सानो छँदा काखमा खेल्न नपाएकोमा दुःख छैन

सानो छँदा काखमा खेल्न नपाएकोमा दुःख छैन

असार ५, २०७८ 1 By जिन्दगानी
शेयर गर्नुहोस्

बुबा,
सानो असाध्यै डराउँथें म तपाईंसँग । आफूलाई केही चाहियो भने सिधै भन्न सक्दिनथेँ । घरमा तपाईं काठमाडौं जाने कुरा चलेपछि म चनाखो हुन्थेँ । आफूलाई चाहिएको सामानको सूचि कागजको पानामा उतार गर्थें र खुसुक्क तपाईंको झोलामा राखिदिन्थेँ ।

तपाईं घर नआइपुगुन्जेल मनमा उत्सुकता, उत्साह र त्रास हुन्थ्यो, मन ढुकढुक भइरहन्थ्यो । तर, हरेकपल्ट तपाईं आएपछि मेरो मनमा खुसीको छुट्टै रंगीन संसार निर्माण हुन्थ्यो । मैले सूचिमा उतार गरेका सबै सामान तपाईंको झोलामा हुन्थे । बाउ–छोराबीचको यस्तो अघोषित तर अदभूत मौन–प्रेम अहिले सम्झँदा गज्जब लाग्छ ।
आज तपाईंको जन्मदिनका दिन पनि त्यसरी नै आफ्नो मनमा लागेका केही कुराको सूची उतार गरेको छु ।

मलाई याद छ, जुन बेला कम्युटरको परिकल्पना अलिक फजुल अनुभूत हुन्थ्यो । अभावको जुलुस उस्तै थियो । त्यसबेला पनि तपाईंले मेरो सपनामा पंख लगाइदिनुभयो, प्रेरणाको पुल हालिदिनुभयो ।


सानो छँदा तपाईंलाई घरमा विरलै मात्र देखिन्थ्यो । धेरै कम भेटिन्थ्यो । त्यतिबेलाको मेरो सानो मस्तिष्कले तपाईं हिँडिरहेको ठूलो बाटोको भेउसमेत पाउन्नथ्यो । समाज र राष्ट्र परिवर्तनको अभियानमा सक्रिय हुनुहुन्थ्यो तपाईं । त्यसो त तपाईं शिक्षक हुँदा पनि पेशागत उत्तरदायित्वका साथै शिक्षक हकहितको आन्दोलनमा सदैव अग्रसर रहनुभयो । परिवर्तन तपाईंको अभिष्ट थियो, त्यसकै मार्गमा अविरल राजनीतिको नदीमा हेलिरहनुभयो । त्यसैले सानो छँदा तपाईंसँग धेरै खेल्न पाइएन । त्यही कारण मनमा एकप्रकारको दूरी, एकप्रकारको डर थियो । कुनै पनि कुरा सिधै भन्न नसक्नु त्यसैको उपज थियो ।

अहिले म प्रविधिको क्षेत्रमा जुन दख्खल राख्छु, डिजिटल सिर्जनाको क्षेत्रमा जुन स्थान बनाएको छु, त्यो तपाईंले प्रदान गरेको प्रेरणाको जगमा बनेको हो । मलाई याद छ, जुन बेला कम्युटरको परिकल्पना अलिक फजुल अनुभूत हुन्थ्यो । अभावको जुलुस उस्तै थियो । त्यसबेला पनि तपाईंले मेरो सपनामा पंख लगाइदिनुभयो, प्रेरणाको पुल हालिदिनुभयो । तपाईंले दिनुभएको एक सेट कम्प्युटर र प्रेरणाले नै मलाई यो बाटोमा हिँड्न उत्प्रेरित गरिरह्यो ।
मान्छे सफल हुन उसको क्षमतामात्रै पर्याप्त हुँदैन । कसैको प्रेरणाले नै सक्षमतालाई सफलतामा बदल्न सक्छ । विनाप्रेरणा सक्षमहरू पनि असफल भएका धेरै उदाहरण छन् । र, एउटा सन्तानको जीवनमा बुबा नै त्यो प्रेरणा हुनुजति शक्तिशाली संयोग के हुन्छ र ! मैले तपाईंबाट त्यो प्राप्त गरेँ । तपाईं मेरो जीवनमा ‘बुबा’को भूमिकामा मात्र हैन, ‘प्रेरणा’को भूमिकामा समेत रहनुभयो । साइनो मात्र हैन, सडक पनि बन्नुभयो । तपाईंले निर्माण गरिदिनुभएको यही जीवन–सडकमा अहिले निर्धक्क दौडिरहेको छु ।

कृष्णराज श्रेष्ठ, सिन्धुपाल्चोक जिल्लामा राजनीति, समाजसेवा र शिक्षासेवामा सक्रिय हुनुहुन्छ l


मलाई याद छ– २०५४/५५ सालतिर आठ कक्षामा पढ्दा दिदीसहित मलाई कम्प्युटर सिकाउन तपाईंले डा. जयन्द्र श्रेष्ठ सरको कम्प्युटर ल्याबमा पठाउनुभएको थियो । छोराछोरीले कम्प्युटर सिकून् भन्ने तीव्र चाहनाका कारण तपाईंले त्यसबखतको आर्थिक अभावसँग संघर्ष गर्नुभएको थियो । महिनाको दुई हजार तिरेर तीन महिनासम्म कम्युटर सिकाउनु त्योबेला राम्रै आर्थिक भार थियो । जसको मूल्यांकन अहिले गर्ने हो भने लाखकै हाराहारी पुग्न आउँछ । त्यतिबेला १० रुपियाँ लिटरमा पाइने मट्टितेलको भाउ अहिले १० गुणा बढिसक्यो । १० हजार तोलामा पाइने सुन लाख पुग्न लागिसक्यो । तर, त्यो बेला तपाईंले त्यो आर्थिक भार बोक्ने मसक्क आँट गर्नुभयो । मलाई कम्प्युटर सिक्न जति चाहना थियो, त्यो भन्दा धेरै गुणा बढी तपाईंभित्र सिकाउने तीव्र इच्छा थियो । यसरी नै मेरो जीवनमा हरेक पाइला राख्न तपाईंले बाटो बनाइदिनुभयो । र, त म यो ठाउँमा छु भनेर अहिले गर्वका साथ भन्न सक्छु ।

आजकाल कहिलेकाहीँ तपाईंको गुनासो सुन्छु– ‘परिवर्तनका लागि लागियो । व्यवस्था र देश राम्रो बनाउन जीवन खर्चिइयो । तर, आफ्नै व्यक्तिगत जीवन भने राम्रो बनाउन सकिनँ ।’

उहिलेजस्तै अहिले पनि म तपाईंलाई सिधै भन्न त सक्दिनँ, तर मनमा लागिरहन्छ–तपाईंले जे गर्नुभयो, त्यसमा तपाईंले छाती ठूलो बनाएर गर्व गर्नुपर्छ । यहाँ देशको नाम गरेर आफैंलाई मात्र प्राथमिकतामा राख्ने स्वार्थीहरूको कमी छैन । तर, तपाईं त्यो सूचीमा कहिल्यै दर्ज हुनुभएन । व्यक्तिगत जीवन नै समाज र राष्ट्रका लागि समर्पण गर्नुभयो । व्यक्तिगत सुखका लागि मात्र दौडिरहेका व्यक्तिहरूको भीडमा व्यक्तिगत स्वार्थ त्यागेर राष्ट्रका लागि जीवन समर्पण गर्ने थोरैमध्ये तपाईं एक उदाहरण हुनुहुन्छ । हामीलाई पनि यसैमा बढी गर्व छ बुबा !

तपाईंले दिएको त्यो समानताको शिक्षाले नै मेरो मस्तिष्कमा संसारलाई समान रूपमा हेर्ने दृष्टिविन्दू निर्माण गरिदियो । मलाई लाग्छ– हरेक बाबुले सन्तानलाई यसरी नै समानताको शिक्षा दिन सके विभेदको खाडल पुर्ने पुस्ता आफैं तयार हुन्छ ।


उमेर बढ्दै किशोरकालको उत्कर्ष, १८–१९ वर्षतिर थिएँ । तपाईं पनि त मलाई सबै कुरा सिधै भन्न सक्नुहुन्नथ्यो सायद । तर, मेरो उमेरको मनोविज्ञान राम्ररी पढ्न सक्नुहुन्थ्यो । त्यसैले अनेक प्रसंग मिलाएर तपाईं भनिरहनुहुन्थ्यो, ‘तिमी जुनसुकै जातको मान्छेसँग बिहे गर्नू । मलाई फरक पर्दैन ।’ तपाईंको बोलीबाटै प्रष्ट हुन्थ्यो कि समाजमा चलिरहेको असमानताको खाडललाई पुर्न चाहनुहुन्छ ।

‘सम्बन्ध जातसँग होइन, मान्छेसँग हुने हो । र, संसारमा सबै मान्छे समान छन् । जात त केवल नामाकरण हो । त्यसैले जुनसुकै जातसँग बिहे गरे पनि फरक पर्दैन ।’ तपाईंले दिएको त्यो समानताको शिक्षाले नै मेरो मस्तिष्कमा संसारलाई समान रूपमा हेर्ने दृष्टिविन्दू निर्माण गरिदियो । मलाई लाग्छ– हरेक बाबुले सन्तानलाई यसरी नै समानताको शिक्षा दिन सके विभेदको खाडल पुर्ने पुस्ता आफैं तयार हुन्छ ।

मलाई सम्झना छ– तपाईं शब्दमा मात्रै समानता व्यक्त गर्नुहुन्नथ्यो, त्यसलाई व्यवहारिक कसीमा उतार्नुहुन्थ्यो । साढे दुई दशकभन्दा अघिको कुरा हो । समाजमा जातीय विभेदको कहर अत्यधिक थियो । मानिसलाई पानीसमेत छुन नमिल्ने जातका रूपमा विभेद गरिन्थ्यो । तर हाम्रो घरमा उनीहरू निर्धक्क आउँथे । टेलिभिजनमा ‘रामायण’ सिरियल आउँथ्यो । उनीहरू दकस मानेर बाहिरै बसेर हेर्न खोज्थे । तर तपाईं सम्मानपूर्वक घरभित्रै बोलाउनुहुन्थ्यो ।

तपाईंले व्यवहारबाटै प्रमाणित गरिरहनुभएको थियो– तपाईं साँच्चिकै मान्छे–मान्छेबीचको विभेद र असमानताको कठोर विरोधी हुनुहुन्छ । तपाईं दोहोर्‍याइरहनुहुन्छ ‘सबै समान, सबैको सम्मान’ । तपाईंले आफ्नो जीवन–व्यहारबाट हामीमा पुस्तान्तर गरेको योभन्दा मूल्यवान सम्पत्ति के हुन सक्छ !

प्रभात श्रेष्ठ, सिन्धुपाल्चोक जिल्लामा सूचना प्रविधि, ग्राफिक डिजाइङ्ग र पत्रकारितामा सक्रिय हुनुहुन्छ l


तपाईं बोली र भावनाले हैन, व्यवहारले माया देखाउनुहुन्छ । हो, सानो छँदा तपाईंको काखमा धेरै खेल्न पाइएन । तर त्यसको क्षतिपूर्ति तपाईंले आफू देशको छोरा बनेर देशकै लागि समर्पित भएर गरिरहनुभएको छ ।
तपाईं समाजको अभिभावक बनेर शिक्षा र समाजसेवामा निरन्तर तल्लिन रहनुभयो । मलाई तपाईंको छोरा हुनुमा जति गर्व छ, उत्तिकै गर्व तपाईं समाजको अभिभावक हुनुभएकोमा छ । राजनीति र सामाजिक समानताको क्षेत्रमा मात्रै होइन, तपाईंले सिन्धुपाल्चोक जिल्लामा शिक्षाको स्वरूप परिवर्तन गर्न पनि उत्तिकै योगदान गर्नुभयो । जिल्लामा जुनखाले शिक्षाको जन्म भएको छ, तपाईं नभएको भए यो तीव्र परिवर्तन सायद सम्भव थिएन ।

यी सारा तथ्यबीच समाजसेवा र शिक्षामा जुन इमानदारिता र समर्पण तपाईंको छ, यो चानचुने हैन । र, राजनीति सँगसँगै मानवअधिकारको सवालमा पनि तपाईंको भूमिका उल्लेखनीय छ । मेरो मनदेखि मस्तिष्कसम्म तपाईंले भरिदिनुभएको खुबीले खुशी बन्न सकेको छु अहिलेसम्म । बुढेसकालमा पनि समाजका लागि केही गर्न नगलेका तपाईंको हिम्मतलाई सधैं सलाम छ बुबा । जन्मदिनको सम्पूर्ण शुभकामना !
उही छोरा
प्रभात श्रेष्ठ
܀܀܀