मनको गहिराइमा पस्नेहरू

मनको गहिराइमा पस्नेहरू

जेष्ठ २२, २०७८ 0 By पारिजात
शेयर गर्नुहोस्

कोठाहरूमा फूल सजाउने शौख सानैदेखि ममा चर्को रूपमा रहेको छ । भनौं फूल नसजाइकन म बस्न सक्दिनँ । यो शौख म अस्पतालमा पनि पूरा गर्छु, होटेल र लजमा पनि । मेरो यो शौख देखेर रूपचन्द्र विष्टले, जो मेरा मित्रहरूमध्ये एक हुनुहुन्छ, मलाई भन्ने गर्नुहुन्थ्यो, “तपाईंमा एउटा अपराधी प्रवृत्ति लुकेको छ, तपाईं परपीडक हुनुहुन्छ, यी फूलहरूलाई घाँटी निमोठ्दै ल्याएर आफ्नो वरिपरि सजाउनुहुन्छ, बोटमा नै ओइलिन दिए हुन्छ नि !” ममा परपीडक स्वभाव हुनु पनि सक्छ तर म आफैंलाई चाहिँ भएजस्तो लाग्दैन तथापि धेरैजसो साथीहरू मलाई आत्मपीडक भन्छन् ।

आजपर्यन्त केंवराको सुगन्ध मेरो नाकमा पर्न आयो भने झलक्क एउटी गोरी, हँसिली र फस्र्याइली महिलाको अनुहार सम्झन्छु र केहीबेर अतीतमा पछारिन पुग्छु ।


मेरो मित्र मण्डली अगाध फराकिलो छ, जसमा थुप्रै घनिष्ट छन्, थुप्रै घनिष्टतम् छन् तर चार पाँचजना मित्र यस्ता पनि छन्, जसले मेरो मनको अटल गहिराइसम्म छोएर मलाई हेरेका छन्, बुझेका छन् र जसलाई मैले मेरा आँशुहरूले भिजाइदिएकी छु, मानसिक जटिलताहरूले जेलिदिएकी छु, आफ्ना कष्टहरूले दुखाइदिएकी छु साथै मेरो पछ्यौरीमा आइपरेका खुशीयालीहरूले मैले उनीहरूलाई रंगाइ पनि दिएकी छु ।

यो मेरो रूमानी सम्झना हो दया सिंहसँगको । उसको र मेरो मित्रता र केंवराको फूलको सुवाससँग एउटा गहिरो सम्बन्ध छ । आजपर्यन्त केंवराको सुगन्ध मेरो नाकमा पर्न आयो भने म झलक्क एउटी गोरी, हँसिली र फस्र्याइली महिलाको अनुहार सम्झन्छु र केहीबेर अतीतमा पछारिन पुग्छु । उसको घर पुतली सडकको हामी बसेको डेराभन्दा पछिल्तिर पथ्र्यो, जहाँ आज चुनाउ आयुक्तको अफिस छ । त्यो परिवार आजभोलि ठीक त्यसैकोपछि बनेको नयाँ घरमा बस्छन् । मेरो घरबाट उसलाई कौंसीमा कहिलेकाहीँ देख्ने गर्थें, हाम्रो परिचय भएको थिएन ।
त्यसताका ऊ पर्दाभित्र थिई, म सीमासम्म भए पनि बाहिर निस्कन पाउने । पद्यकन्या कलेजमा आई.ए.–को छात्रा छँदा कलेजमा हाम्रो एउटा टीम बनेको थियो मिल्ने साथीहरूको, जसमा नमी राणा, स्व. एलेन राणा, जसलाई हामी बाबा भनेर सम्बोधन गथ्र्याैं, देवलक्ष्मी अधिकारी, अञ्जली जोशी, पद्यकन्यामा एस.एल.सी. स्तरको माधु र म । नमी राणा पनि पर्दाभित्रकी थिई । अरू चाहिँ सीमित स्वतन्त्र । माधु गिरी र देवलक्ष्मीबाहेक हामी सबै कलेजमा चुरोट पिउँथ्यौं थोत्रो फर्निचर राख्ने कोठामा गएर । दया सिंह नमी राणाको सचेत फुपूकी छोरी थिई । त्यसैले एकदिन उसले हामी सबैलाई आफ्नी फुपूको घरमा लिएर गई । दया पनि चुरोट पिउँदीरहिछ । त्यसदिन हाम्रो साधारण परिचय भयो र एकअर्काले माया नमार्ने अठोट गर्दै छुट्टियौं ।

दया सिंह कविता लेख्थी र उसको कविता अत्यन्त गहिरो हुन्थ्यो । मेरो कविता सफल भएकोमा ऊ कति खुशी हुन्थी, अरू कोही शायद भएको छैन आजसम्म ।


दोस्रोपल्ट पनि हामी त्यसरी त्यहाँ गयौं तर दोस्रोपल्ट भने अरूहरूलाई विदा दिइसकेपछि उसले मलाई हात समातेर रोकी र भनी, “तपार्इं एकछिनपछि जानुस् न घर त्यहीँ त हो ।” आग्रह टाल्न नसकेर म बसें । धेरैबेर कुराकानी भयो । यसरी हामी एक अर्कासँग झन्झन् नजीक हुँदै आयौं र हाम्रो मित्रता ‘तपाईं’–बाट ‘तँ’–मा ओर्लियो र हामी अभिन्न साथी भयौं । म दिनदिन कलेज सिद्धिनासाथ उहीँ पुग्थें । त्यसबेला ऊ आफ्नो एस.एल.सी.–को तयारीमा थिई । हाम्रो मित्रताले कतिसम्म जरा गाडिदियो भने हाम्रो मनको संसारमा पनि कुनै भिन्नता रहेन । हुँदा–हुँदा दुःख सुख पनि एउटै भयो, आँशु एउटै, हाँसो एउटै भइदियो । उसलाई अँध्यारी देखेमा म कुरै नबुझी अँध्यारिन्थें त्यस्तै म प्रफुल्ल देखिए ऊ त्यसै प्रफुल्ल हुन्थी । कतिसम्म भने हामी एक–अर्कादेखि टाढा नै रहन नसक्ने भयौं, मीठो गाँस खाँदा हामीले एकले अर्कालाई सम्झनेसम्म भयौं ।


अध्यात्मवादमा तर्क दिनसक्ने अथवा भनौं प्रत्येक चीजलाई तार्किक दृष्टिकोणले हेर्ने यस अति बहिर्मुखी तथा ममतामयी महिलाको मेरो जीवनमा धेरै असर परेको छ । म अति संकोचशील र अन्तर्मुखी थिएँ । क्रमशः उसको बहिर्मुखी स्वभाव ममा पनि संक्रकण हुँदै गयो । आज म जति कुराकानी गर्छु त्यो परिवर्तनीय क्षेत्रको कारण दया सिंहलाई मान्न कति पनि हिचकिचाउँदिन । ऊ कविता लेख्थी र उसको कविता अत्यन्त गहिरो हुन्थ्यो । मेरो कविता सफल भएकोमा ऊ कति खुशी हुन्थी, अरू कोही शायद भएको छैन आजसम्म । एकातिर ऊ सधैं मेरो सफलताको कामना गर्थी भने म ऊ एउटी पर्दासीन महिलालाई स्वतन्त्र जीवनको आभासले सुमसुम्याइरहन्थें, झकझक्याइरहन्थें । म बराबर उसलाई आफ्नो शैलानी रहरको लोभ देखाइरहन्थें । स्वतन्त्रता तथा आत्मविश्वासतर्फ आकृष्ट गराइरहन्थें ।

एकदिन हामी जीप रिजर्भ गरेर दिउँसै वनकालीतर्फ गयौं पोलेको मकै र एक थर्मस चिया बोकेर । सिमसिम पानी परिरहेको थियो । हामी एउटा रूखको फेदमा झण्डै दुई घण्टा जति बसेर विभिन्न विषयहरूमा कुराकानी गरिरह्यौं ।


यसरी एकदिन मैले उसका मुमा–बुबासँग बक्साएर उसलाई आफ्नो घरमा लगें त्यही पनि राति एउटा सुसारेसँगसँगै । यो क्रम बिस्तारै बढ्दै गयो । एकदिन हामी जीप रिजर्भ गरेर दिउँसै वनकालीतर्फ गयौं पोलेको मकै र एक थर्मस चिया बोकेर । सिमसिम पानी परिरहेको थियो । हामी एउटा रूखको फेदमा झण्डै दुई घण्टा जति बसेर विभिन्न विषयहरूमा कुराकानी गरिरह्यौं । त्यसदिनको सम्झना हामी दुवैको मानसमा अमिट रूपले छाप बसेको छ । कहिल्यै बिर्सन्नौं । म बिरामी भएर ओछ्यान नलागुन्ज्यालसम्म मेरो धेरैजसो फुर्सद उसैको घरमा बित्थ्यो । म बी.ए. प्रथम वर्षकी छात्रा हुँदा हाम्रो परिवार बानेश्वर सर्ने भयो, त्यतिखेर एक हप्ताजति अर्थात डेरा नसरुन्ज्यालसम्म नै हामी दुईजना रोई मात्र रह्यौं । उदार र विशाल मन भएकी यस महिलाले मेरो जीवनमा यति धेरै गुण र सहयोग गरेकी छ तथा अगाध माया दिएकी छ, जसलाई कलमबद्ध गर्दै जाँदा एउटा सिंगो उपन्यास बन्नजान्छ । उससँग मेरो असंख्य सम्झनाहरूको सँगालो लुकेको छ, जसका केही रूमानी सम्झनाहरू अर्को अंकलाई सुरक्षित रहोस् ।

(स्नेही पाठकहरू सालहरूलाई डायरीमा नलेखिएका हुनाले विगत संस्मरणमा केही भूल भएको हुनसक्छ । म काठमाडौं आएकी २०११ साल मंगसस्रमा हो र मैले २०१६ सालको फागुनदेखि मदन मेमोरिएलमा जागिर खाएकी हुँ र २०१७ सालको असोज–कार्तिकमा म पहिलोपल्ट जलवायु परिवर्तनको निम्ति दार्जीलिङ गएकी हुँ ।)
(पारिजातकृत आत्मसंस्मरण ‘एउटा चित्रमय शुरूआत’बाट)
०००
यी सामग्रीमा पनि तपाईंको रुचि हुनसक्छ: