न्यायको भोकले नगरपालिकासम्म

न्यायको भोकले नगरपालिकासम्म

साउन २४, २०७८ 0 By शकुन्तला जोशी
शेयर गर्नुहोस्

सीमा क्षेत्रीले पहिलो पटक ती आमाहरुका रुवाई कहिले सुनिन् याद छैन, तर उनीहरुको रुवाईमाथि प्रश्न गर्दा उनी ११ वर्षकी थिइन् । ती आमाहरु सँधै किन त्यति रुन्छन् होला ? भारतबाट भर्खरै घर फर्केका दाजु (उनको भाषामा दाजी)लाई उनले सोधेकी थिइन् ।

उनको गाउँ पौवैगौंडे– १, चौर (हाल पुतलीबजार नपा–५, चौर) । घटना छिमेककै थियो । उनको घरभन्दा केही तल एक छिमेकी परिवार थियो । घरका बाका दुई जना श्रीमती थिए । ती बा दुवै श्रीमतीका कपालका चुल्ठा एकार्कामा बाँधिदिएर बेस्सरी चुट्थे । अझ जेठी आमालाई मात्रै पनि कुट्थे । आमाहरु प्रायः रोइरहेका हुन्थे । त्यसरी मान्छेहरुकै सामु चुपाचाप पिटाई खाइरहन्थे । ती न श्रीमान्लाई हात फर्काउँथे न त बचन । सीमालाई बडो छक्क लाग्थ्यो, यस्तो पनि हुन सक्छ र ? किन यति साह्रै यातना सहन्छन् ती आमाहरु ? दुई/दुई जना भएर पनि किन ती बालाई पिट्न नसकेका होलान् ? किन चुप छन् सँधैं ? नित्य जस्तै हुने छिमेकी आमाहरुमाथिको त्यो प्रताडना सीमाको बालसुलभ मनमा छुरी झैं घोचिरहन्थ्यो ।

उनका दाजु भारतबाट घर आएका थिए । छिमेकी बाले श्रीमतीहरु कुट्न थाले । उनका दाजुसहित छिमकीहरुले छुट्याए । उनले दाजुसँग सोधिन्– ‘यी बा किन पिट्छन् आमाहरुलाई सँधैं ? आमाहरुले पनि बालाई किन नपिटेको ? जवाफमा उनलाई दाजुले भने, ‘तिमी सानै छौ, अहिले सबै बुझ्दैनौ, ठूलो भएर तिमी न्यायधीश बन्नुपर्छ र यसरी अन्यायमा परेकालाई न्याय दिनुपर्छ ।’ त्यतिबेला उनले दाजुको कुरा धेरै बुझिनन्, तर न्यायधीश बन्न कहाँ कसरी पढ्ने होला त ? त्यो कुराले उनलाई छोइरह्यो । त्यो सपनाले लखेटिएर हिँडेकी उनी कानून पढेरै न्यायधीश त बनिनन्, तर सामाजिक न्यायकै लागि जनप्रतिनिधि भने बनिन् । हाल सीमा क्षेत्री पुतली बजार नगरपालिकाकी प्रमुख हुन् ।

श्रीमती कुट्ने छिमेकी बा त प्रतिनिधि पात्र मात्रै थिए, समाजमा त्यस्ता अन्यायको श्रृंखला नै हुन्थ्यो । यस्तो किन हुन्छ होला ? उनको मनमा निरन्तर उठ्ने प्रश्नले एक दिन जवाफ पायो र उनी कम्युनिष्ट बनिन् । ती कम्युनिष्ट साथीहरुसँग उनले ती आमाहरुबारे सुनाइन् । वास्तवमा स्कूलमा भेटिएका ती दामले साथी नभएर अखिलका दाइदिदी थिए । उनीहरु भन्थे, ‘हाम्रो गाउँमा मात्रै होइन, देशैभरी अरु थुप्रै आमाहरुले यस्तो भोग्छन् । कति मान्छे खान नपाएर भोकै पनि मरिरहेका छन् । समाजमा धेरै मान्छे यस्तो अन्यायमा छन् । तर ठूला मान्छेहरुसँग कोही शिर उठाएर बोल्न सक्दैनन् । जसरी ती आमाहरु चुपचाप पिटाइ खाइरहन्छन् । यस्ता सारा अन्यायको विरोध गर्न भनेरै हाम्रो संगठन बनेको हो ।’ उनीहरुले अरु पनि धेरै कुरा भनिरहन्थे । तर उनको मनमा यी केही कुरा गढ्यो । साथै कुरा मात्र नभई उनीहरु साँच्चै अप्ठ्यारोमा परेकालाई सहयोग पनि गर्थे । उनीहरुको इमानी र सहयोगी व्यवहारबाट पनि उनी प्रभावित भइन् ।

  • उनले आफ्नो क्षेत्रका धेरै विद्यार्थीलाई पढाएकी थिइन् । ती विद्यार्थीका अभिभावकले उनलाई राम्रैसँग चिनेका थिए । लामो समयदेखि स्थानीय अभिभावकसँग जोडिएको त्यही सम्बन्ध उनका लागि चुनावमा जनता जोड्ने सेतु बन्यो ।

अखिल त पार्टीसँग जोडिएको रहेछ, पार्टीमा लागेपछि आफूले पनि न्याय पाउने र न्याय दिन पनि सकिन्छ भन्नेमा उनी ढुक्क भइन् । कक्षामा पढ्ने उनी त्यतिबेला १३ वर्षकी थिइन् । उनी तिनै कुरा र व्यवहारले प्रभावित भएर अनेरास्ववियुमा संगठित बनिन्, त्यतिबेला उनी कक्षा ६ मा पढ्थिन् । अखिलका ती कार्यकर्ताले उनलाई अन्यायको विरोधमा गीत गाउन सिकाउँथे । नौ/दश कक्षामा पुग्दासम्म उनले क्रान्तिसँग सम्बन्धित थुप्रै किताब तिनै अग्रज कार्यकर्ताबाट पढ्न पाएकी थिइन् । त्यसयता निरन्तर राजनीतिमा संगठित उनी विद्यार्थी संगठन, अनेमसंघ हुँदै पार्टी सदस्य बनिन् ।

जीवन त उनको पनि सहज थिएन । उनी साढे दुई वर्षको हुँदा बुबा बिते । दाजु जागिरको शिलशिलामा भारततिर, दिदीहरुको विवाह भइसकेको थियो । पारिवारिक समस्याले गर्दा उनले स्कूल जीवन पनि संघर्षपूर्ण नै रह्यो । एसएलसी सक्नेबित्तिकै उनी स्कूलमा पढाउन थालिन् । नियमित कक्षा लिएर पढ्न नपाएपछि उनले प्राइभेटबाट बीएडसम्मको अध्ययन पूरा गरिन् । उनले पार्टीको पेशागत संगठन– नेपाल राष्ट्रिय शिक्षक संगठनमा केन्द्रीय उपाध्यक्षसम्मको जिम्मेवारी निर्वाह गरिसकेकी छन् । उनले २०६९ मा जागिरबाट स्वेच्छिक राजिनामा दिएर पूर्ण रुपमा राजनीतिमा लागिन् । हाल नेकपा एमालेको प्रदेश कमिटी सदस्य तथा अनेमसंघको केन्द्रीय सदस्य हुन् । आफ्नो राजनीतिक यात्राका सन्दर्भमा उनी भन्छिन्, ‘पार्टीमा वा समाजसेवामा छलाङ मारेर कसैलाई छिर्के हान्दै हिँड्ने प्रवृत्तिको म सँधैं विरोधी हुँ । म आफ्नै संघर्ष र निरन्तरताले आजको स्थानमा आइपुगें । तर यो यात्रामा मलाई श्रीमान् टेकबहादुर भुजेलले निरन्तर साथ र सहयोग दिदैं आउनु भएको छ ।’ २०३६ सालदेखि शिक्षण पेशामा आबद्ध हाल नेकपा एमालेको जिल्ला कमिटी सदस्य हुन् ।

उनी नगरप्रमुख हुन्, यसभन्दा पहिले परिवारको जिम्मेवारी, पार्टीको जिम्मेवारी, समाजसेवाका अन्य क्षेत्रसँग पनि उनी अभिन्न रुपमा जोडिएकी छिन् । यी सारा जिम्मेवारी उनी चुस्त हिसाबले निर्वाह गर्ने दावी गर्छिन् । ‘कसरी गर्नुहुन्छ त समय विभाजन ?’ उनी हाँस्दै जवाफ दिन्छिन् – ‘समयको उचित बाँडफाँड । मैले कहिले पनि परिवारलाई दिने समय पार्टीलाई दिइनँ, पार्टीलाई दिने समय परिवारलाई बाँडिन । अहिले म नगरप्रमुख हुँ, जनताको समय काटेर व्यक्तिगत जीवनमा लगाउँदिन । यसको लागि म समय तालिका बनाउँछु सँधै । म मासिक कार्यविभाजनका लागि रुटिन बनाउँछु । आकस्मिकता बाहेक अन्य समय सोहीअनुसार खर्चिन्छु । यसो गर्दा म सँधैं फ्रेस भएर काम गर्छु । स्ट्रेसमा बस्नु पर्दैन ।’

उनी शिक्षिका हुँदा उनलाई तीन महिनासम्मको रुटिन थाहा हुन्थ्यो । यसो गर्दा महिलाले खेप्नु पर्ने धपेडीमा केही कम हुने उनी बताउँछिन् । समयको उचित व्यवस्थापन, जिम्मेवारीप्रतिको लगावमा सम्झौता नगर्ने उनले हात हालेका जुन क्षेत्र पनि सफल छन् । उनले पढाएको ‘लोकप्रिय प्रावि’ तीन पटकसम्म जिल्लामा नमुना विद्यालय बन्यो । अहिले उनी नगरपालिकालाई पनि त्यसरी नै नमूना बनाउन पहल गर्दैछिन् ।

चुतौतीपूर्ण चुनाव:

२०७४ सालका स्थानीय निर्वाचनमा उनलाई पार्टीले पुतलीबजार नगरप्रमुखको टिकट दियो । देशैभर महिलालाई ‘उप’को पदमा दिइरहेका बेला उनले कार्यकारी जिम्मेवारी पाउँदै थिइन् । तर टिकट पाउनु एउटा कुरा, जनतासँग अनुमोदित हुनु अर्को कुरा । त्यो अवसरलाई सफलतामा बदल्नु उति सजिलो थिएन । स्याङ्जा जिल्ला नेपाली कांग्रेस र एमालेको कडा प्रतिस्पर्धा हुने क्षेत्र । तर सधैं कांग्रेसले जित्दै आएको इतिहास भत्काउनु उनका लागि सरल थिएन । त्यसमा पनि प्रत्यक्ष चुनावमा ‘महिला ?’ भन्ने सोच समाजमा हावी नै छ । तर स्कूल पढाइरहँदा नै उनले जनतासम्म पुग्ने बाटो बनाइसकेकी रहिछन् । उनले आफ्नो क्षेत्रका धेरै विद्यार्थीलाई पढाएकी थिइन् । ती विद्यार्थीका अभिभावकले उनलाई राम्रैसँग चिनेका थिए । लामो समयदेखि स्थानीय अभिभावकसँग जोडिएको त्यही सम्बन्ध उनका लागि चुनावमा जनता जोड्ने सेतु बन्यो । उनले एउटा कुरा सिकेकी थिइन्, ‘शिक्षकको राजनीति र समाजसेवा कक्षा कोठाबाट सुरु हुन्छ ।’

विद्यार्थीहरुको नजरमा उनी सँधैं एक असल अभिभावक र साथी थिइन् । उनी बडो प्रेमले पढाउँथिन् । त्यसरी दिइएको शिक्षा दिगो हुन्छ भन्ने पनि उनलाई लाग्थ्यो । एउटा विद्यार्थीले राम्रो मान्नुको अर्थ त्यो शिक्षक उसको अभिभावकको नजरमा पनि सम्मानित हुनु हो । उनको त्यो विचार र व्यवहारले चुनावमा खास अर्थ राख्यो । चुनावमा भोट माग्न जाँदा उनले प्रतिनिधित्व गरेको पार्टीभन्दा फरक मत राख्ने जनताहरुले पनि भने, ‘एक भोट म्याडमलाई भो, छोरा-छोरीले फोन गरेर तपाईंलाई नै भोट दिन भनेका छन् ।’ उनले आश्वसन मात्र नभई जनताको भोट पाइन् र जितिन् । सबैजसो राजनीतिक दलले महिलालाई प्रतिनिधित्वको कोटा पु¥याउन उपाध्यक्षको पदमा चुनावमा पठाएको थियो । तर, कार्यकारी पदमा टिकट पाएर जितेका महिला प्रतिनिधिहरुमा चार जना नगरप्रमुख र ८ गाउँपालिका अध्यक्ष मध्ये उनी एक हुन् ।

हाल अस्पतालमा १० जना डाक्टर कार्यरत छन् । अहिले भएको २५ शै्यामा थपेर एक सय शै्या पुर्‍याउने हेतुले प्रदेश सरकारसँगको सहकार्यमा डीपीआर सम्पन्न भइसकेको छ । अब नगरबासीले धेरै स्वास्थ्योपचार जिल्लामै पाउने भएका छन् ।

उनले चुनावमा गरेको प्रतिवद्धताअनुसार जनताको सेवामा समर्पित भएर लागेको उनी बताउँछिन् । बीचमै अकल्पनीय रुपमा कोरोनाको महामारी फैलियो, यसले स्वभाविक नगरपालिकाको गतिविधि प्रभावित ग¥यो नै । त्यसका बाबजुद पनि नगरबासीको हितमा, नगरको विकासमा निरन्तर खटिरहेको बताउँछिन् । भन्छिन्, ‘हामी जुन रफ्तारमा अगाडि बढेका थियौं, यसले अप्ठ्यारोमा पा¥यो । तर हाम्रो जनशक्ति र स्रोतको उपयोग गर्दै यो असहज परिवेशकै बीच काम गरिरहेका छौं ।’

चुनावमा मात्रै गाउँ पस्ने नेताहरुबारे जनताले गरेको आलोचना उनले सुन्दै आएकी थिइन् । आफैं जनतामा जानुअघि उनी यस कुरामा सचेत थिइन् । पूरा गर्न सक्ने प्रतिवद्धता मात्रै घोषणा पत्र, नीति तथा कार्यक्रममा अघि सारिन् । जसलाई पूरा गर्न उनको टीम प्रतिकुल परिस्थितिका बाबजुद पनि लागि परेको छ ।

विकासमा अब्बल पुतलीबजार:

पुतलीबजार ‘नगरपालिका’ हुनुअघि विकासलाई पर्खिरहेको क्षेत्र थियो । गाउँगाउँ जोड्ने कच्ची सडकसम्म पनि थिएन । अन्य भौतिक पूर्वाधारको अवस्था पनि उस्तै । तर उनका लागि त्यो जनताको सेवा गर्ने अवसर थियो । अहिले नगरभित्रका सबै गाउँलाई कच्चि सडकले जोडेको छ । पूर्वाधार निर्माण र अन्य सामाजिक भौतिक विकासले यो चार वर्षमा नगरपालिकाको अनुहार बदलिएको छ । यसको श्रेय नगरप्रमुख सीमा क्षेत्रीको कुशल नेतृत्वलाई जान्छ । उनी भन्छिन्, ‘मैले नेतृत्व गरें, यहाँसम्म आइपुग्नुमा मेरा टीमका जनप्रतिनिधि र कर्मचारी साथीहरुको ठूलो भुमिका छ । चुनावमा हामीले भनेका थियौं सकेसम्म अर्को जिल्ला वा नगरपालिकासँग पक्की सडकले जोड्छौं । नसके पनि वडा कार्यालयहरुसँग जोड्ने सडक कालोपत्रे गर्ने प्रतिबद्धता गरेका थियौं, जुन अहिले धमाधम भइरहेको छ । म पूरा हुने वाचा मात्र गर्छु, यो मेरो पहिलेदेखिको स्वभाव हो ।’

पुतलीबजार नगर क्षेत्रमा प्रायः धेरै ठाउँ खानेपानीको समस्याले ग्रस्त थियो । टाढाको धारा कुवाबाट पानी ओसार्नु पर्ने दुःखले खासगरी महिला निकै पीडित थिए । नगरप्रमुख क्षेत्री जनतालाई यो दुःखबाट मुक्त गर्न चाहन्थिन् । स्वस्थ र सफा खानेपानीको आयोजना अन्तर्गत चार वटा वडामा एक घर एक धाराको अवधारणामा काम भइरहेको छ । ६ वटा खानेपानीकै लिफ्टिङ योजना चालु आर्थिक वर्षमा सम्पन्न हुँदै छन् । वडा नं. १० र ३ मा ५ करोड रुपैयाँ बराबरको योजना सम्पन्न हुँदै छ ।

मालेबगरस्थित बन्दै गरेको कभर्ड हल

देशकै ठूलो जलविद्युत आयोजना कालिगण्डकी ए अवस्थित जिल्ला हो स्याङ्जा । विजुलीको अभाव हुने त कुरै भएन । तर, त्यस क्षेत्रमा अस्तव्यस्त पाराले काठका पोलमार्फत् विद्युत् तार टाँगिएका थिए । काठ न हो, मक्किदै जाने, कतै ढलेर लथालिंग हुने । नगरप्रमुख क्षेत्रीले आफ्नै कार्यकालमा नगर क्षेत्रलाई काठका पोलमुक्त क्षेत्र बनाउने निधो गरिन् । सोही अनुसार नगरभरी नै फलाम र सिमेण्टका पोल हालेर काठका पोल विस्थापित हुँदै छ ।
स्याङ्जा जिल्ला अस्पताल पुतलीबजारभित्रै छ । तर अस्पतालसम्म पुग्ने बाटो गतिलो थिएन । भौतिक पूर्वाधारको हालत उस्तै । गतिलो सुविधाको अभावमा अस्पतालमा डाक्टरहरु नआउने, आए पनि बस्न रुचाउँदैन थिए । स्थानीयबासी गुनासो गर्दै विरामी लिएर पोखरा वा अन्यत्रका सुविधासम्पन्न अस्पतालतिर लैजान्थे । तर, सबै नगरबासीको हैसियत ठूला अस्पतालसम्म धाउने पनि त छैन । ‘ती जनताले यही उपचार पाउनु पर्छ’ नगरप्रमुख क्षेत्रीका अठोटले हाल जिल्ला अस्पताललको अनुहार फेरिएको छ । नगरपालिकाले अस्पताल वरिपरी चक्रपथ निर्माण गर्‍यो । पानीको व्यवस्थापन, अटोमेटेड पावर सप्लाईको जडान गरिदियो । अस्पताल व्यवस्थापनले हाल नगरपालिकाको बलियो साथ पाएको छ । हाल अस्पतालमा १० जना डाक्टर कार्यरत छन् । अहिले भएको २५ शै्यामा थपेर एक सय शै्या पुर्‍याउने हेतुले प्रदेश सरकारसँगको सहकार्यमा डीपीआर सम्पन्न भइसकेको छ । अब नगरबासीले धेरै स्वास्थ्योपचार जिल्लामै पाउने भएका छन् ।

यसबाहेक नगरपालिकाका १४ ओटा मध्ये १० ओटा वडामा सुविधा सम्पन्न स्वास्थ्य चौकी बनेका छन् । बाँकी निर्माण सम्पन्न हुँदै छन् । त्यस्तै ६ ओटा शहरी स्वास्थ्य चौकी, बर्थिङ सेन्टर बन्दै छ । महिला स्वास्थ्यको सन्दर्भमा अन्य काम भइरहेका छन् । त्यस्तै एकल महिला सशक्तिकरण तथा उद्यम विकासका कार्यक्रम पनि लागू भएका छन् ।

जेष्ठ नागरिक समाजका गहना हुन्, उनीहरुको सेवा गर्नु नगरपालिकाले आफ्नो दायित्व ठानेको छ । नगरपालिकाले प्रत्येक महिनाको ६ दिन जेष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई टोलटोलमै गएर स्वास्थ्य सेवा दिदै आएको छ । टोलमा पनि आउन नसक्नेलाई घरमै पुगेर सेवा दिने व्यवस्था पनि मिलाइएको छ । सुत्केरी महिलालाई समयमा अस्पताल पु¥याउन दुई वटा एम्बुलेन्स र सम्बन्धित क्षेत्रमै उपलब्ध सवारी साधनको व्यवस्थापन गरिएको छ । ‘सुत्केरी आमा पोषिलो खाना’ भन्ने नाराअन्तर्गत नगरपालिकाले सेवा दिदै आएको छ । कोरोनाकालमा मृगौला पीडितलाई डाइलोसिस गर्न निःशुल्क पोखरा लाने, लैजाने, दीर्घरोगी जेष्ठ नागरिकलाई घरमै औषधी पु¥याइदिने लगायत व्यवस्था नगरपालिकाले गर्‍यो । हालैदेखि भने जिल्ला अस्पतालमै डाइलोसिस सुविधा सुरु गरिएको छ ।

नगरमै प्राविधिक शिक्षा

नगरपालिका सर्टिफिकेटधारी युवा प्रसस्तै छन् । ती मध्ये कतिपयले उनलाई जागिरको पहल गरिदिन बारम्बार अनुरोध गरिरहन्छन् । तर सर्टिफिकेटकै आधारमा झट्ट जागिर पाइहाल्ने अवस्था कमैले पाउने उनले वोध गरिन् । सानो स्रोत भएको नगरभित्र सबै युवाको अपेक्षा पूरा गर्न पनि गाह्रै थियो । राम्रो आर्थिक अवस्था हुनेले त जहाँ गएपनि भयो, तर सबैले त्यो मौका पाउँदैनन् । उनलाई लाग्यो नगरपालिकाभित्रै प्राविधिक शिक्षा दिन सके ती युवाले भोलि कसैलाई जागिरका लागि हात जोड्नु पर्ने छैन ।

उनले प्राविधिक शिक्षा अध्यापनको आधार स्थापना गर्न पहल गरिन् । यसका लागि नयाँ शिक्षालय खोल्नु भन्दा भइरहेकै संस्थामा विद्यार्थीलाई जोड्नु ठिक हुन्थ्यो । यसको लागि छानियो पुरानो शिक्षण संस्था ‘त्रिभुवन आर्दश नमूना उच्च माध्यमिक विद्यालय’ । विद्यालयमा सीटीइभीटीले नगरपालिकाको साथ–सहयोगमा प्राविधिक शिक्षा अध्ययपन सुरु गर्‍यो । नगरपालिकाले विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति र भौतिक पूर्वाधार निर्माणमा सहयोग ग¥यो । त्यसमा हाल इञ्जिनियरिङको अध्यापन सुरु गरिएको छ, ३५ जना विद्यार्थी पढिरहेका छन् । निकट भविष्यमा नै पत्रकारिता, कृषि विज्ञान र नर्सिङको कोर्ष पनि सुरु हुँदै छ । नगरप्रमुख क्षेत्री भन्छिन्, ‘स्थानीय तहमा राम्रो पत्रकार पाउन र टिकाउन गाह्रो छ । तर जनतासम्म सही सूचना सम्प्रेषण गर्न पत्रकार नभई हुँदैन । त्यसर्थः पनि मेरो विशेष जोड पत्रकारिता पनि पढाउने छ ।’ उनी नगरप्रमुख भएपछि उनकै पहलमा स्याङ्जा टेलिभिजन पनि सुरु भएको हो । २२ लाख रुपैयाँ जति नगरपालिकाले आर्थिक सहयोग गरिदिएको छ । टेलिभिजनलाई बचाउन नगरपालिका, प्रदेश सरकार तथा नागरिक समाज मिलेर लागि परेका छन् ।

बेरोजगारलाई रोजगार

स्याङ्जा कृषिमा उम्दा क्षेत्र हो । नगरपालिकाले आफ्नो क्षेत्रभित्र कृषिलाई आधुनिकीकरण गर्न पहल थाल्यो । यसो गरे खाद्यान्नमा आत्मनिर्भर हुन र स्वरोजगार सिर्जना गर्न टेवा मिल्थ्यो । वैदेशिक रोजगारी गुमाएर फर्केका वा यही वेरोजगार बसेका युवालाई रोजागर बनाउन सकिने सम्भावनाको खोजी ग¥यो । नगरपालिकाले यूनएडीपीसँग साझेदारीको हात बढायो ।

यो चार वर्षमा यी दुई संस्थाको सहकार्यमा कृषकले विभिन्न तालिम तथा अनुदान पाएका छन् । कसैले हाते ट्याक्टर त कसैले ह्याचरी मेशिन पाएका छन् । कसैले कुटानी मिलका सामान पाए । टनेल वितरण गर्ने, मूल्य श्रृंखला व्यवस्थित गर्ने, बजारीकरणको समेत व्यवस्थापनमा नगरपालिकाको पहल रहेको छ । ‘सुन्तला शहर’का रुपमा परिचित पुतलीबजारमा शीत भण्डार निर्माण पनि अन्तिम चरणमा पुगेको छ । हलो विस्थापन गरी कृषकलाई सहज तरिकाले खेती गर्न, उन्नत विउविजन वितरण गर्नलगायत कार्यमा नगरपालिकाको निरन्तर पहल रहेको छ । किसानहरु आफ्नै गाउँघरमा बसेर व्यवसायिक बन्दै गएको देख्दा नगरप्रमुख क्षेत्रीलाई खुसी लाग्छ ।

नगरपालिकाको बजेट ८७ करोड रुपैयाँको छ । तर संघ र प्रदेश विभिन्न शीर्षकमा सशर्तः भनेर दिने बजेट पनि जोड्दा एक अर्बभन्दा बढी हुने गरेको छ । प्रदेश र संघीय सरकारसँग उनको गुनासो छ, बजेट हाल्दा सुरुमै दिएको राम्रो, आर्थिक वर्ष सकिने बेलामा दिएको बजेट निल्नु न ओकल्नु हुने । हतारमा गरेको कामको परिणाम गतिलो आउँदैन ।

चक्लाबन्दीमा कृषि

‘समृद्ध पुतलीबजार सुखी नगरबासी’ भन्ने नारा सबैभन्दा पहिले पुतलीबजार नगरपालिकाले तय गरको थियो । पछि संघीय सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारा तय गर्‍यो । नगरप्रमुख क्षेत्री भन्छिन्, ‘संघीय सरकारले यो नारालाई कतिको न्याय दिनसक्यो त्यो जनताले भन्ने कुरा हो । तर, हाम्रो नगरपालिकाले यो नारालाई सफल पार्न निरन्तर प्रयत्न गरेका छौं । शत प्रतिशत सन्तुष्टी त कतै पनि पाइदैन होला । तर जनतालाई अधिकतम सेवा, सुविधा दिने, उद्यमशील बनाउन हाम्रो प्रयास जारी छ ।’ नाराले मात्रै समृद्धि आउँदैन । टुक्रे जमिनमा खेती गरेको भरमा कृषिलाई व्यावसायिक गर्न उति संभव देखिएन । नगरपालिकाले नमूना आयोजना सुरु गर्‍यो । ३ सय ७५ रोपनी जग्गामा चक्लाबन्दी गरी खेती गरिरहेका छन् ।

आँधीखोला देखि प्याराग्लाइडिङसम्म

पर्यटन विकासमा पनि नगरपालिकाले काम गरिरहेको छ । नगरपालिकाभित्र गुफाहरु छन्, भालु पहाड सुन्दर दृष्यावलोकन गर्न सकिने सानो पहाड हो । बाइसे चौबिसे राजाहरुले राज्य गरेका ठाउँहरु नुवाकोट, बाँकोट, कोल्माकोट, सतौंकोट लगायत रमणीय र ऐतिहासिक स्थान छन् । नेपाली लोकगीतहरुमा चर्चित आँधीखोला यसै नगरपालिकामा पर्छ । आँधी, अरौंदी र बाड खोलाको संगममा फोहोर फालिन्थ्यो । हालको नगरपालिकाले फोहोरको व्यवस्थापन गर्न सफाई केन्द्र स्थापना गर्‍यो । केन्द्रले सड्ने फोहोरबाट मल बनाउँछ, नविकरणीय फोहोर विक्री गर्छ ।

त्यहाँ नगरपालिकाले नै बायोग्यास जडान गरेको छ । फोहोर प्रशोधनका क्रममा निस्केको ग्यास वरिपरीका जनतालाई वितरण गरिएको छ । नगरपालिकाले सोही स्थानमा धार्मिक तथा सांस्कृतिक महत्व रहने गरी त्रिवेणी धाम निर्माण गर्दै छ । करिब १८ करोड बजेटको धाम निर्माण गर्न डीपीआर सम्पन्न भइसकेको छ । नगरप्रमुख क्षेत्री भन्छिन्, ‘यसलाई नगरको मात्र नभई यस क्षेत्रकै गौरवको आयोजना र तिर्थस्थलका रुपमा विकास गर्दैछौं ।’ यसका आसपासमै नेवाः संग्राहलय बन्दै छ । त्यसकै नजिकै बूढिखोला, चम्पागिरी मन्दिर छन् । केही माथि भ्यू टावर बनेको छ । यसका वारिपारी नुवाकोट र सतौंकोट छन् । नगरपालिकाभित्र नौ ओटा होमस्टे छन् । होमस्टेमा बसेर पर्यटकले स्थानीय जनजीवनको अनुभूति गर्न सक्छन् । तीन ठाउँबाट प्याराग्लाइडिङको आनन्द पनि उठाउन सक्छन् । यस नगरपालिका भित्र सञ्चालित प्यालाग्लाडिङ वडा १४, हुनिकोट वडा २ र पेल्काचौर वडा १२ बाट उडान र आँधिखोला किनारामा ल्याण्डिङ गर्न सकिन्छ । यसरी घुम्न आएका पर्यटकले एकै फेरोमा धेरै आनन्द उठाउन सक्ने स्थलहरु वरिपरी छन् यसका साथै पुतली बजार नगर क्षेत्रभित्र भौगर्भिक अध्ययन-अनुसन्धान पनि हुँदै छ ।

नगरप्रमुखक्षेत्री भन्छिन्, ‘विकास निरन्तर हुने प्रक्रिया हो । हामीले गरेकै काम अन्तिम भन्ने छैन । तर, यो चार वर्षमा हामी आएपछि जेजति कार्य भए, त्यसले जनताको जीवनस्तर केही न केही उठाएको छ । भोलीका दिन अझै धेरै काम गर्नु त छँदै छ ।’ कोभिड १९ ले विकास निर्माणमा प्रत्यक्ष प्रभाव त पार्‍यो नै । त्यसका बादजुद पनि नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर गर्न सकिने कार्य रोकेन ।

कोभिडका कारण गत वर्ष भोकै पर्नेहरुलाई खाद्यान्न वितरण गरेको थियो । तर जनतालाई सित्तैमा हात थापेको अनुभूति नहोस् भन्ने उद्देश्यले यस वर्ष भने ‘कामका लागि खाद्यान्न’ भन्ने कार्यक्रम लागू गर्‍यो । यो कोभिड कालमा कसैले खान पाएनौं वा औषधी पाएनौं भन्ने गुनासो गर्ने ठाउँ नगरपालिकाले दिएन । यसरी जनताको सेवामा अहोरात्र खट्ने सपथ खाएर जिम्मेवारीमा आएकी नगरप्रमुख क्षेत्री जेजति हासिल गरेको सफलताको श्रेय आफ्नो टीममा भएका जनप्रतिनिधि, कर्मचारीलाई दिन्छिन् ।

राजनीतिक रुपमा आफूसँग फरक मत राख्नु एउटा कुरा, उनी सबैकै नगरप्रमुख हुन्, उनले यो अनुभूति सबैलाई गराउने पहल गरेकी छन् । यो कार्यकाल त एक वर्षमा सकिन्छ । तर, आफ्नो क्षेत्रको विकास र जनतासँगको हातेमालो गर्न आजीवन अग्रसर हुने उनको प्रतिबद्धता छ ।
०००