वानीरा दिदी पारिजातको छायामा पर्नुभो

वानीरा दिदी पारिजातको छायामा पर्नुभो

जेष्ठ १५, २०७८ 0 By लेखक
शेयर गर्नुहोस्
  • नयनराज पाण्डे

२०४४ सालमा काठमाडौं आएँ । उत्साही उमेरको युवा थिएँ । नेपालगञ्ज छँदै साहित्य पठनमा खुब रुचि बसिसकेको थियो । साहित्य संगतको खोजी गर्दै यसैमा एउटा सपना बोकेर आएको थिएँ । संयोगवश मैले त्यतिबेलाकी सशक्त लेखक वानीरा गिरिले नेतृत्व गरेको समूहको संगत पाएँ । समूहमा मुक्तककार ध्रुवकृष्ण दीप हुनुुहुन्थ्यो । उहाँ नेवारी संस्कृतिको ज्ञाता र ट्राभल व्यवसायी हुनुहुन्थ्यो । कवि जीवन आचार्य र पत्रकार शिव अधिकारी पनि समूहमा हुनुुहुन्थ्यो । त्यो सानो समूहमा फूर्तिलो युवाको आवश्यकता महसुस गरेको हुनुपर्छ, मैले जोडिने मौका पाएँ । वानीरा दिदीको संयोजनमा ‘शब्द समूह’ बन्यो । काठमाडौंको गणबहालस्थित जर्मन भाषा सेन्टर ‘गोथे इन्स्टिच्यूट’ले हामीलाई ठाउँ दिएको थियो । बेला–बेला नाटकसमेत मञ्चन हुने सानो थिएटर जस्तो ‘स्पेस’ थियो । गोथेले हाम्रो कार्यक्रमका लागि केही प्रायोजन पनि गथ्र्याे । कार्यक्रममा हामी आफ्ना कविता पढ्थ्यौं । केही साथीहरू हाम्रो कविताको अंग्रेजीमा उल्था गरी वाचन गर्थे । हामीले लगभग तीन वर्ष नियमित कार्यक्रम ग-यौं ।


२०५८ सालतिर हुनुपर्छ, पुनर्जागरण पत्रिकाको नियमित स्तम्भ ‘विषुवत्रेखा’मा उहाँले मेरो उपन्यास ‘उलार’ माथि समीक्षा पनि लेख्नुभएको थियो । त्यसको प्रति मसँग सुरक्षित थिएन । संयोग, उहाँ बित्नुभन्दा ४ दिन अघिमात्रै गोविन्द गिरी ‘प्रेरणा’ले त्यसको कटिङ–कपीको फोटो खिचेर मलाई पठाइदिनु भएको थियो ।


दिदीले मलाई निकै माया गर्नुहुन्थ्यो । हाम्रो समूहमा म सबैभन्दा कान्छो सदस्य थिएँ । दिदी मलाई घरमा बोलाउने, खाना खुवाउने गर्नुहुन्थ्यो । उहाँको छोराछोरी देशबाहिर पढ्न जानुभएको थियो । छोरी अपराजितासँग मेरो एक–दुई पल्ट भेट भयोे । नत्र दिदी र शंकर भिनाजु (जो प्रख्यात आर्किटेक्ट इञ्जिनियर हुनुहुन्छ) मात्र घरमा हुनुहुन्थ्यो । पछिल्लो समय भने दिदीसँग भेटघाट नभएको धेरै समय भएको थियो ।


म नेपालगञ्ज हुँदै उहाँको उपन्यास ‘कारागार’, ‘एउटा एउटा जिउँदो जङ्गबहादुर’, ‘जीवन थायमरु’ संग्रहहरू पढेर प्रभावित थिएँ । यी किताब नेपालगञ्जका पुस्तकालयमा पाइन्थे । मैले नजिकबाट देखेको वानीरा गिरि अरूभन्दा फरक हुनुहुन्थ्यो । उहाँको जीवनशैली पनि त्यस्तै लाग्थ्यो । उहाँ गहनाको रूपमा सुनचाँदी हैन, स्टोनलगायत लगाउनुहुन्थ्यो । उहाँको पहिरनदेखि घरको सजावट साह्रै सुरुचिपूर्ण थियो ।


उहाँको लेखन बुलन्द थियो । ठूलो साहित्यकार भइकन पनि किन किन तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानलगायत संस्थाले उहाँलाई महत्व दिएको जस्तो लाग्दैन । उहाँ उपेक्षित जस्तो हुनु भयो । त्यसको अलिअलि निराशा उहाँमा थियो । ‘यो क्षेत्रमा क्षमतावान महिलालाई ठाउँ दिनु पर्छ भन्ने भावना नै कसैमा छैन’ भनेर उहाँ बेलाबेला प्रकट गरिरहनुहुन्थ्यो । दिदि अलिअलि पारिजातको छायामा पनि पर्नु भयो जस्तो लाग्छ । पारिजातको जताततै चर्चा भयो, उहाँको लेखनको कम नै गरियो ।

उहाँ निकै हक्की, ‘बोल्ड’, निर्भीक स्वभावको हुनुहुन्थ्यो । उहाँसँग सँगै बसेर काम गर्दाको सुखद अनुभव मसँग छ ।
उहाँ जीवनको उत्तरार्धमा अल्जाइमर्सका कारण साह्रै पीडित हुनु भयो, एकप्रकारले कोमामा जानु भयो । उहाँको जीवन आफैंमा दुःखद भइसकेको थियो । यो बडो अप्ठ्यारो समयमा जानु भो । उहाँको जीवनको लागि एक किसिमको मुक्ति नै हो । तर नेपाली साहित्यमा उहाँको अनुपस्थिति खट्किरहने छ । त्यस्तो प्रिय लेखक, अग्रजलाई अन्तिम श्रद्धाञ्जली दिन, पुष्पगुच्छासमेत अर्पण गर्न पाइएन, यो पीडाचाहिँ एकदमै रह्यो ।
०००