मृत्युलाई छल्दै–छल्दै शिखरको यात्रा

मृत्युलाई छल्दै–छल्दै शिखरको यात्रा

असार ६, २०७८ 0 By शकुन्तला जोशी
शेयर गर्नुहोस्

काठमाडौं कपन बस्ने सोनाम शेर्पा भर्खर १७ वर्ष लागे । यो उनको भर्चुअल गेम पब्जी, क्रिकेट खेल्ने वा कुनै साहसिक कथाले भरिएको सिनेमाको फ्यान हुने उमेर । वा पल्सर वा बुलेट बाइक शहर थर्काउँदै कुदाउने रहर जाग्ने उमेर । तर सोनाम यी आम रहरभन्दा निकै परको सपनामा मग्न हुँदै थिए । त्यो सपना उनको व्यक्तिगत खुसीभन्दा पर सिंगो पृथ्वी र मानव जातिको हितसम्म टाँगिएको थियो । पाइलट डाँडासम्म पनि उक्लिन नपाएका धेरै साथीहरूमाझ उनी भने विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरा चुम्ने सपना देख्दै थिए । कक्षामा आफ्नो सपना र योजनाबारे सुनाउँथे । सगरमाथासहित सातै महादेशको उच्च हिमाल चढ्ने योजना सुनाउँथे । हिमाल चढ्दा मर्न पनि सकिन्छ रे भन्थे । साथीहरू उनलाई हाँसोमा उडाउँथे । तिनै सोनाम सगरमाथामा आफ्नो पाइला राखेर गत जेठ २० गते काठमाडौं आइपुगे।
जलवायु परिवर्तनबाट हिमाल, पृथ्वी र समग्र जगतका जीवन बचाउँ भन्ने सन्देश दिन सगरमाथा आरोहण गरेका उनी पटक पटक मृत्युलाई जितेर फर्केका छन् । उनलाई शिखर टेकाउने बुबा सगरमाथा आरोही तथा ‘प्रकृति जोगाउँ महाअभियान’ अभियन्ता पूर्णकुमार (पिके) शेर्पा हुन् । बुबाकै प्रेरणाले उनी यति कलिलो उमेरमै हालै मे २३ तारिखका दिन सर्वोच्च शिखरको साहसिक आरोहणमा सफल भए ।

सोनाम शेर्पा सगरमाथा शिखरमा l तस्विर सौजन्य: सोनाम शेर्पा


काठमाडौंमा हुर्किदै गरेको एक शहरीया बालक क्रिकेटको ब्याट समातेर साथीहरूसँग गल्ली–गल्ली भागदौड गर्दै हुनु पर्ने हो । आमा बुबाको मोबाइल खोसेर एनिमेटेड कार्टूनमा मस्त हुनु पर्ने हो । पुर्ख्यौली घर ताप्लेजुङ भए पनि शहरमै जन्मेका सोनाम शेर्पा भने ११ वर्षमै सगरमाथा आधार शिविरसम्म पदयात्रामा पुगे । उनले हिमाल र त्यससँग जोडिएका अनेक प्राकृतिक जीवनलाई नजिकबाट देख्न पाए । सगरमाथा आरोही तथा जलवायु परिवर्तन तथा वातावरण संरक्षण अभियन्ता बुबा पिके शेर्पाकै कारण त्यो अवसर पाए । शहरीया व्यस्त आमाबुबासँग सप्ताहन्तमा समेत छोराछोरीलाई समय दिन गाह्रो छ । यस्तो परिवेशमा हुर्केका सोनाम भने बुबासँग त्यति सानो उमेरमै साहसिक पदयात्रामा जान पाएका थिए । बाटो भरी पिके हिउँ र प्रकृति विनाशकै प्रसंगमा चर्चा गरिरहे । त्यसपछिका दिनमा बुबाको मुखबाट उनले सँधै जसो प्रकृति विनाशप्रतिको चिन्ता र जोगाउनु पर्ने चिन्तनका गन्थन नै सुन्दै आए । यता ‘हिउँ पग्लिएर हिमाल खाली हुँदै छ । यसपालि बाढीले कहाँ कहाँको बस्ती डुबाउने हो ? पानी मुहान सुक्दै गए गाउँलेले गाउँ नै छोडे रे ! खडेरीले खेतीबाली खत्तम भयो ! दन्य कथा सुन्ने उमेरमा उनले बुबाको मुखबाट प्रकृति विनासका यस्तै कथा सुन्दै आए ।
पिके केटाकेटी छँदा हिमालहरू सेताम्य देखिन्थे । क्रमशः कालो पत्थर देखिँदै गयो । उनलाई सम्झना छ, हिमाली देउता रिसाए, अपशकुन हुन्छ, बुढापाकाले सुनाउँथे । किन पग्लिन्छ त हिउँ ? उनमा युवावयदेखि नै चासो बढ्दै गयो । काठमाडौं आएर ट्रेकिङ गाइड बनेका उनलाई विस्तारै यस विषयमा रुचि बढ्यो । हामी मानिसकै कारण हिमाल देखि समुद्रसम्म फोहोर भएको थाहा पाए । उनलाई यसबारे मानिसलाई भन्दै हिड्न पाए बुझ्थे कि ? यस्तो लाग्न थाल्यो । साढे तीन दशकदेखि उनले देखेको सपनाले आज उनका छोरालाई पनि अभियन्ता बनाएको छ । ‘फादर एण्ड सन क्लाइमेट चेन्ज क्याम्पियन एभरेष्ट एक्सपीडिशन २०२१’ अभियान लिएर यी बाबुछोराले विश्वलाई पृथ्वी ‘प्रकृति जोगाउँ जलवायु परिवर्तन न्यूनिकरण गरौं’ भन्ने सन्देश दिएर आएका छन् । आधार शिविरसम्मको पदयात्राकै क्रममा अभियानको सन्देश लिएर सगरमाथासहित विश्वका सातै महादेशका उच्च हिमालसमेत आरोहण गर्ने योजना बनाएका थिए । त्यसका लागि सोनामको उमेर १६ वर्ष पूरा हुने अवधि उनीहरूले पर्खिनु थियो ।
गत फागुन १५ (फेब्रुअरी २७) मा सोनाम त्यो उमेर पूरा गरी १७ वर्ष लागे । उमेरकै कारण रोकिएको आरोहण अब गर्नुपर्छ भन्ने बुबाछोराले योजना बनाए । यता विश्व मानव जगत कोरोना भाइरसको महामारीबाट आक्रान्त बनिरहेको छ । उता सोनाम र पिके भने आरोहरणको तयारीमा जुटे । तर सपना बुन्नु जति सजिलो थियो, तयारी त्यतिकै जटिल ।

पिके शेर्पा सगरमाथा शिखरमा l तस्विर सौजन्य: सोनाम शेर्पा

पिके खर्चको जोहो र क्याम्पेनिङ गर्न लागे, सोनाम आरोहण अभ्यासमा । उनले ‘वाल क्लाइम्बिङ’, ‘रोपमा ह्याङगिङ’लगायत तालिम काठमाडौंमै गरे । बुबालाई खर्च जुटाउन नसकिने हो कि ? आरोहणबाट सकुशल फर्किन सकिने हो कि हैन भन्ने चिन्ता थियो । छोरालाई भने मात्र सगरमाथा चढ्ने उत्सुकता र डर । सोनाम बैशाख ५ गते ‘क्लाइम्बिङ शेर्पा’ (आरोहण सहयोगी)सँग हेलिकोप्टरमा लुक्ला उडे । संखुवासभाकै गाइड शेर्पाको उमेर पनि २३ वर्ष रहेछ । सम वयका साथी पाएर सोनाम मख्खै थिए । लुक्लाबाट उनीहरू १० दिनमा आधार शिविर पुगे ।
आधार शिविरको नजिकै खुम्बु आइसफल छ, तल खुम्बु हिमनदी । सोनामलाई ती अनुपम प्राकृतिक छटा जति सुन्दर त्यति नै डरलाग्दो पनि लाग्थ्यो । उनले त्यही क्षेत्रमा दुई दिनसम्म शेर्पासँग तालिम लिए । वानस्र्पोट (आरोहणमा लगाइने बाक्लो जुत्ता)ले खिचिरहेको गोडामा क्रय्राम्पोन (हिउँमा टेक्न जुत्ता मुनि लगाइने फलामे काँडा) हालेपछि आफ्नो वजनलाई धर्तीले तानेजस्तो लाग्थ्यो उनलाई । त्यस्तो लगाएर उनी हिउँले बनेको अग्लो भित्तामा डोरीको सहारामा ह्याङ्गिङ (हिउँको पहाड चढने र ओर्लने) अभ्यास गरे ।
यता उनका बुबा पिके भने आरोहणका लागि चाहिने रकम पूरै जुटाउन नसक्दा तनावमा थिए । उनीहरूको उद्देश्य सिर्फ शिखर चढ्नु र रेकर्ड राख्नु मात्रै थिएन । अनियन्त्रित मानव गतिविधि, प्रकृतिमाथिको चरम दोहनका कारण पृथ्वी र यसको सेरोफेरोमा जलवायु परिवर्तनसँग जोडिएको थियो ।
अभियानबारे नेपाल सरकारका प्रतिनिधिहरूलाई उनले पटकपटक अवगत गराए । सन् २०१० र २०११ मा गरी दुई पटक सगरमाथा आरोहण गरेका उनकै पहलमा १ हजार ८ सय किलोग्राम फोहोर र पाँच शव सगरमाथाबाट उठाएर ल्याइएको थियो । प्रकृतिलाई जोगाउन व्यक्तिको जति भूमिका हुन्छ, सरकार तुलनात्मक रूपमा झन् धेरै जिम्मेवार हुनुपर्ने हो । यही आशामा पिके सोउद्देश्य गरिने आरोहणमा सरकारको साथ सहयोग र सहकार्यका लागि पर्यटन मन्त्रालय पुगे । ‘के सरकारले चढ्नु भनेको छ र ?’ सरकारकै प्रतिनिधिको यस्तो गैरजिम्मेवार जवाफले उनी रन्थनिए । तर उनको लक्ष्यको सीमा फराकिलो थियो, उत्साहलाई खुम्चिन दिएनन् । उनले आफ्नो जग्गाजमिन धितो राखे । अन्य विभिन्न मनकारी इष्टमित्र, संघसंस्थासँग सहकार्यको हात फैलाए । पैसाको निकै दुःखले जोहो गरे र आरोहणमा निस्किए । पिकेले सोनामलाई आधारशिविरमा भेटे । बुबा पुगेपछि सोनामलाई हिउँको बिचमा पनि न्यानोबोध भयो, ढुक्क लाग्यो ।

पिके शेर्पा र उनका छोरा सोनाम शेर्पा सगरमाथा आरोहण गर्दाका पलहरू l तस्विर सौजन्य: सोनाम शेर्पा


अब उनीहरूलाई फटाफट शिखर उक्लिनु थियो । दिउँसो घाममा हिउँ टल्किएर चाँडै आइस ब्लाइन्ड हुने खतरा एकातिर, हिउँ पग्लिएर हिड्न जोखिम हुने हुँदा हिमाल रातको समयमा आरोहण गरिन्छ । उनीहरू आधार शिविरबाट मे १८ तारिख राती २ बजेतिर उठेर हिडे । मौसम प्रतिकुलताका कारण ४ दिनसम्म ‘क्याम्प टू’मै बस्नु पर्‍यो । २१ तारिख ‘क्याम्प थ्री’ हुँदै २२ तारिखका दिन ‘क्याम्प फोर अर्थात् साउथ कोल’मा पुगे । अब उनीहरू लक्ष्यको अन्तिम उकालोमा थिए ।

‘यती’का पाइला खोज्दै
सानोमै उनले कतै सुनेका थिए, उच्च हिमालमा यती मानव र हिउँ चितुवाहरू हुन्छन् । तर, उचाइतिर चढ्दै जाँदा आरोहीको क्याराभानबाहेक हिउँको संसारमा अरू केही प्राणीको अस्तित्व देखिएन । कतै यती मानवका पदचिन्ह पो भेटिन्छन् कि ? तर त्यस्तो केही भेटिएन । उनको जिज्ञासा मनमै रह्यो । बरु रातरातभर टर्चलाइटको सहारामा हिमाल चढिरहँदा हिम चितुवा वा यती मानवसँगको जम्काभेट हैन, हिउँका गहिरा चेप वा खाल्डो (क्रेभास)मा पो छिरिने हो कि ? हिम पहिरो (एभालञ्च)ले पो छोप्ने हो कि ? डर लागिरहने । ‘क्याम्प टु’मा एकजना शेर्पा राती शौच गएर फर्किदा टेकेको हिउँ फुटेर गहिरो चेपमा छिरे र सँधैको निम्ति हराए । केही दिन अघिको दुर्घटनाबारे ‘कुक अंकल’हरूले सुनाएको दुःखद खबरले सोनामको छाती डरले ढक्क फुलेको थियो ।
उनको मन शिखरमा पुग्न हतारिएको थियो । तर मौसमले साथ दिएन । हिम आँधी र पहिरो छुटिरहेको थियो । अभ्यासकै लागि भएपनि उनको टोली क्र्याम्पोन प्वाइन्टसम्म पुग्न चाहन्थ्यो । तर बिचबाटो पुग्दै बाक्लो हिमपातले उनीहरूलाई फर्कायो । भन्छन्, ‘यति बाक्लो हिउँ खसिरहेको थियो कि हाम्रा पाइलाहरू १० सेकेण्ड नहुँदै मेटिइसक्थे ।’

पिके शेर्पा र उनका छोरा सोनाम शेर्पा सगरमाथा आरोहण गर्दाका पलहरू l तस्विर सौजन्य: सोनाम शेर्पा


हावा बेस्सरी चलिरहेको थियो, मान्छे नै उडाउला जस्तो । बुबा पिके उनीभन्दा घरी अगाडि, घरी पछाडि हिँडिरहेका हुन्थे । ‘केयरफुल्ली है केयरफुल्ली’ पिके छोरालाई सजग गराइराख्थे । क्याम्प फोरमा पुग्नु अघि डरलाग्दो चट्टानी भिर छिचोल्नु पर्ने । उकालिदै गर्दा उनी बेला बेला फर्केर तल हेर्थे, कहि कालो चट्टान देखिएको कतै सेताम्य हिउँले पुरिएको कहालीलाग्दो भिर । एक निमेष गल्तीले खुट्टा चिप्लियो भने चिप्लेर क्याम्प टुसम्मै पुगिने । ‘आतेसलाग्दो भीरको बाटो कसरी हिँडिरहेको छु ? किन चढिरहेका होलान् कमिलासरी यी मानिसको ताँती यो कालको बाटो ? उनको मन एकतमास पनि हुन्थ्यो । तर सोचेर भावुक हुने समय कहाँ हुनु त्यहाँ ? थकान हुँदै गएपछि उनलाई लाग्थ्यो, ‘गोडा नभएर फलामे काँडाको भारी उठाइरहेको छु ।’
२२ तारिख रातको नौ बजे साउथकोलबाट आरोहीहरूको ठूला समूहसँग उनीहरू शिखरतिरको अन्तिम यात्रामा उकालिए ।


‘डेथ जोन’बाट जून हेर्दा
रातको नौ बजे, सामान्यतः नेपालीको सुत्ने समय । उनलाई भने आफ्नो लक्ष्यको उचाइ चुम्नु थियो । कम्मरमा हार्नेस कसे, जुत्तामा क्रय्राम्पोन लगाए । ब्याकप्याक बोके । शेर्पाले अक्सिजनको मास्क चेक गरिदिए, अनि उकालिए । पिकेले छोरालाई अब झनै होसियारी अपनाउन सुझाए । जूनेली रातमा उनीहरू चौथो शिविरबाट उकालो लागे । आठ हजार मिटर हाराहारीको उचाइमा हावा त बेस्सरी चल्थ्यो, तर अक्सिजनको मात्रा नपुग्ने रहेछ । साउथ कोलबाट निकै माथि पुगेपछि उनले फेरि पछाडि फर्केर हेरे । अँध्यारै थियो, झण्डै दोस्रो शिविरदेखि नै टर्च लाइटको लहरले हिमालमा चम्किलो माला बनाएको थियो ।

पिके शेर्पा र उनका छोरा सोनाम शेर्पा सगरमाथा आरोहण गर्दाका पलहरू l तस्विर सौजन्य: सोनाम शेर्पा


रातको यात्रा, जूनको टहकले हिउँको सेताम्य संसार धर्तीभन्दा अर्कै कुनै दुनियाँ होला जस्तो देखिन्थ्यो । हिँड्दा–हिँड्दै टक्क अडिएर सोनामलाई घरी आकाश घरी हिउँको संसार नियालिरहूँ जस्तो हुन्थ्यो । डोरीमा झुण्डिँदै उक्लिँदै गर्दा बेला–बेला पछाडि फर्केर हेर्थे सोनाम । जति उचाइमा पुग्यो, चन्द्रमा त उति नजिक आएजस्तो लाग्ने । उनलाई लाग्यो, ओहो ! सगरमाथा र चन्द्रमा त एउटै लाइन उभिएका छन् कि क्या हो ? कि चन्द्रमा अझै होचो छ शिखरभन्दा ? उनको मनमा रमाइलो खुल्दुली जाग्यो । बुबालाई सोध्न पनि पाएनन्, उनी केही अगाडि पुगिसकेका थिए । फेरि उनी त्यतिबेला ‘डेथ जोन’ (८ हजार मिटरमाथिको रुटलाई डेथ जोन भनिन्छ)मा थिए । सानो मात्र कमजोरीले मृत्युको मुखमा पुग्न बेर थिएन । उनको ध्यान अगाडिको बाटोतिरै मोडियो । काठमाडौं आएर पनि उनले फेरि जून देखे तर, धेरै टाढा आकाशमा झुण्डिरहेको । त्यो बेला उनको मनलाई पनि बेसी सोच्ने फुर्सद थिएन । भन्छन्, ‘सगरमाथा आरोहणको सबभन्दा रोचक दृष्य र सम्झना हो मेरो लागि ।’

३१ सेकेण्डको मृत्युबोध
डेथ जोनमा छिरेपछि त्यहाँबाट मुस्किलले १ हजार मिटरको दूरी छिचोल्न आरोहीले एकरातभरी लाग्ने रहेछ । आरोहणबारे सोनामले जति सुनेका थिए, प्रत्यक्ष भोगाइ त्योभन्दा भयानक साहसिक मात्रै हैन, मान्छेले गरेको दुष्साहस नै लाग्यो । उनले त्यहीँ अर्को दुष्साहस गरि हेरे । अक्सिजनविनै आङरिता शेर्पाले कसरी १० पटकसम्म सगरमाथाको आरोहण गरे होला ? सोच्दै उनले अक्सिजनको माक्स खोले र नयाँ सिडिन्डरमा जोड्ने प्रयास गरे । भन्छन्, ‘साँच्चै अक्सिजन नै छैन त यहाँ ? अक्सिजनको सिलिन्डर फेर्ने बेला भएको थियो । नयाँ सिलिण्डरको रेगुलेटर आफैं फिक्स गर्न थालेको, तर सकेनन् । ‘शेर्पा दाईलाई बोलाउँछु, उहाँ पनि केही पर अन्य सिलिन्डरमा अक्सिजन डिपोजिट गर्दै हुनुहुन्थ्यो, सुन्नु नै भएन । त्यहाँ साँच्चै मैले सास फेर्नै सकिनँ, हातमा अक्सिजन भएर पनि मरिहालेँ कि जस्तो भयो । छिनभरमै आवाज पनि निस्केन, सारा जिउ लुलियो । बल्ल कसोकसो गरेर मिलाएँ । ३१ सेकेण्ड हावा नभएर मर्न काफी रहेछ । ज्यान सहज भएपछि झट्ट मनमा आयो, संसारबाट बोटविरुवा सकिएको दिन, अक्सिजन सकिएको दिन मान्छेको अस्तित्व सकिने नै रहेछ ।’ उनले आफूभन्दा केही अगाडि हिँडिरहेका बुबालाई हेरे, महान् यात्राका लागि मनमनै सलाम गरे ।

पिके शेर्पा र उनका छोरा सोनाम शेर्पा सगरमाथा आरोहण गर्दाका पलहरू l तस्विर सौजन्य: सोनाम शेर्पा

लासमाथि टेक्दै हिँड्दा
हिलारी स्टेप पुग्दा उज्यालो भइसकेको थियो । जून भने अझै अस्ताइसकेको थिएन । हिमालबाट निस्किरहेको घामको ठूलो डल्लो कस्तो रहरलाग्दो र चम्किलो । के कहिले आमाले मलाई घाम मामा र जून मामाका बारेका कथा सुनाइन् होला ? सम्झन सकेनन् । उनलाई सानैमा छोडेर विदेशिएकी आमासँग भेट नभएको पनि वर्र्षौं भइसकेछ । ‘अब हिलारी स्टेप आयो, एडमण्ड हिलारीको पहिलो पाइला परेको ठाउँ ।’ स्वाँस्वाँ गर्दै बुबाको आवाजले उनको सम्झनाको तरंग भत्कियो । हिलारी स्टेप निकै अक्करिलो चट्टानको भीर नै लाग्यो सोनामलाई । कति धेरै डोरीहरू टाँगिएका, कुनै पुराना कुनै नयाँ । पुराना डोरी चुँडिने त हैनन् ? सोच्दै पाइला चाल्दै थिए, उनी अचानक केहीमा ठोक्किए । त्यो चट्टान थिएन । एक्कासी मुटु चिसो भए झैं लाग्यो उनलाई । भन्छन्, ‘डेड बडीसँग इन्काउन्टर हुन्छ भन्ने त सुनेको थिएँ । म त्यो हेर्न खासमा उत्सुक पनि थिएँ, ती धेरै पहिले मरिसकेकाहरूको डेड बडी हुन्छ रे, वर्षौंसम्म पनि जस्ताको तस्तै लडिरहेको । कस्तो हुन्छ होला ? मनमा पहिलेदेखि जिज्ञासा थियो ।’
तर त्यहाँ त यही सिजनमा केही दिन अघि मात्रै कोही म-यो, अरू थप चार जना पनि मरे भन्ने थाहा पाउँदा उनलाई निकै नरमाइलो र डर लाग्यो । उनले छोएको शव पुरुषको थियो कि महिलाको, थाहा भएन । आराम गरिरहेको जस्तो गरी पल्टिएको लासमाथि टेक्दै हिँड्दा उनको मन सिरिङ्ग भयो ।’ त्यहाँ रोकिने र सोच्ने मौका थिएन । गोडाहरू हिँडिरहे तर अलिकबेरसम्म उनको मन एकतमासको भइरह्यो – ‘ती को थिए होला ? कहाँको मान्छे ? उनको बारे घरपरिवारले थाहा पाए होला ? कि बेखबर होलान् ?’
हिलारी स्टेपबाट एकातिर कालो चट्टान मात्रै थियो, क्रय्राम्पोन चिप्लिएर लडिने डर धेरै । कतिजना चिप्लिएको डोब ढुंगाहरूमा थिए । सोनामले सुनेका थिए, शिखर पुग्दा कति अर्धवेहोस भइसक्छन्, त्यो अनन्त संसारमा न एक थाल भात खान पाउनु न त बर्गर वा मःमः । दुई मुठी तातो झोलको भरमा उकालिइरहेका हुन्छन् सबै । हिउँको बाटो, रातभरिको हिडाइ, ज्यान थकानले चुर भइसकेको थियो । जसरी भएपनि पुग्नु नै थियो शिखरमा । त्यो खतरनाक तर रोमाञ्चक उचाइमा पुग्दै गर्दा सोनामको मन छिनमै हुरहुराउँदै खस्ने हिउँको भुवाझैं उड्दै थियो ।

पिके शेर्पा र उनका छोरा सोनाम शेर्पा सगरमाथा आरोहण गर्दाका पलहरू l तस्विर सौजन्य: सोनाम शेर्पा

शिखर पुग्दा सास रोकिएजस्तै
सोनाम र पिकेले सगरमाथामा पाइला राख्दा बिहानको साढे सात बजेको थियो । सगरमाथाको शिरमा पुगेपछि उनलाई एकछिन त अक्सिजन भएरै पनि श्वासै रोकिएला जस्तो भयो । भन्छन्, ‘त्यो भव्यताको कसरी वर्णन गर्नु खै ! हिउँको समुद्र भनुँ कि आकाश ! बौद्ध धर्मले भन्ने स्वर्ग त्यस्तै होला कि ! वरिपरि हेर्दा मेरा चिम्सा आँखा अलिक फराकिलो भयो होला अलिकबेर । कसरी भनूँ खै, त्यस्तो सौन्दर्य त पहिलोपल्ट देख्दैथेँ म । चारैतिर सानाठूला हिमाल, म बाज भएको भए उडेर एकचक्कर मार्थें होला ।’
उनी चीन र नेपाल दुवैतिरका हिमाल नियाल्दै थिए । चुचुरोमा आरोही थपिदै थिए । मुस्किलले ३०÷४० जना अटाउने सर्वोच्च शिखरमा केहीबेर अडिएर आनन्द लिने, फोटो भिडियो लिने र फर्किनु पथ्र्यो । सोनाम र पिकेको भने आरोहणको विशेष उद्देश्य थियो । उनीहरूले जलवायु परिवर्तनबारे विश्वव्यापी अभियान गरेर कहिल्यै नथाक्ने प्रण ठूलो स्वरमा गरे, यसबारे केहीबेर भिडियो प्रवचन रेकर्ड गरे । अन्य कतिपय आरोहीहरू उनीहरूलाई ‘थम्स अप’ दिँदै फर्किरहेका थिए । उनीहरूले दुई फरक–फरक भाषामा भिडियो बनाए, फोटो खिचे ।
उनीहरू सगरमाथा पुगेको एक घण्टा पछि अमेरिकी आरोही समूह ‘म्याडिसन माउन्टेनेरिङ’ शिखरमा पुग्यो । म्याडिसन र पिकेहरूको आरोहण व्यवस्थापन एउटै कम्पनी ‘हिमालयन गाइड’ले गरेको थियो । म्याडिसनका आरोहीले ‘शिखरमा आफूहरू पुगेको र पिके शेर्पाहरू पनि पुगिसकेको’ भनेर कम्पनीलाई खबर गरिदिए । बल्ल पो शेर्पा बाबुछोरा झसंग भए । पिके भन्छन्, ‘शिखरमा पुग्ने बित्तिकै हामी दुवै एकदम खुसी थियौं । छोरा झनै खुसी । हामीले पुग्ने बित्तिकै खबर गर्न समेत भुलेछौं । बिहान ७ः३० मा शिखरमा पाइला राखेको भएपनि ‘म्याडिसन माउन्टेनेरिङ’ले खबर गर्दाको समय ८.५० मिनेट नै हाम्रो अभिलेख कायम हुन पुग्यो । त्यो हाम्रै कमजोरी हो ।’

पिके शेर्पा र उनका छोरा सोनाम शेर्पा सगरमाथा आरोहण गर्दाका पलहरू l तस्विर सौजन्य: सोनाम शेर्पा

हिमाल ओछ्याइएको गलैंचा
स–समिट पुगेदेखि नै पिकेको आँखा पोलेजस्तो भएको थियो । शिखरमा पुगेको केहीबेरमै ‘स्नो ब्लाइन्ड’ (चिसोका कारण आँखाको दृष्टिमा समस्या हुनु) भयो । शिखरमा पाइला राखेको केही समय पछि नै उनको दृष्टिमा समस्या आयो । उनले हिउँका ससाना चुचुरोहरू, हिउँ पग्लेर देखिने चट्टानहरू सबै रंगिन बोटविरुवा जस्ता देख्न थाले । हिम नदीलाई उनले फाँटभरी सुनौलो धानका बाला झुलेको देखे । मान्छेलाइ उनी बालबालिकाले हेर्ने कार्टूनचित्र झैं देख्न थाले । डोरीमा झुण्डेर उकालिइरहेका आरोहीहरू भारी बोकेको याकको बथानको लस्कर छुटेको देखिने । छोरा सोनाम सेताम्य हिमालको बखान गर्न थाल्थे । पिकेको आँखाले भने सारा दृष्य रंगीन देखिरहेथ्यो । बुबाको कुरा सुनेर सोनाम छक्क परेका थिए । त्यहाँ कुनै सेतो हिउँ थिएन उनको दृष्टिमा । कतै हरियाली नै हरियाली देखिने । धेरैजसो सप्तरंगी जस्तो अनेक रुख विरुवा, चराहरू उडिरहेजस्तो अर्कै सौन्दर्यबोध हुने पिकेलाई । भन्छन्, ‘चिसोले गर्दा दिमाग पनि सुस्त हुने, शून्य हुने अवस्थामा पुग्छ हिमालमा । मेरो चाहिँ धन्न दृष्टिमा मात्रै समस्या भयो, दिमागले राम्ररी काम गरिरहेको थियो ।’ तर छोरालाई पनि उनी कार्टून चित्रको पात्र जस्तै देख्थे । घरी उनलाई हासो लाग्ने, रंगिन दृष्यावली देख्दा घरी यसै रमाइलो पनि लाग्ने । तर, देख्नमा समस्या भएको कुरा त उनलाई थाहा थियो । त्यही कारण छोराको हेरविचार चाहिँ ठिक ढंगले राख्न सक्दिनँ कि भन्ने चिन्ता हुन्थ्यो ।
जति ओरालो झर्दै गयो उति पिकेको आँखाले सेतो हिउँ देख्नै छोड्यो । झन अचम्मको दृष्य पो उनको आँखामा आउन थाले । पर क्षितिजसम्म फैलिएको हिउँको फाँटभरी उनी ठूलो सभाहल, लामो र राम्रो बुट्टेदार गलैंचा परैसम्म फिजारिएको, कुर्सीहरू राखिएको र हलभित्रै रुखहरू रोपिएको देख्न थाले । आँखा मिचिमिची हेरे पनि उनी त्यही दृष्य देख्थे । सोचे, ओहो ! म एक सामान्य मान्छे, मभित्रै अर्कै मान्छे पो प्रकृतिले दिन लागेको हो कि क्या हो ? उनले छोरासँग भने । सोनामसँग त्यसको जवाफ थिएन । आँखामा समस्या देखिएपछि उनलाई विचित्रको अनुभूति भइरहन्थ्यो । यत्तिकै भएर अब आँखै देखिनँ भने त मेरो सपना अधुरै रहला । उनलाई पिर लाग्न थाल्यो । फेरि सोचे, ‘जीवन नै प्रकृति बचाउने अभियानमा समर्पित गरेको छु । यति लामो समयदेखि म प्रकृतिकै चिन्तनमा छु । प्रकृतिले कुनै विशेष दृष्टि उपहार पो दिन खोजेको हो कि ?’ उनी भम्रित दृष्टिसहित निकै अप्ठ्यारो गरी ओर्लिए । २४ घण्टापछि साउथकोलमै आएर बास बसेर बिहान उठ्दा भने पुनः उनको आँखामा सुधार आयो । जादुजस्तो लाग्ने ती दृष्य भने उनको आँखामा अहिले पनि ताजै छन् ।

पिके शेर्पा र उनका छोरा सोनाम शेर्पा सगरमाथा आरोहण गर्दाका पलहरू l तस्विर सौजन्य: सोनाम शेर्पा

मृत्युको मुखमा उभिँदा
आरोहण सकेर फकिर्दै गर्दा सोनामले भने झण्डै ज्यान गुमाएनन् । शिखरबाट आधाघण्टा तल ‘बाल्कोनी’(सानो बिसौनी भएको ठाउँ)मा पुगेका थिए । सोनामलाई निकै भोक लाग्यो । अप्ठ्यारो भिरालो बाटोमै अडिएर उनी ब्यागबाट चकलेट झिकेर खाने सुर गर्न थाले । तर चकलेट मुखमा राखिसक्दा उनलाई श्वास फेर्न अप्ठ्यारो जस्तो भयो । मास्क, रेगुलेटर जाँच गरे, ठिकै थियो । सोनामले फर्किरहेका अन्य शेर्पाहरूलाई सोधे, कतिले उनलाई बेवास्ता गरेर हिँडे । एकजना शेर्पाले अक्सिजन सिलिन्डरको प्रेसर चेक थाहा भो– अक्सिजन सकिएको रहेछ । ‘तिम्रो त अक्सिजन सकिएछ त भाइ’, यति भनेर तिनी पनि हिँडे ।
पिके तल्लो बिन्दूमा छोरालाई फर्केर हेर्छन्, आँखाले भेउ नै पाउँदैन । यता सोनाम जसरी पनि बुबा भएकोसम्म पुग्नै पर्छ भनेर जसोतसो अघि बढे । उनको सारा जिउ काँपेको थियो, अनियन्त्रित जस्तो भएर यताउती ठोक्किदै ओरालो झरे । करिब ७० डिग्रीको ठाडो भिरको बाटो हुँदै उनी निकै मुस्किलले बुबासम्म पुगे । छोराको हालत देखेर पिके आत्तिए ।
सोनामले हातले इशारा गरे– ‘अक्सिजन सकियो’ । बुबाले हतारहतार आफ्नो अक्सिजन मास्क झिकेर छोराको मुखमा जोडिदिए । बल्ल उनले राम्ररी स्वास फेर्न सके । तर त्यतिबेला थाहा भयो, पिकेको सिलिन्डर पनि खाली हुन लागेछ । अक्सिजन त बुबालाई पनि चाहिन्थ्यो । बाबुछोराले पालै पालो अक्सिजन लिए । कसरी बचाउने छोरा ? कसरी बाँचेर फर्किने दुवै ? पिकेको दिमागले सोच्न सकिरहेको थिएन । याचना गरे पनि अन्य आरोही फाल्तु सिलिन्डर नभएको भन्दै फटाफाट अघि बढे । हेर्दाहेर्दै आफूसँग भएको सिलिन्डरको प्रेसर पनि कम हुन थाल्यो । पिकेको मनले हरेस खायो । सगरमाथाको सन्देश नै अन्तिम भो भन्ने उनलाई लाग्यो । भन्छन्, ‘छोरालाई बचाउन सक्दिनँ जस्तो लाग्यो । बेकार आफ्नो हठले संसार नदेख्दै उसको जीवन चुँडियो भने अब आफूलाई माफ गर्न सक्दिनँ भन्ने सोचेँ । केही गरी छोरा बचाउन सकिनँ भने उसलाई अँगालेर भीरबाट खसिदिन्छु र सँधैका लागि सगरमाथाकै पासमा हराइदिन्छु । यस्तो सोच मनमा आएपछि आँखा भरिएर आयो । त्यो जीवनकै अन्तिम पल हो भन्ने भइसकेको थियो ।’ तर सुखद संयोग, केहीबेरमा सेभेन समिट क्लबका एक जना शेर्पा उनीहरूको प्राण बनेर आए । उनले आफूसँग भएको फाल्तु सिलिन्डर पिकेलाई दिए । अनि बाँचे बुबा छोरा । अक्सिजन पाएपछि सोनामलाई नयाँ जीवन पाइयो भन्ने लाग्यो । त्यतिबेला चाहिँ सगरमाथा चढ्ने आफ्नो सपनाका अघि उमेर निकै सानो रहेछ भन्ने महसुस पनि भयो ।

पिके शेर्पा र उनका छोरा सोनाम शेर्पा सगरमाथा आरोहण गर्दाका पलहरू l तस्विर सौजन्य: सोनाम शेर्पा


त्यसपछि एकार्कालाई समात्दै चौथो शिविर पुगेर बास बसे । दुवै जना बाँचियो भनेर ढुक्कले निदाए । तर राती भएपछि फेरि सोनामको मास्कमा बाफका कारण जाम भएछ । उनले निद्राको सुरमा अक्सिजनको लेभल बढाएछन् । सिलिन्डर अलिकबेरमै खालि भएको बिहान थाहा पाए । भन्छन्, ‘बाँचियो भन्ने लाग्यो र म त आनन्दले निदाएँ, बिहान सबेरै उठेर बुबा मलाई हतार लगाएर हिँड्न थाल्नु भयो । बाबालाई भन्ने मौका पनि पाइनँ । कतिपय आरोही यसरी नै मरेका घटना रहेछन् । धन्न म फेरि बाँचें । लाग्यो, रातभरी त बाँचें, अब अक्सिजन बिना नै हिड्न सक्ने रहेछु भनेर मास्क पछाडि ब्यागमा झुण्ड्याएर हिडेँ । तर, अहँ ज्यान एकदमै कमजोर भयो ।’ त्यहाँ हावाले उनलाई यताउति हुत्याइरहेको थियो । सन्तुलन बनाउने कोशिस गर्दागर्दै हावाले उनलाई हुत्याएर भीरको मुखमा पु¥यायो, धन्न एउटा ढुंगामा ठोकिन पुगे र अडिए । नत्र उनी हिउँको चेपमा छिरिसक्थे । हातमा चोट लागेर पनि उनी फेरि जोगिए । अनि लड्दैपड्दै हिँडिरहे । बल्लतल्ल घुम्ती कटेका बुबालाई भेट्टाए । अक्सिजन सकियो भनेर छोरालाई हतार लगाएकोमा पिके बेस्सरी पछुताए । उनीहरू तेस्रो शिविर पुग्नै निकै बाँकी थियो । फेरि अक्सिजनले धोका दिने भो । पिकेसँग भएको सिलिन्डरले पनि १ घण्टा बेसी नधान्ला जस्तो देखियो । फेरि अत्यासमा परे उनीहरू । सोनामलाई लाग्यो ‘अब चैं अन्तिम नै रहेछ कि क्या हो, मैले त आफैंसँग गिभअप गरिसकेँ जस्तो भाथ्यो ।’ सोनामको देब्र हातको बुढी औंला पनि हिउँले खान थालिसकेछ । यता अक्सिजन सकिनु, उता औंला हिउँले खानु, सोनाम रोए । बुबा पनि भित्रभित्र रोए । सोनामले दश मिनेट जति ढुंगामा हान्दै औंला रगडे । अलिकति तातेपछि औंला बेस्सरी दुख्न थाल्यो । तर बुबा झन् आत्तिएको देखेपछि सोनाम ठिक भयो भनेर उठेर हिँडे । नहिँडे बाँकी अक्सिजन पनि त्यहीँ सकिने थियो । उनीहरू पलपल मृत्युनजिक आएजस्तो बोध गर्दै थिए । पिके भन्छन्, ‘संघर्षको लामै अध्याय बाँकी होला । केही तल आएपछि कीर्तिमानी आरोही पेम्बा शेर्पाले अक्सिजन दिए । नभन्दै अर्को अक्सिजन पाएको पाँच मिनेटमा मेरो सिलिन्डरको अक्सिजन पनि सकियो । मृत्युले पटकपटक नजिक आएर जिस्क्याए पनि हामीलाई सगरमाथाले बचायो, हाम्रो सपनाले बचायो । बाँचेर आयौं ।’

पिके शेर्पा र उनका छोरा सोनाम शेर्पा सगरमाथा आरोहण गर्दाका पलहरू l तस्विर सौजन्य: सोनाम शेर्पा

तर समयले अझै परीक्षा लिन बाँकी थियो सोनामको । तेस्रो शिविरको ठाडो भिरालो बाटोमै चाहिने ‘फिगरेट’ (भिरालो बाटोमा आरोहीको कम्मरमा बाँधिने हार्नेसलाई बाटोको सन्तुलन कायम गर्न टाँगिएको डोरीमा अड्याइने फलामे अंकुश) खुस्केर भीरमा खस्यो । फेरि आत्तेस ! पिकेले आफ्नो फिगरेट निकालेर छोरालाई दिए । उनी भने जोखिमपूर्ण तरिकाले हातैले डोरीमा झुण्डेर झरे । एकैदिनमा अनेक हण्डर खेपेर उनीहरू आधार शिविर आइपुगे । उनीहरू मृत्युलाई जितेर फर्किएका थिए । शिविरमा कुकहरूले खादा लगाएर उनीहरूको स्वागत गरे । तातो सुप र खाजा खान दिए । सोनाम भन्छन्, ‘कुक अंकलहरूको आतिथ्य र मायाले साँच्चै बाँचेर फर्कियो भन्नेमा ढुक्क लाग्यो । तातो सुपले ज्यान चलमलाएजस्तो भयो । हातको औंला पनि ड्यामेज नै भइहालेको हैन रहेछ । अनि मेरो ज्यान त यसै हलुको भएर आयो ।’ अझै पनि हातका दसवटै औंलाका टुप्पो भने निदाइरहेको उनी बताउँछन् ।

अन्तरिक्ष यात्री
आधार शिविर आइपुगेपछि हातको औंला हेर्ने बेला उनले यसो आफ्नै जीउ सुम्सुम्याए । आफ्नै ज्यानको माया लागेर आयो । हलुका र छरितो लुगाको सम्झना आयो । अरू साथीहरूलाई झैं उनलाई पनि क्याजुअल पोशाक छान्दा कोरियन सांगीतिक ब्याण्ड बीटिएसको फोटो छापिएको टिसर्ट लगाउन मनपर्छ । यस्ता अनेक ब्राण्डका लुगा उनीसँग संकलनमा छन् । तर हिमालमा ती टीसर्टको अर्थ थिएन । हिमाल चढ्न त गह्रौं, बाक्ला भुवादार सेताम्य हिउँको संसारमा हावा पटक्कै नछिर्ने गरी बनाइएको बाक्लो डाङ्ग्री लगाउनुपर्छ । सोनामले पहिलोपल्ट डाङ्ग्री पहिरिएपछि यसो आफूलाई नियाले, आफू त अन्तरिक्ष यात्री जस्तो पो देखिए, एक्लै मुस्कुराए उनी । त्यही लुगाले दिने न्यानोले उनको शरीरलाई २९ हजार ३१ फिट उचाइको चिसोबाट जोगाएर ल्यायो । उनले डाङ्ग्रीलाई फेरि एकपल्ट सुम्सुम्याए ।

पिके शेर्पा र उनका छोरा सोनाम शेर्पा सगरमाथा आरोहण गर्दाका पलहरू l तस्विर सौजन्य: सोनाम शेर्पा


काठमाडौं फर्किदै गर्दा उनलाई लाग्यो– हिमाल शरीरले कम आत्मविश्वासले बेसी चढ्नु पर्ने रहेछ । भन्छन्, ‘त्यही आत्मविश्वासले मैले विश्वकै सर्वोच्च शिखरमा पाइला राखेर आएँ । जलवायु परिवर्तनले सिंगो पृथ्वीमा पर्ने असरबारे सचेतनाको झण्डा फहराएर आएँ ।’ सोनाम आफ्ना बुबा पिकेसँग समयको अनुकुलता हेरेर चाँडै नै अन्य ६ महादेशका उच्च हिमालको आरोहण गर्दै छन् । जलवायु परिवर्तन र यसले समस्त पृथ्वीमा पर्ने असरबारे विश्वभरिका जनतालाई जगाउन जीवनभर लागिरहन उनलाई मन छ । मृत्युलाई जितेर फर्किएका उनी युवा पुस्तालाई भन्छन्, ‘धेरै मान्छेको भलोका लागि सोच्यो भने जस्तै कठिन बाटोमा पनि सफल हुन सकिन्छ । पृथ्वी जोगाउने जिम्मा हाम्रो हातमा छ । हाम्रो पुस्ता सचेत बनौं ।’
पिके र सोनाम बाबुछोराले सगरमाथा आरोहणका क्रममा आर्थिक, मानसिक र शारीरिक तिनै प्रकारका समस्या चरम ढंगले झेल्नु प-यो । लगाएको लुगा, जुत्ता, व्यागप्याक र अक्सिजनसहित २० केजी जतिको भारी उठाएर हिमाल चढ्नु सहज पक्कै हुँदैन । एउटै डोरीमा दुई सयदेखि तीन सय जनासम्म झुण्डेर हिँड्नु जोखिम र रोमाञ्चक दुवै थियो । महामारीकै कारण चीनले आरोहण बन्द ग¥यो । पिके भन्छन्, ‘यसपटक यति धेरै भीड कि नेपालतर्फको रुटमा अहिलेसम्मकै सबैभन्दा धेरै आरोही भएको रहेछन् । ७ सयदेखि ८ सय जनाको हाराहारी । यही सिजनमा ५ जना आरोहीले ज्यान पनि गुमाएछन् । वास्तवमा हिमाल चढ्नु चानचुने साहसले पुग्दैन । आरोहण गर्न शारीरिक, मानसिक र आर्थिक तिनै कुरामा बलियो हुनु जरुरी छ ।’
अब अमेरिकाको उच्च हिमाल चढ्ने योजना छ । पहिले भन्दा अब सहज होला, सगरमाथा चढिसकेको भएर । सात महादेश चढिसक्दा यो सन्देश संसार भर फैलाउँछौं भन्ने लागेको छ । ‘यिनीहरू बाबु छोराले आफ्नो नामको लागि गरेको’ भन्ने भ्रम धेरैलाई छ । त्यही भएर मैले कीर्तिमान राखेको कुरा त कतै गरेकै छैन । यद्यपि उनीहरूले ‘जलवायु् परिवर्तनका लागि गरिएको अभियान’, ‘बाबु छोराले सँगै सगरमाथाको आरोहण’ र ‘पछिल्लो उचाइ मापनपछि आरोहण गर्नेमध्ये सबैभन्दा कम उमेरका व्यक्ति’को गरी तीन कीर्तिमान एकैपटक कायम गरेका छन् ।

पिके शेर्पा र उनका छोरा सोनाम शेर्पा सगरमाथा आरोहण गर्दाका पलहरू l तस्विर सौजन्य: सोनाम शेर्पा

सरकार खोइ ?
धेरैका लागि सगरमाथा आरोहण गर्नु व्यक्तिगत सोख हो । ती मध्ये पनि हिमाली क्षेत्रका शेर्पाका लागि जीविकोपार्जनको आधार हो । तर, त्यही आधार खोज्दै दुई दशक अघि उच्च हिमाली क्षेत्रमा पर्यटकको भारी बोकेर हिड्ने पिके शेर्पाका लागि अहिले भने सगरमाथा आरोहण निकै भिन्न लक्ष्यसँग जोडिएको छ ।
संखुवासभाको दुर्गम गाउँ, एक विपन्न परिवारमा जन्मेका पिकेले पर्यटकको भारी बोकेर उच्च हिमाली क्षेत्रतिर पदयात्रामा पुग्दा वर्षेनी हिमालको हिउँ पग्लदै गएको वोध गरेपछि त्यसको कारण खोज्न थाले । मानवीय गतिविधिकै नकारात्मक प्रभावले विश्वमा जलवायु परिवर्तन भइरहेको र त्यसका असर चरम असर हिमालमा पर्न थालेको बुझे । मानिसको जीवन पानीसँग जोडिएको छ, पानीको जीवन हिमालसँग । तर पछिल्लो समय पृथ्वीको तापमान बढेसँगै हिमालको हिउँ पग्लन थाल्यो र सेता हिमाल कालापत्थरमा परिणत हुन थाल्यो । हिमाल नांगिदै गएपछि पर्यटनमार्फत् समृद्धिको सपना देख्ने ंराष्ट्रलाई दुख्छ कि दुख्दैन कुन्नि, पिकेको मनमा भने बिझायो । त्यसपछि उनी व्यक्तिगत समृद्धिको सपना छोडेर प्रकृति संरक्षणको अभियानमा जुटे । ‘हिउँ रहे पानी, पानी रहे जीवन’ भन्ने नारा लिएर उनी सातै महादेशको उच्च हिमाल आरोहण गरी जलवायु परिवर्तनको असरबारे विश्वमा जनचेतना प्रवाह गर्न प्रतिबद्ध छन् ।
हुर्किंदै गरेको छोरा सोनामलाई पनि उनले आफ्नो सपनासँग जोडे । उनीसँग सम्पत्ति नभएपनि सपना थियो । विभिन्न देशसँग उनी आरोहणका लागि सहयोग र सहकार्यका लागि अनुरोध गरिरहेका छन् । धेरै देशबाट सकारात्मक सन्देश पनि पाएका छन् । तर आफ्नै देशको सरकारसँग पटक पटक उनले अनुरोध गरे, आफ्नो उद्देश्यबारे बुझाउन खोजे । तर निराशामात्रै हात लाग्यो । भन्छन्, ‘आरोहणमा ठूलो खर्च लाग्छ, एकजनाको लागि ३० लाख लाग्छ । सके त राष्ट्रले नै हामीलाई यो सन्देश बोकेर विश्व यात्रामा पठाउन पर्ने थियो । त्यति त भएन, कमसेकम सगरमाथा आरोहणको खर्च बेहोरिदिनु पथ्र्यो । त्यति नि भएन, डेढ लाख रुपैयाँ राजश्व छुट गरिदिएको भएपनि हामीलाई राज्यले दिएको माया र सम्मान ठान्थ्यौं । हामीले नेपालको गौरव बढ्ने काम नै गरेका हौं । यहाँ त उल्टै देशका जिम्मेवार व्यक्तिबाटै गैरजिम्मेवार भनाइ पो खाइयो ।’
सरकारसँग मन दुःख्ने वा रिस उठ्ने भन्दापनि उनी अचम्मित भए । यस्तो पनि हुन्छ र नागरिकप्रतिको व्यवहार ? उनी सगरमाथा चढेर फर्किसके तर सम्झेर अहिले पनि छक्क छन् । उनलाई लाग्छ यो एउटा देशको मात्र मुद्दा हैन, विश्वका ७ अर्ब मानिस र अन्य जीवको जीवनको सवाल छ, समग्रमा पृथ्वीकै अस्तित्वको सवाल छ । उनीहरूको नारा नै छ, ‘हिउँ रहे पानी, पानी रहे जीवन’ । भन्छन्, ‘यो महान् यात्रामा अब हामीलाई कुनै कुराले रोक्न सक्दैन ।’
܀܀܀