मधेसी किशोरीको फुटबलर बन्ने सपना

मधेसी किशोरीको फुटबलर बन्ने सपना

कार्तिक २९, २०७४ 0 By शकुन्तला जोशी
शेयर गर्नुहोस्

रिंकु रायभरलाई केही वर्ष अघिसम्म कसैसँग खुलेर बोल्ने हिम्मत आउँदैनथ्यो । संगतमै रहेका मानिससँग पनि बोल्न डर र लाज दुवै लाग्थ्यो उनलाई । पर्सा जिल्लाको बगही गाविसस्थित महानन्दप्रसाद उपाध्याय उच्च माविको ११ कक्षाकी छात्रा उनी भन्छिन्, ‘खै, बानी नै थिएन बोल्ने । बोल्न खोजे पनि अरु सामु पुग्दा गाह्रो हुन्थ्यो ।’ अहिले उनलाई बोल्न डर लाग्दैन । खासगरी उनको समाजमा छोरीलाई घर, स्कूल, खेतबारी बाहेक बाहिर हिड्न अनुमति हुँदैनथ्यो । समाजको प्रचलन बाहिर उनको परिवार हुने कुरै थिएन । उनी पनि स्वभाविक त्यो बन्धनमा थिइन् । स्कूल जान्थिन् फर्केर खेतको काममा आमाबुबालाई सघाउँथिन् । यसरी नै हुर्कदै थिईन् उनी ।
तर, नेपाल सरकारले लागू गरेको बालमैत्री स्थानीय शासन (सीएफएलजी) कार्यक्रम अन्तर्गत जिल्ला हुँदै गाउँमा बनेको बाल क्लबको सदस्य भएपछि उनको जीवनले नयाँ मोड लियो ।

क्लबको गतिविधिमा संलग्न हुँदै जाँदा उनमा बोल्ने बानीको विकास मात्र भएन, उनी आफ्नो समुदायमा बालअधिकारको बारे बोल्न सक्ने भइन् । उनले सिकेको सबैभन्दा ठूलो कुरा छोरीले पनि घरबाहिरको समाजमा जान सक्छ, केही गर्न सक्छ भन्ने कुरा हो । पछिल्लो समय उनका आमा बुबाले पनि यो कुरा बुझिसकेका छन् । उनी भन्छिन्, ‘छोरी अघि बढे सिंगो समाजले केही न केही फाइदा पाउँछ भन्ने हाम्रा अभिभावकले बुझिसक्नु भएको छ । यस्तो परिवर्तन क्लब मार्फत् हामीले गरेको पहलकै परिणाम हो ।’ गाउँ समाजमै पनि विभिन्न विकृति रहेछन् भन्ने क्लबका विभिन्न छलफलबाट उनले थाहा पाइन् । त्यस्तो खराब पक्षलाई सुधार्न बालबालिका र युवाको भुमिका भएको उनले बुझिन् ।

अहिले उनीलगायत धेरै बालबालिका मिलेर आफ्नो समुदायमा स्वास्थ्य, सरसफाई, र्याली गर्ने, सडक नाटकलगायत माध्यमबाट जनचेतना फैलाउने काममा जुटेका छन् । त्यति मात्र होइन, उनीहरु सरकारले दिने सुविधाप्रति पनि चनाखो बनेका छन् । गाविसले बालबालिकाको विकास गतिविधिमा के कति रकम छुट्यायो ? त्यसमा लापरवाही पो भइरहेको छ कि ? उनीहरु निगरानी राख्छन् । उनी भन्छिन्, ‘बालबालिकाको सर्वांगीण विकास गर्न अब घर, परिवार, समाज, विद्यालय र सरकारले पनि कन्जुस्याई गर्न सक्दैन र हुँदैन पनि । हामी सक्षम भए हामी पछिका पुस्तालाई असल र योग्य बनाउने दायित्व हाम्रो पनि हुनेछ ।’ बाल क्लब नभएको भए वा सीएफएलजी कार्यक्रम लागू नगरेको भए हामीमा यति सचेतना र सक्षमता आउने थिएन ।
•••

उनलाई त्यो रातभर राम्ररी निद्रा परेन । ओल्टोकोल्टो फेरिरहिन् । उनलाई कहिले बिहान होला र स्कूल जाउँ जस्तो भएको थियो । आमाहरुको त कुरै भएन, दिदीहरुले पनि नगरेको अनुभूति उनी र उनका साथीहरुले बटुल्दै थिए । युनिसेफको पहलमा बाल क्लबका सदस्य सहित अन्य छात्राहरुले फूटबल खेल्न पाउने भएका थिए । यो २०७० को कुरा थियो । त्यसअघि उनले केटाहरुले मात्र फुटबल खेलेको देखेकी थिइन् । शुरुमा त उनलाई फुटबल खेल्न पाउने कुरा सपना जस्तै लाग्यो । तर उनले त्यो मौका पाइन् । तर आमाबुबाले खेल्न दिनेमा उनलाई विश्वास थिएन । तर आमा बुबामा पनि छोरीले केही गरोस् भन्ने भावना रहेछ, उनले अभिभावकको साथ पाइन् । उनीहरुलाई स्थानीय सिनियर युवाले फुटबल सिकाए । युनिसेफको पहलमा बाल क्लबका सदस्यसहित अन्य छात्राहरुले फूटबल खेल्न पाउने त्यो अवसर त्यो समाजका लागि नै एक हिसाबले अपूर्व थियो ।

 ‘त्यो बेला मैले आफू छोरी भएको कुरा बिर्सिसकेकी थिएँ । मेरो शरीर चंगा जस्तै हलुका महसुस भइरहेको थियो ।’

उनीका लागि पहिलेपल्ट फुटबल खेल्न पाउने भन्ने कुरा नै अचम्मको थियो । उनको गाउँघरमा छोरीहरुले छोइडुम, लुकि डुमजस्ता खेल मात्रै खेल्ने हुन्थ्यो । त्यो पनि सानै छँदा मात्र । त्यसपछि त छोरीले खेल्ने भन्ने नै हुँदैनथ्यो । फुटबलसँगै अर्को कुरा झन अचम्म हुँदै थियो । फुटबल खेल्न उनीहरुले पनि छोटो लुगा लगाउन पर्ने थियो । उनीहरुलाई युनिसेफले नै ड्रेस उपलब्ध गराएको थियो । तर, त्यो लगाउने हिम्मत कसैमा थिएन । उनी भन्छिन्, ‘हाम्रो लागि परीक्षा दिनुभन्दा निकै गाह्रो काम थिए ती । हामीलाई स्कूलको सरले सम्झाउनु भयो कि तिमीहरुभन्दा धेरै ठूला दिदीहरु यस्तै ड्रेस लगाएर फुटबल खेल्छन् र धेरै पुरस्कार जित्छन् । त्यसैले केही अप्ठ्यारो मान्नु पर्दैन ।’ सरले निकैबेर सम्झाएपछि उनीहरु लगाउन तयार त भए, फ्रक खोलेर ड्रेस लगाउन फेरि पनि हिम्मत नै जुट्दैन । सबैजना मुखामुख गरेर हाँसिमात्र राख्ने । तर लगाउनु त थियो नै ।

त्यसपछि एक, दुई, जना साथीहरु ढोकामा उभिएर पर्दाको काम गरे । अनि पालै पालो ड्रेस फेरे । फेरि बाहिर निस्कन सकेनन्, सबैजना ढोकामा पोको परे । कसरी बाहिर निस्कने ? सबैलाई लाज बेस्सरी लागि रहेथ्यो । सरले फेरि सम्झाए । त्यसपछि भएभरको हिम्मत जुटाएर उनी अनि पालैपालो सबै बाहिर निस्किए । मैदानमा पुग्दानपुग्दा सबै साथीहरु उनीहरुलाई हेरेर धेरै हाँस्दै थिए । सिटी बज्यो, उनीहरु मैदानमा दौडन थाले । आँखा चम्काउँदै उनी थप्छिन्, ‘त्यो बेला मैले आफू छोरी भएको कुरा बिर्सिसकेकी थिएँ । मेरो शरीर चंगा जस्तै हलुका महसुस भइरहेको थियो ।’ बल हान्न थालेपछि उनका खुटा यस्तो दुख्यो, दुई तीन हप्तासम्मै दुखेजस्तो लागिरह्यो । तर, त्यो दुखाई खेल्न पाउनुको आनन्दभन्दा निकै कम थियो । त्यसपछि उनलाई फुटबल खेल्दा छोटो लुगा लगाउनमा समस्या भएन ।
•••

अरु बेला स्कूल समय सकेपछि हामीलाई घर पुगेर आमालाई घरधन्दा सघाउने हतारो हुन्थ्यो सँधैं । तर, त्यसपछि साथीहरुसँग उनी स्कूल सकेर डेढ दुई घण्टा फुटबलसँग रमाइरहेकी हुन्छिन् । उनलाई लाग्छ, ‘सायद मेरी आमाको पनि उन्मुक्त भएर हिड्ने यस्तै केही सपना थिए होला । तर, उहाँको समयमा त्यस्तो कुनै संभावना थिएनन् । त्यसैले उहाँ आफ्ना सपनालाई यसै मारेर जिइरहनु भएको थियो । यस्तै बेला मेरो अगाडी आएको अवसरमा उहाँ आफ्नो सपना फेरि जागेजस्तो पाउनु भयो ।’ त्यसैले हुनसक्छ आमाले फुटबल खेल्न एकदम प्रेरित गर्नु भयो । खुटा दुखेको कुरा सुनाउँदा आमाले भन्नुहुन्थ्यो, ‘खेल्न नछाड, विस्तारै ठिक भइहाल्छ । हामीले यस्तो मौका कहिले पाएन । तिमीले पाएकी छौ, खेल ।’ आमाले यसो भन्दा उनी झनै उत्साहित भइन् ।

अहिले उनी फुटबल राम्रै खेल्न सक्छिन् । जिल्लाभरका स्कूलहरुबीचको प्रतिस्पर्धामा भाग पनि लिइन् । उनीहरुले जित्दै थिए, फाइनलमा उनीहरुले दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो । आफ्नै टीमको साथीले आफ्नै पोष्टमा गोल गरेपछि यस्तो नतिजा भोग्नु  पर्यो । बागवानाको स्कूलले जित्यो ।

हामीले खेलेको देखेर केही केटाहरुले राम्रो मान्यो । धेरैलाई डाहा भइरहेको थियो । हेर न कस्तो छोटो लुगा लगाएर दौडिरहेछन् ? घरमा काम गर्नु पर्छ भनेर यिनीहरु यहाँ बहाना गरिरहेछन् । यस्तै के के भन्थे । विस्तारै पछि उनीहरुले हामीलाई जिस्क्याउन छाडे ।

अहिले उनलाई कोहीसँग बोल्न पनि डर लाग्दैन । कक्षामा पछाडी बस्न मन लाग्दैन । सरहरुलाई प्रश्न गरी–गरी कक्षामा सहभागी हुन उत्सुक हुन्छिन् । तालिम र अवसर पाए त अझ राम्रो फुटबलर बन्ने सपना छ उनको । यस्ता क्लब वा सामाजिक गतिविधिमार्फत् आफूभन्दा पछिका बहिनीहरुलाई पनि आफ्नो रुची लागेको क्षेत्रमा अघि बढ्न प्रेरित गर्ने उनको इच्छा छ । सानैदेखि निडर भएर अगाडी बढ्न र पढ्न सके भोली दहेज वा कुनै पनि नाममा मर्नु वा मारिनु पर्ने दिनको अन्त्य हुन्छ भन्ने उनलाई विश्वास छ । आफूलाई भने सीएफएलजी कार्यक्रमले जीवनको नयाँ बाटो देखाइदिएकामा उनी खुसी छिन् ।