जब नम्रता नाच्छिन्…

जब नम्रता नाच्छिन्…

कार्तिक २४, २०७४ 0 By कला अनुरागी
शेयर गर्नुहोस्

सिंहदरबार पूर्वीगेट सामुन्नेको हरियाली रेस्टुरेन्टको टेबुलमा थिइन् नम्रता केसी । लाजको लाली पोतिएको उनको सानो काँटको आर्यन अनुहार जति सुन्दर देखिएको थियो, त्योभन्दा सुन्दर सपना उनका आँखामा फैलिएका थिए । सपना भरिएका आँखा चिन्न खासै बेर लाग्दैन ।

उनको छेवैमा बसिन् तस्बिर कलाकार बिजु महर्जन, नम्रताकी संगी । नम्रतासँग पहिलोचोटि भेट्दै थिएँ । त्यसैले उनी र मबिच औपचारिकता ठिंग उभिइरहेको थियो । त्यसलाई लखेट्न बिजुले सहयोग गरिन् । बर्षौंअघि साल्सा नृत्यको कक्षामा भेटिएका यी दुई संगीको छोटै समयमा मित्रता जमेको रहेछ । ‘भेटघाट वा खानपानले नजिकिएको थिएनौं हामी । मनैमन नजिकियौं, आत्मीय भयौं’, नम्रताबारे बिजुले भनिसकेकी थिइन् ।

दुवैको केही साझा अनुभव पनि थिए । एसएलसीपछि नर्सिङ पढ्ने सपना असफल भएपछि दुवैजना मानविकीको कक्षामा भर्ना भएका रहेछन् । पद्मकन्या कलेजमा ऐच्छिक विषयमा नृत्यको छनोटसँगै नम्रताको सपना झ्याङ्गिएको थियो । गफिँदै जाँदा उनले आफ्नो सपना–यात्राबारे बताइन् ।
०००

सर्लाही, परवानीपुरमा जन्मिएकी नम्रतालाई थाहै छैन कहिलेदेखि उनले नृत्य गर्न थालिन् । ‘तिमी त एक एक वर्ष नहुँदै गीत बज्यो कि नाच्न थालिहाल्थ्यौ’, आमाले भनेको सुनेर उनी अहिले पनि लजाउँछिन् । त्यही लजालु स्वाभावले उनको नृत्य प्रतिभा विद्यालय जीवनमा भने देखिन पाएन ।

‘कक्षा ८ मा हुँदा एउटा प्रतियोगितामा भाग लिएकी थिएँ । त्यत्ति हो । अघिपछि गीत बजाउँदै लुकेर नै नाच्ने हो’, उनले सम्झिन् ।

उनी छ कक्षादेखि एसएलसी परीक्षा दिँदासम्म मामाघर हरिऔनमा बसेर पढिन् । मामाघरमा भएकाले रेखदेख अलि कडै थियो । त्यसैले त्यति धेरै सांस्कृतिक कार्यक्रम वा जात्रामात्रामा नाचिहिँड्ने अवसर पनि मिले उनलाई ।

एसएलसी पास गरेपछि पहिलो सपनाचाहिँ नर्स बन्ने नै थियो उनको पनि । नर्सिङ पढ्न काठमाडौं आएर वीर अस्पतालमा ‘ट्राई’ पनि गरिन् । तर नाम निस्केन । त्यसपछि पद्य्मकन्या कलेज पढ्ने निर्णयमा पुगिन् । त्यहाँ मानविकी संकायमा अंग्रेजी साहित्यका साथमा नृत्य पनि पढ्न छोरीको प्रतिभा चिनेका बुबाले सुझाव दिए । त्यही सुझाव पछ्याउँदै उनले स्नातकसम्म नृत्य पढिन् ।
०००

नम्रताको नृत्य मुद्रा

कलेजमा नृत्य पढ्न थालेपछि नम्रता आफैंलाई पनि बोध भयो कि म नृत्य गर्न सक्छु । नृत्यका हरेक व्यावहारिक अभ्यास उनलाई अरू साथीको तुलनामा छिटै याद हुन्थ्यो । त्यसपछि बल्ल उनी आफ्नो नृत्यप्रति सचेत भइन् । ‘त्यसअघिसम्म नृत्यलाई आफ्नो जीवनशैली नै बनाउँछु भन्ने थिएन । नृत्य गर्न मन पथ्र्यो, मन पर्ने कुरा मन परि नै रहोस्मात्रै भन्ने ठान्थेँ’, उनले भनिन् ।

तर उनको प्रतिभाको सुवास फैलिँदै गयो । प्रवीणता प्रमाणपत्र तह पढ्दा–पढ्दै शिक्षकले दुई महिनाको लागि मेरिडियन स्कुलमा नृत्य सिकाउन पठाइदिए । मेरिडियन स्कुलले उनलाई छोडेन । त्यहीँ काम गर्न अनुरोध गरे । ‘त्यतिबेला म सानै थिएँ, भर्खर १७ बर्षकी । मलाई बिदा चाहिएको बेला रोइदिन्थेँ । प्रिन्सिपलले बिदा दिनुहुन्थ्यो’, उनले हाँस्दै सुनाइन् ।

त्यसपछि उनले अरू स्कूलमा पनि पढाइन् । ‘छमछमी’ भन्ने टेलिभिजन नृत्य प्रतियोगितामा पनि भाग लिइन् । कलेजमा बाहेक अन्यत्र पनि नृत्यका विभिन्न ‘फर्म’ सिकिन् । स्नातकमा भने उनले कत्थक नृत्य छनोट गरिन् ।

कत्थक छनोट गर्नुमा चाहिँ उनको स्वाभावको प्रभाव पनि छ । उनी सानैदेखि कथा भनेपछि हुरुक्कै हुन्थिन् । हजुरआमा र हजुरबुबासँग बितेको उनको बाल्यकालमा धेरै कथा सुनेकी थिइन् । एक गाँस खाना खाना पनि कथा चाहिन्थ्यो उनलाई । त्यसैले नृत्यमार्फत कथा भन्ने भारतीय शाश्त्रीय नृत्य कत्थक उनको रोजाइमा पर्यो ।

कत्थक नृत्यमा पहिले त धार्मिक कथाहरू प्रस्तुत गरिन्थ्यो । अहिले भने सामाजिक कथालाई पनि प्रस्तुत गरिन्छ । त्यसैले यसको आयाम विस्तार भइरहेको छ । तबला, मृदंगतगायतको बाद्य र घुंघरुको तालमा विभिन्न कथा नृत्यमार्फत अभिव्यक्त गर्दा नम्रतालाई खुब आनन्द आउँछ ।
०००

नेपालमा स्नातक गरेपछि नम्रता नृत्यमा स्नातकोत्तरका लागि भारतको लखनउ पुगिन् । उनले डा. आकांक्षा श्रीवास्तवको निर्देशनमा स्नातकोत्तर सकेकी छिन् । त्यहाँबाट सिकेर आएको कुरालाई यहाँ प्रसार गरिहालूँ भन्ने भावना उनको मनमा जाग्यो । त्यसैले  सर्वनाम थिएटर, कालिकास्थानमा एक महिना कत्थक नृत्यको कार्यशाला गरिन्गर्दैछिन् । जसलाई उनले आफ्नो गुरुको सम्मानमा ‘कत्थकांक्षा’ नाम दिएकी थिइन् । एक महिने वर्कशपपछि त्यहाँका विद्यार्थी र आफ्नो प्रस्तुतिको कार्यक्रमसमेत गरिन् ।

त्यसो त उनले भारत पढ्न जानुअघि नै कलाकार नाजिर हुसेनसँग मिलेर नृत्य नाटक ‘स्वान लेग’ पनि निर्देशन गरेकी थिइन् । जापानिज लोककथामा आधारित नृत्य नाटक हेर्ने दर्शकबाट राम्रो प्रतिक्रिया पनि पाएकी थिइन् । त्यसअघि नाटक ‘सुनकेशरी’को कोरस भूमिका गर्दा उनको नाजिरसँग भेट भएको थियो । त्यसैबेला नृत्य नाटकको योजना बनेको थियो ।

उनले सरुभक्तको गीतिकाव्य  ‘ज्यानमाया’ लाई नाट्य रुपान्तरण गरेर मण्डला नाटकघरमा मञ्चन गरिन् । जसले राम्रो प्रशंसा र दर्शक पायो ।
०००

नम्रताले भारतमा नृत्यजस्ता कलाको निकै सम्मान भएको अनुभूति बटुलेर आएकी छिन् । त्यहाँ राज्यले नै कला क्षेत्रमा लाग्ने प्रतिभालाई प्रोत्साहन गर्ने गरेको देख्दा उनलाई खुसी लाग्यो । उनी चाहन्छिन्, नेपालमा पनि त्यस्तै होस् । आफूले जस्तो बाहिर गएर सिक्न वा पढ्न नपरोस् । नेपालकै कलेज वा अन्य इन्टिच्युटले यस्तो व्यवस्था गरुन् भन्ने उनको चाहना छ । अहिले कलेजस्तरमा स्नातकसम्ममात्रै नृत्य अध्यापन गर्ने गरिएको छ । त्यसपछिको अध्ययनको लागि विदेश धाउनुको विकल्प छैन ।

नम्रतालाई लाग्छ– हरेक मान्छेले नृत्य गर्छ । विशेष गरी खुसी भयो भने उसले कुनै न कुनै रूपमा नृत्य गर्छ । ‘यो अभिव्यक्तिको एउटा तरिका हो । त्यो तरिकालाई अरूले हेर्दा पनि बुझ्ने र आनन्द आउने तरिका दिनु नै नृत्य सिकाउनु हो’, उनी भन्छिन् ।

त्यस्तै अहिले नृत्य पढेर के हुन्छ भन्ने भावना धेरैको छ । कलेजमा धेरैले पास गर्न सजिलो हुने विषयको रूपमा मात्रै नृत्यलाई लिएको उनको अनुभव छ । उनी भन्छिन्, ‘राज्य र सरोकारवाला निकायले अवसर सिर्जना गर्ने हो भने नृत्य पनि एउटा व्यवसायिक रूपमा बाँच्न सकिने क्षेत्र हो भन्ने बन्ने थियो ।’

अहिलेसम्म समाजले नृत्यलाई जीविकाको हिसाबले सुरक्षित क्षेत्र नमानेको उनको अनुभव छ । उनलाई घरमा राम्रो सहयोग छ । ‘तर पनि ममीले भन्नुहुन्छ– अंग्रेजीमा पनि मास्टर्स गर । अर्को काम पनि त गर्नुपर्छ’, उनले सुनाइन् । त्यसैले कला क्षेत्रलाई सुरक्षित गर्न सरोकारवाला निकायले चासो दिनुपर्ने उनको बुझाइ छ । उनी भन्छिन्, ‘कला क्षेत्र समृद्ध हुनु भनेको देशकै सभ्यता बलियो हुनु हो, यो मान्यतालाई स्थापित गर्नु आवश्यक छ ।’

०००

नम्रतालाई लाग्छ– हरेक मान्छेले नृत्य गर्छ । विशेष गरी खुसी भयो भने उसले कुनै न कुनै रूपमा नृत्य गर्छ । ‘यो अभिव्यक्तिको एउटा तरिका हो । त्यो तरिकालाई अरूले हेर्दा पनि बुझ्ने र आनन्द आउने तरिका दिनु नै नृत्य सिकाउनु हो’, उनी भन्छिन् । त्यसका लागि  उनले साथीहरूका साथ बानेस्वर, थापागाउँमा ‘एस्ठेटिक डान्स स्टुडियो’ स्थापना गरेकी छिन् र आफूले पाएको  ज्ञान प्रसार गरिरहेकी छिन् ।

कुनै पनि मानिसले अभिव्यक्तिको सुन्दर तरिका सिकिराख्दा फाइदा नै हुन्छ । त्यसैले उनी आफूले सिकेको कुरा सिकाउन खोजिरहेकी छिन् । आफूले सिकेको कुरा सिकाउँदा आफू पनि अझ सिर्जनशील बन्न सघाउ पुग्ने उनको अनुभव छ ।
०००

नृत्य नम्रताको लागि सबैथोक हो । कुराकानीको क्रममा उनले भनेको कुराले निकै छोएको थियो । उनले भनिन्, ‘मलाई आउने भनेकै नृत्य हो । योबाहेक अरू केही पनि आउँदैन मलाई ।’

नम्रतासँग छुटेर फर्कंदै गर्दा बिजुले बाटोमा भनिन्, ‘साँच्चै, उसले यस्तो राम्रो डान्स गर्छ नि, हेर्न पाउनुभयो भने तपाईं त दंग पर्नुहुन्छ । म उसले डान्स गरेको फोटो तपाईंलाई फेसबुकमा पठाउँला ।’ उनी भन्दै  थिइन्, ‘नम्रता नाचेको देखेर तपाइँ  हेरेको हेर्यै हुनुहुन्छ ।’
०००