‘टाढोमा बसेको माया गहिरो र लामो जान्छ’

‘टाढोमा बसेको माया गहिरो र लामो जान्छ’

जेष्ठ १०, २०७८ 0 By शकुन्तला जोशी
शेयर गर्नुहोस्

शान्ति ठटाल प्रसिद्ध गायिका त हुँदै हुन्, नेपाली फिल्मकी पहिलो महिला संगीतकारका रूपमा पनि उनको परिचय उँचो र फराकिलो छ l २०० भन्दा बढी गीतमा सङ्गीत दिइसकेकी उनी ८२ वर्ष पार गर्दै गर्दा पनि सक्रिय-सिर्जनशील छिन् l दार्जीलिङ्गबाट आफ्नो सङ्गीत-यात्राको केही पाटो यसरी  सम्झन्छिन्:

संगीत क्षेत्रमा लाग्न चासो लिएकाहरु थुप्रै हुन्छन् । तर गायक र गायिका भनेपछि नी त्यो चैं कण्ठबाट हुने संगीत हो । कण्ठ संगीतको लागि सबैभन्दा ठूलो कुरा आवाज चाहिन्छ । सानो छँदादेखि नै मलाई गीत गुन्गुनाउने रहर थियो, जति गायो त्यति मिठो लाग्थ्यो । तर त्यो बेला नि मलाई आफ्नो गाउने क्षमताबारे थाहा छैन हो । घरमै उठ्दा, बस्दा, खेल्दा पनि गाइबस्ने । स्कुलकालमा पढाइमा मन नलाग्ने, ध्यान जति गीतमै हुन्थ्यो । नेपालबाट महाकवि देवकोटा आउनु भएको कार्यक्रममा मलाई स्वागत गीत गाउन लाएपछि मेरो सांगीतिक यात्रा सुरु भएको हो है । विस्तारै मलाई नाटकहरुमा गाउन लगाइयो, विस्तारै आफूलाई पनि आफ्नो क्षमता यसैमा पो छ कि भन्ने लाग्यो । स–सानो गरी मेरा पाइला अघि बढे, कहीँ रोकिएन । मेरा गीतहरु रेकर्ड हुन थाले ।
त्यो बेला हाम्रो समाजतिर नेपाली गीत उति साह्रो प्रचलित थिएन। म मोहम्मद रफी, लता मंगेश्करहरुको गीत गाउँथें । पछि रेडियोतिर मित्रसेन, तारादेवी, मेलवादेवी, नातिकाजी, शिवशंकर, बच्चु कैलाशलगायतका गीत सुन्दै गएँ । त्यतिबेलातिरै उहाँहरुको गीत रेकर्ड भइसकेका रहेछन् । त्यो बेला उहाँहरु देशको कलाकार हुनुहुन्थ्यो, हामी एउटा सानो राज्यको, पहाडी भेगमा बसेर संघर्ष गर्दै थियौं । रेडियोमा उहाँहरुको गीत सुन्दै जाँदा म थप प्रोत्साहित हुँदै गएँ ।
अन्त मैले सोचें अब गीत गाउने नै हो भने अरुको अनुकरण गरेर त हुँदैन । नियमपूर्वक संगीतको शिक्षा लिनु आवश्यक छ भन्ने महसुस गरेर कलकत्ता जान मातापिता, गुरुजनबाट अनुमति पाएँ । त्यहाँ रविन्द्र भारती विश्वविद्यालयबाट कण्ठ संगीत विषयमा तीन वर्ष सिकें । तर, संगीत सिकें भनेर भन्नु हुँदैन, यो अथाह छ, गहिरो छ कि साँच्चीकै संगीतकार हुन एक जुनी पर्याप्त हुँदैन ।
पहाडी भेगको चिसो हावापानीको मान्छे, कलकत्ताको गरम ठाउँमा मुस्किलले एडजस्ट भइरहेको थिएँ है । तर संगीतमा मेरो चासो भएकाले म त्यो गर्मी, असुविधाहरुबाट भागिनँ । निदानसेकमा मेरो अलिली आवाज बिग्रिन पनि खोज्यो । त्यसलाई पनि सुरक्षित राख्दै त्यहाँबाट एक तहको ज्ञान लिएर फर्कें । युनिभर्सिटीमा मैले संगीतको सिकाईसँगै कलाकारको जीवनशैली कस्तो हुनुपर्छ ? उसको घरको वातावरण कस्तो हुनुपर्ने रहेछ ? घरपरिवार, समाजबाट कस्तो प्रेरणाको खाँचो हुने रहेछ भन्ने अनुभव मलाई हुँदै गयो । त्यसपछि संघर्षहरु जीवनमा क्या, म मात्रै हैन पहिलेका सप्पै कलाकारले गरेकै हुन्थे । संघर्षसँगै पाइला चाल्दै कस्तै परिस्थितिमा पनि संगीतलाई छोड्न नसक्ने अवस्थामा पुगें ।

चलचित्रमा स्वर
सन् १९६६ सालदेखि मैले संगीत कम्पोज गर्न थालेँ । पाठशाला पढाउनु हुने मेरो माइली भाउजुले भानुभक्तबारे लेख्नुभएको गीतमाथि मैले पहिलो संगीत भरें । त्यसपछि स्टेजहरुमा पनि आफैंले कम्पोज गरेको संगीत प्रस्तुत हुन थाले । इश्वर बल्लभजीको ‘एउटा नीलो फूल’मा काव्य कृतिमाथि काव्य संगीत गरें । यो दशर्कबाट निकै रुचाइयो । त्यसपछि प्रताप सुब्बाले निर्देशन गर्नुभएको चलचित्र ‘परालको आगो’का लागि मैले संगीत गर्ने सुयोग मिल्यो ।
मनबहादुर मुखियाले लेख्नु भएको गीतलाई अरुणा लामा, दावा ग्याल्मो, पेमा लामा र शंकर गुरुङले स्वर दिनुभएको थियो । सुब्बाकै अर्को चलचित्र ‘बाँच्न चाहनेहरु’का लागि पनि मैले नै संगीत गरें । उक्त गीत नोर्देन रुम्बाले लेख्नुभएको थियो । त्यो सन्तोषजनक नै थियो । एउटा कम्पोजिसन गरेर स्टेजमा गाउनु र फिल्मको कथावस्तु कस्तो हगि, त्यो अनुसार संगीतबद्ध गर्नु अलिक फरक छ नि ।
जागिरको सिलसिलामा लामो समय सिक्किम बसें । त्यहाँको अल इण्डिया रेडियो, सिक्किम र खर्साङमा मैले धेरै रेडियो नाटकमा फिचर संगीत गरें । देवकोटाको म्हेंन्दो माया, कुञ्जिनीमा पनि संगीत गरेको छु । सिक्किमका शिक्षा विभागको निर्देशक रुद्र पौड्याल सरले देवकोटाको कथालाई सरलीकरण गरेर गीत बनाउनु भएको थियो । मैले जीवनमा सबैभन्दा धेरै उहाँले लेखेका गीतमाथि नै संगीत कम्पोज गरेको छु । गीति नाटक, नृत्य नाटिकाहरुमा धेरैमा गरें ।
सन् १९७७ मा नि सिक्किममा मैले मुनामदनमा संगीत कम्पोज गरेर स्टेजमा प्रस्तुत पनि गरेको थिएँ । त्यतिबेला म त्यहाँको केन्द्रीय विद्यालयमा संगीतको शिक्षिका थिएँ । नेपालयले मलाई काठमाडौंमा मुनामदन फेरि प्रस्तुत गर्ने आग्रह गर्नुभयो । तर त्यो बेला रेकर्ड भएको थिएन, मैले त्यसको ट्यूनिङ केही मात्रै सम्झन सकें । गत वर्ष जूनमा नेपालयको पँलेंटीमा आउँदा मैले नयाँ कम्पोज प्रस्तुत गरें ।
त्यतिबेला प्रविधि अहिलेको जस्तो होला भनेर कल्पना पनि गरेको थिएन । हामी त्यतिमै सिमित थियौं । एउटा हार्मोनि, तबला बेसी भए एउटा गितार हुन्थ्यो, अरु केही नि हुँदैनथ्यो । तर स्वर मीठो र राम्रो कम्पोजिशन भएपछि त्यही एउटै हार्मोनिमा पनि संगीत हुन्छ नै क्या । त्यसले सुन्नेको मन छुन्छ पनि । तर त्यतिबेलाको हाम्रो शक्ति भनेको लाइभ प्रस्तुति दिनु हो । नाटकहरुमा स्टेजमै अभिनय हेर्दै संगीत गर्नुपथ्र्यो । त्यस्तो जीवन्त हुन्थ्यो ।

समकालिन संगत
आशा भोस्लेले एक ठाउँ भन्नुभाथ्यो, ‘अहिले कलाकारहरुको एकार्कासँग संगतै छैन । आ–आफ्नो ट्रयाकमा बजायो, गीत गायो, आयो । त्यो पहिलाको माहोल छैन । त्यो शून्यता महसुस हुन्छ ।’ अहिले प्रविधिले सजिलो त बनायो कि, तर संगतले दिने आत्मियता चैं हराउँदै गयो हगि । त्यो बेला यति मीठो संगत हुन्थ्यो, अहिले सम्झिदा पनि आनन्द लाग्छ । त्यो बेला दार्जिलिङमा हामीभन्दा अघि नविन बर्देवा, हिराकुमार सिंह, दलसिंह गहतराजहरुले गर्नुभएको थियो । त्यसपछि हामी पुस्ता आयो । म, कर्म योञ्जन, मानवीर सिंह, अम्बर गुरुङ, गगन गुरुङ, रुद्र गुरुङ, नयन सुब्बा, शरण प्रधान, अरुणा लामा, दिलमाया खाती, गोपाल योञ्जन, रञ्जित गजमेर, जितेन्द्र बर्देवालगायत धेरै भए । त्यो बेला अरुणा, रञ्जित, शरण प्रधानहरुको अलग्गै स्थान कायम थियो ।
समय क्रमसँगै दार्जिलिङमा थुप्रै संघसंस्था पनि खुले, कलाकार पनि आए । त्यो बेला हाम्रोतिर संगीत जागरणको काल थियो क्या, प्रोफेसनल भएकै थिएन । संगीतलाई पेशा व्यवसाय नभएर समाजका लागि गर्ने कर्तव्य ठानिन्थ्यो । त्यसो त नाटक, नृत्यलगायत कला र साहित्यका सप्पै क्षेत्रमा सप्पैबीच मेलमिलाप हुन्थ्यो । आफ्नो कर्मको क्षेत्रलाई त्यसबेला सेवा नै ठानिन्थ्यो । हामीहरुबीच रिस राग भन्ने थिएन, पवित्र र स्वच्छन्द रुपमा संगीत साधनमा थियौं । त्यसै भएर हाम्रो काललाई दार्जिलिङको इतिहासमा स्वर्ण युगको रुपमा मानेको थियो ।
म एकदमै लाटी मान्छे, कलकत्ता त्यो ठूलो महानगरमा कसरी एडजस्ट भएँ होला भन्ने लाग्छ । तर त्यो विश्वविद्यालयको वातावरण एकदमै सहयोगी खालको थियो हो । मेरा साथीहरु, प्रोफेसर गुरुहरुले मलाई एकदमै राम्रो मान्ने, पहाडबाट आएको, अलग्गै भाषी भनेर मैले फरक व्यवहार पाइनँ । त्यहाँ मैले रविन्द्र संगीत पनि सिक्नु पथ्र्यो, शास्त्रीय संगीतबाहेक भजन, बंगला लोकगीतसम्म सिक्नुपथ्र्यो । बंगला लोकगीतको गुरुले कक्षामै भन्नुहुन्थ्यो, यो केटीले हाम्रो गीतको भाषा बुझ्दैन र पनि यति डुबेर गीत गाउँछ, भाषा बुझे झन् कस्तो गाउँथ्यो होला । म चुपो लागेर सुन्थें मात्रै हो ।
यस्तो प्रकारले शास्त्रीय संगीतको प्राध्यापकले पहिलाको जुनीमा साधना गरी आएको होला भन्नुहुन्थ्यो । त्यहाँ त अरु पहिले संगीत जानेका तर प्रमाणपत्रको लागि आउने रहेछन्, म चैं संगीतको स पनि नजानेको मान्छे जान्नेहरुको बीचमा पुगेको हो । यसले पहिलाकै जुनीमा शास्त्रीय रियाज गरेको रहेछ र अहिले यति सूरमा गाउँछ भन्नुहुन्थ्यो हो । अर्का रविन्द्र संगीत सिकाउने मायासेन गुप्त भन्ने प्राध्यापकले रविन्द्र संगीतमा अनर्स लिन फकाउँथे । बंगालमा खुब नाम हुन्छ भन्थे । तर, उहाँको कुरा एक कानले सुनेर अर्काले उडाउँथे ।
मैले शास्त्रीय संगीतमै अनर्स लिएँ । एक पञ्जाबीले बनाएको हिन्दी फिल्ममा मैले गीत गाएँ । मेरो गीतमा संगीत चाहीँ त्यो बेलाका नेपाली मूलका ठूला संगीतकार मनोहरी सिंहले गर्नुभएको थियो । विहारको भोजपुरी गीत पनि गाएको छु । ती विहारीहरुले गीत गाउन नैरोवी लाने प्रस्ताव गरेका थिए । अब चिन्नु न जान्नुको मान्छेहरुसँग कसरी जानु, म त आमाबुबालाई सोध्नुपर्छ, जाँदिन भनें । तर, मलाई आफनै भाषाले तान्यो, यसैमा लागिरहें नि आजसम्म ।
दार्जिलिङका धेरै कलाकार नेपाल आएर यतै रहनु भयो, तर मैले त्यसो गरिनँ । किन भन्नोस् त ? टाढोमा बसेको जुन माया हुन्छ नि, त्यो गहिरो र लामो जान्छ कि । छेऊमा राम्रो हुँदैन l जहीँ बसेपनि संगीतको त कुनै सिमा छैन हो, मलाई यही बसेर नेपालीको मन जितूँ लाग्यो । यहीं बसेर सकेको योगदान दिएँ भन्ने लाग्छ ।

सम्मान सम्झँदा
मलाई नि कोही कलाकारले नै फोनमा बधाई दिदैं भन्नु भो, तपाईंले नेपालबाट जगदम्बा सम्मान पाउनु भो, म एकदमै खुसी छु, हामी सप्पै कलाकार खुसी छौं । म त अल्मलमा परें, के हो कसो हो, विश्वासै लागेन । भरै भरै त नेपालबाटै फोन आयो हो, बल्ल विश्वास भयो । अनि बसेर सोचें, म यो पुरस्कारको योग्य थिएँ कि थिइनँ हुँला रु यत्रो गौरवशाली पुरस्कारबाट सम्मानित हुन पाउने कुरा मैले कहिले पनि सोचेको थिइनँ हो । गीताले भन्छ, कर्म गर्नु फलको आशा नगर्नु ।
जीवनमा संगीतको क्षेत्रमा त्यस्तै प्रकारले हिँडियो कि ! यो चैं मैले तपाईंलाई साँचो कुरा भनेको कि, खाली काम गर्नु मन लाग्ने नि अब । संगीतको क्षेत्रमा राम्रो काम गरौं भन्ने उद्देश्य लिएर हिँडियो । आफ्नै जीवनलाई नै पो एक प्रकारले बिर्सेर हिँडिएछ । तर, नजानिन्दो प्रकारले पुरस्कार वा यस्तै सम्मान कतै बसिरहेको हुँदो रहेछ क्या, यो आफूले नसोचेको कुरो हो ! जरुर यो पुरस्कार पाउँदा म हर्षित भएँ, अत्यन्तै खुसी भएँ । यो सोचें कि संगीतको क्षेत्रमा मैले दीर्घकालिन काम गरेको रहेछु र नै त्यहाँ नेपालदेखि मदन पुरस्कार गुठीले मलाई सम्मानित गर्न उचित सम्झ्यो ।
खबर पाएको दिन निरन्तर हिडिआएको त्यो बाटोबारे सम्झि बसें । पुरस्कारको खबर पाएपछि यति धेरै बधाईहरु आए कि वरिष्ठ संगीतकारदेखि नयाँ पुस्तासम्मका धेरै शुभचिन्तकहरुले सम्झिनु भयो । सप्पै जना यति साह्रो हर्षित भए कि मभन्दा बेसी खुसी उहाँहरुलाई पो लागेको । यो महसुस गर्दा चै नि म खुसीले साँच्चै भावुक भएँ । उहाँहरुले त्यो पुरस्कारको लागि तपाईं नै योग्य हुनुहुन्थ्यो भनेर भनिरहनुहुँदा म दोब्बर खुसी भएँ ।
०००