मेरो बाटोमा नहिंडून मेरा नातिनी !

मेरो बाटोमा नहिंडून मेरा नातिनी !

कार्तिक १४, २०७५ 0 By शकुन्तला जोशी
शेयर गर्नुहोस्

क्याबिन गर्लको जीवन-कथा-२ (पहिलो कथा पढ्न क्लिक गर्नुहोस्)

त्यो समय थियो, वर्णव्यवस्थाको तथाकथित संरचनाको सबैभन्दा पिंधमा राखिएको अछुत भनिने दर्जी अर्थात् दमाई जातिले मात्र लुगा सिलाउँथे । मनकुमारी, ४३ (नाम परिवर्तन) त्यही पिंधको वर्गको एक श्रमजीवि परिवारमा जन्मेकी थिइन् । अछुत हुनुको डाम अनुहारभरी बोकेर उनको बुबा मन लागि–नलागी विष्ट वर्गका लुगा सिलाउँथे । राजधानीको सडक किनारामा आज पनि पुरानो हाते कल खटट्ट पार्दै लुगा सिइरहेको कुनै वृद्ध अनुहार देख्दा उनलाई आफ्नो बुबाको सम्झना आउँछ । तर उनको मनमा त्यो सम्झना उति मिठो बनेर आउँदैन । बुबाले त्यो सिप सिकाइदिएको भए आज आफ्नो जीवन अर्कै मोडमा उभिन्थ्यो, आफ्नो हातमा सीप भइदिएको भए आफ्नै नजरमा गर्व गरेर बाँच्नु हुन्थ्यो, उनलाई पटकपटक यस्तो लागिरहन्छ । मनमा लाग्नु एउटा कुरा, तीन नातिनीको धनी भइसक्दा पनि उनको जीवन भने राजधानीको एउटा क्याबिन रेष्टुराँमा ग्राहक सेवामा बित्दो छ ।
मध्यमाञ्चलको एउटा शहरमा उनी २०३२ सालमा जन्मेकी थिइन् । गरिखान अलिकति जमिन थियो र बुबाको लुगा सिलाउने सीप पनि । तर उनका बुबा पनि बचन हार्न नसकिने गाउँलेको बाहेक लुगा कमै सिउँथे । उनका बुबालाई लुगा सिउनु निकै अपजसे काम लाग्थ्यो । रहर गर्दा पनि उनले छोरीलाई त्यो सीप सिकाएनन् । उसो त मनकुमारी मात्रै हैन, अरु चार जना दिदीबहिनीले पनि सीप सिक्ने अवसर पाएनन् । उनी भन्छिन्, ‘लुगा सिलाउन कस्तो रहर लाग्थ्यो, तर मेशिनमा हात राखेको देखेपछि बुबाले राता आँखा पार्दै गाली गर्नुहुन्थ्यो । कोदाली काँधमा हालेर खेततिर गएको देख्दा मात्रै बुबा खुसी हुनुहुन्थ्यो । आज न त कोदाली खन्न मसँग जमिन छ, न त्यो सीप ।’
रातदिन खेतमा मिहिनेत ग-यो । फलेको धानले परिवारको मुखमा दुई छाक माड हाल्न र घर खर्चको गर्जो टार्नु पथ्र्यो । धान बेचेर केके मात्रै गर्ने, उनको परिवारलाई वर्षमा एकपटक लुगा फेर्न पनि हम्मे पथ्र्यो । सँधै फाटेको लुगा लगाएर हिड्दा उनलाई साह्रै दिक्क लाग्थ्यो । एक दिन बजारमै लुगा सिउने दोकान थापेर बसेका मान्छेसँग जेठी दिदीको विवाह भयो । विवाह पछि दिदीले कोदाली बोकेर खेतमा कहिल्यै जानु परेन । निकै सुख पाइन् । उनलाई लाग्यो, यही खेत छ र दुःख छ । यो नभइदिएको भए त मैले पनि दिदीले जस्तै सुखले खान पाउँथे होला । नभन्दै हातमा सीप भएका तर, कमाउने जग्गा जमिन एक टुक्रा पनि नभएको मान्छेसँग उनले आफूखुसी विवाह गरिन् । खासमा उनी श्रीमान्को दोस्रो श्रीमती रहिछन् । उनको श्रीमान्को पहिलो श्रीमतीले अर्कैसँग विवाह गरेकी रहिछन् । त्यसपछि उनको दायित्वमा दुई जना छोराछोरीको रेखदेख पनि थपियो । श्रीमान् लुगा सिलाउन सिपालु थिए, शुरुका केही वर्ष राम्रै कमाइ पनि गरे । उनीहरुका जुम्ल्याहा छोरी जन्मे । परिवार खुसी नै थियो । साथीको संगतले श्रीमान् विग्रिदै गए । एकहप्ता लुगा सिलाउने, अर्को हप्ताभरी रक्सी खाएर हिड्ने गर्न थाले ।
०००

माओवादी द्वन्द्वको बेला थियो । एक दिन बजार घुम्न निस्केका दुवै छोरीलाई माओवादीले समातेर लगिदिए । कलिला छोरीहरु लगेपछि बुबा निकै तनावमा परे । छोरीलाई पनि छोरा जसरी हुर्काएर ठूलो मान्छे बनाउने उनको सपना थियो । तर, माओवादीले लगेको छोरी कहाँ पु-याए भन्ने अलिक दिन सम्म पत्तो भएन । किन लगे भन्ने ठ्याक्कै कारण थाहा पाएनन् । उनी भन्छिन्, ‘अब तेरो छोरीहरु फिर्ता आउँदैनन् भनेर गाउँलेले भन्न थाले । तिम्रा छोरीहरुलाई त कालो पट्टी लगाएर हाम्रो स्कूलमा ल्याथ्यो, कस्तो पिटे, खाल्टो खनेर गाडिदिन्छन् भन्न थाले । अनि बाबु चाहिँ भन्न थाले– मेरा बालखा छोरीहरुलाई यातना दिएर मारेको देख्नुभन्दा अघि मै मर्छु ।’ मनकुमारीले सम्झाउने कोशिस नगरेकी होइन । द्वन्द्व झन् चर्किदै थियो । छोरीहरु जीवित फर्किने आशा कम भएपछि उनले एकदिन मौका छोपेर विष सेवन गरे । उनले श्रीमान्लाई बचाउन सकिनन् । पछि थाहा भयो उनका छोरीहरुलाई हेटौडाको माओवादी क्याम्पमा राखिएको छ । क्याम्पमा झगडा गर्न गएपछि बल्ल छोरीहरु घर फर्के । ठूलो मान्छे बनाउँछु भन्ने सपना देख्ने बुबाको मृत्युपछि छोरीहरू जिद्धी हुन थाले । चार कक्षापछि पढ्न पनि छोडे । त्यसैले छोरीहरुलाई सुधारेर पढाउँला भन्ने ध्येयले बहिनीको सहारामा उनी काठमाडौं आएकी थिइन् ।
उनले शुरुमा न्यूरोडमा १७ सय रुपैयाँको जागिर खाइन् । कोठा भाडा आठसय रुपैयाँ । पहिलेको भाडावालले छोडेर गएको एउटा खाट घरभेटीले दिएका थिए । त्यसको पनि मासिक एक सय रुपैयाँ भाडा लिन्थे । जाडोको महिना आयो । ओढ्ने ओछ्याउने लुगा गतिलो थिएन । तीन जनाले यता तान्यो उता नपुग्ने, उता तान्यो यता ओढ्ने नपुग्ने । त्यति पैसाले शहरमा तीनजनाको जीविकोपार्जन गर्न हम्मे थियो । तर हुर्किदै गएका छोरीहरूले उनको दुःख बुझ्दैनथे । शहरका जहिँतहीं बरालिएर हिड्न थाले । छोरीहरु हराए भने कहाँ खोज्ने होला भन्ने उनलाई पिर लाग्ने, छोरीहरु भने आमाको आँखा छलेर उम्किने मात्र दाउ गर्ने । अलिक पछि छोरीहरु चिनेको मान्छेमार्फत् रेष्टुराँमा काम गर्न पुगे । होटल लाइनमा काम गर्नु उचित हुँदैन भन्ने उनले सुनेकी थिइन् । छोरीहरुले काम गर्ने ठाउँ हेर्न जाँदा बन्दाकोभी काटेर बस्ने, अर्की भाँडा माझ्दै गरेको भेट्थिन् । उनले हेर्दा खासमा त्यो होटल जस्तो थिएन । यसो एउटा सोफा राखेको, अनि चिया पकाउने चुला मात्रै थियो । छोरीहरुले टिप्स लिएर आउन थाले । पैसाको खाँचो परेको होला भन्दै होटलवालाले ३/४ सय रुपैयाँ दिन थाले । उनी सोच्थिन्– महिना पनि पुगेको छैन, के को पैसा दिएको होला । पछि ग्राहकलाई रिझाएर खुवाए बापत कमिसन राखिदिने रहेछ, त्यही पैसा रहेछ । अब लिन पनि गाह्रो, नलिउँ पनि दुःख छ । उनले त्यस्तोमा काम छुटाउन छोरीलाई पिटिन् पनि । तर, त्यही काममा भिजेका, फेरि गइ हाले । पछि आआफैं बिहे गरे । बच्चा पाए, छोडे । छोरीहरुको यौनकर्मतिर संकेत गर्दै भन्छिन्, ‘अहिले रेष्टुराँमा काम गर्न त मन पराउँदैनन् । तर उनीहरु त्यो भन्दा पर पुगे ।’ यसरी उनीभन्दा पहिले उनका छोरीहरु रेष्टुराँ हुँदै यो लाइनमा पुगे ।
०००

त्यति पैसाले बाँच्न नपुग्ने भएपछि उनले ज्वाई (बहिनीका श्रीमान्)सँग अर्को जागिर खोजिदिन अनुरोध गरे । उनले गार्मेण्टमा लगाइदिने आश्वसन पनि दिए, तर जागिर पाइनन् । त्यसैक्रममा आफ्नो कोठा छेवैमा बस्ने छोरीको दामले नेवार केटीले उनलाई माछापोखरीमै रेष्टुरेन्टमा काम लगाइदिइन् । भन्छिन्, ‘पहिले छोरीहरुलाई गर्न दिन्न भनेको काम आफैं गर्नु पर्ने मेरो वाध्यता बन्यो ।’ त्यहाँ २५ सय रुपैयाँ तलब पाउँथिन् । पछि काम गर्दै जाँदा त्यो होटलवालाले ग्राहकसँग कुरा मिलाएर रात बस्न जाने अनुमान गरेर उनलाई जागिरबाट निकालिदियो । त्यसपछि उनले एउटा डान्सबारमा केही समय काम गरिन् । एक महिनाको ३ हजार लिएर त्यहाँ पनि काम छोडिन् । त्यो बेलासम्म छोरीहरु कहिले कोठा आउने, कहिले बाहिरतिरै बस्ने गर्न थालिसकेका थिए । त्यसपछि काम गर्न आएको हालको रेष्टुरामा उनले १२ वर्ष बिताइसकेकी छन् ।
यहाँ आएपछि पहिले वेटरकै रुपमा काम गरिन् । भन्छिन्, ‘वाध्यता थियो, ग्राहकसँग पनि बसियो । मेरो दुःख देखेर सुनेर मलाई राम्रै टिप्न दिने नियमित जसो ग्राहक थिए । उनीहरुको सहयोगले मैले जीवन निर्वाह गर्न सकें । मैसँग मात्रै बस्न भनेर आउने मानिस ५÷६ जना थिए । अहिले पनि तीमध्ये केही आउँछन् । तर, अब भर्खरका केटी मात्र हेर्छन् । कुनै कुनै बेला त मैसँग पनि बस्छन् ।’
०००

एक जना दाङतिरका व्यवसायी काठमाडौं आउँदा उनलाई नै भेट्न भनेर त्यहाँ आउँथे । उनलाई आर्थिक अभाव हुँदा ती व्यवसायीले निकै सहयोग गरेका थिए । उनी भन्छिन्, ‘उनले डेढ लाख रुपैयाँ जति खर्च गरे होला पटकपटक गरेर । केही वर्ष अघिको कुरा हो, उनीसँग म कोहीकोही बेला गएर रात बसें पनि ।’
उनको जिन्दगीमा जोर बरपिपल भएर बाँच्ने चाहना दैवले लतारिसकेको थियो । उनलाई फरकफरक पुरुषसँग कुम जोरेर बस्ने इच्छा छैन । तर उनलाई लाग्छ, हिडिरहेको जीवन उनको वाध्यताको बाटो हो । जसलाई उनले स्विकारिसकेकी छन् । पछिल्ला समय उनलाई कोही स्थायी साथी भइदिए हुन्थ्यो, सुखदुःखमा साथ दिने भन्ने आवश्यकता महसुस भयो । संयोगले एकजना उमेरदारी पुरुष साथीसँग भेट भयो । उनका ती साथी ट्याक्सी चलाउँछन् । मनकुमारी आफ्ना तीन नातिनी, एक छोरी र ती साथी अहिले एउटै छानोमुनि बस्छन् । एउटी छोरी भने बाहिरतिरै बस्छिन् । भन्छिन्, ‘उहाँलाई मेरो काम थाहा छ । हामी दुवै एकार्कालाई तपाई भन्छौं । हामी खासमा एकार्काका लागि असल साथी हौं ।’
उनले रेष्टुराँबाट तलबको रुपमा मासिक सात, आठ हजार मात्र पाउँछिन् । तर, नयाँ केटीहरुलाई मात्रै ताक्ने पुराना ग्राहकलाई आएको उनी आफूलाई पनि टिप्स दिन आग्रह गर्छिन् । प्रायः उनको हात खालि फर्काउँदैनन् ।
उनकी एउटी नातिनी नौ वर्षकी भइसकिन् । तिनले कम्तीमा यो बाटो नहिडुन् भन्ने इच्छा छ । दुइटा छोरीका तीन जना मध्ये एउटीलाई मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको हितमाथि काम गर्ने एउटा संस्थाले पढाइदिएको छ । बाँकी दुइटीको जिम्मेवारी उनैले लिएकी छन् । आफूले नपढ्दा छोरीहरु समेत गलत बाटोमा हिड्न पुगे भन्ने उनलाई लाग्छ । त्यसैले नातिनीहरुले आफू र तिनका आमाहरुको जस्तो जीवन नभोगुन् भन्ने उनको इच्छा छ । छोरीहरुले उति वास्ता नगर्दा पनि उनी भने नातिनीहरुलाई जसरी पढाउने ध्याउन्नमा लागेकी छन् । भन्छिन्, ‘शरीर र रुप बेचेर हैन, मेरा नातिनीहरु बुद्धिको सीपले गरिखाने बनुन् ।’