अझै बाँकी छ सुन्दर जीवनको आशा

अझै बाँकी छ सुन्दर जीवनको आशा

पुस ५, २०७५ 0 By शकुन्तला जोशी
शेयर गर्नुहोस्


क्याबिन गर्लको जीवन-कथा-३
क्याबिन गर्लको जीवन-कथा-१ (पहिलो कथा पढ्न क्लिक गर्नुहोस्)
क्याबिन गर्लको जीवन-कथा-२ (दोस्रो कथा पढ्न क्लिक गर्नुहोस् )

अलिक अघिसम्म त बाग्मति निकै फोहोर बग्थ्यो । अहिले अलिक सङलिएको छ, मन उज्यालो हुँदै गएपछि पनि यस्तो लाग्छ होला । विस्तारै बगेको पानीतिर हेरेर रिना विश्वकर्मा (नाम परिवर्तन) यसो भन्छिन् । ग्राहकसँग बस्न मन नलागेको दिन उनी एक्लै नदी किनारामा आउँछिन् । डिलमा बसेर धमिलो पानी हेर्दा उनलाई आमाको याद आउँछ । आज न उनीसँग न आमा छिन् न अगाडी सुरक्षित भविष्य । तर आशा बाँकी नै छ । पहिलेपहिले आमा सम्झेर खुब रुन्थिन् । रोएर आमाले तार पाउँदिनन् भनेर एकजना साथीले भनेपछि अचेल उनी उति रुँदिनन् । भन्छिन्, ‘कहिलेकाँही एकैदिन धेरैजना ग्राहकसँग बस्नु पर्दा तल्लो पेट झर्ला जस्तो दुख्छ, आँसु निस्किन्छ ।’
काठमाडौं आउँदा उनी जम्मा पन्ध्र वर्षकी थिइन् । भर्खर भुर्भुराउन सिकेको चरा झैं उड्ने मन बोकेर उनी यहाँ आएकी थिइन् । तर उनीसँग अहिले न त्यो सपना छ, न चंगा जस्तै उड्न रहर गर्ने मन । जीवनको पच्चीस वसन्त भनेको कति नै उमेर हो र । नयाँ यात्रामा हिड्न नपाउँदै उनलाई गह्रौं भारी उचालेजस्तो लाग्छ जीवन । उनलाई हत्तपत्त कसैसँग पनि मन खोलेर कुरा गरौं जस्तो लाग्दैन । भन्छिन्, ‘नबोल्ने मालसँग को सुत्न आओस् । जबरजस्ती हाँस्नु, जिस्कनु र ग्राहकलाई रमाइलो दिनु त हाम्रो कामै हो ।’ माल ? मेरो मुखबाट अचानक निस्कियो । अँ माल त हो नि हामी । हामीलाई कसले मान्छे गन्छ । सिरिफ माल । ओहो ! म सम्हालिएँ । म उनको कथा मात्र एकोहोरो सुन्न चाहन्थें । निकै दिनको मिहिनेत पछि बल्ल उनी मसँग बोल्न तयार थिइन् । आफैंसँग तर्सिएँ कतै उनी फेरि बोल्न छोड्लिन् भनेर । तर उनी फेरि बोल्न थालिन् ।
०००


विदेश गएका बुबा दुई वर्षपछि सम्पर्कविहिन भए । आमाले अनेक गरेर बुबासँगै काम गर्ने साथीलाई फोन गरेर सोधखोज गरिन् । उनका साथीले मालिकसँग झगडा परेपछि उसलाई भेडा हेर्ने काममा लगेको हुनुपर्छ भन्ने अनुमान मात्रै व्यक्त गरे ।


बुबा कतार जाँदा उनी एघार वर्षकी थिइन् । केही समय बुबाले राम्रै पैसा पठाए । तीनजना भाइबहिनी, आमासहितको उनीहरुको परिवार दुःखसुख चलेकै थियो । तर आमा रोगी थिइन् । उनलाई टाउको रिंगटा लाग्ने, खोकिराख्ने, भ-याङ उक्लिदा स्वाँस्वाँ गर्थिन् । बुबाले पठाएको पैसाले एक, दुई पल्ट डाक्टरकहाँ जचाउन पनि गएकी थिइन् । तर आमालाई रोग विसेक भएको थिएन । तैपनि आमाले उनलाई स्कूल पठाएकै थिइन् । दुई वर्ष भएपछि बुबा सम्पर्कविहिन भए । पैसा त आउने कुरै भएन । आमाले अनेक गरेर बुबासँगै काम गर्ने साथीलाई फोन गरेर सोधखोज गरिन् । उनका साथीले मालिकसँग झगडा परेपछि उसलाई भेडा हेर्ने काममा लगेको हुनुपर्छ भन्ने अनुमान मात्रै व्यक्त गरे । त्यसपछि बुबाको खुटखबर पाएनन् । यता रिन तिर्न अझै केही बाँकी थियो । जग्गा त उनीहरुसँग थिएन नै । रिनाको आमा अरुको जग्गामा सकिनसकी काम गरेर परिवार चलाउँदैथिइन् । उनी दिनदिनै निराश र कमजोर हुँदै थिइन् । रोगले झनझन च्याप्न थाल्यो । उपचार गर्न आमासँग पैसा थिएन । बुबा बेपत्ता भएको दुई वर्ष बित्दा पनि केही खबर नपाएपछि घरबाट भागेर काठमाडौं आइन् । उनीहरुलाई गाउँकै चिनेका दाइले यहाँ ल्याएका थिए ।
भोलिपल्ट काठमाडौं पुगेपछि भने उनले छिमेकी पसलेलाई फोन गरेर आमालाई खबर भन्दिनू भनिन् । पैसा लिएर तीन, चार महिनामा घर आउने खबर उनले आमालाई छोडेकी थिइन् ।
०००

रहर कसलाई हुँदो हो आफ्नो जिउ अरुले छोओस् । तर, उनीहरुले मेरो जिउ छोए वापत, मेरो ओठमा टोकेवापत पैसा दिन्थे । त्यो पैसाले मेरा भाइबहिनीले स्कूल जान पाउँथे । अब त जिन्दगी नै उनीहरुको लागि भइसक्यो ।

रिनालाई काठमाडौं ल्याउने छिमेकी दाइले होटलमा सरसफाइको कामका लागि भनेर ल्याएका थिए । साथी र उनी फरक फरक ठाउँमा काम गर्न थाले । उनले केही समय गोंगबुको होटलमा भाँडा माझ्ने र सरसफाइको काम गरिन् । होटलवालाले उनलाई खान र होटलको एउटा कुनामा सुत्नसम्म दिएको थियो । समय बित्दै गयो । उनको जिम्मेवारी फेरिदै गयो । उनी वेटर भइन् । उनको ठाउँमा अर्की बहिनी आइपुगेकी थिइन् । होटलको पछाडी फोहोरी ठाउँमा बसेर राती अबेरसम्म जुठोभाँडा माझ्ने कामभन्दा निकै राम्रो लाग्यो उनलाई वेटरको काम । तर रक्सी खाने ग्राहकले जिस्क्याएको भने उनलाई मन परेन । पछि त्यही जिस्क्याउने मान्छेले उनलाई पैसा पनि दिएर गयो । त्यो उनको जीवनको टर्निङ प्वाइन्ट थियो । उनको रुपको प्रसंशा गर्ने ग्राहक विस्तारै उनलाई छुन थाले, आफू नजिक तान्न थाले । उनलाई तिनले छोएको मन पर्दैनथ्यो मनमा टिप्स पाइने मोह बढ्यो । दुई चार सय भएपनि जम्मा गर्न पाए आमालाई पठाउन हुन्थ्यो भन्ने लाग्न थाल्यो । भन्छिन्, ‘रहर कसलाई हुँदो हो आफ्नो जिउ अरुले छोओस् । तर, उनीहरुले मेरो जिउ छोए वापत, मेरो ओठमा टोकेवापत पैसा दिन्थे । त्यो पैसाले मेरा भाइबहिनीले स्कूल जान पाउँथे । अब त जिन्दगी नै उनीहरुको लागि भइसक्यो ।’
सँगै काम गर्ने साथी करिना (नाम परिवर्तन) राती अर्को डान्सबारमा नाच्न जान्थी । साथीको कमाई आफ्नो भन्दा दोब्बर हुने देखेपछि उनलाई पनि नृत्य सिक्न रहर लाग्यो । अलिअलि कम्मर मर्काउन त उनलाई पनि आउँथ्यो । आफ्नो रहर उनले साथीलाई भनिन् । अर्को साँझ करिनाको सेक्सी लुगा लगाएर रिना पनि डान्स बार गइन् । पछिल्लो हारमा ग्रुप डान्स गरिन् । हरेक साँझ नाच्न लागेपछि उनलाई बार जानु, रक्सीले मात्तिएका ग्राहकलाई नचाउनु र टिप्स लिनु नशा जस्तै बन्यो । रक्सीले झ्याप्प भएको एक मध्य रात साथीले होटलको कोठामा ग्राहकसँग छोडिदिई । मातेकै भएपनि ग्राहकले कपडा उतार्न थालेपछि ऊ आत्तिएर भाग्न खोजेकी थिई । तर, त्यो पुरुषले उनीसँग शारीरिक सम्बन्ध राख्यो । उनी निकैबेर रोइन् । त्यो मान्छेले उसलाई दुई हजार रुपैयाँ हातमा राखिदिदै फकायो । उनी भन्छिन्, ‘मलाई कस्तो गाह्रो भाथ्यो । तर, मैले दुई हजार रुपैयाँ कमाउन कति दिन नाच्नु पथ्र्यो, कति दिन प्लेट उठाउनु पथ्र्यो । त्यहाँ एकैछिनमा त्यति पैसा हात पर्दा खुसी पनि लाग्यो । त्यो रात पटकपटक म त्यो मान्छेसँग सुतें । अहिले त्यो मान्छे विदेशमा छ । काठमाडौं फर्केपछि एक, दुई रात मसँग बिताएर मात्र घर फर्किन्छ ।’ त्यसरी उनीसँगै रात विताउन चाहने पुरुष अरु पनि छन् । नयाँ ग्राहकसँग बस्नु त छ नै । जिउ बेचेर कमाएको पैसाले पनि उनले आमालाई बचाउन सकिनन् । आमालाई दम भएको थियो । पछि चिसोको कारण निमोनिया बिग्रेर उनको आमा बितिन् । आमा नहुनुको पीडाले उनलाई डसिरहन्छ । भाइबहिनीको चाहिँ उनी निकै ख्याल राख्छिन् । आफू जेजस्तो भएपनि उनीहरुले इज्जतको जीवन जिउन् भन्ने उनको इच्छा छ । उनको एउटा भाइ कतार गएका छन् । साना भाइ र बहिनीलाई उनले काठमाडौंकै एउटा स्कूलमा राखेर पढाउँदै छिन् ।
०००


भाइले कतारमा राम्रै काम पाएँ भनेको छ । राम्रै पैसा पठाउन सकेछ भने चाँडै नै म यो पेशा छोड्छु । पेशा मात्र हैन, एरिया नै छोड्छु । कमाएको पैसा अलिअलि बचत गरेकी छु । मेरो लागि यो शहरमा अरु पनि बाँच्ने ठाउँ होला ।

पाँच वर्षपछि उनी भाइबहिनीसँग गएको दशैंमा आफ्नो घर मोरङ गएकी थिइन् । अहिले उनीहरुको घरमा काकाकाकी बस्छन् । बुबाआमा सम्झेर खुप रोइन् । पुराना कापीकिताबको धुलो झारेर राखिन् । बुबाआमासँगको पुरानो फोटो एल्बमबाट झिकेर बोकिन् । काकाकाकीको नयाँ फोटो मोबाइलमा खिचेर उनी फर्किन् । उनको दिनचर्या उसरी नै चलेको छ । धेरै पुरुष उनको शरीरसँग खेल्न आउँछन्, उनलाई बिथोलेर जान्छन् । तर प्रेम गर्ने पुरुष पनि उनको जीवनमा आएका छन् । अहिले एकजना युवासँग उनको प्रेम छ । प्रेमी उनलाई यो पेशाबाट मुक्त गराउन चाहन्छन् । तर, उनले काम छोडे भाइबहिनीको स्कूल छुट्छ । त्यही भएर उनले ग्राहकसँग बस्दा पेट दुख्ने गरेको कुरा आफ्नो प्रेमीलाई सुनाएकी छैनन् । उनलाई पनि दिक्दार लागिसकेको छ आफ्नो जीउ बेच्ने पेशा । अरु नै केही काम गरेर प्रेमीसँग घरबार बसाउन चाहन्छिन् । तर, उनका प्रेमीले उनलाई घर लैजालान् ? लगेपनि आफ्नो विगत थाहा पाए पविारले घृणा गर्ने संभावित डरले उनलाई लखेटिइरहन्छ । भर्खरै उनले एउटा सामाजिक संस्थाको सहयोगमा एचआइभी जाँच गराइन् । रिपोर्ट नेगेटिभ आएको भोलिपल्ट बिहान उनी पशुपतिनाथको दर्शन गर्न गइन् । कतार गएको जेठो भाइले साना भाइबहिनीको पढाइ खर्च जुटाउन सक्ने अवस्था बन्यो भने उनी यौनधन्धाबाट पेशाबाट बाहिर निस्कन चाहन्छिन् । चुरोटको लामो सर्को तान्दै रिना भन्छिन्, ‘धन्न मलाई केही भएको रहेनछ । मेरो हिरो मभन्दा धेरै खुसी भयो म ठिक छु भन्ने थाहा पाएर । भाइले कतारमा राम्रै काम पाएँ भनेको छ । राम्रै पैसा पठाउन सकेछ भने चाँडै नै म यो पेशा छोड्छु । पेशा मात्र हैन, एरिया नै छोड्छु । कमाएको पैसा अलिअलि बचत गरेकी छु । मेरो लागि यो शहरमा अरु पनि बाँच्ने ठाउँ होला ।’ उनको मोबाइलमा ब्रोकरले पटकपटक फोन गरिसकेको थियो । अझ केही रात उनले नयाँ ग्राहकको तिर्खा मेट्नु थियो । चुरोटको ठुटो खोलातिर फाल्दै उनी उठिन् । उनको नयाँ जीवनको कामना गर्दै म उनीसँग छुटिएर फर्कें ।