वानीराको लेखन क्षमताको कदर नभएकै हो

वानीराको लेखन क्षमताको कदर नभएकै हो

जेष्ठ १५, २०७८ 0 By लेखक
शेयर गर्नुहोस्
  • नारायण ढकाल

लेखकका रुपमा वानीरा गिरिलाई धेरै पहिलेदेखि पढियो, चिनियो । तर, मेरो संसदीय निर्वाचन क्षेत्र उहाँको घर भएतिरै परेपछि भने हाम्रो भेटघाट बाक्लियो । हाम्रो दिदी पुस्ता भएपनि उहाँसँग मित्रवत् व्यवहार थियो । उहाँको श्रीमान् पनि इञ्जिनियर, स्मार्ट व्यक्तित्व । पछिल्लो समय उहाँलाई अल्जाइमर्स भएछ, कसैलाई नचिन्ने भएपछि जानै सकस लाग्यो ।


नेपाली साहित्यमा बानिराको उचाइ माथि नै थियो । पारिजात ‘स्कूल अफ थट’ हुन्, पारिजातलाई सँधै ठूल्ठूला पावरहरूले बोके । वानीरालाई भने पावरले बोक्दै बोकेनन् । त्यसको अर्थ नेपाली साहित्यमा उहाँका योगदान पनि वास्तवमा कम त होइन । लेखन पनि शक्तिशाली थियो, व्यक्तित्व उस्तै ‘बोल्ड’ । तर उहाँको क्षमताको यथार्थमै कदर हुन नसकेको हो । त्यसो हुँदा उहाँको अहम्मा पनि चोट प-यो ।


मसँग निकै राम्रो मित्रता थियो । नयाँ बानेश्वरस्थित निवासवरिपरि भएको विकासे कामको स्थानीय झमेलाले एक समय उहाँलाई तनावमा पा-यो । ‘वामपन्थीहरूले सहयोग नगरेको’ भनेर मसँग पनि रिसाउनु भयो । वास्तवमा त्यो स्थानीय मामिला थियो ।


खासगरी नेपाली गद्य कवितामा पनि उहाँले एउटा प्रवृत्तिगत अभियान नै लिएर आएको देखिन्छ । उपन्यासमा पनि बलियो उपस्थिति मान्नुपर्छ । त्यो समयमा लेखिएको ‘कारागार’मा महिला अस्मिताको मुद्दालाई बलियो गरी उठाइएको छ । ‘शब्दातीत शान्तनु’ पनि राम्रो किताब हो ।


महिलालाई विभेदपूर्ण सम्बोधन गरेको उहाँलाई पटक्कै मन पर्दैनथ्यो । खासगरी कसैले पनि नबोलेको बेलामा महिलालाई ‘कवयित्री’ भन्नु हुँदैन, हामी पनि कवि हो भनेर ‘च्यालेन्ज’ गर्ने उहाँ हो । ‘हामी माथि किन अपमान ? हामी पनि कवि हौं’ भन्ने दावी उहाँले पेश गरेको हो । त्यो बेला कुनै एनजीओ/आइएनजीओको ‘एक्टिभिस्टहरूले’ यो कुरा उठाएका थिएनन् । यो कुरा मेरो संकलित निबन्धमा पनि आउँदै छ । मूलतः उहाँ राम्रो कवि हो । उहाँ आफैंले पनि भन्नु भएको छ– ‘पोयट्री इज माइ फस्ट लभ’ । जे होस्, मेरो र उहाँको विचार फरक हुनुका बाबजुद पनि उहाँलाई म सम्मान गर्ने व्यक्तित्वका रूपमा लिन्छु ।
०००