धेरै पढ्नेको दिमाग खराब हुन्छ ! (भिडियोसहित)

धेरै पढ्नेको दिमाग खराब हुन्छ ! (भिडियोसहित)

मंसिर २१, २०७६ 0 By कला अनुरागी
शेयर गर्नुहोस्
भिडियो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक अध्यक्ष प्रचण्डले कार्यकर्ताबीच ‘धेरै पढ्ने मान्छे बहुलाउँछ’ भनेर प्रशिक्षित गरेको भिडियो सार्वजनिक भयो । प्रचण्डको भनाइ सुनेर गद्गद् हुँदै कार्यकर्ता हाँसेको र ताली बजाएको दृश्य पनि देखियो । धेरै पढ्ने भनेको कति र पढेर कति जना बहुलाए भन्ने तथ्य सार्वजनिक छैन ।
व्यवहारसँग पुस्तकको ज्ञान नजोड्ने बरु पुस्तकको लती भनेर सारसंग्रहमा हराउनेका सन्दर्भमा प्रतीकात्मक रूपमा कतिपयले त्यसो भनेको पाइन्छ । प्रचण्डले जजसलाई इंगित गरेर त्यसो भनेका थिए, तिनीहरू तिसौं वर्षदेखि संगठित रूपमा आन्दोलनमा रहिरहेका व्यक्ति हुन् । एक समय राम्रो पढ्ने र लेख्नेसहितको कार्य गर्दैनथे भने तत्कालीन शाही सेनाको जागिरेसम्म बन्न तम्सिएका छविलाल पुष्पकमल दाहाल हुँदै प्रचण्डसम्म हुन आइपुग्दैनथे । उनले यति ज्यादिविधि हावा बोल्दासमेत गद्गद् भएर हाँसो र ताली कार्यकर्ताले सजिलै दिए । किन होला ?
(पूरा पढ्न: आहुति, बौद्धिक जागरणको नेपाली तिर्खा)

‘धेरै पढ्यो भने मान्छेको दिमाग खराब हुन्छ…’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो दलीय सहयात्राबाट अलग भएका बाबुराम भट्टराई र आहुतिबारे टिप्पणी गर्दै यसो भने। यी दुई नेता धेरै पढेका कारण आफ्नो नेतृत्वको दलबाट बाहिरिएका हुन् भन्ने आशय व्यक्त गरे। शक्ति र सत्ताको सहज बाटो नरोजेर नयाँ बाटो खोज्ने दुष्कर यात्रामा निस्केका हुन् भनेर तिनलाई गिज्याए। उनले यसो भन्दैगर्दा सभाहलमा कहिले ताली बजे, कहिले खित्का छुटे। माओवादी केन्दसम्बद्ध लेखक, कलाकार र संस्कृतिकर्मीहरूको भेलामा अध्यक्षले सो भाषण गरेका थिए। डरलाग्दो आइरोनी यही हो कि उनले अध्ययनविरोधी भाषण गर्दा स्वयं चिन्तक र लेखकहरू खित्का छोडेर बसिरहे।
प्रचण्डले हलुका ढंगले गरेको भाषणबाट मूलतः दुई गम्भीर अर्थ निकाल्न सकिन्छ। पहिलो, आफ्ना अघिल्तिर भेला भएका ती संस्कृतिकर्मीलाई उनले कुनै महत्व दिँदैनन्। तिनका कुरा गम्भीरता साथ सुन्नुपर्ने र तिनले उठाएका प्रश्नमाथि चिन्तन गर्नुपर्ने ठान्दैनन्। तिनले नेता मानेका आहुतिले पार्टीसत्तालाई चुनौती दिनु ‘हुटिट्याउँले सगर थाम्न’ खोज्नु हो भन्ने ठान्छन्। नजिकका आसेपासे र आफूले अह्रनखटन गर्न सकिने मान्छेहरूको झुण्डलाई हेपेर बोलेको जस्तो आभास हुने गरी उनी बोलेका थिए।
दोस्रो, जसले पार्टीभित्र धेरै पढ्यो, उसैले दुःख पायो भनेर बुझाउन खोजे। जसले धेरै पढेर फुर्ती गर्योल उसले पार्टीसत्ताको हैकम मानेर आफूलाई सुरक्षित राख्न चाहेन। पढ्नु, चिन्तन गर्नु, आलोचनात्मक चेतनाले पार्टीसत्तालाई चुनौती दिनु नै दिमागलाई असल बन्न नदिनु हो। दलीय ओतमा सुरक्षित बस्ने हो वा नबिग्रने हो भने किताबहरूबाट बच्नु भन्ने सुप्रिमोको आदेश प्रष्ट बुझिन्छ।
कम्युनिस्ट भनिने दलको सर्वोच्च नेताले दलीय भ्रातृसंगठनलाई कसरी हेर्छन् भनेर बुझ्न प्रचण्ड–भाषणको पहिलो अर्थ सहयोगी हुन सक्छ।
(पूरा पढ्न: उज्ज्वल प्रसाईं, पढ्दै नपढी प्रचण्ड ?)

  • अब प्रचण्डको अभिव्यक्ति यस्तो थियो:

‘अहिले जो साथी (आहुती– सं.) ले माओवादी केन्द्रले सिद्धान्त पनि छोड्यो, एमालेसँग पार्टी एकता पनि भइ नै सक्यो, एमालेमा विलीन भयो, माओवादी सिद्धियो भनेका छन् नि, तिनै साथी मैले एकताको यही कोठामा सेक्रेटरियटको बैठकमा प्रस्ताव राख्दा, ‘एकदम ठिक हो, माओवादी पार्टी अलग चलाउनु भन्दा अहिलेको परिस्थितिमा एउटै कम्युनिष्ट बनाएर व्यापक बहस गर्नु सही हो’ भन्ने पहिलो मान्छे हो । भनेपछि उहाँको के स्वार्थपूर्ति भएन ? अलि धेरै पढ्यो भने मान्छेको दिमाग खराब हुन्छ । बाबुरामजी देख्नुभएको छ नि कहाँ पुग्नुभयो ! बढी पढेर के, जान्ने भएर ।
त्यतिबेला एकता एकदमै ठिक हो भन्ने, अलग्गै कम्युनिष्ट पार्टी चलाएर बस्नुभन्दा सबैलाई एक ठाउँमा बनाएर बहस गर्नु कयौं गुणा ठिक हुन्छ भन्ने पनि उहाँ नै हो । सोध्नुहोला, विचित्रको नाटक त तपाईंले पो गर्नुभएछ भनेर । पार्टीले सिधा–सिधा कुरा गरेको रहेछ, नौटंकी त तपाईंले गर्नुभएछ भनेर सोधे हुन्छ । ”अलि धेरै पढ्यो भने मान्छेको दिमाग खराब हुन्छ । बाबुरामजी देख्नुभएको छ नि कहाँ पुग्नुभयो ! बढी पढेर के, जान्ने भएर ।

अझ अनौठो कुरा त के छ भने वामगठबन्धनको साझा घोषणापत्र तयार गर्ने भनेर पार्टी एकता संयोजन समितिले कार्यदल बनाइयो । त्यो कार्यदलमा कमरेड नारायणकाजी श्रेष्ठ पनि मुख्य हुनुहुन्थ्यो एकजना । उहाँले मलाई भन्नुभएको थियो– यो लेख्नचाहिँ मैले नभ्याउने भएँ, ड्राफ्ट गर्ने जिम्मा आहुतीलाई दिन्छु ।
‘हुन्छ दिए हुन्छ, कुरो राम्रो आए त भयो’ भनें मैले । त्यसको धेरैजसो ड्राफ्ट गरेको आहुतीले हो । अब विचार गर्नुस् त यस्तो बेइमानी गर्नुहुन्छ ? यति अनैतिक हुनुहुन्छ मान्छे ? फेरि उहाँलाई यहाँ बहस गर्न कसले दिएको थिएन र ? यहाँ आएर मजाले आफ्ना कुरा राखे पनि हुन्छ । उहाँ त सेक्रेटरियटमै हुनुहुन्छ पार्टीको, सबैभन्दा माथिल्लो ‘बडी’मा । मलाई यो–यो चित्त बुझेको छैन, यसलाई मिलाउनुप-यो । यो आधारमा पार्टी एकता नगरियोस् भने पनि हुन्छ । भन्ने ठाउँ छ नि त, भन्न पाइन्छ नि त । तर आफैं एकताको स्वागत गर्ने, वामगठनबन्धनको घोषणापत्र आफैंले लेख्ने, ड्राफ्ट गरेर बुझाउने, अनि आफैं अहिलेचाहिँ छैन पार्टीमा भनेर हिँड्ने ? छलफल पनि एकचोटी पनि नगरिकन । भनेपछि सांस्कृतिक मोर्चाका इन्चार्जको नैतिक धरातल कति हो भन्ने प्रश्न उठ्यो कि उठेन त ? तपाईंहरू सोझा सिधाले उहाँलाई सोध्नुप-यो यस्ता कुरा । नत्र ‘लाटागाँडा’ भइराखियो भने हामीलाई ठगेको ठग्यै गर्ने भए मान्छेले । यो कुरा बुझ्नुहोला ।

०००
अहिले फटाहाहरू, जालीहरू, भ्रष्ट्राचारीहरू बेखुशी छन् । जनता खुशी छन् । अनि जनता खुशी भएका बेला हाम्रो दुईचार जना साथीहरू बेखुशी हुने !
०००

यहीँ पनि भन्नुभयो विष्णुजीले (विष्णु भण्डारी, अध्यक्ष, अखिल नेपाल लेखक संघ । उनले गरेको प्रश्नबारे जिज्ञासा लागे कमेन्ट बक्समा लेख्नुहोला, हामी प्रकाशित गर्नेछौं) मलाई अचम्म लागेको छ उहाँले बोलेको देखेपछि । कहाँ जान मन लाग्यो तपाईंलाई ? कहाँ जानुहुन्छ ? साम्राज्यवादीसँग, तिनका दलालसँग ? क्रान्ति गर्नुहुन्छ गएर ? त्यो होइन कुरा । त्यो हुँदै होइन कुरा ।

विष्णु भण्डारीका प्रश्नहरू

लेनिनले मेन्सेविकहरूसँग एकता गर्दा के भन्नुभएको थियो भन्ने पढ्नुभयो होला नि तपाईंहरूले । ठूलो वैचारिक लडाईं प-यो, एकले अर्कोलाई दक्षिणपन्थी भनेर लडाईं गरे, पार्टी फुट्यो । जनताले पार्टी फुुटेको मन पराएनन् । मजदुरहरूले भने– तिमीहरू मिल्नुपर्छ । लेनिनले केही तर्कै गर्नुभएन एकता अधिवेशन गर्दा । मजदुरहरूले भनेका छन्– मिल, त्यसैले मिल्नुपर्छ । जनताले मिल भनेपछि कहाँ हामी झगडा गरेर बस्नु ? भनेर एकता गरेको हो । त्यो पनि हेर्न जरूरी छ ।
अहिले कि छोडिसकेको भए त छोडिसक्यो भन्ने हुन्थ्यो, बिग्रिसकेको भए त बिग्रिसक्यो, जनयुद्धकै विरोध गरेको भए पनि विरोध ग-यो भन्ने हुन्थ्यो । त्यो त केही पनि होइन । भने यस्तो बेलामा, राष्ट्रको एकताको पक्षमा, जनताको एकताको पक्षमा, समाजवादको पक्षमा जानको लागि हामी कम्युनिष्टजति एक ठाउँमा पार्छौं भन्ने उद्देश्यप्रति शंका किन गर्नुप-यो ? आफ्नो कुरा भन्न किन डराउनुप-यो ?

अहिले पार्टी एकता भइसकेको छैन । कसले छोड्यो माओवाद ? कसले स्वीका-यो बहुदलीय जनवाद ? कसले जनयुद्धचाहिँ बेठीक भनेको पनि मान्यो ? कसले यो संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रश्न उठायो ? छ कतै ? सुन्नुभएको छ कतै ? अनि हुनओर्नु केही पनि छैन, हत्त न पत्त मान्छेको दिमाग खराब गर्दै हिँड्ने ? कसले गरेका छन् यस्तो काम ? अहिले नेपालमा कम्युनिष्टहरूको बलियो केन्द्र बनाउने, बलियो सरकार बनाउने, आर्थिक विकास र समृद्धिको बाटोबाट समाजवादतिर जाने भन्ने कुरा भनिएको मात्रै छ । तपाईंहरूले देख्नुभएको छ को सबैभन्दा आतंकित भएको छ यो कुराबाट ? विश्वका तमाम प्रतिक्रियावादी पावर सेन्टरहरूलाई आतंक भएको छ । २१ औं शताब्दीमा संसारभरि कम्युनिष्ट आन्दोलन सकाइयो भनेको त फेरि नेपालमा त कम्युनिष्ट पार्टीको हातमा सत्ता आउने भयो बहुमतसहित भनेर छटपटी सबैभन्दा बढी तिनीहरूमा छ । देशभित्र हेर्ने हो भने यहाँका दलालहरू, सामन्तहरू, नोकरशाहहरू सबैभन्दा बढी छट्पटिएका छन् । यो त तपाईं हामी लाटाहरूले पनि बुझ्ने कुरा छ नि । नाङ्गै आँखाले देखिएको छ नि । को आत्तिएका छन् कम्युनिष्टहरूको एकता हुने कुराले, वामपन्थीहरूको एकता हुने, गठबन्धन हुने कुराले, बलियो सरकार बनाउने कुराले ? छट्पटी कसलाई भएको छ ? साम्राज्यवाद र उनका दलालहरू, प्रतिक्रियावादीहरूलाई भएको छ नि । खुशी को भएको छ ? चुनाव परिणामले देखायो नि जनताचाहिँ खुशी छन् । विशाल पंक्ति कार्यकर्ता खुशी छन् । श्रमजीविहरू खुशी छन् । अबचाहिँ केही हुन्छ भन्ने आशा पलाएको छ । निराश को छन् त भन्दा प्रतिक्रियावादीहरू निराश छन् । दलालहरू निराश छन् । भ्रष्ट आचरण भएका भ्रष्ट्राचारीहरू निराश छन् । कहीँ कम्युनिष्टहरू बलियो भएर आएर हामी सबैलाई कारबाही पो गर्ने हुन् कि भनेर तिनको सातोपुत्लो गएको छ । अनि यस्तो बेलामा हाम्रो साथी भाग्नुहुन्छ उनीहरू सँगसँगै ? माओले के भन्नुभएको छ भने प्रतिक्रियावादीहरूले जे राम्रो मान्छन्, त्यो नराम्रो हो, जे नराम्रो मान्छन्, त्यो राम्रो हो । तपाईंहरूले पनि पढ्नुभएको होला । अहिले फटाहाहरू, जालीहरू, भ्रष्ट्राचारीहरू बेखुशी छन् । जनता खुशी छन् । अनि जनता खुशी भएका बेला हाम्रो दुईचार जना साथीहरू बेखुशी हुने !

०००
बौद्धिक ज्ञान क्षमता भएको क्रान्ति, पार्टी, र सिद्धान्तप्रति प्रतिबद्ध मान्छेले लाखौंलाई प्रभाव पारेर जाने संघर्षमा पो भाग लिनुपर्छ त, यो सब छोडेर, यही महासंघ पनि छोडेर, हुटिट्याउँले स्वर्ग थाम्छु भनेर हुन्छ ?
०००

मलाई के लाग्यो भने केही–केही साथीहरू जसरी जानुभयो नि, गइ नै सक्नुभएको छ, यहाँ हुने साथीहरूलाई भनेको होइन है, विष्णुजी फेरि मेरो भनाइलाई बढी नबुझ्नुहोला, जो गइ नै सक्नुभएको छ नि, उहाँहरू डराएर भाग्नुभयो, आफूप्रति विश्वास रहेनछ भन्ने परेको छ मलाई । मेरै कुरा भन्नुहुन्छ भने यो त अवसर हो । आफूप्रति, आफ्नो विचारप्रति, आफ्नो नैतिकताप्रति, आफ्नो मान्यताप्रति दृढ विश्वास छ भने त लाखौंको बीचमा बहस गरेर प्रभाव पार्ने अवसर पो हो यो । त्यस्तो क्षमता भएका साथीहरूलाई त क्षमता देखाउने अवसर पो हो यो । अनि दुई तीन जना मान्छे, ती मान्छे पनि म चिन्छु नि राम्रोसँग, को–कोले के–के गरेका थिए हिजो भन्ने । तपाईंहरूले पनि चिन्नुहुन्छ, यसो हेर्नुभो भने । साह्रै ठूलो टेलिस्कोप र माइक्रोस्कोप लगाउनु पनि पर्दैन । यसो हेरे थाहा पाइन्छ तिनीहरू को हुन् भनेर । यस्तो अवसर आएको बेलामा बौद्धिक ज्ञान क्षमता भएको क्रान्ति, पार्टी, र सिद्धान्तप्रति प्रतिबद्ध मान्छेले लाखौंलाई प्रभाव पारेर जाने संघर्षमा पो भाग लिनुपर्छ त, यो सब छोडेर, यही महासंघ पनि छोडेर, हुटिट्याउँले स्वर्ग थाम्छु भनेर हुन्छ ? यो हुनी कुरा हो ? नहुनी–नहुनी कुरा ।
हामीले केही पनि छोडेका छैनौं । तपाईंहरूले सुन्नुभयो, हिजोदेखि बल्ल सुरु भएको छ छलफल माओवादबारे, जनवादबारे । तपाईंहरूलाई मात्रै माया छ माओवाद र जनयुद्धको, मलाईचाहिँ छैन ? अझ हिजो माओवादविरोधी, जनयुद्धका पनि विरोध गरेका साथीहरू अहिले फेरि आएर दुनियाँ कुरा गर्ने ? मिल्छ ? त्यसकारण केही पनि छोडिँदैन, तपाईंहरू ढुक्क भए हुन्छ । छलफल भएको छ ।

(जनसांस्कृतिक महासंघ नेपालको आयोजनामा पेरिसडाँडा कोटेश्वरमा ०६ माघ, ०७४मा भएको ‘वर्तमान राजनैतिक परिस्थिति तथा एमालेसँगको पार्टी एकता’ विषयक अन्तरक्रियामा माओवादी केन्द्रसम्बद्ध सांस्कृतिककर्मीलाई प्रचण्डले गरेको सम्बोधनको अंश)