‘राम्रो किताब छान्न नसके अशिक्षितबराबर भइन्छ’

‘राम्रो किताब छान्न नसके अशिक्षितबराबर भइन्छ’

जेष्ठ ४, २०७८ 3 By कला अनुरागी
शेयर गर्नुहोस्

उनको हातका किताब थियो, पाना पल्टाउँदैथे ।
उनले किताबको पाना पल्टाएको देखेर अगाडि बसेकी महिलाले भनिन्, ‘पख्नुस् त । फेरि पल्टाउनुस् किताबको पाना ।’
किन होला ? उनी छक्क पर्दै पुस्तकको पाना पल्टाइदिए ।
‘ओहो, तपाईंको र शंकरको पाना पल्टाउने तरिका उस्तै रहेछ । उहाँ पनि तलबाट पाना उठाएर पल्टाउनुहुन्छ । हातको दाग त पटक्कै लाग्न दिनुहुन्न । कसैले दाग लगाए गाली गर्नुहुन्छ’, महिलाले भनिन् ।
महिला थिइन् साहित्यकार शंकर लामिछानेकी पत्नी रत्ना र किताबलाई मायालु पाराले पल्टाउने व्यक्ति थिए– प्रकाश सायमी ।
चलचित्र निर्माण, निर्देशन, रेडियो प्रस्तुति, गीत–संगीतको अन्वेषणजस्ता कर्मले चिनिएका उनी किताबलाई कति प्रेम गर्छन् भन्ने पुष्टि गर्न योबाहेक थप दृष्टान्त आवश्यकता नपर्ला । खासमा उनको प्रेम किताबको रूपसँग होइन, सारसँग छ । त्यसैको आधारमा बजारमा चर्चा छ– प्रकाश सायमीले कुनै सन्दर्भ उल्लेख गर्दा पुस्तकको पृष्ठ र अनुच्छेदसमेत भनिदिन्छन् ।
उनी स्विकार्छन्, ‘म पृष्ठ र अनुच्छेदसमेत याद हुने गरी पढ्छु । मेरो पठनशैली नै यस्तो बनिसक्यो । तर, म जुन पायो त्यही किताब पढ्दिनँ । अर्थात, थोरै किताब पढ्छु ।’
स्वाभाविक हो, नेपालका अध्ययनशील व्यक्तिको गणनामा पर्छन्, प्रकाश ।
यसलाई उनी ससर्त स्वीकार्छन् । ‘यसमा म आफूलाई २८÷२९ नम्बरतिर पाउँछु,’ प्रकाश भन्छन्, ‘लेखक दिनेश सत्याल, प्रो. शैलेन्द्रकुमार सिंह, अनुवादक तथा गीतकार तीर्थराज तुलाधर, उहाँकै भाइ दमन तुलाधरजस्ता अध्ययनशील व्यक्तित्व यो सूचीको अग्रपंक्तिमा हुनुहुन्छ ।’
०००

  • किन जेलबाट अध्ययन सुरु भयो ? के उनी जेलमै जन्मिएका थिए ? या पछि जेल परेरमात्र अध्ययन सुरु गरे ? जिज्ञासा हुने नै भयो ।

‘मेरो अध्ययन नख्खु जेलबाट सुरुवात भयो,’ ललितपुर, सैंबुस्थित गोधूली संसार टोलस्थित घरमा प्रकाश सायमीले रहस्यमय सिनेमाको पहिलो संवादजस्तै वाक्य बोले ।
किन जेलबाट अध्ययन सुरु भयो ? के उनी जेलमै जन्मिएका थिए ? या पछि जेल परेरमात्र अध्ययन सुरु गरे ? जिज्ञासा हुने नै भयो । ‘पत्रकार चन्द्रलाल झासहित तुल्सीलाल अमात्य, कृष्णप्रसाद भट्टराईजस्ता नेता त्यहाँ थिए । त्यहाँ रहेका अधिकांश राजबन्दी धेरै अध्ययन गर्थे । त्यसैले मैले राम्रा गुरु पाएँ । त्यसैकारण, सानैदेखि अध्ययनप्रति मेरो रुचि बढ्यो’, उनले सम्झिए ।
राम्रो अध्ययन गर्ने विद्यार्थीको रूपमा आफूले धेरैपटक खाजा–बिस्कुट र डट्पेन पाएको पनि उनले सम्झिए । ‘म निम्न मध्यम परिवारमा जन्मिएको । बुवाआमाले राम्रो स्कुलमा भर्ना गर्न सक्नुभएन । त्यसैबेला नख्खु जेलका बन्दीले गरिब र जेहेन्दार विद्यार्थीलाई निःशुल्क पढाउन चाहेको सूचना सार्वजनिक भयो । बुवाआमाले दिएको निवेदनका आधारमा म पनि छनोट भएँ ।’
६ महिनाको एक कक्षा मानिन्थ्यो । उनले तीन कक्षा राम्ररी पास गरे । चौथो कक्षा पूरा नहुँदै उनको पढाइ बन्द भयो । किनकि राजबन्दी त्यहाँबाट भागेका थिए । उल्टो विद्यार्थीहरू पनि पुलिसको केरकारमा उपस्थित हुनुपर्यो ।
त्यसपछि उनको अध्ययन श्रीचण्डी विद्याश्रममा पुग्यो । त्यहाँ पाठ्यक्रमबाहिरका किताब पढ्न मनाही थियो । तर, उमेरको ग्राफसँगै बाहिरी पुस्तक अध्ययन गर्ने उनको चाहको ग्राफ पनि बढ्दै गयो । पाठ्यपुस्तकको बीचमा जीवनी वा उपन्यास राखेर त्यो चाह पूरा गर्थे उनी ।
स्कुले–जीवन सकिएपछि मात्रै उनको अध्ययनले स्वतन्त्रता पायो ।
०००

  • मुम्बईमा हरेक निर्देशक, लेखकको घरमा पुस्तकालय भान्छाकोठाजस्तै अनिवार्य हुन्थ्यो,’ उनले सम्झिए, ‘त्यसपछि मलाई आफ्नै पुस्तकालय हुनुपर्ने रहेछ भन्ने लाग्यो ।

प्रकाशको अध्ययन गतिचाहिँ मुम्बई गएपछि तीव्र भयो । उनी ०४२ सालमा सिनेमा निर्माण र निर्देशनको अध्ययन गर्न मुम्बई गए । करिब आठ वर्षको मुम्बई बसाइको क्रममा उनले धेरै अध्ययन गरे । सिनेमाका साथै दार्शनिक, सांस्कृतिक, आर्थिकदेखि खेलकुदसम्म उनको अध्ययनको विषय बने ।
त्यहाँका ‘पुस्तक संसार’जस्ता पसलले उनको अध्ययनलाई सहज बनाइदिएका थिए । ती पसलमा कुनै किताब किनेर पढिसकेपछि राख्न मन नलागे फिर्ता गर्दा थोरै रकममात्रै कटाइन्थ्यो ।
पुस्तकालयको महत्त्व र गरिमा पनि उनले मुम्बईमै अनुभूति गरे । ‘त्यहाँ हरेक निर्देशक, लेखकको घरमा पुस्तकालय भान्छाकोठाजस्तै अनिवार्य हुन्थ्यो,’ उनले सम्झिए, ‘त्यसपछि मलाई आफ्नै पुस्तकालय हुनुपर्ने रहेछ भन्ने लाग्यो । पछि त्यहीँ फिल्ममा काम गर्दा पाएको पैसामध्ये १६ हजारको किताब एकैपटक किनेँ ।’
तर, थुप्रो पुस्तक सजाउने उनको चाहना छैन । ‘संकलनको हिसाबले मेरो पुस्तकालय गरिब नै छ । अझ मैले मलाई मनपर्ने ३२ वटा किताबमात्रै मसँग राख्छु भन्ने सोचेको थिएँ । तर, त्यो सम्भव भएन । त्यसैले मेरो पुस्तकालयमा हजार हाराहारी किताब हुन्छन् ।’
०००

  • कुनै पनि किताब दिँदा सही मानिस छनोट गर्न सकिएन भने खेर जान्छ । उनको निष्कर्ष छ– स्वेट मार्डेन र डेल कार्नेगी पढ्नेलाई रमण महर्षीको किताब पढ्न दियो भने किताबकै सत्यानाश हुन्छ ।

उनको अध्ययन ‘व्यक्तिगत’ हुन्छ । भान्साकोठा, ट्वाइलेट वा गाडीमा पढ्न मन लाग्दैन उनलाई । उनको तर्क छ, ‘अध्ययन गर्दा किताबसँग आत्मीय हुनुपर्छ । हलुवा र समोसा खाँदै तेल लागेको हातले समाउँदा किताबलाई बलात्कार गरेजस्तो लाग्छ ।’ औँलामा थुक लगाउँदै किताबका पाना पल्टाउनेदेखि उनलाई घृणा छ ।
प्रकाश एकैपटक दुईवटा पुस्तक पढिरहेका हुन्छन् । बिहान ‘हेभी’, बेलुका ‘लाइट’ । ‘बिहान दार्शनिक पुस्तकले मस्तिष्क मन्थन गर्न मन पराउँछु । बेलुकाचाहिँ सुत्न जाँदा आनन्द आउने पुस्तक छनोट गर्छु,’ उनले भने ।
उनी एउटै किताब तीन तहमा अध्ययन गर्छन् । ‘नयाँ नै किन नहोस्, पहिलोपटक लेखकको फ्यान बनेर पढ्छु । दोस्रो चरणमा पाठक बनेर कमजोरी पनि खोज्छु । अन्तिम चरणमा मात्रै म त्यस किताबप्रति धारणा बनाउँछु । त्यसमा एउटा वाक्यमात्रै महत्त्वपूर्ण रहेछ भने पनि उपलब्धि मान्छु ।’
उनी आफ्नो अध्ययनलाई किताबको मूल्यले प्रभाव पार्न नसक्ने बताउँछन् । उनी मनले खाएको पुस्तकलाई जति पनि मूल्य तिर्न तयार हुन्छन् । जस्तो कि, उनले सेरेना विलियम्सको आत्मजीवनी नेपालमा मगाउँदा १० वटा बराबरको मूल्य पर्यो । त्यस्तै, स्टेफेन विलियम्सको ‘डार्कनेस इन्भिजिबल’ पुस्तक मगाउँदा १० वटाबराबरको ‘चार्ज’ तिर्नुपर्ने भएपछि त्यति नै संख्यामा पुस्तक मगाए ।
त्यो पुस्तक उनले अरू नौजनालाई दिए । उनी भन्छन्, ‘तर, अधिकांशले केही प्रतिक्रिया दिएनन् । पछि जगदीश घिमिरेले त्यो पुस्तक माग्नुभयो र मैले दिएँ । उहाँले त्यस पुस्तक अध्ययन गरेर किताब छनोटको प्रशंसा गर्नुभयो ।’ त्यसबाट उनले शिक्षा पनि लिएका छन् कि कुनै पनि किताब दिँदा सही मानिस छनोट गर्न सकिएन भने खेर जान्छ । उनको निष्कर्ष छ– स्वेट मार्डेन र डेल कार्नेगी पढ्नेलाई रमण महर्षीको किताब पढ्न दियो भने किताबकै सत्यानाश हुन्छ ।
०००

  • विक्रेता पनि राम्रो किताब बिक्रीमा चासो देखाउँदैनन्, खालि चलेको पुस्तकमात्रै खोज्छन् । त्यसले गर्दा राम्रो किताबको परिचयबाटै विमुख हुन्छन् पाठक ।

अधिकांशको किताब छनोटको आधार समीक्षा र ‘बेस्ट सेलिङ’को सूची हुन्छ । तर, प्रकाश त्यसलाई मान्दैनन् । उनी भन्छन्, ‘किताबको जस्तै पाठकको पनि जानरा हुनुपर्छ । आफ्नो जीवनलाई गति प्रदान गर्न अध्ययन गर्ने हो । त्यसैले आफ्नो पेसा, रुचि र क्षेत्रअनुसारको पुस्तक छनोट गर्नुपर्छ । अनिमात्रै अध्ययनको प्रभाव व्यवहारमा देखिन्छ ।’
आफ्ना लागि उपयुक्त पुस्तक छनोट गर्नुलाई उनी अध्ययन गर्न जान्नुजत्तिकै क्षमता मान्छन्् । ‘तपाईं राम्रो किताब छानेर पढ्न सक्नुहुन्न भने अशिक्षितबराबर हुनुहुन्छ,’ उनले उक्ति शैलीमा भने । त्यसलाई पुष्टि गर्ने उनको तर्क छ, ‘नत्र त किताब बेच्ने सबै विद्वान हुन्थे नि, लेखक कविभन्दा पनि दार्शनिक हुन्थे । त्यस्तो हुँदैन, किनभने उनीहरूलाई कुन किताब बेच्न उपयुक्त छ भन्ने पनि थाहा हुँदैन । जुन बिक्छ, त्यही बेच्छन् ।’
किताब छनोटमा पाठकलाई अलमल पार्नेको सूचीमा उनले समीक्षक, विक्रेता, प्रकाशक र पुरस्कारलाई राखेका छन् । राम्रोको चर्चा नै नगर्ने र खराबलाई माथि उठाउने संस्कार अधिकांश नेपाली समीक्षकमा देखेका छन् । त्यस्तै, विक्रेतालाई पनि उनी उत्तिकै दोष दिन्छन् । उनी भन्छन्, ‘विक्रेता पनि राम्रो किताब बिक्रीमा चासो देखाउँदैनन्, खालि चलेको पुस्तकमात्रै खोज्छन् । त्यसले गर्दा राम्रो किताबको परिचयबाटै विमुख हुन्छन् पाठक । प्रकाशक पनि राम्रा पुस्तक होइन, बिक्ने पुस्तकमात्रै निकालिरहेका छन् ।’
पुरस्कार पनि पाठकलाई अलमल पार्ने अर्को तत्त्व हो भन्ने उनको ठहर छ । उनी उदाहरण दिँदै भन्छन्, ‘महेशविक्रम शाह राम्रा कथाकार हुन् । तर, पछिल्लो कथाकृति ज्याक्सन हाइटमा उनको भन्दा पहिले मदन शमशेर राणाको नाम देखेँ । मदन सम्भ्रान्त रक्स्याहा बहुपत्नी भएका पुरुष हुन् । जसको जग्गा–जमिन पनि धेरै थियो । त्यस्ता व्यक्तिको नाम महेशको श्री लेख्ने ठाउँमा आएको छ । यसले महेशभन्दा मदनलाई नै ठूलो देखायो । यस्ता कुराले पनि पाठकलाई अलमलमा पारिदिन्छन् ।’
यस्तो विडम्बनाबाट लेखक मुक्त हुनुपर्ने उनको धारणा छ । उनको ठहर छ– त्यसपछि मात्रै पाठकले शक्तिशाली लेखक पढ्न पाउँछन् भने लेखकले पनि असल पाठक पाउँछन् ।
प्रकाश आफैँको किताब छनोटको मानक भने उनको घरमा पुगेपछि देखिन्छ । संगीत, साहित्य, दर्शन आदिका किताब उनको पुस्तकालयमा छन् । ‘कसरी करोडपति बन्ने’, ‘साथीहरूको मन जित्ने’ भन्नेजस्ता किताब ट्वाइलेटमा । उनी भन्छन्, ‘यस्ता किताबलाई मेरो पुस्तकालयमा प्रवेश छैन । चाहे ती अर्बौं प्रति नै बिक्री भएका किन नहुन् ! भाइबहिनीहरूले पढ्न भनेर ट्वाइलेटमा राखेका छन् ।’
०००

  • भारतका पहिलो प्रधानमन्त्री जबाहरलाल नेहरु दिनमै चारवटा किताब किन्थे । आफ्ना लागि किन्नेमात्रै होइन, अरूलाई पनि सिफारिस गर्थे । त्यसले सबैलाई किताब किन्न उत्प्रेरित गर्थ्यो ।

‘बंगालीहरूको मांगलिक पर्वमा किताब किन्ने परम्परा छ । स्पेनमा प्रेमी–प्रेमिकाबीच किताब उपहार दिने चलन छ’, पठन–संस्कृतिबारे प्रकाश भन्छन्, ‘हामीकहाँ चाहिँ प्रेमीले अन्डरवेयर, ब्रा, ब्लाउज वा टिसर्ट किनिदेला । पार्लरमा लगेर मनपर्ने फ्लेवरको आइसक्रिम खुवाउला, तर किताब किनिदिने चलन छैन । एउटा हाकिमले राम्रो कर्मचारीलाई होटलमा टन्न रक्सी ख्वाउला, तर किताब किनेर दिँदैन । यहाँको उच्च पदस्थमा पनि त्यो संस्कार देखिँदैन ।’
उनी नेपालमा अझै अध्ययनको संस्कार विकास हुन नसकेकोमा चिन्तित छन् । अध्ययनले समाजलाई सुशिक्षितमात्रै होइन, समृद्ध पनि बनाउँदै लैजाने भएकाले पठन–संस्कृतिको विकास गर्नु आजको आवश्यकता रहेको उनले महसुस गरेका छन् । त्यसको सुरुवात राष्ट्रका जिम्मेवार व्यक्तिबाटै भए सबैले अनुकरण गर्ने उनको तर्क छ । उनले उदाहरण दिँदै भने, ‘भारतका पहिलो प्रधानमन्त्री जबाहरलाल नेहरु दिनमै चारवटा किताब किन्थे । आफ्ना लागि किन्नेमात्रै होइन, अरूलाई पनि सिफारिस गर्थे । त्यसले सबैलाई किताब किन्न उत्प्रेरित गर्थ्यो । नेपालमा त्यसो हुन सकेको देखिँदैन ।’
तर, समय क्रमसँगै पठन–संस्कृति विकास हुनेमा उनी आशावादी छन् । उनी कल्पन्छन्, ‘कुनै होटलमा साथीलाई पर्खिरहँदा किताब पढ्न पाइयोस् । मन लागे किन्न पनि सकियोस् । नेपाल पर्यटन बोर्डमा पुगेका पर्यटकले त्यहाँ नेपालका चर्चित पुस्तक पढ्न पाइरहेका होऊन् । बसको अगाडि किताब राख्ने र्याक होस् । पढ्दै यात्रा गर्नुको मजा नै बेग्लै । हरेक क्याफेमा बुक स्टल होउन् । किताब पढ्दै कफी पिउनुको अर्कै आनन्द !’
܀܀܀