नरक यात्रा (चार शृंखला)

नरक यात्रा (चार शृंखला)

जेष्ठ २३, २०७८ 0 By कवि
शेयर गर्नुहोस्
  • नारायण ढकाल

नरकयात्रा– १

म उभिएको छु
नरकको ढोकामा

घचघच्याउँदै छु
त्यसका भीमकाय फग्लेटाहरू

अभिशप्त छु म
उडेर कतै फर्किनको निम्ति

मेरा पखेटाहरू छैनन्
काटिइसके ती
जब अँध्यारोका मानस–सन्तानले
रातो नदीमा मिसाए
शहरको दुर्गन्धित ढल ।
(मधुपर्क, २०५७)

नरकयात्रा–२

ठसठस्ती गन्हाउने भीडमा
म हेलिएँ

फेयर एण्ड लभ्ली
गालामा घसेर
ढुसी परेका वृद्ध तरूनीका
अमिला ओठहरू
टोक्न आए मतिर

मैले खोजेँ
प्रतिरोधका निम्ति
इतिहासको नायक

तर, ऊ
आफ्नो ब्रह्मचर्य भङ्ग गरेर
शिथिल मुद्रामा
निदाइरहेको थियो ।
(मधुपर्क, २०५७)

नरकयात्रा–३

मभित्र सानो नरक छ
मबाहिर ठूलो नरक छ

म देखिरहेको छु
इमानको खोल ओढेका बेइमानहरू

हेर एउटाको अनुहार,
जसको आँखामा
सधैँ कपटको अँध्यारोमात्र छ

हेर अर्को अनुहार,
उससित मानवीय शब्दहरूको सङ्कट छ,
जो बकबक गरिरहन्छ दूधकटुवा बालकजस्तो

फेरि हेर अर्को अनुहार,
ऊ भर्त्सनामात्र गर्छ
हीन मनोविज्ञानका आख्यान

मभित्र सानो नरक छ
तर, मबाहिरको नरक झन् ठूलो छ ।
(मधुपर्क, २०५७)

नरकयात्रा–४

नरकमा म
शब्दहरूको दलाल होइन
नरकमा म
वाक्यहरूको बाँधा होइन
तसर्थ
माफ गर्न पर्दैन मलाई तिनीहरूले

गायत्री–मन्त्र जप्न सकिँदैन नरकमा
न त घोक्न नै सकिन्छ शाश्त्रका मायावी मन्त्रहरू
नरकमा म
शब्दहरूको जुवामा नारिन सक्दिनँ
नरकमा म
आफ्नो पराजयलाई हेरेर
शब्दहरूको कठपुतला हुन सक्दिनँ
नरकमा म
शब्दहरूको कारिन्दा पनि होइन
तसर्थ
माफ गर्न पर्दैन मलाई तिनीहरूले

ए नरकका शब्दहरू !
मलाई नसोध– म व्यभिचारमा लिप्त छु
मलाई नसोध– म वामाचारको चास्नीमा डुबेको झिङ्गा हुँ
म तिमीहरूको अवैध सन्तान होइन
तसर्थ
माफ गर्न पर्दैन मलाई तिनीहरूले

नरकमा म
शब्दहरूको कठघरामा
उभिन असमर्थ छु
नरकमा म
कीराले थात्रो पारेको
गीताको अश्लील पुस्तक छोएर
सत्यको साक्षी बक्न असमर्थ छु
नरकमा म
शब्दहरूको रैती होइन
तसर्थ
माफ गर्न पर्दैन मलाई तिनीहरूले ।
(राजधानी, २०५९)
०००
(कविता संग्रह ‘नरकको ढोका’बाट)