जमदार पाँडेकी चौथो श्रीमती

जमदार पाँडेकी चौथो श्रीमती

जेष्ठ ५, २०७८ 0 By शकुन्तला जोशी
शेयर गर्नुहोस्

राममाया बिमली (९१) को छेउमा अरु दुई ओटा किताब  थिए– ‘रामगीता र भजन मञ्जरी’ । ‘गुरु शंकराचार्यका सत्वचनका किताब सधैँ पढिरहनुपर्छ,’ उनले हौसिँदै कुरा थालिन् । अनि बुढ्यौलीको उनको त्यो जोस देखेर म पनि हौसिएँ, हाम्रो भलाकुसारी सुरु भयो । 

निलो बुट्टे मजेत्रो, चन्दनको टीका, कानमा मारवाडी, घाँटीमा तुलसीको माला, सुतीको गुन्युचोलीमा उनी डा. क्षितिजचन्द्र चक्रवर्तीको सत्वचन पढिरहेकी थिइन् । उनी प्रस्ट सुन्न र पढ्न सक्छिन्, हिँडडुल गर्दै अनुहारमा उज्यालो चमक भरिरहेकी छन् । त्यो चमकले उनको मुखभित्र दाँतै छैन भन्ने छनक उति आउँदैन । 

मजेत्रो खोलेर एकछिन ठुटे कपाल सुमसुम्याउँछिन् । जिन्दगीका थुप्रै झन्झटहरू झेलेकी उनलाई बाक्लो र लामो कपाल सम्हाल्न झन्झट लाग्न थाल्यो । अनि एक्लै हजामकहाँ गइन् र कपाल ठुट्याइन् । 

बाँचेका सबै छोराछोरी आफ्ना खुट्टामा उभिएका छन् । यो कान्छी मञ्जु (लेखक मञ्जु बिमली) आफैं किताब लेख्ने भई, खुसी लाग्छ नि ।’

‘उबेला हिउँदोतिर स्याउले छानोको कटेरोमा छोरा मान्छेलाई पढाउने चलन थियो । मेरा दाजुले पनि त्यहाँ पढ्ने मौका पाउनुभयो । म गाईबाख्रा चराउन कटेरो वरिपरि हुन्थें । बाह्रखरी पढ्न खुबै रहर, तर त्यो जमाना छोरीलाई पढाउने भन्ने कुरै थिएन ।’ तर छाप्रोभित्रबाट बाह्रखरीका आवाजहरू बाहिर आउनलाई पनि कुनै छेकबार थिएन । त्यही आवाजलाई राममायाले कानमा भरिन्, अझ भनौं कानले भरेका आवाजलाई मनले पढिन् ।

श्रीमान् बितेपछि झापा झरेकी उनी २०६० सालमा काठमाडौं आइन् । जेठी बुहारीको सहयोगमा उनी त्यही मनले प्रौढ कक्षा भर्ना भएर पढ्न थालिन् । ७२ वर्षको उमेरमा उनी किताब बोकेर दिनै पढ्न जान्थिन् । तर, भर्ना भएको अलिक समयपछि नै फेरि उनलाई झापा फर्कनु परेपछि पढाई छुट्यो । पढ्ने रहरको उनको कथा छोराछोरीको पढाईसँग जोडिन्छ ।

उतिबेला कमाइ खाने उमेरका छोराछोरी पढ्न पठाउने चलन थिएन । उनका श्रीमानले सुर गरेनन्, तर राममाया यो कुरामा आँटिली निस्किइन्, उनैको बलले छोराछोरी पढाइन् ।

भन्छिन्, ‘आफूलाई पनि पढ्ने ठूलो इच्छा थियो, पाइनँ । छोराछोरी जसरी पढाउँछु, जे जति खर्च लाग्छ, जोहो गरेँ, एक पैसा बूढासँग मागिन । एसएलसीपछि सबैले आफ्नै मिहिनेतले पढे । अहिले त खुसी छु नानी, बाँचेका सबै छोराछोरी आफ्ना खुट्टामा उभिएका छन् । यो कान्छी मञ्जु (लेखक मञ्जु बिमली) आफैं किताब लेख्ने भई, खुसी लाग्छ नि ।’

‘छोरीले जस्तै किताब लेख्न त सक्दिन हुँला,’ तर राममायालाई अझै पनि रहर छ, ‘गोरखापत्र खरखरी पढ्न र कापीमा मनका बह सरसरी लेख्न ।’ 

राममाया बिमली ० तस्वीर: श्रुति श्रेष्ठ

गाउँमा युद्धको प्रभाव बढ्न थालेपछि २०५७ मा कान्छा छोराबुहारीसहित उनको परिवार झापा बसाइँ सर्‍यो । त्यहाँ उनले भजनकीर्तनको संगत पाइन् । भजन र आराधनाका किताबहरू पढ्न सिकिन् । उनको अहिलेको दिनचर्या तिनै भजन र धार्मिक वचनहरू पढेर बित्छ ।

उनको नित्य बिहान पाँच बजेबाट सुरु हुन्छ । उनले अझै पनि हरेक दिन ‘स्नान’ गर्न छोडेकी छैनन् । त्यसरी नै तुलसीलाई ढोग्न, तुलसीकै माला जप्दै मन्त्रोचारण गर्न, सेतो चन्दनको लामो टीका लगाउन पनि उनले कहिल्यै बिर्सिनन् । त्यसपछि सुकेको तुलसी, पारिजातको पात, घण्टी फूल, सयपत्री फूलको चियाबाट उनको दिनचर्या सुरु हुन्छ । काठमाडौंको दूधको स्वाद उनको जिब्रोले भेउ नपाएपछि उनले फूलको पातको चिया पिउन थालेकी हुन् ।
 

आमा र दिदीको कथा

राममाया आठ वर्षकी हुँदा आमा एक महिनाकी सुत्केरी थिइन् । साँझ घरमा सुत्केरी आमाको निहुँमा सबैका लागि मासुभात पाकेको थियो । ‘बुबा अलि बिरामी हुनुहुन्थ्यो, म पछि खान्छु भन्नुभयो । हामी केटाकेटी खाएर सुत्न गयौं, त्यही रात बाघे खटिराले बुबाको ज्यान खायो,’ उनी भन्छिन्, ‘निद्रामै आमा रोएको थाहा पाएँ । हामी केटाकेटी भोक लागेपछि रुन्थ्यौं । सुत्केरी आमा भोकले रोइछन् भन्ने लाग्यो । उसिनेका मकै आमालाई दिएँ, आमाले पर लैजा भन्नुभयो । बल्ल पो थाहा पाएँ, बुबाले मासुभात खान पाउनु भएनछ ।’

घाग्री (माथि चोलो तल जामा जसरी जोडेर सिलाएको लुगा) लगाएर गाईबाख्रा चराउँदै उनी दाजुभाउजूको पालनपोषणमा हुर्किइन् । एक्कासि राममायाको आँखा रसिला भए, ‘एक दिन मन मिल्ने साथीले रुखमा बसेर ‘टुहुरी’ भनी । त्यो दिनदेखि मैले त्यो साथीसँग कहिल्यै बोलिनँ ।’

बुुबाको बर्खान्तपछि आमा, जेठी छोरी–ज्वाइँ (जमदार पाँडे)लाई भेट्न ज्यामिरगढी झापा झरिछन् । उनका दाजुले आमा सिरवानी फुपुका घर गएको बताए । दिदी र उनी आमा खोज्दै कुलैकुलो तीन घण्टा टाढा फुपुको घर पुगे । त्यहाँ सानी बहिनी छाडेर आमा त मधेस झरिसकिछन् । फुपूले सिलाम–चामलको पोको दिँदै भनिन्, ‘आमा दुई चार दिनमै आइहाल्छिन्, बुइनी म हेरिदिन्छु ।’ उनीहरूलाई लाग्यो, दुईचार दिन भनेको सिलाम–चामल खाइ नसक्दै आमा आइपुग्छिन् ।

सिलाम–चामल सकेको धेरै समयसम्म पनि राममायाकी आमा फर्किनन्, आमा पनि बुबाजस्तै कहिल्यै नफर्किने बाटो गइसकेकी रहिछन् । मधेसको हैजाले आमालाई नफर्किने बनाएछ ।

एकछिनसम्म चुपचाप टाढा हेर्दै राममायाले फेरि आफ्नो मनको पोको खोल्न थालिन्, ‘रित्तो घरमा दाजुले भाउजू भित्र्याउनुभयो । नौ वर्षकी थिएँ, चुँदरीको चोलो, पटुका, सारी लाएर भाउजू लिन म पनि जन्त गएँ । भाउजू त हाम्री आमा नै हुनुभयो । घर उज्यालो भएजस्तो लाग्न थाल्यो ।’

जमदार पाँडे, भिनाजु उर्फ श्रीमान्

राममायाकी जेठी दिदीको श्रीमान् अर्थात् जमदार पाँडे रोगाएपछि मधेसको सारा सृष्टि छाडेर फेरि पहाड तेह्रथुम फर्के । उनका जेठा दाजु भने घरबार सम्हालिदिन मधेस झरे । उनी १५ वर्ष लागेकी थिइन् । एकदिन जेठी दिदी आफ्ना रोगी श्रीमानलाई बहिनीको हात माग्न आइन् । जन्मिएका सन्तान मरेपछि सन्तानकै लागि दिदीले उनलाई भित्र्याउन खोजेकी थिइन् । उनी सम्झन्छिन्, ‘ती मर्न लागेका बूढासँग बिहे गरिदिने भन्दै म रुन थालें । दिदीले पैसा दिँदै फकाउन थालिन् । पैसा–सैसा हुत्याइदिएँ । भाउजू अक्क न बक्क भइन् । दाजुले यो कुराको पत्तै पाएनन् । दिदीले गहनाहरू त दिइन् । हेर नानी, त्यो खुसीविनाको गहना केही काम नहुँदो रहेछ । म जमदार पाँडे (महानन्द)की चौथो श्रीमती भएँ ।’

१७ वर्षको उमेरमा राममायाले छोरा जन्माएपछि जम्दारका घरमा हर्षबढाइँ भयो । तर दुई महिनामै छोरो बित्यो । दुई वर्षपछि केही महिनाको फरकमा उनकी दिदीले छोरी र उनले फेरि छोरा जन्माइन् । ती छोराछोरीलाई बिफरले टिपेपछि उनले आफ्नै हातले खाल्डो खनेर पुरिन् । तुलसीको मठतिर हेर्दै बोलिरहेकी उनले मतिर पुलुक्क फर्केर सोधिन्, ‘आफ्नै मुटुको टुक्रालाई आफैले गाड्नुपर्दाको त्यो दुःख नाप्ने मेसिन केही छ र संसारमा ? जति नाप्न त यही छातिले नाप्यो नानी ।’ त्यसपछि हामी शान्त भयौं । मलाई राममाया हजुरआमाको अरु कथा सुन्न सक्छु जस्तो लागेन ।

मणिकर्णिका घाटमा नुहाउँदै थिएँ । केही आइमाईहरू नानीहरूसहित आए । आफ्नो रित्तो काख, उतै हेरेर टोलाएछु । म त नदीमा हेलिएछु ।


२००७ सालपछि राणा र ब्राम्हणवादको दलनविरुद्ध जातीय विद्रोह भयो । लिम्बूहरूले तेह्रथुम आठराई आसपासका बाहुन र कुमाइ लखेटे । यसैबीच जमदार पाँडेका खलकलाई पनि सिध्याउने भन्ने हल्ला चलेपछि मधेस झरे । बिमार पाँडेको चोला उठ्यो, उनीहरू विधवा भए । दसौं दिनमा दुवै दिदीबहिनीका कपाल मुडियो । उनी सुनाउँछिन्, ‘त्यो घरजग्गा सृष्टि दिदीकै दुःखले धेरै जोड्नुभएको थियो । २० वर्षकी थिएँ । मर्ने बेलासम्म स्याहार्ने हामी दिदीबहिनी अरु सौताका छोराले निकाले । फेरि माइत आएर बस्यौं ।’

२०११ सालमा दाजु, भाउजू र काइँला भिनाजुसँग उनी जोगवनी हुँदै २२ दिन लगाएर काशी पुगे । पित्तृले मोक्ष पाउने भन्दै दिदी र उनले फेरि कपाल खौरिए । सुस्केरामिश्रित स्वरमा भनिन्, ‘मणिकर्णिका घाटमा नुहाउँदै थिएँ । केही आइमाईहरू नानीहरूसहित आए । आफ्नो रित्तो काख, उतै हेरेर टोलाएछु । म त नदीमा हेलिएछु । जीवनको खेलो बाँकी नै रहेछ । काइँला भिनाजुले बचाउनुभयो ।’ 

अर्को अध्याय अर्थात् पुनः विवाह

त्यो समयमा विधवाले पुनः विवाह सोच्नु नै पाप ठानिए पनि घरपरिवार आफन्तले चाहे सम्भव पनि थियो । तेह्र सालमा आफ्नै जिल्लाको ह्वाकुबाट चल्तापूर्जा घरबाट विदुर पुरुषको प्रस्ताव आयो । मुक्तिनाथ विमली दश भाइमध्येका काइँला थिए ।
राममायाले विवाहको विमति जाहेर गरिन् । उनको विमतिमा दिदीले पनि साथ दिइन् । ‘दाजुहरूले हुँदैन भनेर पठाए होला भनेको त, कुरो छिनीवरि असार २६ गते जन्ती लिएर आउँछन्, टुंगो गरिदिनु पर्‍याे भन्दै लमी आएछन्’ फिस्स हाँस्दै उनले सुनाइन्, ‘केही दिनमा दौरा सुरुवालमाथि लामो मुगाको कोटमा ठाँटिएका अग्लो मानिस लौरो टेक्दै उनको आँगनमा आए । उनै नयाँ बेहुला रहेछन् ।’

यो सुनाइरहँदा उनकी छोरी अर्थात् लेखिका मञ्जु विमली पनि सँगै थिइन् । छोरीतिर पुलुक्क हेरिन् र अगाडि सुनाइन्, ‘डरले घरभित्र लुकेँ । आँगनमा कताबाट हो, उहाँको खुट्टैनेर एउटा मुसा आइपुगेछ । मुसालाई लौरीले हिर्काउँदै भन्नु’भो, ‘लौ काटेँ मुसाको कान, जोगाएँ ससुरालीको धान,’ सबै गलल्ल हाँसे ।’ यसो भनिरहँदा राममाया पनि हाँसिन्, हाँस्दा उनको बाँकी रहेका केही दाँतहरू पनि हाँसे । 

‘रोएर, कराएर हुने जमाना भए पो, एकैछिनमा बिहेको रीत पूरा गरिहाले । मेरो मुडुलो टाउकोलाई रातो पछ्यौरीले ढाके । उहाँको कान्छी दुलही भएर भित्रिएँ । उहाँको जेठी श्रीमतीपट्टिका ६ भाइ छोरा ४ बहिनी छोरी र जेठा छोराका दुई नातिनातिना रहेछन् । कुरा गरे कुरैको दुःख भनेजस्तो, जेठी छोरी मभन्दा ८ वर्ष ठूली थिइन् ।’

आफूभन्दा पाँच वर्ष जेठी बुहारीले राममायालाई खुब प्रेम र सम्मानले राखिन् । सुत्केरी हुँदा पनि सबै बुहारीहरूको राम्रो स्याहार पाइन् । बर्सेनि सुत्केरी हुँदा शरीर कमजोर हुने नै भयो । उनले बर्सेनि गरी ८ जना सन्तान जन्माइन् ।
 

  • लोग्नेमान्छेको इच्छा र बुद्धि त पशुको जतिको पनि हैन । तिनलाई मन लागेपछि आइमाईको ज्यानको कुनै मतलब नहुने । बेला मौका, दिन रातको ख्यालसम्म नहुने ।

‘घरको तालाचाबी तपाईंलाई दिए त ?’ मेरो जिज्ञासामा हाँस्दै उनी कडा सुनिइन्, ‘त्यस्ता तालाचाबी मलाई केलाई चाहिएको थियो र ? बरु उतिबेलाको जमानामा ढुकुटीमा चाबी लाउने बुहारीलाई खटाएर मात्रै पिठो-चामल दिने चलन रहेछ । मैले त्यो चलन हटाएँ । त्यो बेलामा गाउँ समाजमा जाँतो झैं पिसिएर काम गरेका बुहारीलाई घरमा वर्ष दिनमा एक जोर लुगा हालिदिने चलन थिएन । माइतीले हाल्दिन पर्थ्याे । त्यो घरमा गएपछि मैले त्यो चलनको अन्त्य गरें । छोरी बुहारी एउटै हुन् भन्ने मेरो मनमा थियो ।’

ठट्टामा भने पनि कहिलेकाहीँ श्रीमानले भनेका कुराले उनलाई रिस उठ्थ्यो । श्रीमान् भन्थे, ‘घिउ खानका रहरले आइमाईहरू वर्ष दिन नभई बच्चा पाउँछन् ।’ उनलाई लाग्थ्यो, ‘लोग्ने मान्छेहरू अलिक बार परदेश गए आइमाईले बर्सेनि दुःखको भारी उठाइरहनु पर्दैनथ्यो । अझ शरम नभा’को उल्टै हामी आइमाइलाई नै दोष लाउँछन् ।’ 

राममाया चर्किन्छिन्, ‘लोग्नेमान्छेको इच्छा र बुद्धि त पशुको जतिको पनि हैन । तिनलाई मन लागेपछि आइमाईको ज्यानको कुनै मतलब नहुने । बेला मौका, दिन रातको ख्यालसम्म नहुने । बरु पशुपक्षीको त बेला नआईकन भालेपोथी मिसिँदैनन् ।’ 


कहिल्यै सँगै हिँडिएन

लकडाउन हुनुअघिसम्म राममाया एक्लै घरभन्दा अलि परको मन्दिरसम्म पुग्थिन् । बाटामा हात समातेर हिँडिरहेका जोडी दिनैजसो देख्थिन् । टिभी र सिनेमामा महिलाहरू देख्दा उनलाई अनौठो लाग्थ्यो । ८५ वर्षको उमेरमा छोराबुहारी भेट्न अमेरिका पुग्दा झन् उनले उल्का अचम्म देखिन् ।

भन्छिन्, ‘घर व्यवहारको कामबाहेक हाम्रा पालामा मयाँ गरेको भनेको के हो, थाहा पाइएन । श्रीमानसँग एकदिन हाटबजारसम्म पनि सँगै गइएन । एकपल्ट एकजना बिरामी आफन्त भेट्न श्रीमानसँग म पनि जान्छु भनें । उहाँले घरमा यतिका काम छ, किन जान परो, पर्दैन भन्नु भो ।’ 

२०५७ मा ९७ वर्षमा श्रीमान् बिते । ‘छोडी जानुभो तर ऊ बेलाको हाम्रो माया भन्ने त्यस्तै थियो । उहाँले गाएको सम्झना आइरहन्छ,’ भन्छिन्, ‘एकदिन जमघटमा नाचगान हुँदै थियो । कान्छाले महतारी (आमा) गाउनु भन्दै कर गर्‍यो । म गीत गुनगुनाउँदै थिएँ ।’ 
धानको बाला लरीलरी पानी परीपरी
हल्के जोवान ढल्किगयो यसै गरी गरी । 
सुनै र जस्तो फूलै र फूल्यो काँकरी झ्यालैमा 
मोती है जस्ता आँसु है आए छुट्टिने बेलैमा 
कया है खोलो भलबाढी आयो बगायो के गरुम् 
जन्मघर छोडी कर्म घर जाँदा नरोए के गरुम् 

‘बाहिर खाटमा पल्टिराखेका मञ्जुहरूका बाले सुन्नुभएछ, उहाँले गीतमै जवाफ फर्काउनुभयो ।
कालो चोलो कालैले टालौंला 
नरोऊ तिमी राम्ररी पालौंला ।

‘मान्छेका दुःख नि नानी सबैतिर आफ्नै हुने रहेछ । पुगिसरि आएका देशमा झन् गाह्रो रहेछ । छोराबुहारी कहिले रातभरि पनि काम गर्ने, हप्तौंसम्म जोतिइरहनुपर्ने ।’ अमेरिका गएर फर्केपछि काठमाडौंमा माइली र साइँली छोरीहरूसँग बस्छिन् ।
उनलाई हुर्काउने दाजु तीन वर्षअघि बिते ।

‘दुःखका कुरा त बिर्सनु नि, गाउँको याद आइरहन्छ । आज पनि सपना देख्या हो कि के हो, गाउँतिर डुलिराथेँ,’ उनले चिम्म गरेर सुनाइन्, ‘आमा, बाको त त्यति अनुहार याद छैन, दाजु सपनामा आइरहनुहुन्छ ।’
܀܀܀