‘सातै महादेशको उच्च हिमाल आरोहण गर्दैछौं’

‘सातै महादेशको उच्च हिमाल आरोहण गर्दैछौं’

मंसिर ६, २०७५ 0 By शकुन्तला जोशी
शेयर गर्नुहोस्

सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलो पाइला राखेदेखि अहिलेसम्म विश्वभरका धेरै मानवले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरिसके । शिखरमा ती आरोहीले आफ्नो पाइलाको डोबमात्र छोडेनन्, फोहोरका डुंगुर पनि छोडे । अरुले छोडेका फोहोर उठाएर ताप्लेजुङको कञ्चनजंघा क्षेत्रको बासिन्दा पिके शेर्पाले भने सगरमाथासँग भिन्न नाता जोडेका छन् । डेढ दशकअघिदेखि आरोहणमा पेशामा संलग्न उनले सन् २०१० र २०११ गरी दुई पटक सगरमाथा आरोहण गरिसकेका छन् । आरोहणका क्रममा जम्मा भएको १८ सय किलोग्राम फोहोर उठाएर ल्याएपछि आरोहण क्षेत्रमा उनको फरक पहिचान बनेको छ । हिमाल सफाइ कार्यक्रम गर्न केही साथीसँग मिलेर पिकेले २०१० मा ‘फ्रेन्ड्स अफ सेभ द हिमालय’ नामक संस्था खोले । यही संस्थामार्फत पिके र उनको टिमले पहिलोपटक सगरमाथा सफा गरेका थिए । उनको टोलीमा २० जना सहभागी थिए । उनकै पहलमा सगरमाथाबाट आरोहणका क्रममा दुर्घटनामा परी ज्यान गुमाएका पाँच जनाको शव पनि तल ल्याइएको थियो । सन् १९७८ मा ताप्लेजुङको साँघु– ९ मा जन्मेका शेर्पा ग्लोवल्ली कन्सर्न सेन्टर फर क्लाइमेट चेन्ज, कन्चनजंघा पर्यटन प्रवद्र्धन केन्द्र, असीमित प्रकृति अवसर नेपालका अध्यक्ष हुन् । उनी टे«किङ एजेन्सीज एशोसिएन अफ नेपाल (टान) कार्यसमिति सदस्य पनि हुन् । विश्व पर्यटन दिवसको अवसर पारी यही सेप्टम्बर २७ तारिखमा सगरमाथा नेसनल पार्कमा उनकै पहलमा वृक्षारोपणको थालनी भएको छ । उनको व्यवसायिक कम्पनी युएनओ ट्राभल्स् एण्ड एडभेन्चर र सगरमाथा नेशनल पार्कको सहकार्यमा विदेशी पर्यटकसहितले १० ओटा धूपी सल्लाको रुख रोपेका छन् । विद्यालयस्तरको कक्षा सातको पाठ्यक्रमका लागि स्वीकृत ‘राम्रो नेपाली श्रृंखला’ किताबमा समेत पिकेबारे समेटिएको छ । पछिल्लो समय १३ बर्षीय छोरा सोनामसहित सातै महादेशको सात ओटा उच्च हिमाल आरोहण गर्ने योजनामा काम गरिरहेका उनीसँग गरिएको अन्तर्वार्ता प्रस्तुत छ –

हिमाल आरोहण पेशामा कसरी अघि बढ्नु भयो ? आरोहणसँगै हिमाल सफाइ गर्ने सोच कसरी तपाईको मनमा आयो ?
कृषि पेशा हुँदै मैले यो क्षेत्रमा पाइला राखेको हुँ । सन् १९९८ देखि म पर्यटन क्षेत्रमा जोडिएँ । जतिबेला ‘भिजिट नेपाल १९९८’ कार्यक्रमसहित पर्यटन वर्ष घोषणा भएको थियो । खासमा म कक्षा ८ मा पढ्दापढ्दै २०५२ सालमा मामाको छोरासँग काठमाडौं आएको हुँ । मैले यहाँ आएर गलैंचा कारखानादेखि भारी बोक्ने कामसम्म गरें । गाउँघमा भारी बोकेकै हो, मलाई त्यो काम अप्ठेरो लागेन । त्यसैले विदेशी पर्यटकको भारी बोकेर उनी मुक्तिनाथ, अन्नपूर्ण क्षेत्र र लाङटाङका विभिन्न स्थानमा पुगे ।
पर्यटन क्षेत्रमा आएपछि पर्यटकलाई नेपालको प्रकृति र त्यसमा पनि हिमालबारे बताउँदै गर्दा आफैंलाई पनि उच्च हिमाल आरोहण गर्न इच्छा जाग्यो । कतिपय त हिउँमै खेल्नु पर्ने, पाँच/छ हजार मिटरभन्दा माथिका पासहरु छिचोल्नु पथ्र्यो । त्यही क्रममा सगरमाथा आरोहण गर्ने सोच आयो । मेरा अग्रज नामगेल शेर्पाबाट मैले आरोहण गर्ने प्रेरणा पाएको हुँ ।

अन्य आरोही वा आरोहण पथप्रदर्शकले यो पेशालाई विशुद्ध पेशाकै रुपमा वा जीवनयापनको माध्यमका रुपमै सीमित गरेको पाइन्छ । तर तपाई चाहिँ किन हिमालको सरसफाई हुँदै जलवायु परिवर्तनको मुद्धासम्म आकर्षित हुनु भयो ?
यो क्षेत्रमा काम गर्न म ‘सेल्फ मोटिभेटेड’ हुँ । आरोहणको क्रममा के देखें भने हिमालको हिउँ पग्लिने क्रम बढेको पाएँ । पाँच/छ हजार मिटरको पास छिचोलिरहँदा हिमालको हिउँ हरेक वर्ष पातलिदै गएको देखिन्थ्यो । किन यस्तो हुँदै छ ? खोजी गर्न थालें । हामी त त्यही पर्यटन बेचेर खाने हो । यतिसम्म कि मैले पर्यटक गाइड गर्दा पनि, भारी बोक्दा पनि त्यो महसुस हुन्थ्यो कि भोली यो हिमाल रहेन भने के बेचेर हामी खान्छौं, बाँच्छौं ? आफैंलाई प्रश्न गर्न थालें । मैले भारी बोक्दा पनि खोज, अनुसन्धान गर्दै हिड्थें । हिमालमा जाँदा हिउँ पग्लिने क्रम जारी थियो । त्यसो हुनुमा आज फोहोर लगेर फालिने र विश्व जलवायु परिवर्तनसँगै अन्य देशमा उद्योगधन्दा कलकारखानाका कारण उत्सर्जित कार्बनडाइअक्साइडका कारण हिमालमा असर गरेको अध्ययनबाट थाहा लाग्यो । हाम्रो अस्तित्व अडेको यो धर्तीलाई केही प्रतिफल दिनुपर्छ भन्ने लाग्छ । त्यसपछि मैले सगरमाथाको शिखर चुम्नुसँगै त्यहाँ सरसफाइ गर्ने अठोट गरेको हुँ ।

आरोहणका क्रममा कुन दृष्य वा घटनाले तपाईलाई प्रभावित गर्यो होला ?
त्यस्तो सम्झना धेरै छ । खासगरी हिमाल चढ्दै जाँदा मलाई म आफू नभएर अर्कै शरीर हो कि जस्तो लाग्छ । त्यतिबेला म रुन्छु । एक पटक पर्यटकले फालेका फोहोरहरु सकिनसकी बोकेर मनास्लु क्षेत्रको हिमाल चढ्दै थिएँ । पर्यटक हिडाउने जिम्मेवारी त छँदै थियो, सँगसँगै उठाएको फोहोरको व्यवस्थापनको समस्या प-यो । बोकेर हिडिरहनु पनि गाह्रो, जलाएर नष्ट गरे कार्बन उत्सर्जन भएर वायुमण्डलमा असर गर्ने । अनि भगवानसँग प्रार्थना गरेर मनले नचाहँदा नचाहँदै एउटा खाल्डो खनेर त्यसलाई जलाएँ । त्यो बेला मलाई रुनु आयो । पहिलोचोटी म त्यति भावुक भएको थिएँ ।

अहिले तपाई बाबु छोरा नै सातै महादेशका उच्च हिमाल आरोहण गर्ने योजनामा लाग्नु भएको भन्ने सुनिन्छ, यो योजनाबारे बताइदिनोस् ।
पर्यटन क्षेत्रमा काम गर्ने क्रममा मैले संसारका धेरै देशका मानिससँग संगत गर्ने मौका पाएँ । मानिसको मनोविज्ञान बुझ्ने, अध्ययन गर्ने अवसर पाएँ । मानिस जहिले पनि नयाँ कुराको खोजीमा हँुदो रहेछ । मैले डेढ दशकदेखि जलवायु परिवर्तन र त्यसले हिमालमा पारेको असरबारे भन्दै आएँ । अहिले म टे«किङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान)को माउन्टेनेरिङ तथा इन्भाइरोमेण्ट विभागको संयोजक छु । यो जिम्मेवारीमा एउटा पर्यटकीय हब ठमेल, स्वयंभूलगायत पर्यटकीय क्षेत्रमा पनि सरसफाईको कार्यक्रम सञ्चालन गरें । त्यसबाट पनि मानिसमा खासै प्रभाव परेको पाइनँ । त्यसैले यो मुद्धामा विश्वभरका मानिसको ध्यानाकर्षण होस् । वातावरण, प्रकृति र मुख्यतः हिमाल जोगाउन सबैको चासो बढोस् भनेर नै हामी बाबु–छोराले यो महाअभियानको घोषणा गरेका हौं ।
हामी सातै महादेशको सात ओटा उच्च हिमाल आरोहण गर्दैछौं । यो अभियान विश्वका साढे सात अर्ब जनसंख्याले हिमाल अर्थात् पानीको स्रोत सुक्दै गएको मुद्धाप्रति सूसुचित गर्न सकिएला भन्ने प्रयासको थालनी हो । जलवायु परिवर्तनकै कारण विश्वमा प्राकृतिक प्रकोप बढ्दै गएको छ । यसबाट लाखौं मानिस वर्षेनी प्रभावित छन् । बाढी, पहिरो, खडेरी, आँधीहुरीमा परेर ठूलो जनधनको क्षति हुँदै आएको छ । कयौं प्रजातिका प्राणी तथा वनस्पति लोप हुँदै गएको विभिन्न अध्ययनहरुले देखाएको छ । किरा, फट्याङ्ग्रा, चराचुरुङ्गीको विनास हुँदै गएको छ । विकासका नाममा वन जंगल मासिदै गएको छ । त्यसको प्रभाव जंगली जनावर, चराचुरुङ्गी, सामुद्रिक प्राणीमा परेको छ । तिनले आहार र बासस्थानमै असर पुगेको छ । तिनले आफ्नो तरिकाले जिउनु पाएको छैन । ती प्राणी आफ्नो रैथाने क्षेत्रबाट विस्थापित हुनु परेको छ । यी सबै मानवीय गतिविधिका कारण भइरहको छ ।
यी प्रत्यक्ष–परोक्ष गतिविधिका प्रभाव हिमालसँग जोडिएको छ । हिमाल पानीको स्रोत हो । हजारौं वर्षको अवधिमा जमेको हिउँ तिब्र गतिमा पग्लिदै हिमाल नांगो हुँदै गएको छ । मैले हिमाल चढ्न शुरु गर्दा ताका लगभग ४ हजार दुई सयदेखि तीन सय मिटरको उचाईमा पुगिसक्दा हिउँ प्रशस्तै देख्न पाइन्थ्यो । अब पाँच हजार ३ मिटरको हाराहारी पुगेपछि मात्र देख्न सकिन्छ । त्यो बीचको खण्ड कालापत्थर मात्र छ । हिउँ पर्ने मौसममा हिउँले छोपेपनि त्यो पग्लेर गइहाल्छ । यसको गति द्रूत हुँदा समुद्रमा पानीको मात्रा बढेर कुनै क्षेत्र डुबानमा पर्ने, कतै पानीको मुहान सुक्दै जान्छ । परिणाम तः सुख्खापनको असर विश्वका धेरै मानिसले भोगिरहेका छन् । हाम्रो पुस्ता नै यस्ता समस्याबाट पीडित छौं भने प्रकृति विनाशको क्रम नरोकिए भावी पुस्ताको अस्तित्व के होला ? के हामी पनि डाइनोसोर जस्तो लोप हुने अवस्थामा त पुग्दैनौं ? यसरी हेर्दा एक दिन पृथ्वी नै पनि ध्वस्त नहोला भन्न सकिन्न । चिन्ता त्यहाँसम्मको हो । यो कुराले गर्दा खेरी जनचेतना जगाउन सकिएला भनेर नै हामी यो यात्रामा निस्कने तयारीमा जुटेका हौं ।

यति सानो उमेरमै छोरालाई कसरी आरोहणमा जान प्रेरित गर्नु भयो ?
मेरो हरेक गतिविधि नै हिमाल र आरोहणसँग जोडिएको हुँदा छोरा सोनाममा स्वभाविक रुपमा प्रभावित हुन पुगेको हुनुपर्छ । तर, ऊ आफ्नो इच्छा र अठोटले नै यो क्षेत्रमा लागेको हो । उसले यसअघि १३ वर्षकै उमेरमा पाँच हजार मिटरको उचाइ पुगिसकेको छ । उसलाई अहिले अल्टिच्यूड मेन्टेन गराउनु परेको छ । त्यसकारण अहिले नै हामी सगरमाथा चढ्दैनौं । सन् २०२० मा मात्र हामी सगरमाथा आरोहण गर्छौं । त्यो बेला उसको उमेर पनि पुग्छ, नागरिकता पनि लिइसकेको हुन्छ । त्यो बेला आरोहण गर्दा पनि ऊ सायदै सबैभन्दा कान्छो आरोही बन्ला । तर, त्यसो भन्दै गर्दा हाम्रो उद्देश्य किर्तिमान कायम गर्नु चाहिँ होइन । जलवायु परिवर्तन र यसले पारेको असरबारे नै जनचेतना बाँड्नु हो ।

आरोहणको थालनी कहाँबाट गर्दै हुनुहुन्छ ? आरोहण योजनाबारे बताइदिनोस् न ।
हाम्रो आरोहणको शुरुआत यसै वर्षको डिसेम्बर महिनाबाट अष्ट्रेलियाको कोस्चुस्को हिमालबाट हुन्छ । यो २ हजार २ सय अठ्ठाइस मिटर अग्लो छ । त्यसैगरी अफ्रिकी महादेशको ५ हजार ८ सय १५ मिटर अग्लो किलिमन्जरो हिमाल आरोहण गर्छौं । यो तान्जानीयामा अवस्थित छ ।
एशिया महादेशमा अवस्थित नेपालको गौरव विश्वकै सर्वोच्च शिखर सगरमाथा सन् २०२०मा आरोहण गर्ने योजना छ । युरोप महादेशको रुसस्थित ५ हजार ६ सय ४२ मिटर उचाईको माउण्ट एल्ब्रस, ६ हजार ९ सय ६० मिटर उचाईको दक्षिणी अमेरिकास्थित अकन्कोगुआ माउन्टेन, ६ हजार १ सय ९० मिटर उचाईको उत्तरी अमेरिकास्थित डेनाली माउन्टेन र अन्टार्टिकाको ४ हजार ८ सय ९२ मिटर उचाइको माउन्ट विन्सन म्यासिफ आरोहण गर्दैछौं । यी शिखरको आरोहण हामी लगातार नभई एउटा गरेपछि अर्को समय निकालेर गर्दै जानेछौं ।

यो महत्वाकांक्षी आरोहण योजनाका लागि आर्थिक स्रोत र अन्य व्यवस्थापन कसरी हुँदै छ ?
आरोहण गर्नु आफैंमा चुनौतीपूर्ण कार्य हो । यसको लागि सम्बन्धित देशहरुसँग अनुमति र सहयोगका लागि कानूनी प्रावधान मिलाउनु पर्ने हुन्छ । सगरमाथा आरोहणको फोटो, भिडियो क्लिपहरु मिडिया मार्फत् पहिले नै हेरिसकेको हुनाले सम्बन्धित देशका सरोकारवाला पक्ष हामीसँग काम गर्न इच्छुक हुनुहुन्छ । त्यहाँका हिमालमा पनि फोहोर बढ्दै गरेको हुनाले यो अभियानमा सहकार्य गर्न तत्परता देखाएका छन् । हाम्रो महाअभियान सम्पन्न गर्न सामान्य आर्थिक स्रोतले संभव छैन । त्यसका लागि हामीले विश्वभरका प्रत्येक नागरिकसँग एक डलर सहयोगको अपेक्षा गरेका छौं । तर, हामी बाबुछोराले नै त संकलन गर्न संभव छैन । त्यसका लागि विभिन्न संघसंस्थासँग सहकार्य हुँदै छ । आर्थिक स्रोत जुटाउनलाई त कुनै बहुराष्ट्रिय कम्पनीसँग आग्रह गरे पनि भइहाल्थ्यो । ती संस्थासँग आर्थिक संकलनका लागि मात्र हात फैलाइरहेका छैनौं । ती संस्थामार्फत् नै हाम्रो सन्देश विश्वभर पु-याउनु प्रमुख लक्ष्य हो । साथै हामी लगातार आरोहण गरेर किर्तिमानी बनिहालूँ भन्ने पनि हाम्रो उद्देश्य होइन । निरन्तर विश्वका मानिसलाई झक्झक्याइरहन एउटा आरोहणदेखि अर्को आरोहणको बीचमा समयको ग्याप रहने छ । अब हिमाल बचाउने अभियानमै मैले जिन्दगी समपर्ण गर्ने अठोट लिइसकेको छु ।

तपाईंहरुको अभियानलाई नेपाल सरकारले के कसरी सहयोग गर्दै छ ?
अहँ, अहिलेसम्म केही भएको छैन । तर, यहाँको मिडियामार्फत् भोली थाहा पाएर बाबुछोरा नै यस्तो अभियानमा लागेको रहेछ भन्ने थाहा पाएर यिनिहरुले केही गर्न खोजेको रहेछ, यसको क्रेडिट हामीले पनि पाउनु पर्छ, सिंगो राष्ट्रले लिनु पर्छ । यस्ता अभियन्तालाई हामीले संरक्षण र प्रोत्साहन दिएर हौसला बढाउनु पर्छ भन्ने सोच पक्कै सरकारमा आउला । त्यो दिन हामी पर्खेर बसेका छौं । अन्य देशका सरकार, विभिन्न संघसंस्था र विश्वभरका नागरिकले हामीलाई सघाउनु हुने छ भन्नेमा आशावादी छौं ।