बौलाहा रिमाल

बौलाहा रिमाल

जेष्ठ २, २०७८ 0 By श्यामप्रसाद शर्मा
शेयर गर्नुहोस्

२००७ सालअघिको नेपाली साहित्य र राजनीतिमा चाख लिइसकेकाहरूलाई गोपालप्रसाद रिमालको परिचय दिइरहनुपर्ने आवश्यकता छैन । नेपालमा गद्य–कविताको विकासमा उहाँको जुन भूमिका रहेको छ, हाम्रो नाट्य साहित्यमा उहाँको ‘मसान’को जुन उत्कृष्ट ठाउँ छ, नेसनल लिग र प्रजा पञ्चायत आदिको गठन र तीद्वारा भएका सामाजिक–राजनीतिक आन्दोलनहरूमा उहाँको जुन देन रहेको छ, ती कुराको आज वास्ता नभइरहेको भए तापनि हाम्रो राष्ट्रिय जीवनको इतिहासमा तिनको निकै महत्वपूर्ण स्थान छ ।

रिमालज्यूसँग मेरो परिचय २००७ सालमा भएको हो । उहाँलाई डिल्लीबजार कालिकाथाननिरको नजरबन्दीबाट र मलाई सिंहदरवार गारदको थुनाबाट झिकी एउटै ट्रकमा हालेर बन्दा–बन्दैको नक्खू जेलमा पु-याइएको थियो । त्यसदिन पाँच–सात जनाले साइत गरेको त्यस जेलमा अलि महिनापछि सवा सयभन्दा कम राजबन्दी भेला भएनन् होला । झ्यालखानामा पुगेदेखि नै म उहाँको ज्यादै घनिष्ठ सम्पर्कमा आएँ । त्यहाँ हामी निकै महिनासम्म बस्यौं र क्रान्तिपछि सबै राजबन्दी छाडिँदा सँगै छुट्यौं । यस निबन्धको विषय भने जेलमा छँदाका कुरा नभएर सातसालपछि रिमालज्यूसँग बेला–बखतमा भएका मेरा कुराकानी र तिनले मेरो भावना–जगत्मा पारेको प्रभाव आदि नै छन् ।
मैले भेटेको बेलामा नै रिमालज्यू विक्षिप्त भइसक्नुभएको थियो । त्यसपछि बीच–बीचमा कहिलेकाहिँ उहाँ सद्दे हुन लाग्नुभएको लक्षण देखिएको थियो तापनि आजसम्म उहाँलाई विसेक भइसकेको छैन । बरु विक्षिप्तता झन्झन् बढ्दै गइरहेछ र अब हम्मेसी निको हुनुहोला भन्ने पनि देखिन्न ।
सद्दे समाजको सदस्य भइखाएकाले अरू मानिसका अगाडि म रिमालज्यू–बाट पर–पर भएर हिँड्न खोज्छु । तर, उहाँ बौलाहा हुनुभएकोले यस्तो भेद गर्नुपर्ने आवश्यकता ठान्नुहुन्न र मलाई देखेपछि नजीक पर्न खोज्नुहुन्छ । केही गरी मैले देखिन वा देखेको नदेख्यै गरी हिँड्न खोजेँ र उहाँले देख्नुभयो भने उहाँ अस्वाभाविक किसिमबाट तर, रोबिलो ढङ्गसँग बोलाउनुहुन्छ– ‘ए श्याम यता आ !’ उहाँ बौलाहा भएर आउनुहोस्को सट्टा ‘आ’ अथवा ‘आइज’ भन्ने गर्नुभएको होइन । पहिलो पल्ट बोलचाल भएदेखि नै उहाँले भलाई भैया, भाइ या श्याम र तँ भन्ने गर्नुभएको हो र आज पनि त्यही नजीकको साइनु लाएर मप्रति उहाँ त्यतिकै स्नेहपूर्ण व्यवहार गर्नुहुन्छ । जब श्यामप्रसादज्यू र तपाईं भनिकन पनि भित्रभित्रै कैंची काटेर हिँड्ने भलादमीहरूको व्यवहारबाट भाउन्न भएर वाक्क आउन खोज्छ, त्यसबेला मलाई बौलाहा रिमालसँग घन्टौंसम्म बसी कपटको गन्धसम्म पनि नआउने उहाँका ‘तँ’ र ‘श्याम’ जस्ता सम्बोधनमा विलक्षण–विलक्षण कुराहरू सुन्न मन लाग्छ । अनि म आफैं नजीक पर्न जान्छु र कुरा उप्काउँछु– ‘दाजु के गर्न लाग्नुभएको ?’ अथवा ‘दाजु कहाँ जान लाग्नुभएको ?’

रिमाल बौलाहा हुनाले मैले नगद शुल्क तिर्न नसक्ने अवस्था जनाउँदा ‘उसो भए केही काम गरिदिनु’ भनी उहाँले मलाई सदस्य बनाउनुभएथ्यो । तर नबौलाएका मानिसहरूले बनाएका सङ्घमा त्यति उदार नियम कसरी हुन सक्छ ?

एकताक रिमालज्यूले ‘जोडा लेखक सङ्घ’को नाउँबाट रसीद कितापहरू छपाउनु भएछ र त्यसको सदस्य बनाउँदै तथा चन्दा बटुल्दै हिँड्ने गर्नुभएको रहेछ । बाटामा भेट हुँदा वहाँले मलाई सदस्य बन्न भन्नुभयो । मैले एक–दुई दिनपछि बनूँला भनी बराबर टारिरहेँ । त्यसरी त्यसरी टार्नुपर्ने मुख्य कारण के थियो भने सदस्यता शुल्क एक वा दुई रुपियाँ राखिएको थियो र त्यसबेला आफू ढाक्रे भएकाले त्यति रुपियाँ खर्च गर्न मलाई गाह्रो लागिरहेको थियो । तर एक दिन मलाई रिमालज्यूले समातेर भन्नुभयो– ‘सधैं छल्न पाउँदैनस् । सदस्य बन्ने भए अहिल्यै बनिहाल्, नबन्ने होस् भने बन्दिनँ भन् । अनि मात्र छाड्छु ।’ मैले साँचो कुरा बक्न करै लाग्यो– ‘रुपियाँ नभएर पो सदस्य बन्न नपाएको त !’ रुपियाँ दिन नसके पनि कहिलेकाहिँ लेखक–सङ्घको काम त गरिदिन सक्छस् कि ?’– उहाँले सोध्नुभयो । ‘त्यसो त किन नसक्नु ?’ भन्ने जवाफ दिएपछि शुल्क विना नै म सदस्य भइहालेँ ।
त्यस दिनको त्यो सानो घटना अचेल दिनहुँ भनेजसो अनेक प्रसङ्गमा दाँजिन आई बौलाहा र सद्देको परिभाषा छुट्टयाउन मलाई अप्ठ्यारो पार्छ । अचेल म आफूले निकाल्न आँटेका पत्रिकाहरूको ग्राहक बनाउँदै र चन्दा बटुल्दै हिँड्ने गर्छु । निकै जना प्रतिष्ठित व्यक्तिहरू दुई–चार दिनपछि ग्राहक बन्छु, विशेष चन्दा पनि दिन्छु भनी बाचा बाँध्छन् । तर, दुई–चार दिनपछि भेट्दा फेरि दुई–चार दिनको भाका गर्छन् । त्यसपछि पनि एउटा न एउटा निहुँबाट अलमल्याइरहन छाड्दैनन् । यसरी तिनीहरूले ढाँट्ने गरेको देख्ता रिमालज्यूलेझैं पाखुरा समातेर ती महाशय–हरूसँग भन्न मन लाग्छ– ‘जो सकेको सहयोग गर्ने हो भने गर, नगर्ने हो भने गर्दैनौं भनी सफासफी जवाफ देओ ! किन अरुलाई बिनसिति झुलाउँछौ ? तर मनमा यस्तो भावना उठे तापनि त्यस्तो व्यवहारलाई यस्तो जवाफ दिनु अनुचित नलागे तापनि प्रचलित शिष्टाचार र सभ्यताको नाताले म त्यसो गर्न सक्तिनँ । ग्राहक बनाउने र चन्दा उठाउने कुरा त जान दिउँ, आफूले काम गरे बापत तोकिएको पारिश्रमिक लिने बेलामा समेत मलाई धेरैपल्ट यस्तो अप्ठ्यारो परेको छ । भरे–भोलिको भाका राख्ने हुँदा पहिल्यै माया मार्न पनि सकिएन तर आखिरमा कामको रुपियाँ मात्रै नगुमाई आजित नहोउन्जेलसम्म धाउँदाको मिहिनेत र समय पनि खेर फाल्नुपरेको छ ।
सदस्यता सम्बन्धी नियम पनि बौलाहा रिमालले बनाएको सङ्घजस्तो देख्तिनँ, त्यसैले इच्छा हुँदाहुँदै पनि कैयन सामाजिक र साँस्कृतिक सङ्घ संस्थाहरूको सदस्य बन्न सकेको छैन । रिमाल बौलाहा हुनाले मैले नगद शुल्क तिर्न नसक्ने अवस्था जनाउँदा ‘उसो भए केही काम गरिदिनु’ भनी उहाँले मलाई सदस्य बनाउनुभएथ्यो । तर नबौलाएका मानिसहरूले बनाएका सङ्घमा त्यति उदार नियम कसरी हुन सक्छ ? ‘तपाईंप्रति हाम्रो सहानुभूति छ । तर के गर्नु नियमले गर्दा’ भनी उनीहरू सदस्य बन्न गएका मजस्ता धेरै जनालाई फर्काउँछन् । त्यसबेला म बुझ्न सक्तिनँ, नियम भन्ने कुरालाई मानिसको सुबिस्ता हेरी सच्चाउँदै लैजानुपर्ने आवश्यकता छ अथवा पुरानो नियमबाट मानिसहरूलाई मर्का परेको देख्दादेख्तै पनि त्यसलाई जस्ताको तस्तै रहिरहन दिनु सुसभ्यता हो ?

उहाँले आयोजक महोदयसँग दुई–तीन पल्ट सोध्नुभयो । तर, प्रत्येक पल्ट ‘तपाईंको पालो एक छिनपछि आउँछ’ भनी टार्न खोजियो । उनीहरूले रिमाललाई बौलाहा भनी मञ्चमा उक्लनै नदिने सुर कसेका रहेछन् भन्ने कुरा बल्ल मैले बुझेँ ।


२०१२ साल, माघ । शहीद–सप्ताहको कार्यक्रम अन्तर्गत सरस्वती सदनमा साहित्य सम्मेलन गरिएको थियो । रिमालज्यू पनि कविता सुनाउन चाहनुहुन्थ्यो । उहाँले मलाई भन्नुभयो । मैले आयोजक छेउ गई नाउँ टिपाउने राय दिएँ । उहाँले त्यसै गर्नुभयो तर, साराको पालो आयो, उहाँको पालो आउने लक्षण देखिएन । यत्तिकैमा रिमालज्यूले मसँग ‘मेरो पालो कहिले आउँछ ?’ भन्नुभयो । मैले यसपल्ट पनि आयोजकसँग नै सोध्ने सल्लाह दिएँ । उहाँले आयोजक महोदयसँग दुई–तीन पल्ट सोध्नुभयो । तर, प्रत्येक पल्ट ‘तपाईंको पालो एक छिनपछि आउँछ’ भनी टार्न खोजियो । उनीहरूले रिमाललाई बौलाहा भनी मञ्चमा उक्लनै नदिने सुर कसेका रहेछन् भन्ने कुरा बल्ल मैले बुझेँ ।
देशको निम्ति चल्दाखेरि अङ्गभङ्ग भएका अथवा शारीरिक या मानसिक स्वास्थ्य गुमाएका मानिसहरू देख्ता मलाई अर्ध–शहीदको दर्शन पाएझैँ लाग्छ । त्यसैले त्यस बेला रिमालज्यूप्रतिको त्यस किसिमको व्यवहार मलाई शहीदपर्वमा शहीदकै अपमान भएझैँ लाग्यो । आराधना गरेपछि शहीदहरू बाँचेर आउने भएदेखि त्यस बेला त्यहाँ भेला भएका निकै जनाले मेच र टेबिल आदि जे जे पायो त्यही टिपी उनीहरूलाई बेस्सरी भकुर्दा हुन् भन्ने पनि लाग्न थाल्यो । त्यहाँको वातावरणले यस्तो उपमा सम्झना गराएकोले कृत्रिम लोकाचारहरूबारे एक मन त मलाई हाँसो पनि उठ्यो । तर उत्नीखेरै मलाई त्यहाँ भएको माइकलेभन्दा ठूलो स्वरले ‘शहीदहरूको उपहास बन्द गर’ भनी चिच्याउने झोँक चल्यो । ‘बहुलाहा’ भनियूँला भन्ने डरले त्यसो गर्ने आँट पुगेन तापनि मैले रिमालज्यूसँग सुटुक्क भनेँ– ‘दाजु, उक्लनोस् मञ्चमा र सुनाउनोस् आफ्नो कविता ! हेरौं त तपाईंलाई कसले छेक्दोरहेछ !’ रिमालज्यू मण्डपमा उक्लनु भयो । त्यस सम्मेलनमा सुनाइएका कविताहरूमध्ये उहाँकै कविता सबभन्दा उम्दा थियो । ‘गुनासो’ शीर्षक उहाँको त्यो गद्य कविता रुचाएर सुन्नेहरूले दुई–तीन पल्ट थपडी बजाएथे । यस घटनाले रिमालज्यूको बहुलठ्ठीपन त सिद्ध गर्न सक्तैन, तर यहाँनिर हाम्रो समाजकै हावा खुस्केको हो भनी शङ्का गर्ने ठाउँ भने अवश्य छ ।

‘बौलाहासँग के कुरा गर्नु’ भनी समितिका मानिसले उहाँलाई कुनै बिङ्गा लाएर फर्काइदिएका रहेछन् । रिमालज्यूलाई पुस्तक फिर्ता नगरियोस् सही, तर कुनै कृतिलाई यसरी कुहाएर राख्नु कर्तव्य हो ? के यस पुस्तकको छापिने पालो आउनै सक्दैन ?


एक दिन मैले रिमालज्यूसँग भनेँ– ‘दाजु ! मैले तपाईंलाई अचेल प्रशस्त फुर्सत देख्छु । एक–दुईवटा पुस्तक लेख्नु भए पनि बेस हुन्थ्यो !’ जवाफ मिल्यो– ‘पहिले लेखेका पुस्तक त प्रकाशित गरिदे !’ मैले भनेँ– ‘के लेख्नुभएको छ ? खोइ त पुस्तक हेरूँ ?’ भन्नुभयो– ‘एउटा नाटक समितिमा छ । लिन गएको दिएनन् ।’ मलाई लाग्यो– ‘बौलाहाको तरङ्ग न हो । २००३ सालमै प्रकाशित भइसकेको ‘मसान’लाई अझै अप्रकाशित रूपमा रहेको छ भन्ने ठान्नुभएको होला ।’ किनभने, त्यस बेलासम्म रिमालज्यूले अर्को पुस्तक पनि लेख्नुभएको छ भन्ने थाहा थिएन । तर, पछि एक दिन नेपाली भाषा प्रकाशन (ने.भा.प्र.) समितिको अवस्था बुझ्न भनी त्यहाँ जागिर भएका एक जना लेखककहाँ गएको बेला मैले रिमालज्यूको पुस्तकबारे नपत्याई–नपत्याई सोधिहेर्दा पो रहस्य खुल्यो । रिमालज्यूले तलब लिएर लेखेको हुनाले त्यो पुस्तक उहाँलाई फिर्ता दिन नसकिएको रहेछ र ‘बौलाहासँग के कुरा गर्नु’ भनी समितिका मानिसले उहाँलाई कुनै बिङ्गा लाएर फर्काइदिएका रहेछन् । रिमालज्यूलाई पुस्तक फिर्ता नगरियोस् सही, तर कुनै कृतिलाई यसरी कुहाएर राख्नु कर्तव्य हो ? के यस पुस्तकको छापिने पालो आउनै सक्दैन ?
समाज रिमालज्यूप्रति सद्भावना र सहानुभूतिपूर्ण नबनेको होस्, तर आज विक्षिप्तावस्थामा समेत यस समाजको केही भलो गरूँ भन्ने भावना उहाँमा देखिन्छ । एक दिन सोध्नुभयो– ‘ए भाइ, तैँले ‘गोरखापत्र’मा जागिर नखाएको ?’ मैले भने, ‘गोरखापत्रमा काम गर्ने मानिस छँदैछन् नि !’ जवाफ दिनुभयो– ‘त्यस्तो कामले भएन । यसलाई ‘प्रावदा’ पार्न सक्नुप¥यो । एक जना भूतपूर्व मन्त्रीले ‘गोरखापत्र’लाई बन्द गरी आफ्नो दैनिक अखबारको एकलौटी कायम गर्ने दाउ लिएका छन् भन्ने पनि मैले सुनेको हुँ । यसरी एकातिर राष्ट्रका कर्णाधार भइखाएकाहरूमा यस्तो क्षुद्रता देखिन्छ भने अर्कातिर रिमालज्यू ‘गोरखापत्र’को स्तर उकासी यसलाई आधुनिक रूप दिएर संसारका सुप्रसिद्ध अखबारहरूको दाँजोमा पु-याउन चाहनुहुन्छ । कानाको मुलुकमा पुगेपछि एउटा आँखा चिम्लेर हिँड्न नजान्ने अथवा नखोज्ने रिमालजस्ता मानिस साँच्चि नै बौलाहा हुन् ।
एक फेर रिमालज्यूले भन्नुभयो– ‘ए श्याम, हामी दुई जना भएर एउटा स्लेटपत्र झिकौँ !’ राणा सरकारले कागत र कलम–मसी आदि नदिने हुँदा नक्खू जेलमा छँदा हामी राजबन्दीहरूले स्लेटमा लेखेर अखबारहरू निकालेका थियौँ । मैले रिमालजीप्रति व्यङ्ग्य गर्दै जवाफ दिएँ– ‘अझै नक्खूभित्र छु भन्ने ठान्नुभएको छ हैन ?’ उहाँले साध्नुभयो– ‘नक्खूमा बसेभन्दा कति अङ्गुल बढिसक्यौँ भन्ठानेको छस् त ?’ रिमालज्यूको यो प्रश्न त्यस बेलादेखि मेरा मनमा बराबर भनेजसो रूमलिने गर्छ र नक्खू जेलमा छँदाखेरिको अवस्था सम्झन्छु– हामी सारै कष्टमा थियौं तापनि जनही दिनको डेढ माना चामल आउँथ्यो । आज त्यही डेढ माना चामलको निधो नहुँदा लेखपढद्वारा बौद्धिक विकास गर्ने र देशलाई अघि बढाउनको निम्ति जनशक्तिलाई सङ्गठित पार्ने आदि काममा समय दिन पाइएको छैन । जेल बाहिरबाट आउने चीजबीजले विषमता ल्याउन खोज्यो ता पनि हामी सबैजसो राजबन्दीहरू विषमताको मात्रा सकेसम्म कम रहोस् भन्ने चेष्टा गथ्र्यौँ । कागतका छापा निकाल्न नपाएका भए पनि हाम्रा पेन्सिलका टुप्पा तीखा थिए । हामीलाई डर, लोभ र बैरीको भेदनीतिले डगाउन सकेको थिएन । इत्यादि ।
एक दिन दिउँसो रिमालज्यू टुँडिखेलको एउटा छेउमा गएर बस्नुभयो । उहाँसित कुरा गर्न हिँडेको म पनि सँगै थिएँ । त्यस बेला पुलिसले छेउका केही हातभन्दा भित्र मानिसहरू रोकिरहेका थिए । रिमालज्यूबाट मुढे हात जति साँध छिचोलिएको हो कि जस्तो मलाई लागेको मात्र थियो पुलिसले त्यहाँनिर बस्न आपत्ति प्रकट गरिहाले । तर, रिमालज्यू हट्नुभएन । पुलिस फेरि कराए । तैपनि रिमाल हट्नुभएन अनि पुलिसले हामीनिरै आएर फेरि भन्दा उहाँले ‘तिम्रो अफिसरलाई पठाइदेऊ’ भन्नुभयो । अनि अफिसर आए । अफिसरले उहाँलाई चिनेका रहेछन् क्यारे, भने –‘रिमालज्यू अलि बाहिरपट्टि बसिदिनुप-यो ।’ उहाँले केही पर औँल्याएर सोध्नुभयो– ‘तिनले भने भित्रपट्टि बस्न हुने, मैले नहुने किन ?’ नभन्दै रिमालज्यूले औंल्याएको मानिस उहाँभन्दा अझ डेढ हात जति बढी भित्रपट्टि बसेका रहेछन् । तर, ती अफिसर अर्का मानिसलाई पनि हटाउन नगई पुलिससँग ‘सिल्ली हुन्, छाड्दे !’ भनेर फर्के ।

मेरो लेखोटमा ‘गर्दछ’, ‘हेर्दछ’ र ‘उठ्दछ’ जस्ता क्रियापद देखेर भन्नुभयो– ‘पण्डित्याइँ नछाँटी लेख्न सक्तैनस् ? गर्छ, हेर्छ, उठ्छ, सुत्छ र बोल्छ जस्ता रूप लिन तँलाई कसले छेक्यो ? हाम्रा आमा, दिदी, बहिनी र साना भाइछोराहरू बोल्दा के भन्छन् ?’ यसरी बौलाहा रिमाल मलाई कहिलेकाहिँ भाषा सम्बन्धी शिक्षा पनि दिने गर्नुहुन्छ ।


रिमालज्यू बहुलाउनु भएको छ भन्ने कुरा म पनि मान्छु । तर, उहाँलाई सिल्ली मान्नु उहाँले सोधेको सवालको जवाफ होइन । न्याययुक्त जवाफ दिन नसक्दा रिमालज्यूलाई सिल्ली भनेर आफ्नो मानसिक हार छोप्न खोज्ने पुलिसका ती अफिसरजस्तै हामीमध्ये पनि धेरै जना आफ्नो पलायनवादी प्रवृत्तिलाई ढाकछोप गर्न सहनशीलता र विनम्रताको अतिशय महत्व गाएर हिँड्ने छन् । साना–साना भए तापनि न्यायोचित कुरामा बौलाहा रिमालले झैँ अड्न नसक्ता हामी सद्दे भइखाएकाले निकै ठुल्ठूला हकहरूसमेत गुमाइसकेका छौँ, गुमाइरहेका छौँ र यस्तै चाला हो भने अझ पनि गुमाइनै रहने छौँ ।
त्यस दिन रिमालज्यूले मेरो ब्यागमा कागतपत्रहरू हेर्नुभएको पनि थियो । मेरो लेखोटमा ‘गर्दछ’, ‘हेर्दछ’ र ‘उठ्दछ’ जस्ता क्रियापद देखेर भन्नुभयो– ‘पण्डित्याइँ नछाँटी लेख्न सक्तैनस् ? गर्छ, हेर्छ, उठ्छ, सुत्छ र बोल्छ जस्ता रूप लिन तँलाई कसले छेक्यो ? हाम्रा आमा, दिदी, बहिनी र साना भाइछोराहरू बोल्दा के भन्छन् ?’ यसरी बौलाहा रिमाल मलाई कहिलेकाहिँ भाषा सम्बन्धी शिक्षा पनि दिने गर्नुहुन्छ । यति मात्र होइन, अचेल लिपिबारे पनि उहाँको मत फेरिएको देख्छु । केही वर्ष अघिसम्म ‘एक’, ‘ऐना’, ‘उसको’ र ‘इलम’ लेख्नुहुने रिमालजी अब ‘अ‍ेक’, ‘अ‍ैना’, ‘अुसको’ र ‘अिलम’ लेख्ने गर्नुहुन्छ । देवनागरी लिपिमा सुधार गर्नुपर्ने आवश्यकता छ वा छैन भन्ने विषयमा भारतमा निकै वर्षदेखि विवाद चलिरहेको छ, सुधारको खाँचो देख्नेहरूले आफ्नो मतअनुसार लेखेर पुस्तक–पत्रिकाहरू निकाल्ने गरेका पनि छन् । हाम्रो लिपि पनि देवनागरी भएकोले यस सम्बन्धमा हामीले एकपटक त विचार गरिहेर्नुपर्ने नै हो । तर, रिमालज्यू बाहेक अरू नेपालीले यस्तो परिवर्तनलाई लिएको अथवा यसको अनावश्यकता देखाएर विचार प्रकट गरेको मलाई थाहा छैन ।

‘तँ पनि पैसा खान पाएदेखि अर्काले जे–जे भन्यो त्यही–त्यही लेखेर हिँड्दोरहेछस् नि’– यो थियो मलाई जवाफ । हो, बौलाहा दाजुले भन्नुभएको कुरा धेरै अंशमा साँचो हो । मैले जीविकाको निम्ति आफ्नो मतसँग नमिल्ने कुरा पनि अरूले लेखाउँदा लेख्ने गरेकै छु ।


एकताक रिमालज्यूले खुकुरी भिरेर हिँड्न थाल्नुभएको थियो । एक दिन मैले ‘यो किन भिरेको दाजु ?’ भनेर सोध्दा उहाँले ‘तँलाई काट्न !’ भन्ने जवाफ दिनुभयो । उहाँको त्यस्तो अप्रत्यासित जवाफ सुनेपछि मैले भनेँ– ‘हाम्रो समाजमा काट्न माफिकका तत्व अरू कोही देख्नुभएन र तपाईंले मलाई काट्छु भन्नुभएको ?’ ‘तँ पनि पैसा खान पाएदेखि अर्काले जे–जे भन्यो त्यही–त्यही लेखेर हिँड्दोरहेछस् नि’– यो थियो मलाई जवाफ । हो, बौलाहा दाजुले भन्नुभएको कुरा धेरै अंशमा साँचो हो । मैले जीविकाको निम्ति आफ्नो मतसँग नमिल्ने कुरा पनि अरूले लेखाउँदा लेख्ने गरेकै छु । के गरूँ, यसको निम्ति म विवश छु । तर, म जस्तो मानिस चाहिँ विवश भएर आफ्नो कलमलाई राख्नु, चाहे लोभवश या अरू कारणबाट, यसले प्रतिक्रियावादलाई मद्दत भने अवश्य पुर्याउने गरेकै छ । अनि मेरो अघिल्तिर एउटा ठूलो प्रश्नचिन्ह उभिन आइपुग्छ– के हामी कलमजीवी या बुद्धिजीवीहरू प्रतिक्रियावादलाई परास्त पार्नसमेत प्रकट या अप्रकट किसिमबाट नियमित रूपले कर्तव्य पूरा गरिरहेका छौँ ?
बौलाहा दाजुसँग भेट हुने गर्दा भएका यस्ता खालका कुराकानीले उहाँको बारेमा केही लेख्ने विचार ममा आयो । तर आफ्नो बारेमा कुनै अखबारले सम्पादकीय टिप्पणी लेख्ता उहाँले जाती मान्नुभएन भन्ने मैले सुनेको थिएँ । त्यसैले उहाँसँग एक दिन सोधेँ– दाजु, तपाईंको बारेमा कसैले केही लेख्ने विचार गरेका रहेछन् । यस कामलाई तपाईं कस्तो ठान्नुहुन्छ ?’ उहाँले नेपाल र भारतबाट प्रकाशित विभिन्न मितिका नेपाली हिन्दी र अङ्ग्रेजी अखबारहरूको नाउँ लिँदै भन्नुभयो– ‘कसैले लेखेर के हुन्छ ? फलानो समयमा फलानो अखबारले यसो लेख्यो । त्यसपछि फलाना–फलानाले यसोयसो लेखे । तर लेखाइले मात्र के भयो खोइ ?’ यो जवाफ पनि कम घतलाग्दो थिएन । साँच्ची नै हो, लेखेर मात्रै के हुन्छ र ? लेखेअनुसार गर्ने गराउनेसमेत प्रयास हुँदैन भने लेख्नाको उद्देश्य के ?– खालि एउटा फेशन ! यही लेखको बारेमा पनि कसैले दुई–चार ओटा खोट लाउलान्, कसै–कसैले धेरथोर रुचाउलान् अथवा कसैलाई औधी नै मन पर्ने पनि हुन सक्छ । तर, के यस लेखका सम्बन्धमा मानिसहरूको राय थाहा पाउन मात्र लेखेको हुँ ? हो, मेरो यस प्रयासका बारेमा मानिसहरूको टिप्पणीले मलाई आफ्ना भााषा र शैली माझ्न या सिँगार्न मद्दत मिल्न सक्छ, विचारकै दृष्टिबाट पनि केही सहायता पाइएला । तर यो त गौण कुरा हो किनभने, लेख भनेको त साधनसम्म हो । आफ्नो विचार कोही भाषणको भरबाट पोख्छन्, कोही लेखको आड लिएर त्यस्तै कोही चित्र आदि अरू साधनबाट । म चाहन्छु– मानिसहरू मेरो लेख सपार्ने कुराभन्दा बढी ध्यान आफ्नो समाजलाई सच्याउने कुराउपर दिने कृपा गरून् । बोलाहा रिमालको ओखती गराउने प्रयत्न गरून् तथा रिमालझैँ अरू अनेक प्रतिभाहरूलाई बौलाहा भएर हिँड्नुपर्ने परिस्थितिमा नपु-याउन् ।

(२०१४, फागुन ३ मा लेखिएको प्रस्तुत निबन्ध शर्माको पुस्तक ‘प्यारो दाजुको सम्झनाः गोपालप्रसाद रिमाल बारेका संस्मरणहरू’ मा प्रकाशित छ)