शालिग्राम

शालिग्राम

मंसिर ४, २०७४ 0 By कवि
शेयर गर्नुहोस्
स्वप्निल स्मृति

कालो,
मधेसीभन्दा नि का…लो…,
कालो छु म !

उहिले उहिलेको मेरो कथा सुन-
त्यतिखेरकी म रातीपिरी
बाईसी चौबीसी दरबारमा
धपधप बल्ने ज्योति थिएँ
कुनै युद्ध सरदारको
तप्तप् रगत चुहिरहेको तरबारमा
चम्चमी टल्कने मोती थिएँ !

मुलुक खाने अहमको घोडामा सवार
एक भुरेटाकुरे महाराजले मलाई
जसै काठमाडौं जितिल्यायो-
इर्ष्याले आफैं फुट्न नसकेका त्यसका आँखा
एक दिन शत्रूका गुलेलीका मट्याङ्ग्रासँग साटियो,
मौका न पर्‍यो-
आखिर त्यसलाई आफ्नै प्रिय भारदारले
वृन्दावनको गाईको गहुँतमा
सुमेरु पर्वतको सर्पको दूध पिलाई छाड्यो-
त मेरो सौन्दर्यको सारा ऐश्वर्य
त्यसकै नपुंसक आँखाभित्र सेलायो !

भँवरा घुम्दा पनि फूल झर्ने याम थियो
दरबारको एउटा आदिवासी माली
फूलहरूको अत्तरले मात्तिएर बगैंचामा निदाइरहन्थ्यो
मेरो गर्भमा उसले एउटा सुन्दर फूल फुलाएको थियो,
त्यही फूल लुकाएर
‘आर्य’घाटमा हाजिर थिएँ म
कि चितामा पट्पटी पड्किरहेको महाराजको लासमा
मलाई हाम्फाल्न लगाइयो-
मानिनँ,
भागें म बागमती नदीसँगै
तर, ढुंगैढुंगाले हानेर आधा सास पारिएँ
चिताग्निमाथि जिउँदै फालिएँ ।

विभेदको भुंग्रोमा जल्दा-जल्दा
प्रेमले भरिएका मेरा आँखा उडेर मेघबिजुलीमा मिले,
सृष्टिले भरिएको मेरो योनी
खङ्ग्रङ्ग सुकेर शंखमा रूपान्तरण भयो,
आत्मरक्षामा संघर्ष गर्दागर्दा
जल्नै सकेन मातृत्वले भरिएको मेरो स्तन
र कालो, चिल्लो शालिग्राम भयो।

कालो,
मधेसीभन्दा नि का…लो…,
कालो छु म !

बागमतीले बगाउँदै… खेलाउँदै…
मधेस पुगेको मलाई
कुनै विद्रोहीले राज्यलाई हिर्काइ पठाउँदा
थुरिएको छु राजधानीको संसद् भवनमा,
उहिले उहिलेकी एक गर्भवती आमा म
अब एउटा नयाँ युग जन्माउन चाहन्छु
एकएक थोपा दूध सबैलाई भागशान्ति दिन चाहन्छु !