पाठेघर

पाठेघर

मंसिर ७, २०७४ 0 By कवि
शेयर गर्नुहोस्
✍ बादलदेवी चाम्लिङ

एउटा मिठाे सृष्टि धूनकाे स्राेत
मेराे पाठेघर ।

जूनको पेटले जति शितल अनुभूति दिन्छ
त्योभन्दा मिठो आनन्द मेरो पाठेघरले दिन्छ
नदीको मुहानको शक्तिभन्दा उँचो वैभब छर्छ ।

जूनकाे बीज छर्नुस
जूनै उम्रन्छ
फूलकाे बीज छर्नुस्
फूलै उम्रन्छ
पहाड,खाेला, नदी, चट्टान
मरुभूमि जे जे छर्नुस्
तिनै-तिनै उम्रन्छन् ।

अाउनुस्
सुनाखरी भएर
बाँस भएर
गुराँस भएर
अथवा काँडा भएर
अाँधी, हुरी
बिष भएर
धर्म नछाेडी अाउनुस्
कर्म गर्नुस्
अा-अाफ्नाे साैन्दर्य नभत्किने गरी
अस्तित्व बचाएर जानुस्
बाँच्नलाई प्रशस्त ठाउँ छ
जस्ताे रूखकाे बाेक्रा, भीर ,चिस्यान जमिन, बगर, मैदान अादि ।

मेराे पाठेघरकाे हृदयकाे सम्बन्ध
पानीले भरिएकाे कुलाेसँग
अनेकन वनस्पतिकाे फल-बियाँ छर्ने
घना जङ्गल शीत छ
अक्सिजन फालिरहने रूखहरू
तुलसीका झ्याङहरूसित
पाखाबारीकाे निधार टल्काउने खँडेरीसित
फूलहरूकाे परागसेचन गराइदिने हावा, भमराहरूसित छ
यिनीहरू भन्दा बढ्ता तिमीसित छ ।

तिम्राे अाँखामा बसेकाे मेराे छाँया पन्छाएर
पश्चिम बहन्छाै
यहाँ अँध्याराे हुन्छ
मुहारमा कलिलाे कान्ति बाेकेर फेरि झुल्कन्छाै
म उज्यालाे भएर खुल्छु
उता अँध्याराे हुन्छ
तिम्राे उपस्थितिकाे महत्व यहीँ स्पष्ट हुन्छ ।

मेराे अनुपस्थितीमा
कुनै फूलप्रति तिम्राे प्रेम जम्याे भने
सुख भेट बनेर बाँचिरहाेस्
विधिसङ्गत पिरतीमा रुझेर टक्टकिनु त
आखिर मसँग नै हाे ।

दाैडेर पर /टाढा पुग
थाकेर राेकिने बिन्दु यही हाे
उफ्रिएर आकाश छाेऊ
झरेर टेक्ने यहीँ हाे
रिसाएर राताे, पिराे बन
धुम्म पर
अझै खुट्टा चलाऊ
हात नचाऊ
सके खुकुरी उठाऊ
यी त कमै हुन्
खग्रास, प्रलय, ग्रहण त खेपेकै छ याे माटाेले
ज्वालामुखी पचाएकै छ
धर्ती अजीवकाे छ ।

याे धर्ती
मेराे पाठेघरकाे विष्तृत रूप हाे ।