यसरी फुटे प्रचण्ड, बाबुराम र किरण

यसरी फुटे प्रचण्ड, बाबुराम र किरण

साउन ३२, २०७८ 1 By वामदेव क्षेत्री घिमिरे
शेयर गर्नुहोस्

म गुल्मी पुगेर काम गर्न थालेको एक महिना पुगेछ । थाहै नपाइकन दिनहरू छिटो छिटो वितेका रहेछन् । जिल्ला कमिटी एरिया कमिटीका सदस्यबीच म परिचित भइसकेको थिए । गुल्मीमा रोल्पा रुकुम, प्यूठान र गुल्मीका कार्यकर्ताहरू थिए । एउटा उद्देश्य स्पीड र उत्साहका साथ बैठक सम्पन्न गरेर अभियानमा जुटेका थियौ । म काममा व्यस्त हुन थाले सुरक्षाका दृष्टिले अति जटिल पनि थियो । आजका यिनै दिन भोलि इतिहास हुने छ, भोगाईलाई लिपिबद्ध गर्ने सोचें र डायरी लेख्न थालें । तर त्यो जोखिमको यात्रा रुटिन जिन्दगी जस्तो हुने कुरै भएन । कहिले लेख्ने कहिले ग्याप हुने गरेको थियो । महत्वपूर्ण मिटिङ निर्णय र निर्देशनात्मक चिठ्ठी सुरक्षित राख्ने गरेको थिएँ । मैले भारतको बैङ्लोर (मैसुर) मा भएको पोलिटव्यूरो बैठकको निर्णयबारे पूर्ण जानकारी पाउन सकेको थिइँन । अन्तरसघर्षको अवस्था के होला ? जिज्ञासा थियो ।

प्रचण्डजी किरणजीलाई भेट्न गएको बेला कोठामा छलफल गर्दा अन्तरसंङ्घर्षको कारण चर्काचर्की हुँदा भारतीय प्रहरी नै आउने अवस्था भएको थाहा थियो ।

पि.बी (पोलिट व्यूरो)को बैठक सकेर कमरेडहरू फर्किने बेलामा पटनाबाट १०/१२ जना कमरेड गिरफ्तार पर्नु भएछ । पार्टीलाई ठूलो क्षति भयो । खबरले पार्टी तरंग पैदा भयो । अब पार्टीको केन्द्रीय कमिटीको बैठक देशभित्रै होला की बाहिर होला, म पर्खाइमा थिएँ । नेताहरूसँग भेटघाट भएपछि पोलिट ब्यूरो बैठक र गिरफ्तारीबारे तथ्य थाहा पाइने हुटहुटी थियो । २०५५ सालको अन्तरसङ्घर्ष कालमा नेतृत्वको नजिक भएकोले म स्वयम् प्रत्यक्षदर्शी थिएँ । त्यसबेला २०५५ देखि २०५६ साल पूरै एक बर्ष हेटक्वाटर अन्तरसङ्घर्षमा नै रुमलियो । त्यसले वर्ग सङ्घर्षमा पनि असर पार्‍यो । भारतको पन्जाबस्थित रोपड शहरमा भएको पोलिटव्यूरोको बैठकमा प्रचण्डजीको भनाइ थियो, ‘अन्तरसङ्घर्ष बाबुराम, प्रचण्ड, मोहनवैद्य (किरण) बीचको हो ।’ त्यतिबेला नेपालको पूर्वी कमाण्डको जिम्मा किरणजीको थियो र वहाँको सेल्टर पश्चिम बङ्गालको कालिम्पोङमा थियो । प्रचण्डजी किरणजीलाई भेट्न गएको बेला कोठामा छलफल गर्दा अन्तरसंङ्घर्षको कारण चर्काचर्की हुँदा भारतीय प्रहरी नै आउने अवस्था भएको थाहा थियो । यसरी प्रचण्ड र मोहनवैद्य (किरण) बीच अन्तरसंङ्घर्ष भए पनि वाहिर रूपमा प्रचण्ड बाबुरामको मात्र अन्तरसंङ्घर्षका विषय आउने गरेको थाहा हुन्थ्यो । त्यसैले अहिले किरणजी भारतीय जेलमा हुनुहुन्छ । अब अन्तरसंङ्घर्ष को कोसित कस्तो होला ? भन्ने जिज्ञासा लाग्नु स्वभाविक थियो ।

हेडक्वाटरमा अन्तरसंघर्ष र त्यसलाई सुल्झाउने उपाय खोजिमा थियो । तर पार्टीको तल्ला तहका संगठन भने डेढ महिनाको शुद्धिकरण र विस्तार अभियानमा थियो । म स्वयम् पूर्वको छापाचौर शान्तिपुर, वामी, खैरेनी, बलेटक्सारसम्म १५ दिन लगाएर अर्घाखाँचीको अर्घातोस हुदै गुल्मीको नयाँगाउ पुगेको थिएँ । त्यहीबीच मेरो स्वास्थ्यमा समस्या देखिन थालेकाले केही समय आराम गर्नुपर्ने जरुरी देखियो । म जेलमा हुँदा सेनाको यातनाबाट कलेजोको रोगी भएको थिएँ । कमरेडहरूलाई भनेर एउटा सेल्टरको व्यवस्था गरी म १० दिन जति त्यही बसें । म पश्चिमको अभियानमा पूर्णरूपमा जोडिन स्वास्थको कारणले सकिनँ । समय वित्दै गयो १ महिनापछि जनमुक्ति सेनाको टीम क. अभिनाशको नेतृत्वमा गुल्मी आयो । त्यतिबेला मैले गुल्मीको जैसीथोकमा केही पत्रकारहरूसित भेटघाट गरेको थिएँ । त्यसलाई मिडियाले खुब उछाल्यो र त्यसको असर क्षेत्रीय व्यूरो इन्चार्ज क विप्लवलाई पनि परेछ । मलाई रोल्पा बोलाइयो र केन्द्रीय सदस्यहरू बीच राखेर स्पष्टीकरण लिइयो । त्यतिबेलासम्म अन्तरसंङ्घर्षले एउटा रुप धारण गरिसकेको रहेछ । मैले पनि क.माओको ‘जनता बीच जाने, विचार लिने र संष्लेषण गरेर विचार जनतालाई दिने’ भन्ने विचारलाई आत्मसाथ गर्दै दृढतापूर्वक लागू गर्ने मत राखें । म विचलित हुने कुरा थिएन । गुल्मीमा काम गर्ने भूमीगत कार्यशैली भएपनि अलि खुकुलो थियो । हामी गुल्मीमा जिम्मेवारी अनुसार विचार, राजनीतिक र संगठनात्मक रूपमा विकास गर्दै गयौं । बस्नका लागि केही सेल्टर बनेका थिए, आर्थिक रूपले पनि गाह्रो थिएन । भूमिगत रूपमा फौजी तथा गैरफौजी गतिविधि बढ्दै गएका थिए । त्यसलाई सञ्चारको माध्यमबाट स्थापित गर्ने काम भयो । एकथरीलाई यो चित्त बुझेको थिएन ।

फागुन शुरु हुँदै थियो, जनयुद्घ दिवस आयो । युद्धका लडाकुका लागि खासगरी त्यो उत्सव थियो । हामीले भेला, अन्तरक्रिया, अनुभव साटासाट गर्दै मनायौं । जिल्लाबाट विस्थापित भएकाहरु मध्ये केहीलाई घर फर्काउने काम पनि भयो । त्यसै बीचमा क्षेत्रीय व्यूरोको बैठक बोलाइयो, म रोल्पातिर लागें । रोल्पा पुगेपछि देवेन्द्र पौडेल ‘सुनिल’ बलावती शर्मा, सिन्धुलीकी सीमा, मनु हुमागाईं दिदीसँग भेट भयो । उहाँहरुबाट बैङ्लोर बैठकमा उठेका अन्तरसंङ्घर्षको विषयबारे केही कुरा जानकारी पाएँ । त्यतिबेला भारतबाट बरबर रावको नेतृत्वमा सांस्कृतिक टीम पनि रोल्पा आएको रहेछ मलाई वहाहरूसित भेटदा पुराना दिनको याद आयो, निकै खुसी लाग्यो । क्षेत्रीय व्यूरो बैठकमा पार्टी हेडक्वाटर विशेष क्षेत्रमा आउने थाहा भयो । हेडक्वाटरको सुरक्षाको जिम्मा जनमुक्ति सेनाले र अन्य व्यवस्थापनको जिम्मा चाहिँ क्षेत्रीय ब्यूरो कमिटीले लिने निर्णय भयो ।

राजा ज्ञानेन्द्रले वार्ता टोलीको संयोजक बाबुराम भट्टराइलाई नभेट्ने तर रामबहादुर थापा ‘वादल’लाई भेटने कुरा बाहिर आएको थियो

मसाल हुँदैदेखि कम्युनिष्ट पार्टीलाई परम्परावादी सोचबाट माथि उठाउनु पर्छ भन्ने मत राख्दै आएका थिए । यसप्रकारको मतकै कारण उनी खासगरी अन्तरसंङ्घर्षको केन्द्र बन्ने गर्थे । स्टालिनको पालादेखि नै कम्युनिष्ट पार्टीले जुन ‘यान्त्रिक’ रुप ग्रहण गर्यो, त्यो गल्ती सच्चाएर अगाडी बढ्नु पर्ने उनको धारणा थियो । एकता, संङ्घर्ष, रुपान्तरण हुँदै पुनः एकताकै पक्षमा उनको दृढ विश्वास थियो । उनले अध्ययन गरेको जवहारलाल नेहरू विश्वविद्यालय कम्युनिष्टहरूको अखडा थियो । सबै देशका कम्युनिष्ट वौद्धिकसितको भेटघाट, पुस्तकालयमा माक्र्स एगेल्स, लेलिन, स्टालिन, चे ग्वेभारा, रोजा लग्जेम्बर्गबारे गहिरो अध्ययन गरेका बाबुराम कम्युनिष्टको परम्रावादी ढाँचा सच्चाउनु पर्छ भन्ने पक्षमा थिए । २०५८ सालसम्म माओवादीले राष्ट्रियतालाई प्रधान बनायो र राजा र सेनालाई नछुने नीति लियो । २०५८ सालपछि माओवादीले आफ्नो नीति बदलेर गणतन्त्रमा जाने निर्णय लियो । त्यसका लागि राजा र भारतलाई हेर्ने दृष्ट्रिकोण पनि बदलिएको थियो, पछिल्लो अन्तरसंघर्ष यसैमा केन्द्रीत थियो । सरकारसँग भएको दोस्रो वार्ताका संयोजक बाबुराम भट्टराई थिए । २०६० साल साउनमा दाङको हापुरेमा भएको वार्ता असफल भएको थियो । त्यो बेला राजाको सत्ता थियो र सरकारको वार्ता टोली प्रमुख कमल थापा थिए । राजा ज्ञानेन्द्रले वार्ता टोलीको संयोजक बाबुराम भट्टराइलाई नभेट्ने तर रामबहादुर थापा ‘वादल’लाई भेटने कुरा बाहिर आएको थियो ।

त्यहीबेला सी.पी. गजुरेल भारतको मद्रासबाट गिरफ्तार परेका थिए । २०६० साल चैतमा सिलगुढीबाट क. मोहन वैद्य (किरण) गिरफ्तार परेका थिए । त्यसै बीचमा २०६१ जेठमा बैङ्लोरको मैसुरमा पोलिट व्यूरो बैठक बसेको थियो । बैठकको बहस ‘सर्वसत्तावाद हो की उदारवाद हो ?’ भन्ने थियो । त्यसमा रामबहादुर थापा ‘वादल’, कृष्णबहादुर महरा, बाबुराम एकातिर र प्रचण्ड अर्कोतिर रहे । त्यो वहसको टुङ्गो नलागेपछि केन्द्रीय कमिटी टुङ्गो लगाउने निष्कर्षसहित बैठक सकिएको रहेछ । बैठकको निष्कर्ष भनेको भारतीय शासकवर्गले हामीहरुप्रति कठोर दमन गरेको निष्कर्षमा पुगी भारतविरुद्ध संङ्घर्ष गर्ने र राष्ट्रियतालाई प्रधान बनाउने भन्ने रहेछ । त्यसपछि बाबुरामले इलाहावादबाट आफ्नो सेल्टर खाली गर्ने र प्रचण्डजीले पनि दिल्लीबाट आफ्नो सेल्टर खाली गरी लखनऊ भेट भएर देशभित्रै विशेष क्षेत्रमा जाने निर्णय गर्नु भएछ । दुवै जना आफ्नो आफ्नो ठाउँतिर लागेपछि एकथरी पार्टीभित्र भएका लोभी पापीहरुले प्रचण्डजीलाई कुरा लगाएछन्– बाबुरामले सबैलाई गिरफ्तार गराएर नेतृत्व हातमा लिन तयार छ । त्यसैको परिणाम अन्तरसंङ्घर्ष हो भनेर वनावटी कुरा लगाएछन् ।

तर अहिले पनि व्यवहारमा विश्वास नगर्दा पार्टीलाई ठूलो नोक्सान परेको बारे समीक्षा गर्न सकेका छैनौं ।

त्यहीबेला मातृका यादव र सुरेश आले, उपेन्द्र यादव दिल्लीबाट गिरफ्तार हुनु भयो । उपेन्द्र यादवलाई छाडेर मातृका यादव र सुरेश आलेलाई नेपाल सुपुर्दगी गरिएपछि प्रचण्डजीलाई पनि बाबुरामले षडयन्त्रै पो गर्न लागेको हो की भन्ने परेछ । एकातिर लगातार गिरफ्तार अर्कोतिर वहस पनि राजा र भारतलाई हेर्ने दृष्टिकोण भएकाले प्रचण्डजीलाई लगाएका कुरा सत्यतथ्य नबुझीकन झस्किएको हुनुपर्छ । कतै यि सबै गिरफ्तारीमा बाबुरामको भारतीय शासकवर्गसित त साठगाठ छैन ? भन्ने आशंका सम्ममा पुगेजस्तो लाग्छ । तर वहाँले यो हेक्का राख्नसक्नु भएन कि भारतीय शासकसित भेट गराउने, ६ वर्षसम्म हेडक्वाटर भारतमा बस्न मिलाउने बाबुरामको नजिकको नेता वामदेव क्षेत्रीलाई गिरफ्तार गरी भारतीयहरूले नेपाल किन बुझाए ? बाबुरामको नजिक राम कार्की, मोती रिजाल, निभा शाहलाई भारतमा गिरफ्तार गरी नेपाल किन बुझायो ? त्यसको ख्याल राख्नु भएन ।

केही व्यक्ति पार्टीभित्र बाबुराम–प्रचण्डको बीच दरार पार्ने, अन्तरसंङ्घर्ष चर्काउने खेलमा थिए । प्रचण्ड तिनिहरुकै चंगुलमा परेर कृष्णबहादुर महरा, रामबहादुर थापा ‘वादल’ लाई आफ्नो पक्षमा राखी मुख्य समस्या बाबुराम हो, बाबुराम र भारतविरुद्ध कठोर संङ्घर्ष गर्नुपर्छ भन्ने मनसायसहित नेपाल पस्नु भयो । हाम्रो पार्टीभित्र विचारको बहस हुनु स्वभाविक हो । तर अहिले पनि व्यवहारमा विश्वास नगर्दा पार्टीलाई ठूलो नोक्सान परेको बारे समीक्षा गर्न सकेका छैनौं । २०५५ सालमा बाबुरामले दिल्लीमा भेला गर्यो भनेर लगाएका कुरा प्रमाणित हुन नसकेपछि एकपल्ट लगाएका कुरा ठीक हो की होइन ? भनेर विश्लेषण, छलफल नगर्ने, एकोहोरा शंका गर्दा नोक्सान हुनु स्वभाविक थियो । त्यसले किरण र बाबुरामलाई प्रचण्डबाट अलग–अलग बनाइदियो । यत्रा विश्व हल्लाउने क्रान्तिको धार आज कहाँबाट कहाँ पुग्यो ? आफ्नै भित्रको विखण्डनले पार्टीले कहाँसम्मको क्षति भोग्नु परेको छ ? अझै विश्लेषण गर्ने कि यही दलदलमै हामी फसिरहने हो ? सोच्नु जरुरी छ ।