सतिसाल सेनदाइ

सतिसाल सेनदाइ

जेष्ठ १३, २०७८ 0 By लेखक
शेयर गर्नुहोस्
  • संगीता खड्का

कृष्ण सेन इच्छुक भौतिक रूपमा हामीबाट टाढा भएको १८ वर्ष पूरा भैसकेछ । १८ वर्ष कुनै छोटो अवधि होइन, लामै कालखण्ड हो । आफ्नो जीवन र कर्मका कारण आज पनि सेन दाइ हामी सबैको मानसपटलमा अमिट छाप बनेर श्रद्धापूर्वक रहनुभएको छ र सधैँ रहनुहुनेछ ।

देश र जनताको परिवर्तनका लागि हाँसी–हाँसी आफूलाई बलिदान गर्ने आदर्श र प्रिय पात्रहरूलाई अवश्य पनि हामी सधैँ सम्झने नै छौं तर अझ स्मृति दिवस विशेष सम्झना गर्ने दिन बन्दोरहेछ । यी १८ वर्षमा नेपाली राजनीतिमा धेरै उतारचढाव आए । नेपाली धर्तीमा सर्वहारा जनताको सत्ता प्राप्तिका लागि भीमकाय बलिदानका कथाहरू पनि रचिए भने १८ वर्ष पश्चात सत्तामा टाँसिनका लागि केही पात्रहरूले आफ्नो स्वाभिमानलाई हदैसम्म गिराउन तयार भएका घटना पनि हालसालै राजनीतिक परिदृष्यमा देखिएकै छन् । नेपाली राजनीतिमा केही पात्रद्धारा रचिएको घिनलाग्दो प्रवृत्तिको चंगुलको छेउमा उभिएर कृष्ण सेनजस्ता आदर्श व्यक्तिको स्मरण गरिरहदा कता–कता उकुस–मुकुस भएजस्तो अनुभूति भइरहेको छ ।

कृष्ण सेन दाइसँग मैले भौतिक रूपमा धेरै लामो समय संगत गर्ने अवसर पाइनँ । म स्कुले जीवनमै हुँदा जनादेश पत्रिकामा उहाँको एउटा कविता पढेकी थिएँ । कविताको एउटा लाइन थियो–
मैले मेरो देशका कुलङ्घारविरुद्ध मुर्दावाद भन्न किन नपाउनू ?
मलाई यो वाक्यले अत्यन्तै छोयो । कम्युनिष्ट कखरा सिक्दै गरेकी मलाई यस पंक्तिले विद्रोहको आँधीमा हाम फाल्न प्रेरित ग-यो । सेनदाइलाई नदेखेरै पनि उहाँको रचनाबाट मैले अगाध सामीप्यता महशुस गरेँ ।
संयोगवश, सेन दाइ केन्द्रीय कारागारमा रहनुभएको बखत २०५५ सालमा तिहारमा उहाँलाई भेट्ने अवसर जुर्यो । तिहारको समयमा आस्थाका बन्दीहरूलाई दिदीबहिनीको नाताले आफन्त साथीहरूले सहज रूपमा भेट्न पाउँथे । त्यही मौका पारेर धेरै अग्रज महिला नेतृहरूसँग त्यहाँ जाने अवसर पाएकी थिएँ ।

  • जसबाट म धेरै प्रभावित थिएँ, उहाँले पत्रमा समेत अभिप्ररित गर्नुभएकोमा मसँग आभारका लागि कुनै शब्द नै थिएन । धेरै नै खुसी लागेको थियो ।


जेलमा रहेका सबै आस्थाका बन्दीहरूलाई मैले नचिने पनि केही बन्दीहरूलाई उहाँहरूकै रचनाका कारण नाम सुनेकी थिएँ । मैले प्रत्यक्ष नचिनेका तर लेखरचनाबाट चिनेका केही पात्रमध्ये सेन दाइ पनि त्यहीँ हुनुहुन्थ्यो । दिदीबहिनीको नाताले त्यहाँ गएपनि सबैले सबैलाई चिनेका थिएनन् । यसैले परिचय दियौँ सबैले आ–आफ्नो । सेन दाइको कविता मार्फत जसरी म उहाँसँग प्रभावित थिएँ, त्यसैगरी उहाँको मिजासिलो व्यवहार र सरलपनले अझ त्यो आदर्शको बिम्बसँग थप परिचय गरायो ।

त्यो भेटको केही वर्षपछि म आफैँ पनि पत्रकारिताको विद्यार्थीको नाताले जनआह्वान पत्रिकासँग आबद्ध हुन पुगेँ । जनआह्वान पत्रिकामा पनि सेन दाइको लेखरचना आइरहन्थ्यो । जतिबेला उहाँ सिराहा, सप्तरी, धनुषालगायतका जिल्लामा रहेका कारागारमा हनुहुन्थ्यो । जेलमा रहँदा पनि उहाँले आफ्ना सशक्त लेखरचनाका साथै अभिभावकत्वपूर्ण पत्रहरू समेत पठाउनुहुन्थ्यो । त्यहाँ पहिलेदेखि नै कार्यरत पत्रकारहरूलाई त पत्रमा सम्बोधन गर्नुभएको थियो नै, म भर्खर पत्रकारितामा पाइला टेक्दै गरेकी मान्छेलाई पनि उहाँले सम्बोधन गरेरै ‘राम्रोसँग अगाडि बढनुस्’ बहिनी भन्नुभएको थियो । त्यति ठूलो मान्छे, जसबाट म धेरै प्रभावित थिएँ, उहाँले पत्रमा समेत अभिप्ररित गर्नुभएकोमा मसँग आभारका लागि कुनै शब्द नै थिएन । धेरै नै खुसी लागेको थियो ।

२०५७ साल चैत्र २ गते नेपाल पत्रकार महासंघको पहलमा उहाँ जेलबाट छुट्नुभयो । त्यसबेला एअरपोर्टदेखि महासंघले औपचारिक रुपमा आफ्नो कार्यालय बागबजारमा गरेको कार्यक्रममा पनि धेरै तस्विरहरू खिचेँ । हामी सबै गद्गद् थियौँ, विजयी मुद्रामा थियौं । यसपछिका केही दिन सँगै काम गर्ने अवसर प्राप्त गरेँ । जनादेशको प्रधानसम्पादकबाट पछि उहाँ जनदिशा दैनिकको प्रधानसम्पादक हुनुभएको थियो ।

२०५८ साल मंसिर ११ गते संकटकाल घोषणा भएकै दिन धेरै अग्रज पत्रकारहरू गिरफ्तार हुनुभयो । सेन दाइसहित हामी ६/७ जना सहकर्मीहरू बाकी थियौं । अन्ततः हामी पनि २०५९ जेठ ६ गते गिरफ्तार भयौँ । गिरफ्तार भएको केही घण्टापश्चात हामीले पाएको यातनाको साक्षी हामी नै थियौं । हामीमध्ये सबैभन्दा पाको र जिम्मेवारीले पनि प्रधानसम्पादक हुनुहुन्थ्यो सेन दाइ, त्यसैले केही कुरा खोल्न सकिन्छ कि भनेर प्रहरीका अधिकारीहरू तल्लीन थिए ।

हिरासतभित्र सेन दाइलाई दिइएको चर्को यातना र यातनाले थिलोथिलो पार्दासमेत उहाँले देखाउनुभएको आदर्शबारे एक साक्षीका नाताले मैले धेरै पटक लेखिसकेकी छु । उहाँकै स्मृति दिवस पारेर दुई वर्षअघि मैले लेखेको ‘युद्धका ती दिन’ पुस्तकमा अझ विस्तृत रूपमा इतिवृतान्त लेखेकी छु ।

  • आफूलाई बचाउन आहुति दिने सेन दाइजस्ता वीर–वीराङ्गनाहरूको सपना माथि सत्ता लिप्साका लागि रामबहादुर थापा बादललगायतका पात्रहरूले के गर्नुभयो, त्यो जवाफ कुनै समयमा उहाँहरूले नै दिनुहोला ।


यातना शिविरमा उहाँले नै लेख्नुभएको कविताको सतिसाल बिम्बका रूपमा उहाँले आफूलाई उभ्याउनुभएको थियो । सहज अवस्थामा त जुन रुख पनि उभिन सक्छ तर आँधीहुरीमा सतिसालजस्तै अडिन सक्नुपर्दछ भनेर उहाँले एउटा क्रान्तिकारी योद्धाको बिम्बको रूपमा उक्त कविता लेख्नुभएको थियो । धेरैको भनाइ र गराइबीच फरक हुन्छ तर सेन दाइले जुन आदर्श लेख्नुभएको थियो, त्यही आदर्शलाई शतप्रतिशत पछ्याउनुभएको थियो । कठोर र क्रूर यातनालयमा उहाँले देखाउनुभएको आदर्शले हामीलाई पनि उहाँले मार्गनिर्देश गरिरहनुभएको थियो ।
त्यो यातना शिविरको क्षणलाई आज ठिक १८ वर्ष पछि सम्झदा स्मृतिमा धेरै प्रश्नहरू अनुत्तरित भएर डुबुल्की मारिरहन्छन् ।

सेन दाइलाई यातना दिँदा अधिकांश समय तत्कालीन माओवादी नेता बादलका बारेमा सोधपुछ गरिएको थियो । बादलका बारेमा केही बताइदिएको भए विनायातना उहाँ छुट्न सक्नुहुन्थ्यो तर पार्टीका नेताका बारेमा बताएर गद्दारी गर्नुभन्दा जस्तोसुकै यातनाको पनि सामना गर्न तयार हुनुभयो । जसका एक–एक सम्वाद अहिले पनि हाम्रो कानमा गुन्जिरहेका छन् । जति पटक प्रहरीले बादलका बारेमा सोध्थे, उहाँको जवाफ थाहा छैन भन्ने बाहेक अरू हुँदैनथ्यो । बादलका बारेमा केही बताएर आफू बाँच्न चाहेको भए उहाँलाई धेरै कुरा थाहा थियो तर उहाँले गद्दारी गरेर बाँच्न चाहनुभएन । बरु आफ्नो आदर्श बचाउन उहाँले आफ्नै आहुति दिनुभयो । तर आफूलाई बचाउन आहुति दिने सेन दाइजस्ता वीर–वीराङ्गनाहरूको सपना माथि सत्ता लिप्साका लागि रामबहादुर थापा बादललगायतका पात्रहरूले के गर्नुभयो, त्यो जवाफ कुनै समयमा उहाँहरूले नै दिनुहोला ।

आज सेन दाइको स्मृति गरिरहँदा विश्व कम्युनिष्ट आन्दोलनमा देखिएका जस्तै अद्वितीय बलिदानका कथाहरू नेपाली राजनीतिक आन्दोलनमा कोरिएका थिए भन्ने अनुभूति हुन्छ । त्यस्तो भीमकाय बलिदानको इतिहास सेन दाइले युगलाई दिनुभएको छ । आदर्श र निष्ठाका पर्याय सेन दाइप्रति हार्दिक श्रदासुमन !
०००