नर्स बन्ने सपना थियो, बनिन् यौनकर्मी

नर्स बन्ने सपना थियो, बनिन् यौनकर्मी

पुस १६, २०७५ 0 By शकुन्तला जोशी
शेयर गर्नुहोस्

यसपाली पनि हस्पिटलले उनलाई विरामी बनायो । अरु निको हुन जान्छन् । उनी भने सामान्य उपचारका लागि गएपछि फर्कदा विरामी जस्तो हुन्छिन् । वास्तवमा उनलाई हस्पिटलले हैन, नर्सले विरामी पार्छन् । बिरामी परेर आराम गर्ने अवसर कहाँ हुनु उनलाई । हरेकदिन मसाज सेण्टरमा कति पुरुषको जिउ सुम्सुम्याउनु पर्ने हो, कतिलाई आफ्नो जिउ सुम्पिनु पर्ने हो, ठेगान हुन्न । तर आँखाभरी तिनकै चित्र नाचिरहने । उनलाई सेतो लुगा औधी मन पथ्र्यो, सेतो अर्थात् स्टाफ नर्सले लगाउने पोशाक । सानो छँदा आमाले कपालमा सिउरिदिएको चाँपको फूल पनि उनलाई औधी मन पथ्र्यो । उनलाई कलिला अनुहारका नर्सहरु बगे्रल्ती भुई झरेका तिनै चाँपका फूल जस्तै लाग्थ्यो । तिनीहरुको अनुहार बर्खामा वस्ती नै छोपेर आएको सेतो बादलको तरेली जस्तो लाग्थ्यो । वास्तवमा उनको आँखा ती नर्सका पनि अनुहारमा भन्दा बेशी तिनको पोशाकमा अल्झन्थ्यो ।
यो कथा ठमेलको मसाज पार्लरमा काम गर्ने युवती सविना शर्मा (नाम परिवर्तन)को हो । सविना चितवनको ग्रामीण भेगबाट नारायणगढ हुँदै दुई वर्ष अघि काठमाडौं आइपुगेकी हुन् । घर छोडेपछि उनले चितवनको एउटा रेष्टुराँमा काम गरिन् । तीन महिनापछि अर्को गेष्टहाउसमा सरिन् । यसो गर्दै उनले दुई वर्षमा होटल, गेष्ट हाउस, क्याफे गरी चार ठाउँमा काम गरिन् । साहुहरुले पैसा खासै दिँदैनथे, ग्राहकसँग बस्दा मनलाग्दी रोजेको खानेकुरा खान पाइने, मौका पर्दा अलिअलि टिप्स पनि पाउँथिन् । भन्छिन्, ‘चितवन बस्दा त तास र सेकुवा कति खाइयो कति । तर कतिपय साहु टिप्स पाएको पैसा पनि खोसिदिन्थे । रक्सीले मातेको झल्लु मान्छेसँग रात बस्दा भने झ्याउ लागेर आउँथ्यो । नबसेर के गर्नु भोलीपल्ट होटलबाट निकालिदिए जाने ठाउँ थिएन ।’ यसरी चितवनबाटै उनको जीविकोपार्जनको बाटो अर्कै दिशामा ढल्किसकेको थियो ।
०००

आफूभन्दा निकै बुढो त्यो मान्छे शुरुमा उनलाई घिन–घिन लाग्थ्यो । तर पछिपछि उनलाई त्यो मान्छे अरु ग्राहकभन्दा राम्रो लाग्यो ।

दुई वर्षपछि उनी काठमाडौं आइन् । रेष्टुराँमा आइरहने एक जना अधबैंसे पुरुषले उनलाई काठमाडौं घुमाइदिने भनेर ल्याएका थिए । ती पुरुषले उनलाई स्वयम्भू र चिडियाखाना घुमाइदिए । त्यही मान्छेले उनलाई चार रात होटलमा राखे । लुगा पनि किनिदिए । पन्ध्र सय रुपैयाँ खर्च पनि दिए । चितवन छँदा एउटा होटलमा काम गर्दा होटल मालिकले नै उनलाई त्यो पुरुषसँग पठाएका थिए । त्यसबापत होटल मालिकले कति पैसा लिए, सविनाले थाहा पाइनन् । उनलाई भने त्यो मान्छेले पाँचसय रुँपैया टिप्स र एक जोर नयाँ लुगा हालिदिएको थियो । जीवनमा पहिलोपल्ट उपहार पाउँदा उनलाई खुब खुसी लागेको थियो । ‘म तिमीलाई भेट्न आइरहन्छु है,’ हरेकपल्ट त्यो मान्छेले त्यही भनेर बिदा हुन्थ्यो । त्यो मान्छेलाई भेट्नुभन्दा एक वर्ष अघिदेखि उनी यो वाध्यताको बाटो हिँडिसकेकी थिइन् ।
सुरुको होटल मालिकले मालिक्नी नभएको एक रात सबिनालाई बलात्कार गरेको थियो । भोलीपल्टै उनी त्यहाँबाट भागेर बसपार्कतिर भौतारिइरहेकी थिइन् । साहु खोज्दै त्यहाँसम्म आइपुग्यो । उसले फकाएर उनलाई होटलमा फर्कायो । उसले अबदेखि त्यस्तो नगर्ने, महिनावारी तलब पनि दिने बाचा गर्यो । उनी डराउँदै फर्किन् । केही दिन उसले केही गरेन । तर, फेरि साहुनी माइतितिर गएको मौका पारेर मालिकले त्यही हर्कत दोहोर्यायो । त्यसको भोलिपल्ट बिहानै उनी त्यो होटलबाट भागिन् । जाने ठाउँ थिएन । घर अरुकै जिम्मा छोडेर सौतेनी आमा सहित बुबा भारतको आसामतिर गइसकेका थिए । बहिनीलाई सानीआमाले विरगञ्ज लगिसकेकी थिइन् । उनी फेरि त्यहीँको अर्को गेष्टहाउसमा काम गर्न थालिन् । त्यहाँ उनले बिहान किचनको सरसफाई गर्नुपथ्र्यो । होटल साहुले बेलुकी भएपछि रुम सर्भिसमा पठाउँथ्यो । ग्राहकको अर्डर अनुसार उनी रक्सी र स्न्याक्स लिएर ग्राहकको कोठामा पुग्थिन् । कोही त सज्जन नै होलान्, उनलाई धन्यवाद दिएर पठाउँथे । भन्छिन्, ‘कहाँ सबै राम्रा हुनु । खानेकुरा टेबुलमा राख्न नपाउँदै जिउमा हात पुर्याउँथे । रातीको दश बजिसकेको हुन्थ्यो । एकपल्ट खानेकुरा पु-याउन गयो, थप रक्सी माग्थे । पु-याउन जाँदा ढोका लगाएर रोक्थे । फकाउन थाल्थे । उम्किन खोज्दा तिम्रो साहुले आज मेरो सेवामा तिमीलाई पठाएका हुन् । आउ म केही गर्दिनँ भन्थे । अनि लाग्थ्यो जति उम्किन खोजे पनि मेरो जाने ठाउँ पो कहाँ छ र ! जेजे भन्छ मानिदिन्थें । ऊसँगै खान्थेँ, पिउँथे अनि आफुलाई सुम्पिदिन्थें ।’ उनले खुसीले शरीर सुम्पेको रात उनलाई पीडा पनि हुँदैनथ्यो । नत्र जबरजस्ती गर्नेले धेरै पीडा दिने उनी गरेको उनी सुनाउँछिन् । यसरी एक वर्षमा कतिले उनलाई भोगे, सम्झना रहेन ।
०००

उनीभित्र नर्स बन्ने सपना यति थियो कि विमारले गल्दै गएकी आमालाई डाक्टरले हैन, तिनै नर्सले ठिक बनाउँछन् भन्ने लाग्थ्यो । उनको नर्स बन्ने सपना आमासँगै नारायणीमा सेलायो ।

होटलमै भेटिएको ग्राहकले उनलाई काठमाडौंसम्म ल्याइदिएको थियो । ठाउँ फेरियो, तर उनको जीवनको कथा फेरिएन । त्यो अधबैंसे पुरुषले उनलाई नयाँ बसपार्कको एउटा होटलमा ल्याएर राखेको थियो । पछि उसले त्यहीँ काम लगाइदियो । त्यहाँ पनि उनले दिने सेवाको रुप उही थियो ग्राहक रिझाएर रक्सी र मासुका परिकार बेच्नु र मातेका ग्राहकलाई आफ्नै शरीर बेच्नु । विस्तारै उनी काठमाडौंको वातावरणमा घुलमिल हुन थालिन् । नयाँ साथी बने, ग्राहक पनि । बसपार्कबाट ७ महिनामा उनी साथीमार्फत् ठमेलको मसाज पार्लरमा आइपुगिन् । उनको कामको रुप अलिक फेरियो । शुरुमा उनलाई लोग्ने मान्छेसँग सुत्नुभन्दा बढी तिनको शरीरमा मसाज गर्दा दिक्दारी लाग्यो । तर, यहाँ पनि उनले मसाजमात्र हैन, मसाजपछि ती ग्राहकलाई शरीर सुम्पनु पर्छ । मसाज गर्दागर्दै उनको लाम्चो आँखाको तारिफ गर्ने ग्राहकको हात उनको नितम्बतिर सल्बलाउन पुग्छन् । उनको ओंठमा चुम्बन गर्न थाल्छन् । कहिले काँही त दिन र रातमा गरी चार, पाँच जनासँग सुत्नु कति हैरानलाग्दो हुन्छ । खाडी मुलुक जान पाए पनि मुक्त हुन्थें कि भन्ने लाग्छ उनलाई । तर, यसो फुर्सदमा फेसबुक हेर्छिन, कथा त्यहाँ पनि उस्तै देखेपछि चुपचाप ग्राहकको सेवामा तल्लिन हुन्छिन् । भन्छिन्, ‘सानो हुँदा त के–के बनुँला भन्ने थियो पढेर । के गर्नु मलाई नरकमा छाडेर आमालाई भगवानले लगिहाले ।’
उनकी आमालाई रगत बग्ने समस्या थियो । भरतपुर अस्पतालमा जचाउँन उनले नै कतिपल्ट लगिन् । आमालाई जचाउन लैजाँदा देखेका नर्सहरुसँग उनको सपना जोडिएको थियो । तिनै नर्सहरु आएर औषधी दिन्थे, स्लाइन दिन्थे । घरीघरी आएर सूई पनि घोच्थे । कपाल खोपो पारेर सेतो चोलोमा सेतो सारी लगाएका नर्सहरुलाई देख्दा आफू पनि एक दिन त्यसरी नै विरामीको सेवा गर्ने उनको धोको थियो । उनले आमालाई नर्स बन्ने इच्छा जाहेर पनि गरेकी थिइन् । तर, आमालाई न उनले न ती नर्सले नै बचाउन सके । अहिले लाग्छ, बुबालाई छोरा चाहिएको थियो । पटकपटक छोरी जन्मिने भएपछि गर्भपतन गराएका कारण आमाले ज्यान गुमाउनु परेको हुनुपर्ने उनको अनुमान छ । उनीभित्र नर्स बन्ने सपना यति थियो कि विमारले गल्दै गएकी आमालाई डाक्टरले हैन, तिनै नर्सले ठिक बनाउँछन् भन्ने लाग्थ्यो । उनको नर्स बन्ने सपना आमासँगै नारायणीमा सेलायो ।
आमाको निधन हुँदा उनी १३ वर्षकी थिइन् । सानोतिनो ठेकेदारी गर्ने बुबाले आमा बितेको एक वर्ष नपुग्दै अर्की श्रीमती ल्याए । सौतेनी आमाले छोटो समयमै उनी र बहिनीलाई दुव्यर्वहार गर्न थालेकी थिइन् । त्यसपछि बहिनीलाई सानीआमाले लगिन् । बहिनी पनि नभएपछि उनलाई घर बस्न मन लागेन । घर छोडेपछि भौंतारिदै उनी होटल पुगेकी थिइन् । उनले घर छोडेको केही महिनापछि कुम्लोकुटुरो कसेर बुबा सौतेनी आमासँग भारत पसे । सानीआमाले बेलाबेला फोन गरेर विरगञ्ज बोलाउँछिन् । तर, उनलाई अब सानीआमाको बोझ बन्ने इच्छा छैन । अब उनलाई बसपार्कतिरकै होटलमा जाने मन छ । पैसा अलिक भए पनि किन हो उनलाई यता सहज लागेको छैन ।
०००

नर्सहरुलाई देखेपछि कति दिनसम्म मन खल्लो लाग्छ । के गर्नु एसएलसीसम्म पढ्न त पाइनँ, आफ्नो त कर्ममै रहेनछ कहाँबाट नर्स हुनु ।

नियमित धेरैजनासँगको यौन सम्पर्कले एचआइभी जस्ता ज्यानमारा संक्रमण हुन सक्नेमा उनी सचेत छिन् । तर, सबै ग्राहकले सुरक्षित यौन सम्पर्क गर्न रुचाउँदैनन् । भन्छिन्, ‘थाहा छैन, कसरी चल्छ अगाडिको जिन्दगी । कहिलेसम्म यसरी बेचिनु पर्ने हो ! महिलाका लागि भनेर काम गर्ने अनेक संस्था छन् भन्ने थाहा छ । तर तिनले एकछिन तालिम दिएर के पो हुन्छ र । जहाँ गएपनि यही जाकिन आउनै पर्छ भन्ने लाग्छ । त्यही भएर कसैसँग विश्वास लाग्दैन ।’
उनले कमाएको अलिअलि पैसा साथीमार्फत् एउटा फाइनान्समा राखेकी छन् । उनको नागरिकता नबनेको कारण पैसा राख्न पनि आफ्नो खाता खोल्न सकेकी छैनन् । भन्छिन्, ‘आमा मरिहालिन् । बुबा अर्की स्वास्नी लिएर हिँडिहाले । अलिकपछि घर नवलपरासी गएर ठूलो बुबालाई बनाइमाग्छु । त्यति त कसो नगरिदेलान् ।’
उनी बेलाबेला आफैं अस्पताल पुगेर स्वास्थ्य जाँच गराउँछिन् । अस्पतालमै भेटिएकी उनी त्यो दिन पनि रिपोर्ट लिन हिडिन् । छुट्टिनुअघि भन्दै थिइन्, ‘जँचाएर रिपोर्ट राम्रो आउँछ । ढुक्क त लाग्छ तर, यी नर्सहरुलाई देखेपछि कति दिनसम्म मन खल्लो लाग्छ । के गर्नु एसएलसीसम्म पढ्न त पाइनँ, आफ्नो त कर्ममै रहेनछ कहाँबाट नर्स हुनु ।’
सबिना जस्ता महिला तथा बालबालिकाको हितमा काम गर्ने धेरै गैरसरकारी संस्था छन् । मनोरञ्जन क्षेत्रमा कार्यरत महिला तथा बालबालिकाको अधिकारका लागि काम गर्ने संस्था चेञ्ज नेपालकी कार्यक्रम संयोजक गरिमा श्रेष्ठ भन्छिन्, ‘होटल, रेष्टुराँ, डान्सबार, क्लब, मसाज सेण्टर, गेष्टहाउसलगायत मनोरञ्जन स्थलहरुबाटै महिला तथा बालबालिकाको यौन शोषण हुने गरेको छ । पुनःस्थापनाका प्रयास गर्दा पनि अनिश्चित भविष्यको डरले उनीहरु शरीर बेच्न वाध्य छन् । उनीहरुको उद्धारमा हामीजस्ता सामाजिक संस्था लागेकै छन् । तर, सरकारको पहल नै दीर्घकालीन समाधान हो ।’ ’