शिरीषको फूल कि कागजको फूल ?

शिरीषको फूल कि कागजको फूल ?

जेष्ठ ९, २०७८ 1 By जिन्दगानी
शेयर गर्नुहोस्
  • गोविन्द भट्ट

शिरीषको फूल नेपाली उपन्यास–साहित्यमा अहिलेसम्मको शायद सबभन्दा कान्छो सन्तान हो । यसका भूमिका लेखकका अनुसार त यस कृतिले ‘हामीलाई विश्वसाहित्यको उपन्यासको क्यालेण्डरमा ई. १९६६ मा पु-याएको छ ।’ निश्चय नै यो अतिशयोक्ति हो तर के कुरा अस्वीकार गर्न सकिन्न भने यस लघुउपन्यासको हिजोआज निक्कै चर्चा चलेको छ । एक त उपन्यासको अभाव भएका बखतमा कुनै पनि यस्ता कृतिको स्वागत र चर्चा हुनु स्वाभाविक छ, दोस्रो यसकी लेखिका आधुनिक नेपाली साहित्यकी चिरपरिचित कवयित्री र कथालेखिका सुश्री पारिजात हुनुहुन्छ, जो शायद हाम्रो पीँढीका कवयित्रीहरूमा सबभन्दा बढ्ता चर्चित हुनुभएको छ ।

यो उपन्यास घटनाप्रधान पनि हैन, न चरित्रप्रधान नै हो । आदिदेखि अन्त्यसम्म लेखिकाले यसमा आफ्नो ‘निस्सारदावादी’ दर्शनको प्रतिपादन गर्न खोज्नुभएको छ र यसै निस्सारतावादको व्याख्या र समर्थन गर्ने पूर्वाग्रहबाट नै घटना र चरित्रहरूको सृष्टि गरिएको छ भन्ने भान पर्दछ । ‘रित्तो हृदय, रित्त मस्तिष्क, प्रेम निस्सार छ, खोक्रो बाँचेर, जीवनको बोझ’ आदि जस्ता वाक्यांशहरू उपन्यासका झण्डै हरेक पातामा पाइन्छन् । आधुनिक कवितामा आएको मूल्यहीनता, आस्थाहीनता, पलायनको प्रवृत्ति, अस्पष्टता र गूढ प्रतीकवाद आदि कुराहरू पनि यस उपन्यासमा प्रशस्त पाइन्छन् । त्यसैले भूमिकामा यसलाई ‘काव्यान्यास’ भनेर इङ्गित पनि गरिएको छ ।

पारिजातकै आत्मकथा !
पारिजात मूतलः कवयित्री हुन् । अतिभावुकता, चरम व्यक्तिवादिता, अस्पष्टता, नैराश्य र निस्सारताबाट पीडित हुनुभएकी हुनाले आफ्नो जीवनदर्शनलाई ‘शून्यवाद’ वा ‘निस्सारतावाद’को संज्ञा दिनमा उहाँलाई कुनै आपत्ति छैन । वास्तवमा शिरीषको फूल उहाँको आत्मकथा नै हो, किनभने सकमबरीको ‘प्रेमको आवश्यकता छैन, एक्लो बाँच्न सकिन्छ एक्लै’ (पे. १५) भन्ने अहम्जन्यता र अरूप्रतिको उदासीनता, चरम व्यक्तिवादिता, आफ्नो अस्तित्वप्रतिको स्थितप्र ज्ञता एक कलाकारको आत्मचित्रणको प्रतिमूर्ति हो । यसका साथै सुयोगवीरको दोधारेपना, अन्तद्र्वन्द्व एवम् आत्मसन्चेतताबाट उब्जेको आत्महीनताको कुण्ठा यौटा संवेदनशील कलाकारको व्यक्तित्वको अर्को रूप हो । यदि यसरी शिरीषको फूललाई लेखिकाको आत्मकथा मानिदिएमा हामी साहित्यमा सीमित हुन सक्थ्यौँ तर उपन्यासका माध्यमबाट शून्यवाद र निस्सारतावादी दर्शनको परिपोषण गर्ने उद्देश्य प्रस्ट देखिएकाले, मुख्यतः म यस लेखमा यसको दर्शनपक्षबारे नै विशेष चर्चा गर्नेछु । त्यसको लेखाजोखा र परिणाममा नै यस उपन्यासको महत्त्व पनि निर्भर गर्नेछ किनभने यस पुस्तकको मूल उद्देश्य पनि एक विशेष दर्शनलाई प्रतिपादित र समर्थन गर्नु हुनगएको छ, जो भूमिका र उपन्यास दुवैले प्रस्ट उल्लेख गरेका छन् ।
उपन्यासमा दुवै प्रमुख चरित्रहरू असामाजिक प्राणी हुन् ।

निर्बल सुयोगवीर
सुयोगवीर आफैँ स्वीकार गर्छ– ‘सत्य र सोझो त म मेरो कुनै नातेदारप्रति पनि छैन । वास्तवमा म आफैँप्रति पनि सोझो र सत्य छैन ।’ ऊ चालीस उभोको एक अविवाहित भूतपूर्व सैनिक हो तर उसको बोलाइ र सोचाइबाट ऊ सैनिकभन्दा दार्शनिक झैं देखिन्छ ।
उसको दृष्टिमा सब सारहीन छन् । उसको जीवनमा कुनै योजना वा उद्देश्य छैन । ऊ ‘बाँकी’ जीवन आफ्नो ढंगले जसरी बित्छ त्यसरी बिताउन आएको, रित्तिएर आएको मानिस हो । आफू बूढो देखिन थालेको थाहा पाएर आफूलाई ऊ ‘रित्तिइसकेको एउटा भाँडो, एउटा निस्सारता अनुभव गर्छ । ऊ खुब रक्सी खान्छ किनभने ‘यो युग नै अल्कोहलको हो ।’ तर, सकम्बरीका अगाडि उसले आफूभित्र आत्महीनता अनुभव गर्नुपरेको छ । ऊ एउटा निर्बल चरित्र हो । सकम्बरीको पुरुषयुक्त र प्रभावशाली व्यक्तिको पृष्ठभूमिमा सुयोगवीर एकदमै व्यक्तित्वहीन र लर्तरो देखिन्छ । एकातिर सकम्बरीबाट प्रभावित, अर्कातिर उसकी बहिनी मुजुराको यौवन र सुकुमारताप्रति आकर्षित तर यसका साथै ‘प्रेम निस्सार, जम्मामा निरर्थक मेरा निमित्त’ (पे.३१) पनि भन्दै जानु यी जम्मै कुरा सुयोगवीरको चरित्रको असन्तुलनलाई प्रमाणित गर्दछन् । उसको विगत र वर्तमान जीवनका यौनकुण्ठाहरूलाई प्रकट गर्दै ऊ आफैं स्वीकार गर्छ– ‘मैले जजसलाई बलात्कार गरेँ, उनीहरूलाई प्रेम गर्न सकिनँ र जसलाई प्रेम गर्छु उसलाई बलात्कार गर्न सक्दिनँ ।’ (पे.७०) ‘प्रेम गर्ने स्वास्नी स्थापना गरेर एउटा कोठामा बिहानी डाक्ने क्षमता’ (पे.३१) नभएको सुयोगवीरले प्रेमको सामाजिक उत्तरदायित्व र विवाहप्रथालाई खुल्लमखुल्ला भत्र्सना गर्छ । ऊ ‘कुनै पनि उत्तरदायित्वबाट बाँधिन’ चाहँदैन ।

विकृत नागरिक
स्वास्नीलाई प्रेम पनि गर्नुपर्छ भन्ने कुरा मलाई थाहा छैन, प्रेम कत्रो झुट, कत्रो उपहास, कत्रो निरर्थकता’ (पे.३७) भनेर आफ्नो असामाजिक प्रकृति, नैतिक अराजकतावाद र स्वच्छन्दतावादलाई नै स्वतन्त्रता सम्झने, समाजप्रतिको आफ्नो उत्तरदायित्व र कर्तव्यलाई भुसुक्कै बिर्सेर समाजसँग आफ्नो अधिकारका मात्र कुरा उठाउने विकृत नागरिक सुयोगवीर नै पुस्तकको ‘हिरो’ हो । बाँच्नुको फोस्रो अर्थमा, आफूलाई झुलाएर ऊ जाँडरक्सीमा टन्न भइरहन्छ तर तैपनि आफ्नो कामलाई ठीक र उचित प्रमाणित गर्न भने ऊ सँधैं अगाडि सर्छ । ‘एक्लो, नाङ्गो वास्तविकताबाट पलाएको विवशता’को ऊ खुब कुरा गर्छ । ‘प्रेम नहुँदा पनि उसका निमित्त निस्सारता’ नै थियो र अब भएपछि पनि निस्सार हुन्छ किनभने ‘प्रेम निस्सार मानिसहरूसँग र मानिसहरू निस्सार प्रेमसँग सधैँ हातेमालो गरेर हिँडेका छन्, प्रेमको अस्तित्व रहेको छ निस्सारतामा’ (पे.४५) भन्ने कुरा उसको निस्सारतावादी दर्शनले सिकाउँछ । जीवनलाई नै निस्सार भनेपछि कुनै पनि नैतिक उत्तरदायित्व महत्वहीन हुन्छ तर यस युगमा मेरो कुन स्थान छ ? भनेर सोध्ने, सभ्यता र प्रगतिसँग आफ्ना निम्ति न्याय माग्ने र मानवतासँग पुरस्कार माग्ने सुयोगवीरले समाजमा अरूको कुरा उठाउँदैन, यसको विचारै आउँदैन उसलाई । ऊ आफूलाई ‘शून्यतामा खारिएर निस्केको मान्छे’ भन्छ । किनभने ‘यो पीडित संसारलाई लत्याएर, आफूलाई लत्याएर आआफ्नो आभासदेखि पनि एक्लो हुनसके हुन्थ्यो’ भन्ने उसको तीव्र इच्छा छ (पे.७९) । ‘कुनै पनि भावनालाई ऊ सारपूर्ण’ ठान्दैन, (पे.८३) बरीको मृत्युपछि सुयोगवीरको दर्शनले भन्छ– ‘हामी एकअर्कासित स्पष्ट हुन सक्दैनौं कहिले पनि, यस जीवनका पछि एउटा महाशून्य छ, अब केही पनि चिताउन्न, सब निरर्थक छन् । मृत्यु नै जीवनको मूल्य हो । हामी निस्सार जन्मन्छौं, बाँच्छौं र मर्छौं । मानिस मेसिनभन्दा बढी केही हैन, यो एउटा निस्सार संसार हो, हामी महाशून्यभित्र बाँचिरहेका छौं ।’ आदि आदि ।

रहस्यमयी सकम्बरी
सकम्बरीका माध्यमबाट पनि लेखिकाले यसै दर्शनको अर्को पक्षलाई प्रकट गर्न खोज्नुभएको छ । जीवघातक सुनगाभाको थैलाभित्र निसास्सिएर छटपटाएर मर्न लागेका, भँवरा, मौरी र कीराफट्याङ्ग्राहरूलाई देख्दा उसलाई असाध्यै रमाइलो लाग्छ । अरूको पीडाप्रति उसलाई अलिकति पनि वास्ता छैन, उसमा यौनविकृति प्रशस्त छ, भँवराको संयोगबाट फूल बिग्रन्छ र असुरक्षित हुन्छ भन्ने उसको विक्षिप्त धारणा हो । आफ्नो चरम व्यक्तिवादिता र तीव्र अहम्पनामा विश्वास गर्ने सकमबरी भन्छे– ‘आफ्नो निमित्त फुल्नु, आफ्नै निमित्त फक्रिनु, झर्नुजस्तो एउटा बाध्यतालाई स्वीकार गर्नका निम्ति भँवरासँग लाप्पा खेल्नुपर्छ, झर्नु त पर्छपर्छ भने भँवराको चोट सहेरै किन झर्ने ? आफूमात्र झर्ने, आफ्नो इच्छाले झर्ने (पे.१५) ।

उसको भनाइअनुसार प्रेम पनि कुनै बाध्यता हैन, यसको आवश्यकता छैन, जीवनमा यो अनिवार्य पनि छैन किनभने प्रेम, सहानुभूति र सहयोगजस्ता सामूहिक भावनाका कुराहरू निस्सार हुन् । उसको विश्वास छ– मान्छे एकदमै एक्लो बाँच्न सक्छ, एक्लो (पे.१५) । यसरी ‘मानवविरोधी तत्व’ (सुयोगवीरका शब्दमा) उसको रगतमा बहन्छ । यसको दाजु शिवराजले सुयोगलाई सतर्क पार्दै सकमबरीको जन्मदिनमा कुनै उपहार लिएर नआउने सल्लाह दिन्छ किनभने सकमबरीले मुखमा झटारो हानेर त्यो फर्काउन बेर छैन भन्ने उसलाई डर छ । यसबाट प्रस्ट हुन्छ सकमबरी कति उग्र र असन्तुलित छे । त्यसपछि उसलाई ‘धेरै वर्ष बाँच’ भनेर आशिष दिएको मन पर्दैन, ऊ खरी र निठुरी छे । सधैँको समागम, सधैँकी तटस्थ, यौनको रोगबाट उदासीन, सधैँभरि चुरोट औंलामा च्यापिरहने र बेलाबेलामा मात्र आफ्नो प्रतिक्रिया प्रकट गर्ने तर धेरैजसो बेला समस्या र असन्तोषदेखि फुक्का देखिने ऊ एउटी रहस्यमय चरित्र हो । ऊ खुब चुरोट खान्छे र सुयोगवीरले क्यान्सर लाग्ला भनेर गिज्याउँदा सजिलैसँग ‘स्वागत छ’ भनेर जवाफ दिन्छे ।

विरोधाभास व्यक्तित्व
धेरैजसो बेला ढुंगाकै चिसो, निर्जीव, भावनाहीन र शान्त देखिने सकमबरीको दर्शन आफ्नै किसिमको छ । जीवन र मृत्युको सापेक्षताबाट माथि उठिसकेकी जस्ती सकमबरी प्रत्येक ‘मृत्यु’ र ‘अन्त’ शब्द निस्कनासाथ आफ्नो अनुहार उज्यालो पार्दछे । ईश्वरमाथि हैन, ईश्वरत्वमाथि उसको विश्वास छ । ईश्वरत्वको मृत्यु होस् भन्ने उसको इच्छा छ । ईश्वरसँग उसलाई कुनै वास्ता छैन । ईश्वरविना पनि यो संसार जस्तो छ, त्यस्तै चल्दै जान्छ भन्ने उसको भनाइ छ तर ऊ ‘मनुष्यत्वको मृत्यु भए कुरा अर्कै’ भन्छे (पे.६५) । आफ्ना दुःख र अपराधहरू पखालेर निरोगी हुन चाहने अभागीहरू ईश्वरको शरणमा जान्छन् तर सकमबरीलाई त्यस्तो ईश्वरको प्रयोजन छैन किनभने ऊ एक्लै आफ्नै बल र आधारमा बाँच्ने साहस गर्छे र कुनै पनि अपराध पखालेर पखालिन्न भन्ने कुरामा उसको पत्यार छ । ‘ईश्वरत्वका अघि अपराध पखाल्ने काम विल्कुलै निरर्थक हो, अझ मूर्खता हो – बरु मानिसका अघि पखाले केही हलुका हुनसक्छ, अर्थात् आत्मसन्तोष हुनसक्छ, मानिसमा सम्झिदिने शक्ति हुन्छ ।’ (पे.३६) भन्ने विश्वास सकमबरीको व्यक्तित्वको आधार हो, प्रमुख आकर्षण हो र उसको विशेषता हो तर यी वाक्यहरू उसका पहिलेका कुराहरूका परिप्रेक्ष्यमा निरर्थक साबित हुन्छन् । उसको सिद्धान्त उसकै व्यवहार र जीवनसँग नमिल्दो छ । यस्तै विरोधाभासहरूले परिपूर्ण छ उसको व्यक्तिवादी व्यक्तित्व । लेखिकाको दुर्बलता र उहाँले प्रकट गर्न खोजेको दर्शनको विरोधाभास पनि यसैबाट प्रकट भएको छ । त्यसै विरोधाभासलाई आधार बनाएर शून्यवादको वा निस्सारतावादको निष्कर्ष निकाल्ने प्रणालीमा लेखिकाको आफ्नै अन्योलपना र अनिश्चितता लुकेको छ ।

कस्तो शून्यवाद ?
भूमिकामा पारिजातलाई बोध पाइसकेकी शून्यवादी भनिएको छ तर ‘शून्यवाद’ कुन अर्थमा प्रयोग गरिएको हो, त्यो न भूमिकाबाट प्रस्ट हुन्छ न उपन्यासबाटै । बौद्धहरूको शून्यवादको अर्थ हो कुनै पनि वस्तुको अस्तित्व छैन । ‘बुद्धचरित’का लेखक ‘अश्वघोष’ र ‘माध्यमिकशास्त्र’का रचनाकार नागार्जुन दुवैले यस मतको प्रतिपादन गरेका हुन् । ‘लकावतार सूत्र’मा भनिएको छ– बुद्धिबाट कुनै पनि वस्तुको स्वभाव थाहा पाउन सकिन्न । साधारण र लौकिक विचारले वास्तविक सत्ताको वर्णन गर्न सक्दैन किनभने त्यो अवर्णनीय र निरपेक्ष छ । त्यसैले इन्द्रियहरूबाट प्रत्यक्ष भएको जगत् असत्य छ, सत्य वा सत्ता यस इन्द्रिय प्रत्यक्ष विश्वभन्दा पारि छ । यसरी यो शून्यवाद र शङ्करवेदान्तमा अनेकौं समानता पाइन्छन्, तर प्रस्तुत पुस्तकले प्रतिपादित गरेको शून्यवादलाई सर्ववैनाशिकवाद भने हुन्छ किनभने यसमा अन्त्यमा कुनै पनि कुराको सत्ता स्वीकार गरिएको छैन । हाम्रो इन्द्रियजन्य संसारलाई अस्वीकार गरेर यसभन्दा पारिको संसारलाई मान्यता दिएको भए पनि यसको कुनै सकारात्मक पक्ष र महत्व हुन्थ्यो होला । तर यसले त न यता न उता, यो न ऊ कतै लाग्दैन । हरेक वस्तुप्रति नकारात्मक दृष्टि राख्नु तर्कका दृष्टिबाट आफैंमा विरोधाभास हो । प्रस्तुत पुस्तकले ‘ब्रम्हसत्य जगन्मिथ्या’को मायावादलाई नेपाली साहित्यमा हाल्न खोजेको छ । पारिजातले रहस्यवादलाई अस्तित्ववादी शब्द र परिभाषामा व्यक्त गरेर अनास्थावादको अस्वस्थ परम्परालाई अघि बढाउन खोज्नु भएको छ । सामाजिक पृष्ठभूमिबाट टाढा, सामूहिताको भावनाबाट बेग्लै, यस संसारका कार्यकलापबाट विशृङ्खलित कुनै आत्मकेन्द्रित, आफ्नो दृष्टिकोण नभएको दुर्बल, मानसिक कुण्ठाबाट पीडित व्यक्तिको आत्मगन्थनलाई कुनै दर्शनको नाउँ दिनु नै अनुचित हो । दोस्तोवस्कीको नोट्स फ्रम अण्डरग्राउण्डको छाया यहाँ राम्ररी परेको छ । शिरिषको फूलमा कुनै तारतम्यता वा क्रमबद्धता छैन । एउटा अविवाहित पुरुष र अविवाहित नारीका परम्पराका वार्तालाप र आत्मप्रलापहरू मात्रै यसमा संग्रहित छन् । कामु, लरेन्स, जोला र अन्य अस्तित्ववादी उपन्यासकारहरू यसमा लुकेका छन् ।

दन्त्यकथाका जस्ता चरित्र
मनोविश्लेषण र यौनमनोविज्ञानमा आधारित अरू पनि राम्राराम्रा उपन्यास यसअघि हामीले पढ्न पाइसकेका छौं । विजय मल्लको अनुराधाले अस्तित्ववाद र फ्रायडवादकै सीमाभित्र घेरिएर पनि ‘आभासहीन अस्तित्व’ को कुरा उठाएर यथार्थ अस्तित्वको र आफ्नो मानसिक परम्पराको बीचमा भएको अन्तद्र्वन्द्वबाट उत्पन्न विकृत चेतना, असन्तुलन र जीवन जगतप्रतिको निरूद्देश्यताको भावनाको स्थूल वर्णन गरेको छ । २००७ सालपछिको नेपाली समाज, यसका शिक्षित तन्नेरी र जागरुक तरूनीहरूको पृष्ठभूमिमा यस उपन्यासको सार्थकता छ । कोमलमानले आफ्नो उद्देश्यहीन अस्तित्वमा पछि गएर अर्थ पाउँछ र उसको व्यक्तिवादी विकृतिले एउटा सकारात्मक दृष्टिकोण लिन्छ – सकमबरीमा झैं अनुराधामा पनि अरूलाई दुःख दिएर भित्रभित्रै आफूले मजा लिने प्रवृत्ति छ तर उसको यो मनस्थिति सामाजिक र भौतिक वातावरणसित सम्बन्धित छ, उसको आत्मसचेतता पहिलेका आत्मविस्मृत नेपाली नारीहरूको परम्परालाई हाँक दिने खालको छ । त्यसैगरी गोविन्दबहादुर मल्ल गोठालेको पल्लो घरको झ्यालमा मिसरीको अन्तद्र्वन्द्वको एउटा सामाजिक पृष्ठभूमि छ । चेतनमनबाट नेपाली समाजकै नैतिक सीमाभित्र रहेपनि उसको अचेतमनले उसलाई यथार्थ र वैज्ञानिकताका आधारमा त्यस सीमालाई तोड्न वाध्य गर्छ र ऊ आखिरमा घर छोडेर पल्लो घरको झ्यालको तन्नेरीसित पोइल जान्छे । यसरी कुनै पनि दर्शन, मत वा वादलाई स्वीकार गरेर हिँडे पनि माथिका दुई उपन्यासकारहरूले हाम्रो राष्ट्रिय स्वरूपलाई यथार्थ रूपले चित्रित गर्नुभएको छ र हाम्रो देशको सामाजिक, आर्थिक र नैतिक दृष्टिकोणलाई छर्लङ्ग पार्नुभएको छ । सामाजिक यथार्थवादलाई उहाँहरूले छाड्नुभएको छैन । त्यसैले आआफ्ना ढंगबाट उहाँहरूलाई सफल नै भन्नुपर्दछ तर पारिजातको शिरिषको फूलमा भने फ्रायडवादको निमित्त ‘फ्रायडवाद’ र अस्तित्ववादका निमित्त ‘अस्तित्ववाद’ लाई प्रतिपादन गरिएको छ । समाजबाट टाढा कतै अर्कै अन्तपुरका दन्त्यकथाका चरित्र झैं लाग्छन् सुयोगवीर र सकमबरी । उनीहरूको वार्तालापमा ज्यादा अमूर्त बौद्धिकताको भार छ । लेखिकाले अस्तित्ववादमा उठाइएका जम्मैजसो कुराहरू नग्न यथार्थलाई भोग्ने विवशता, प्रारब्ध, नैतिक मूल्य, प्रेम, वासना, यौनकामना, युद्ध र शान्ति, अहिलेको प्रगति र सभ्यतालाई जडवादको नाउँ दिएर मान्छेलाई मेसिनको बोरडम र भावहीनतासँग दाँज्ने धारणा आदि उपन्यासमा उठाउनु भएको छ र त्यसबारे छलफल गराउनु भएको छ । त्यसैले ठाउँठाउँमा अस्पष्टता र अस्वभाविकता पनि पाइन्छ । कतैकतै अलङ्कार, उपमा, शब्द प्रयोग र वाक्य विन्यास ज्यादै बौद्धिकता र दार्शनिकताले अल्मलिएकाले पढ्दा साधारण पाठक त के बुद्धिजीवीहरूले चस्मा पुस्ने र कपाल कन्याउने स्थिति आइपर्छ तर ठाउँठाउँमा उहाँको कवित्वमय शैलीले मार्मिक प्रभाव पनि पार्दछ ।

खल्लो यथार्थ
यसरी अस्तित्ववादको सर्वमान्य सिद्धान्तहरूका व्याख्या यस किताबले गरेको छ । नेपालीमा यो पहिलो हैन । फ्रायडवादकै विश्लेषणको कुरा लिने हो भने पनि यसभन्दा सफल र राम्राराम्रा कथा, उपन्यासहरू नेपालीमा लेखिइसकेका छन् । पारिजातको शैलीमा आकर्षण, सुन्दरता, मार्मिकता र मीठो नशादार तरलता छ तर भावपक्ष भने ज्यादै कमजोर, आधारहीन र फितलो छ । सामाजिक यथार्थवादलाई पृष्ठभूमिमा राखेर लेखिएको अरू उपन्यासहरू मञ्जरी, मन, विद्रोह, पल्लोघरको झ्याल, स्वास्नी मान्छे, खैरिनीघाट, अनुराधा आदिको लाइनमा यस उपन्यासको के विशेषता छ भने दार्शनिकतालाई नै केन्द्र बनाएर लेखिएको सम्भवतः यो पहिलो अतिबौद्धिक नेपाली उपन्यास हो तर ‘दार्शनिकता’ लाई लिएर लेख्दैमा उपन्यासमा राष्ट्रिय स्वरूप र सामाजिक पृष्ठभूमिको अभाव हुनुपर्छ भन्ने कुरो छैन । प्रवृत्ति र निवृत्तिका समस्यालाई लिएर लेखिएको सुप्रसिद्ध हिन्दी उपन्यास चित्रलेखाले पनि मध्यकालीन भारतको सामाजिक पृष्ठभूमि र दार्शनिक अन्तरद्वन्द्व चित्रित गरेको छ । ‘निराकारवाद’लाई आधार बनाएर लेख्ने अङ्ग्रेजी उपन्यासकार हार्डीले अङ्ग्रेजी समाजको सफल चित्रण गरेका छन् । शिरीषको फूलमा भने घटना र वातावरणलाई मान्यता नदिएर उनका मतमतान्तरकै बढ्ता व्याख्या गरिएको छ । भूतपूर्व सैनिक र एउटी अविवाहित केटीका मुखबाट गहन दार्शनिक प्रश्नहरूबारे छलफल भएको अस्वाभाविकता झल्कन्छ, द्वितीय विश्वयुद्धमा हिटलरको साम्राज्यवादका साथै बृटिस साम्राज्यवादले खल्बल्याएको हाम्रो शान्तिपूर्ण जीवन अनि विश्वयुद्धको विभीषिकाले हामीमा केही क्षणको लागि ल्याइदिएको अनास्था, आफैंप्रति अविश्वास, निराशा, जीवनका मूलभूत नैतिक मूल्यबारे संशय आदितिर सङ्केत गरेर लेखिकाले यस उपन्यासलाई सामयिकता र अन्तर्राष्ट्रियताको भावबोधबाट प्रभावित पार्नुभएको छ । गोर्खालीहरूको सैनिक जीवन, विदेश र युद्धहरूमा उनका अनुभवहरूको संकेत, देशका पाखा, लालीगुराँस र जंगलहरूको सम्झना, सिपाहीहरूको जीवन, प्रेमालाप, जीवनमरणको दोसाँधमा पनि मायाको तिर्खा र तरूनीहरूको सम्झना आदिको वर्णन भावुकता र यथार्थको सम्मिश्रणले हृदयस्पर्शी हुन पुगेको छ तर बीचबीचमा लेखिकाले उही दार्शनिकता र अस्तित्ववादी धारणाको बलजफ्ती प्रयोग गरिदिएर उपन्यासको यथार्थता र स्वभाविकतालाई खल्लो तुल्याइदिएको देखिन्छ ।

विदेशीले लेखेजस्तो !
हिजोआज पश्चिमका केही विकृत र समाजविरोधी अराजकतावादी कलाकारहरूको लहैलहैमा लागेर उनकै शिष्य र सन्तान हुनमा आफ्नै गौरव सम्झने, आफ्नो राष्ट्रिय संस्कृति र परम्पराबाट बेग्लिएर, जनसम्पर्कबाट टाढिएर आफ्नो रित्तो हृदय र रित्तो मनको निस्सारता र एक्लो आभासहीन अस्तित्वको अनुभव गरिरहेका केही लेखक अनि पाठकहरूले सुयोगवीरमा आफ्नो मनमिल्ने साथी भेट्टाउने छन् र यस उपन्यासमा व्यक्त गरिएका सिद्धान्तहरूको हार्दिक समर्थन गर्नेछन् तर यसका चरित्रहरू र तिनका विकृत दृष्टिकोणहरू औ असन्तुलित विचारहरू सर्वधारण पाठकमा प्रिय भने कहिल्यै हुनसक्ने छैनन् । सामाजिक एकता र सामूहिक उत्तरदायित्वको भावनाका विरोधी पात्रहरू अरूको सुखदुःखसँग वास्ता नराखेर आफैंमा आफ्नै बुद्धिवादमा रूमल्लिरहेको आत्मकेन्द्रित ती ‘इन्टेलेक्चुअल’ चरित्रहरू माथिल्ला वर्गकै पात्रहरू हुन् । त्यसैले यस उपन्यासले पनि आर्थिक दृष्टिले सुसम्पन्न र विदेशी साहित्य र शिक्षामा ढालिएका शिक्षित वर्गकै निमित्त मनोरञ्जन दिन सक्ने छ । अनुराधा, मुलुक बाहिर, मन आदिको सर्वसाधारणमा लोकप्रियता पाउने क्षमता वा विशेषता यसमा छैन । यो कुनै नेपाली लेखिकाको नभएर कुनै विदेशी लेखिकाले लेखेको नेपालसम्बन्धी उपन्यासको नेपाली उल्था जस्तो लाग्छ । पात्र, वातावरण, वार्तालाप र यसका कुराहरू सबै राष्ट्रिय वातावरणबाट असम्बन्धित पाइन्छन् ।
लेखिकाको शैलीमा मिठोपना छ तर एकदुई ठाउँमा भाषा र व्याकरणसम्बन्धी अशुद्धि रहन गएको छ । जस्तै कुरा टाल्न (टार्न), शिवराज पलायन हुँदै (गर्दै), फुस्ल्याउन (फकाउन), मानिस अज्ञान हुनु नै सुखी हुनु हो आदि ।

शंकर लामिछानेको अल्मल्याउने भूमिका
अन्त्यमा एकदुई शब्द भूमिकाबारे भन्नु अनुचित नठहर्ला । शङ्कर लामिछानेको भूमिकाले उपन्यासको महत्वलाई बढाउनको सट्टा घटाइ नै दिएको छ । उनको शून्यवादको व्याख्याको पृष्ठभूमिमा उपन्यास पढ्दा पाठक अल्मलिन जान्छन् । फेरि अतिशयोक्ति, आत्मगौरव र शैलीका निमित्त शैली सिर्जने नशाबाट भूमिका लेखक मातेका छन्, त्यसैले लेख्ने सुरमा केके लेख्न पुग्दछन् उनलाई आफैँ थाहा हुँदैन । उनको भूमिका नभइदिएको भए बरु पाठकलाई यस उपन्यासबारे आफ्नो दृष्टिकोण बनाउन सजिलो पर्ने थियो । उनको दाबीको आधारमा हेर्ने हो भने यो उपन्यास कुनै पनि दृष्टिले त्यो छैन, जो उनी भन्छन् ।
पारिजातमा प्रशस्त प्रतिभा छ र उहाँले आफ्नै किसिमको शैली पनि बनाइसक्नु भएको छ । शारीरिक पीडाले ग्रस्त एक किसिमको निर्वासित जीवन बिताउन बाध्य भएर पनि उहाँ बराबर लेख्दै आइरहनु भएको छ तर आफ्नो दृष्टिकोणमा सकारात्मकता र सोचाइमा यथार्थता भने उहाँले ल्याउनुपरेको छ । निस्सारतावाद र शून्यवाद यी दुवै मानवतावादका निषेध हुन् र मानवतालाई नकारात्मक दृष्टिले हेर्ने वा हेर्न सिकाउने बलात्कार कहिल्यै मानवसमुदायबाट स्वीकृत हुन सक्दैन । जीवन र जगत्लाई निस्सार भनेर उडाइदिनु त्यति सजिलो छैन । यो एक कठोर यथार्थ हो जसलाई स्वीकार गरेर हामीले आफ्नो संघर्षमय जीवनलाई अगाडि बढाउँदै लैजानु पर्छ । यसबाट पलायन गर्नु असम्भव छ । तसर्थ स्वीकारात्मक र सकारात्मक दृष्टि नै मानवका निम्ति एक ठूलो हतियार हो र प्रेरणाको सन्देश पनि । कुनै महान् कृतिले हामीलाई यस संसारलाई स्वीकार गर्ने अनि यसलाई मानव कल्याणको लक्ष्यअनुसार बदल्ने प्रेरणा दिन्छ । एक दिन पारिजातले पनि यस तथ्यलाई बुझ्नु हुनेछ भन्ने हामीले आशा राखेका छौं ।

महँगो तर खोक्रो
पुस्तकको गेटअप राम्रो छ र सफाइ सुन्दर तर मोल भने जनसाधारणले आँट्न नसक्ने खालको छ । ९३ पेजको मोल ५ रुपियाँ निकै चर्को भयो । हुन पनि यो उपन्यास साधारण, अबुझ र अबौद्धिक पाठकका निम्ति लेखिएको पनि हैन । स्वयम् विद्वान भूमिका लेखकलाई यो पढ्दा चौरासी लाख जुनीको कष्ट भएको थियो भने हाम्रा साधारण पाठकहरूले पढ्ने र बुझ्ने त सवालै उठ्दैन । उच्च शिक्षा र उच्च आर्थिक स्तर भएकाहरूका निम्ति लेखिएको पुस्तकलाई हाम्रा ‘इन्टेलेक्चुअल’ हरूले प्रशंसा गरे पनि मैले त यसलाई सुन्दर शैली र आकर्षक गेटअपको खोलभित्र निस्सार र खोक्रो नै पाएँ । शैली आफैँमा साध्य हैन, सो साधन मात्र हो । सुन्दर शैलीमा समाजको हानी गर्ने र मान्छेलाई नपुंसंक बनाउने कृतिभन्दा नराम्रो शैलीको भए पनि मान्छेलाई प्रेरणा दिने र सान्त्वना दिने कृति नै ज्यादा उपयोगी र श्रेयस्कर हुन्छ । त्यसैले शिरीषको फूललाई सुन्दर तर गन्धहीन खोक्रो कागजको फूलसँग दाँज्ने अर्घेल्याइँ गरेको हुँ ।
(‘गोविन्द भट्टका समालोचना’बाट । पठन सहज होस् भनेर उपशीर्षक थपिएको हो- सं.)