क्याबिन गर्लको जीवन-कथा

क्याबिन गर्लको जीवन-कथा

अशोज १८, २०७५ 0 By शकुन्तला जोशी
शेयर गर्नुहोस्

चुरोटको धुँवाले रंगमिगएको क्याबिनबाट मन उठेको बखत उनका आँखा स्वयम्भुतिर टाँगिन्छन् । धुलोको कुहिरोले मधुरो लाग्छ क्षितिजको क्यानभासमा स्वयम्भू पनि उनलाई । तर धुलै सही, एकैछिन बाहिर उभिँदा छातीभित्र सजिलोगरी श्वास दगुरिरहेजस्तो लाग्छ । सिन्धुलीको आफ्नो गाउँको सिरसिरे बतासको याद आउँछ । मनले भन्छ, आँखा चिम्लिएर बाहिरै उभिइरहूँ । तर त्यसो गरिरहनु सम्भव छैन उनका लागि । तीखा स्वरमा बोलावट आइहाल्छ । भित्र पस्छिन् । अनुहार ढाकेको पातलो सल पन्छाउँदै ऐना अगाडि उभिन्छिन् । उत्ताउलो गरी ओंठमा पोतिएको रातो लिपिस्टिक कतै लतपतियो कि ? यसो मिलाएर उनी नयाँ ग्राहकको सामु पेश हुन्छिन् । धुँवाको अब्स्ट्रयाक्ट रेखाचित्रसँगै भर्खरै जीवनको अठारौं वसन्त टेक्दै गरेकी रविना तामाङ (नाम परिवर्तन)को फेरि जोडिन्छ नित्य कर्मको कडी ।

०००

कलंकीस्थित एक क्याबिन रेष्टुराँमा काम गर्छिन् उनी । अंग्रेजी कमजोर भएपछि आठ कक्षामै उनले पढाइलाई बिसौनी लाइन् । सायद उनको जीवनको पहिलो घुम्ती त्यहीँबाट सुरु भयो । त्यसपछि उनी चिनेको गाउँको दाइसँग काठमाडौं आएकी थिइन् । पैसा कमाउने रहर बोकेर उनी काठमाडौं आएको दुई वर्ष पुग्यो ।
सुरुमा उनले चार हजार तलबमा मामाको स्नुकर हाउसमा काम गरिन् । व्यापार राम्रो भएको दिन हजार, पन्ध्र सयसम्म थप पैसा पनि पाउँथिन् । त्यहीँ स्नूकर खेल्न आउने एक जना दाइले ‘यहाँ भन्दा राम्रो तलब हुन्छ, होटलमा काम लगाइदिन्छु, गर्छौ ?’ भनेपछि उनी क्याबिनमा काम गर्न पुगेको बताउँछिन् । भन्छिन्, ‘उहाँले ल्याउँदा आफूले खाएको थालसम्म माझ्नु पर्दैन, खानेबस्ने सबै सुविधासहित तलब पनि राम्रो दिन्छ भनेका थिए । त्यसैले आएँ । काम त यस्तो ठाउँमा पो रैछ ।’

०००

उनलाई सुरुदेखि नै एकदम नरमाइलो लाग्यो । ‘कस्तो ठाउँमा आएछु ! प्रायः ग्राहकहरू हाम्रो शरीर छुन चाहन्छन् । कस्ता–कस्ता फोहोरी मन भएका मानिस झेल्नु पर्छ भने छिः छिः ! तर, खै अब के गर्ने, छोडौं भने पनि आफूसँग एक रुपैयाँ हुँदैन । अब त गाउँ फर्केर जान पनि लाज लागेर आउँछ,’ टिल्पिलाउँदो आँखा पार्दै उनी कृत्तिम हाँसो देखाउँछिन् ।
केही समय एउटामा काम गरिसकेपछि अहिले उनी अर्को क्याबिनमा काम गरिरहेकी छिन् । ‘काम त उही हो, तर कमसेकम अहिलेको साहुको व्यवहार राम्रो छ’, उनी भन्छिन्, ‘पहिलेको त साहु नै झुर । ग्राहकले दिएको टिप्स पनि उसैले लिने र अलिकति मात्र दिने गथ्र्यो । तलब पनि के तलब भन्नु, जम्मा पैतिस सय रुपैयाँ तलब दिन्थ्यो । त्यही पनि तलब माग्यो भने पहिले ग्राहक बोलाएर टन्न व्यापार गर, अनि पाउलिस् तलब भन्थ्यो । कति नीच होला, पाए त हाम्रो मासु नी बेचेर पैसा कमाउला जस्तो ।’
ती साहुले तलब बढाइदिने आश्वासन दिँदै आठ हजारसम्म पु¥यादिएछन्, तर त्यति पैसा कहिल्यै नपाएको उनको गुनासो छ । ‘महिना पुग्दा त्यही चार हजारभन्दा बढी कहिल्यै पाइनँ’, उनले भनिन्, ‘साहुका साथीहरु गुण्डा–डन थिए । बेलाबेला आएर हंगामा गर्थे । गेष्टसँग बसिरहेको बेला तिनीहरु आएपछि टिप्स नै नलिइ झ्यालबाट भाग्नु पथ्र्यो ।
काम गर्न थालेको केही समयपछि एक साँझ उनलाई साहुले ‘काम छ मसँग हिड’ भनेर बाहिर लिएर गएछ । ‘मलाई थाहा थिएन, तर साहुले त होटलमा ग्राहकसँग छोडेर पो आयो । साहुले त्यो मान्छेसँग मसँग एक रात बसेको चार हजार रुपैयाँ लिइसकेको रहेछ,’ उनले जीवनको एउटा कहालीलाग्दो रात सम्झिइन्, ‘त्यसले मलाई आधारातसम्म बलात्कार ग¥यो । म बल्ल–बल्ल उम्केर मध्य रातमा एउटी साथीको कोठामा गएँ । पछि थाहा पाएँ मेरो पेटमा बच्चा आयो । म कहाँ जाने के गर्ने भएर मन आत्तियो, कति रोएँ । साहुनीलाई त्यो कुरा सुनाएँ । उनीहरूले पैसा दिए र गर्भपतन गराएँ ।’ त्यही पैसा पनि साहुले तलबमा कटाउँदा उनलाई आफ्नो गर्भाशयमा छुरी रोपिएको महसुस गरिन् ।

०००

उसो त सबै मान्छे नराम्रा हुँदैनन् भन्ने उनलाई लाग्छ । गर्भपतन गराएपछि पनि उनी तिनै साथीको डेरामा शरण लिन पुगिन् । उनले जिउमा तेलमालिस गर्नेदेखि अनेक स्याहार गरिन् । उनी त्यो गुन कहिल्यै भुल्न नसक्ने बताउँछिन् ।
तर उनको दुःखका दिन सकिएनन् । अरु मानिसले शंका गर्लान् भन्ने लागेर भोलिपल्टैदेखि काममा गइन् । कसरी बहाना बनाएर चाँडै उम्किने होला भन्ने दाउ हेर्थिन् । तर बिहान साढे १० बजेदेखि राती नौ बजेसम्म रेष्टुराँमा ग्राहकको सेवामा खट्नु पथ्र्यो । ‘धेरै नै रगत बगिरहेको थियो, गाह्रो हुँदाहुँदै पनि काम गरें । १५ दिनभन्दा बढी रगत गयो । निकै कमजोर भएँ त्यो बेला । आजको दिन कसरी कटाउने होला भन्ने लाग्थ्यो हरेक दिन,’ उनी ती दिन सम्झनै चाहन्नन् ।

०००

रेष्टुराँ फेरे पनि ग्राहक त उस्तै हुन्छन् प्रायः । कतिपय खानकै लागि आउँछन्, तिमी पनि केही खाने बहिनी भनेर राम्रो व्यवहार गर्छन् । तर, प्रायःचाहिँ सँगै टाँसिएर बस्नु पर्ने, जीउमा मनलाग्दी छुन दिनु पर्ने, अनिमात्रै जति भन्यो त्यति रक्सी, सितन खाइदिने हुन्छन् । अनिमात्र टिप्स दिन्छन् । तर तुलनात्मक रूपमा अहिलेका साहु उनलाई असल लाग्छ । टिप्स अलि बढि नै राख्न दिन्छन् । दिनमा न्यूनतम तीन सयदेखि कहिले त हजार रुपैयाँसम्म पनि उनको हात पर्छ । कोही मनकारी आएभने दुई–तीन हजार पनि दिन्छन् । त्यसो हुँदा अहिले उनले मासिक दुई हजार जति एउटा सहकारीमा जम्मा गर्न थालेकी छिन् ।

०००

रेष्टुराँमा आउने ग्राहकमध्ये केही चाहिँ उनीप्रति सहानुभूति राख्छन् । ‘यस्तो ठाउँमा किन काम गरेको ? अरु सिपको काम गर, बरु खोजिदिन्छु’ भन्ने पनि उनले नभेटेकी होइनन् । तर उनीहरुको कुरामा विश्वास गर्ने आधार भने भेट्दिनन् ।
उसो त, बुझ्ने खालका ग्राहकसँग दुःखसुखका कुरा पनि सेयर गर्छिन् । रविना सुनाउँछिन्, ‘उनीहरु पनि तनाव भएर मन हल्का हुन्छ कि भनेर आएको भन्छन् ।’ त्यहाँ आउने ग्राहक कोही बुबा–हजुरबा उमेरका पनि हुन्छन्, कति चाहिँ आफूभन्दा साना हुन्छन् । कम उमेरका ठिटाहरूचाहिँ चुरोट, चिसो खान र सामान्य ख्यालठट्टा गर्न मात्र रुचाउने खालका हुने उनको अनुभव छ । भन्छिन्, ‘अधबैंसे र बुढाहरु बढी छाडा हुन्छन् । यहाँ नियमित आउने दुईजना बुढा ग्राहक छन्, उनीहरू पैसा जति पनि खर्च गर्ने, तर एकदमै छाडा छन् । जहाँतही छुनु पर्ने, चल्नु पर्ने ।’
कहिलेकाहीँ चिनजानकै मान्छे पनि आइपुग्छन् । उनी भन्छिन्, ‘एकपटक गाउँकै दाइ पर्ने पो आएछन् । अनि सोधखोज गरेर थाहा भएपछि बहिनी तिमी के खान्छौ भन, तर, मलाई सर्भ गर्न चाहिँ अर्कै बहिनी पठाइदेउ ल, म तिमीसँग बस्दिन भने । मलाई पो लाज भयो ।’

०००

त्यहाँ आएर पिउँदै रमाइलो गर्ने एकाध ग्राहक उनका लागि अभिभावक जस्ता पनि छन् । एकजना जग्गा व्यापारी छन्, उनी आएपछि परिवारमा बसेजस्तो लाग्छ रे रविनालाई । उनी सुनाउँछिन्, ‘उनी काम गर्ने सबैलाई वरिपरी बोलाएर जे–जे मन लाग्यो खुवाउँछन् । वेटर र किचनमा काम गर्नेलाई समेत खुवाउँछन् । आफू भने अलिअलि मात्र रक्सी पिउँछन् । अरुलाई खुवाउँदा खुब रमाइलो लाग्छ रे उनलाई । उनी आउँदा मलाई त दाजु भेटिए जस्तो लाग्छ । अनि हामी सबैलाई हजार, पन्ध्रसय रुपैयाँ दिएर जान्छन् । अचम्म लाग्छ, यस्तो ठाउँमा त्यस्ता असल मानिस पनि आउँछन्, किन आउछन् होला ?’ बेलाबेला उनी सोच्छिन् । अनि फेरि सोच्छिन्, ‘के तिनी साँच्चै असल हुन त ? त्यसरी गर्ने खर्च कसरी जुटाउँदा हुन् ?’