एउटा प्वाँखको संसार, जहाँ आवाज छैन

एउटा प्वाँखको संसार, जहाँ आवाज छैन

मंसिर २४, २०७४ 0 By कला अनुरागी
शेयर गर्नुहोस्

कहिले स्कुलमा भेटिन्छिन् त कहिले चित्रकला प्रदर्शनीमा । कहिले चित्रकलाको कक्षा लिइरहेकी, कहिले दिइरहेकी । उनी हुन् रश्मी अमात्य । कान सुन्दिनन् । केही शब्द अलिक अस्पष्ट आवाजमा बोल्छिन् । तर रंगहरूमा स्पष्ट बोल्छिन् । कुराकानीको क्रममा रश्मीले सोधिन्, ‘के तपाईं चराको प्वाँख खसेको थाहा पाउनुहुन्छ ?’ ‘अहँ’ उनको अचम्मलाग्दो प्रश्नको जवाफ अरू के नै हुन सक्थ्यो र ?

उनले सविस्तार बताइन्, ‘हामी बहिराको संसार प्वाँख खसेजस्तै हुन्छ । सबै घटना अरुलाईजस्तै हुन् हाम्रा लागि पनि । बस्, त्यसमा आवाज हुँदैन ।’ यसै बिषयमा उनले चित्र पनि बनाएकी छिन् । उनको त्यो ‘मास्टरपिस’मा प्वाँखहरू विस्तारै तलतिर झरिरहेका छन् । भर्खरै श्पर्शको महसुस गरेको हात छ माथितिर । नीलो पृष्ठभूमीले शान्ति फैलाएको छ ।

जन्मैदेखि उनीसँग यस्तै ‘प्वाँखको संसार’ छ । त्यससँग जोडिएका थुप्रै कथा छन् । सामान्य स्कूलमा पढ्दा कसैसँग सञ्चार हुन नसक्नु, त्यही कारण कक्षामा अरु पढिरहँदा गुरु र साथीको मुहारचित्र कोर्नु, चित्र बनाइरहेको देखेर शिक्षकले प्रतियोगितामा पठाउनु, त्यहाँ प्रथम स्थान आउनु, स्कूलले पढाउन भन्दा चित्र बनाउनमा प्रोत्साहित गर्नु, दश कक्षासम्म त्यत्तिकै पास गरिदिनु तर एसएलसीमा चाहिं सहभागी नबनाउनु आदि आदि । यस्तै कथाको बाटो हिँड्दा-हिँड्दै उनले अहिले आफ्नै बाटो बनाइसकेकी छिन् कलाकारिताको । उनी रंगसँग खेल्छिन्, मूर्तिसँग मित्रता गाँस्छिन्, रंगमञ्चमा अभिव्यक्त हुन्छिन् र नृत्यमा रमाउँछिन् । रंगकर्मी कृष्ण शाह यात्रीको निर्देशित नाटक ‘मौन आवाज’ र टेलिसिरियल ‘उडी छुनु चन्द्र एक’मा आफ्नो अभिनय कौशल प्रदर्शन गरिसकेकी छिन् । तर सबैभन्दा बढी चाहिं रंगसँगै रत्तिन्छिन् । उनको ‘बायोडाटा’ले त्यही बोल्छ ।

उनले तीन दशकको जीवनमा केही सिमित शब्द बोल्न पनि सिकेकी छिन् । त्यसले ‘व्यवहारिक जीवन र चित्रकलासम्बन्धी कतिपय शब्द बोल्न पनि सक्छु’ उनले भनिन्, ‘तर मैले बोलेको कुरा अनुभूतिमात्रै गर्छु, आफैंले चाहिं सुन्न सक्दिनँ । अरुले ओठ चलाएको आधारमा आवाज निकाल्ने बर्षौको कोशिशपछि यति बोल्न सक्ने भएकी हुँ ।’

अनेकौंपटक चित्रको एकल प्रदर्शनी गरिसकिन् उनले नेपाल र अष्ट्रेलिया गरी । दर्जनौंपटक समूहमा चित्र प्रदर्शनीमा सहभागी भएकी छिन् । भारतको बैंगलोर र सिक्किमका साथै बंगलादेश, बेलायत, अष्ट्रेलियाका कलापारखीले उनको रंगको भाषा पढिसकेको छन् । ती देश पुग्दा उनलाई गहिरो गरी अनुभूति भएको छ– नेपालमा आफूलाई सुशिक्षित ठान्नेले पनि कलाको मूल्य किन बुझ्दैनन् । उनी भन्छिन्, ‘नेपालमा प्रदर्शनी गर्दा हामीले धेरै मन्त्रीलाई निमन्त्रणा गर्‍यौं । तर उनीहरू आएनन् । विदेशमा भने कला अवलोकनकै लागि पनि उच्चपदस्थ मानिसहरू सहजै आउँथे । र, कलाकृति किन्थे पनि ।’

जीवनयात्राजस्तै छ उनको रंगसँगको यात्रा पनि । चार बर्षको उमेरदेखि रेखासँग खेल्न थालेकी उनलाई सिसाकलमले सघायो । शिक्षकले प्रतियोगितामा भाग लिन सक्ने क्षमता देखेपछि उनलाई सुझाए, ‘सिसाले मात्रै हुँदैन र रंग प्रयोग गर्नुपर्छ ।’ त्यसपछि सुरु भएको रंगसँगको मित्रता अहिले परिभाषासहित उनीसँग खेल्छ ।

दर्जनौं राष्ट्रिय/अन्तराष्ट्रिय अवार्ड तथा पुरस्कार उनले कमाएका बहुमूल्य सम्पत्ति हुन् । विभिन्न पुस्तक र म्यागजिनका कभरमा उनले रंग भरेकी छिन् । त्यस्तै विभिन्न संघसंस्थामा उनको सक्रियता उत्तिकै लोभलाग्दो छ ।

जीवनयात्राजस्तै छ उनको रंगसँगको यात्रा पनि । चार बर्षको उमेरदेखि रेखासँग खेल्न थालेकी उनलाई सिसाकलमले सघायो । शिक्षकले प्रतियोगितामा भाग लिन सक्ने क्षमता देखेपछि उनलाई सुझाए, ‘सिसाले मात्रै हुँदैन र रंग प्रयोग गर्नुपर्छ ।’ त्यसपछि सुरु भएको रंगसँगको मित्रता अहिले परिभाषासहित उनीसँग खेल्छ ।

उनको अधिकांश चित्रमा नीलो रंग उपस्थित हुन्छ । त्यो उनलाई आफ्नै रंगजस्तो लाग्छ । ‘प्वाँखको संसार’मा पाइने घना शान्तिलाई अभिव्यक्त गरिरहेको हुन्छ त्यो रंगले । पहेंलो रंगलाई उनी शक्ति अभिव्यक्त गर्न प्रयोग गर्छिन् । हरियोले प्रजनन र विकास अभिव्यक्त गर्छ । रातोले मायालाई अभिव्यक्त गर्छ ।

उनको जीवनमा रातो रंग भने पाँच बर्षअघि पोतिएको थियो । ‘उडी छुनु चन्द्र एक टेलिश्रृंखलामा अभिनय गर्दाताका’ रश्मीले आफ्नो प्रेमकथा सम्झिन् ‘मैले हरि अधिकारीलाई भेटेको हुँ ।’ बहिराको बिषयवस्तुमा बन्न लागेको श्रृंखलामा बहिरा कलाकारकै खोजी भइरहेको थियो । कलाकार खोजीको क्रममा हरिले रश्मीबारे थाहा पाए । निर्देशक पारस केसीलाई लिएर उनी रश्मीलाई भेट्न गए । अभिभावकसँग कुरा गरे । उनी आफैं पनि त्यसमा अभिनय गर्दै थिए । तर केही श्रृंखलाको छायाँकन भएपछि उनी अष्ट्रेलिया जानुपर्ने भयो । श्रृंखलामा मुख्य भूमिका निभाइरहेका हरि अष्ट्रेलिया जाने भएपछि उनलाई लाग्यो, ‘अब कसरी अघि बढ्ला त श्रृंखला ?’

उनले हरिलाई यही कुरा भनिन् । यो कुराको प्रभाव हरिको मन बसेछ । हुन पनि पछि श्रृंखला त्यत्तिकै बन्द भयो । हरि अस्ष्ट्रेलिया गएपछि ४/५ महिना त सम्पर्क नै भएन । त्यसपछि चाहिं फेरि इमेलमा सम्पर्क हुन थाल्यो । बीचमा हरिले बिबाहको प्रस्ताव राखे इमेलमै । रश्मीलाई त्यतिबेला निकै दोधारमा परिन् । उनले एकमनले सोचिन्, ‘मान्छे त राम्रै छ । माया गर्छ होला । मलाई अघि बढाउन सजिलो होला ।’ तर अर्को मन पनि उत्तिकै सक्रिय थियो । त्यो मनले सोच्यो, ‘फेरि गाली गर्ने होला । नराम्रो व्यवहार गर्ने हो कि ?’

यस्तै दोधारमा उनले उत्तर दिइन्, ‘यस्तो कुरा इमेल वा फोनमा गरेर हुँदैन । भेटेरै कुरा गर्नुपर्छ । नेपाल आएर तपाइको र मेरो घरमा कुरा गर्नुहोस् ।’

त्यसपछि हरि नेपाल आए । घरमा कुराकानी गरे । र, विवाह पनि भयो । विवाहले आफ्नो जीवनमा सकारात्मक मोड ल्याएको रश्मी बताउँछिन् । पति पनि कला क्षेत्रमै संलग्न भएकाले आफ्नो भावना बुझ्ने उनको भनाइ छ । विवाहपछि पनि रश्मि आफ्नो क्षेत्रमा प्रतिबद्ध भएर लागेकी छिन्, त्यसमा पति हस्तक्षेप छैन, बरु हौसला छ । त्यसले व्यवहारिक रुपमा सजिलो बनाएको छ ।

उनले तीन दशकको जीवनमा केही सिमित शब्द बोल्न पनि सिकेकी छिन् । त्यसले ‘व्यवहारिक जीवन र चित्रकलासम्बन्धी कतिपय शब्द बोल्न पनि सक्छु’ उनले भनिन्, ‘तर मैले बोलेको कुरा अनुभूतिमात्रै गर्छु, आफैंले चाहिं सुन्न सक्दिनँ । अरुले ओठ चलाएको आधारमा आवाज निकाल्ने बर्षौको कोशिशपछि यति बोल्न सक्ने भएकी हुँ ।’

बीचमा पढाइ छोडेर निकै पछि एसएलसी दिएकी रश्मीले विवाहपछि आफ्नो औपचारिक अध्ययन पनि अघि बढाइन् । तर उनको कला र त्यससम्बन्धी ज्ञान शैक्षिक प्रमाणपत्रले इंगित गर्ने योग्यताभन्दा निकै अघि बढिसकेको छ । त्यसो गर्न उनलाई इन्टरनेटले निकै सघाएको छ ।

त्यसैले अहिले उनको चित्रमा विचार हुन्छ, दर्शन हुन्छ र शक्तिशाली सन्देश हुन्छ । वातावरण, बालअधिकारजस्ता बिषयमा चित्र बनाएर पुरस्कार जित्न थालेकी रश्मी अहिले मूर्त, अर्धमूर्त र अमूर्त चित्रमार्फत अपांगको शक्तिलाई उजागर गरिरहेकी छिन् । उनीहरू पनि अरुभन्दा कम छैनन् भन्ने भाव चित्रमा कसरी शसक्त बनाउने भन्नेमा चिन्तनशील छिन् उनी । उनीहरूलाई अगाडि बढाउने दृष्टिकोण क्यानभासमा अभिव्यक्त गर्न तल्लीन छिन् । बहिराको सन्दर्भमा उनी सिर्जनामार्फत नै भन्न चाहन्छिन्, ‘हाम्रो भाषामात्रै फरक हो । अरू सबै कुरामा बराबर छौं ।’