढुंगा’बाट लिएकी हुन् ।

‘मलाई अनुपममात्रै नाम अपूरोजस्तो लागिरहेको थियो । त्यसैले अर्को शब्द पनि खोजिरहेको थिएँ । त्यस क्रममा मैले त्यो कवितामा प्रयोग भएको मलाई मन पर्ने शब्द रोशी छनोट गरेँ ।’
यसरी साहित्यमा आफैंले चुनेको नाम राख्ने धेरै साहित्यकार छन् । जसको कथा श्रृङ्खला जोड्दै जान सकिन्छ । यो अंकमा यति नै ।
०००