गर्भावस्थामै जिम, गर्भावस्थामै नाटक

गर्भावस्थामै जिम, गर्भावस्थामै नाटक

जेष्ठ २६, २०७८ 2 By शकुन्तला जोशी
शेयर गर्नुहोस्

हमेसा नाटक वा सिनेमाबारे चिन्तन गरिरहने अभिनेत्री सिर्जना सुब्बाको आजकाल चिन्तन विषयान्तर हुन थालेको छ । कारण– काखमा खेलिरहने १८ महिने छोरा मिङ्सोहाङ । छोराको चन्चले गतिविधिले उनको चिन्तनको घेरालाई घरिघरि आफूतिर खिच्छ । उनलाई लाग्छ– आमामात्र भएर हेर्दा सन्तान सुख सबभन्दा ठूलो केही हुँदैन ।
वृत्तचित्र र सिनेमा निर्माणमा क्षेत्रमा सक्रिय पदम सुब्बासँग झण्डै एक दशक प्रेम सम्बन्धमा रहेपछि सिर्जनाले २०७५ मंसिरमा विवाह गरिन् । उनीहरूको भेट इन्डिजिनियस फिल्म अर्काइभ (आइएफए)को वर्कशपमा भएको थियो । (आइएफए चलचित्र निर्देशक नवीन सुब्बा नेतृत्वको संस्था हो । पदम उनै नवीनका भाइ हुन् ।)

तस्विर सौजन्य: सिर्जना सुब्बा

उनीहरूको बसाइ अनामनगरमा नजिकै थियो । उनीहरूको भेटघाट बाक्लियो । सिनेमासम्बन्धी सहकार्यकै क्रममा कतिबेला उनीहरूबीच प्रीति बस्यो, थाहै पाएनन् । जीवन जिउने तरिका मिलेपछि विवाह गरे । विवाहपूर्व नै उनीहरूबीच बच्चा जन्माउनेलगायत भावी यात्राबारे छलफल भइरहन्थ्यो । बच्चा उनको रहर थियो । उनले एउटा कलाकारको करिअरमा लागि विवाह र बच्चा बाधक हुन्छ भन्ने सोचलाई ‘ब्रेक’ गर्न चाहन्थिन् ।

गर्भमा धड्कन
श्रीमान् पदम सिर्जनाको हर इच्छा र निर्णयमा सहमत थिए । तर त्योबीचमा उनी कामकै हतारोमा थिइन् । २०७५ फागुनमा उनी मौसम इम्बुङ निर्देशित चलचित्र ‘घरजम’को सुटिङका लागि पाँचथरको याङवारक पुगेकी थिइन् । त्यहाँ उनले फुर्सदको समयमा वरिपरीका पहाड र नागी खुब घुमिन् । सुटिङ सकेर फर्किनुअघि त्यहाँका पुरानो गुम्बा जाने क्रममा उनलाई अपूर्व थकान लाग्यो । खानामा अरुचि जस्ता समस्या देखिए । उनले सोचिन्, लिम्बूवानको सत्कार– चिल्लो पिरो, बोस्याइलो मासुजस्ता परिकारले ग्यास्ट्रिक बढ्यो ।

पाँचथरबाट उनी माइती मोरङ पुगिन् । उनका श्रीमान् पनि आएका थिए । नियमित मितिको ३ दिन पछि पनि महिनावारी नभएपछि भने उनलाई गर्भ बसेको शंका लाग्यो । जचाउँदा पोजेटिभ रिपोर्ट आयो । सामान्य पिसाब परीक्षणको रिपोर्टसँग उनीहरू आश्वस्त हुन सकेनन् । लगत्तै काठमाडौं आएर नर्भिक हस्पिटलमा जाँच गराए, पुनः रिपोर्ट पोजेटिभ आयो । त्यतिन्जेल गर्भ बसेको चार हप्ता भइसकेको रहेछ । जीवनमा नयाँ सपनाले पाइला राख्यो, दम्पत्ति नै खुसी भए । तर सिर्जनालाइ शारीरिक रुपमा निकै कष्ट हुँदै थियो । त्यसअघि नियमित जीम, हाइकिङ जाने, साइक्लिङ गर्ने उनलाई अब उठ्ने सामथ्र्य पनि हुन छोड्यो । नुहाउन, खान, हिँड्न केहीमा मन भएन । १० दिनसम्म सुतेको सुतेकै गरिरहिन् ।

तस्विर सौजन्य: सिर्जना सुब्बा

अस्पतालमा जाँच गर्दा शुरुमै बच्चाको मुटुको गति हेरिन्छ । गर्भ रहे–नरहेको कुरामै अलमल परेका उनीहरू डा. इन्दिरा उपाध्यायले ‘बच्चाको धड्कन शुरु भइसकेको छ, बधाई’ भन्दा तीनछक परे । आफ्नो मुटु नजिकै अर्को मुटु चल्न थालेको अनुभूति बडो रोमाञ्चक थियो ।

त्यही रोमाञ्चमा पदम त प्रश्नमाथि प्रश्न गर्न थाले । घर आएर पनि श्रीमान्लाई कुरा बुझाउन सिर्जनाले निकै कसरत गर्नु प-यो । भन्छिन्, ‘मेरो श्रीमान् झन् शब्दविहीन हुनुभो । बुबा बन्ने खुसीको खबर त छँदै थियो । त्योभन्दा बढी जीवन उत्पतिको रहस्यले हल्लायो उहाँलाई । जीवनको शुरुआत मुटुबाट हुने रहेछ भन्ने कुराले खुब अचम्मित हुनु भयो ।’

त्यो बीचमा आमा भइसकेका साथीहरूलाई सोध्न पनि संकोच लाग्यो उनलाई । भन्छिन्, ‘तर संकोचका पनि फरक कारण होलान् । कसैलाई अरूलाई किन सुनाउने ? देखाउने ? लाग्दो हो । परम्परागत सोचले गर्भावस्था भनेको लुकाएर छोपेर राखिने विषय भन्ने सिकाएको छ । यही सोचको लाजले छोपिनेहरू धेरै रहेछन् ।’

तस्विर सौजन्य: सिर्जना सुब्बा

महिना बित्यो रोएरै
गर्भ रहेको थाहा भएपछिको एक महिनासम्म उनको नियमित ‘रुटिन’ नै भंग भयो । कतिखेर उठ्ने, कतिखेर खाने केही टुंगो थिएन । उनलाई ‘इभिनिङ सिकनेस’ भयो । साँझ परेपछि उनलाई यसै बेस्सरी रुन मन लाग्ने । कुन चाहिँ कुरा मनमा आएर त्यस्तो हुन्छ भन्ने पनि उनले भेउ पाइनन् । भन्छिन्, ‘एक्कासी रुन मन लाग्थ्यो । कहिले सुक्सुकाइरहने, कहिले डाँको छोडेरै रोइदिने । निकैबेर रोएपछि भित्रैबाट ‘रिलिफ फिल’ भए जस्तो हुने । अनि मन हल्का हुन्थ्यो । सुरुमा सुब्बासाब आत्तिनु भयो । पछि यो विरलै प्रकृतिका लक्षण संसारका अति थोरै महिलालाई हुने गरेको डाक्टरबाट थाहा भयो ।’

तीन महिनासम्म उनलाई शारीरिक रूपमा निकै कष्ट भयो । लगभग सुतेरै बिताइन् त्यो अवधि । आमा बन्दै गरेको मिठो खुसी मनभित्र थियो । तर उठेर खुसी ‘सेलिब्रेट’ गर्ने साहस थिएन । तीन महिनापछि भने उठेर हिड्न थालिन् । खानाको ‘रुटिन’ बनाइन् । भुटेको, तारेको, बेसार वा त्यस्तै रंग लागेको खानासँग एलर्जी नै थियो । कोकाकोलाको त टेलिभिजनमा विज्ञापनसम्म पनि देख्न नहुने । ‘फेभरेट ड्रिङ्क्स’ वाइनसँग पनि दुष्मनी ।

‘माछामासु र यी ड्रिङ्क्स आफूले पहिले खाएको थिएँ र ?’ उनको मनमा यस्तोसम्म सोच आउँथ्यो । खानामा सौखिन उनलाई नौ महिनासम्म संसारको कुनै पनि खानाप्रति रुचि थिएन । यद्यपि उनीभित्र अर्को जीवन तयार हुँदै थियो । बिहान स्याउ, दूध, केरा र बेलुकी सुप चाहिँ उनले चरम अरुचिका बावजुद नियमित खाइन् । अहिले सम्झिँदा उनलाई लाग्छ, अरुति हुनु पनि एक हिसाबले पेटको बच्चाको स्वास्थ्यका लागि राम्रै भएछ । नत्र स्वादका लागि खाइने जंक फुडजस्ता खानाले बच्चालाई असर गर्न पनि सक्थ्यो ।

तस्विर सौजन्य: सिर्जना सुब्बा

गर्भावस्थामा जिम
बच्चा पेटमा हुर्कंदै थियो, बच्चाको चाल बढ्दो थियो । जीवन्त, आकार ग्रहण गर्दै गरेको बच्चा छोरा होला कि छोरी ? सिर्जनाको मनमा बडो खुल्दुली हुन्थ्यो । बच्चाले दिने चालको आधारमा हुने पहिचानबारे उनी यूट्युब सर्च गर्थिन् । फेरि सोच्थिन्– जे होस् पूर्ण स्वस्थ होस् । बेला–बेला आफू एकदमै सुन्दर प्रिन्ट भएको सारीमा सजिएको सपना देख्थिन् । ती सपनाहरू अझै पनि स्पष्ट रूपमा उनको आँखामा आउँछ ।

पाँच महिनादेखि उनले बच्चाले लात मारेको थाहा पाइन् । त्यसपछि आठ महिना शुरु हुँदासम्म उनी जिम गइन् । ‘गाउँमा आमाहरूले प्रशस्त शारीरिक श्रम गर्नुहुन्थ्यो । त्यसले प्राकृतिक रूपमा बच्चा जन्माउन र शरीरको सन्तुलन कायम गर्न सघाउ पुग्थ्यो । म सहरमा छु, यहाँ मेरो खेतबारी छैन । गर्भावस्थापूर्व पनि जिम मेरो नियमित व्यायामको माध्यम थियो, फेरि जिम गएँ,’ उनी भन्छिन् ।

तस्विर सौजन्य: सिर्जना सुब्बा

गर्भावस्थामै नाटक
उनीभित्र अर्कै संसार निर्माण हुँदै थियो । डेढ दशकदेखि सक्रिय हुँदै आएको रंगमञ्चको दुनियाँ पनि उनलाई पर्खिरहेको थियो । उनले दर्जनौं नाटकमा अभिनय गरिसकेकी थिइन् l २०७३ जेठमा युग पाठकले लेखेको नाटक ‘युमा’ निर्देशन गरेकी थिइन् । साल्गीको बलात्कृत आँसु, लुट, लुट २, कबड्डी कबड्डी लगायत एक दर्जन सिनेमामा अभिनय गरिसकेकी थिइन् । दिदी भाइको ग्रामीण कथा भन्ने सिनेमा ‘डाइङ क्यान्डल’ले सिंगापुरमा आयोजित एसियन फिल्म फेस्टिभलबाट ‘बेष्ट एक्ट्रेस’को अवार्ड पाइन् । त्यस्तै अमेरिकी क्विन्स फिल्म फेस्टिभलमा पनि ‘बेस्ट एक्ट्रेस’को नोमिनेसनमा पर्न सफल भइन् । यसरी राष्ट्रिय–अन्तर्राष्ट्रिय अवार्डहरूबाट सम्मानित हुँदै आएकी उनी यी दायित्वका हिसाबले पनि घरै बसिरहन सुहाएन ।

उनी फेरि थिएटर फर्किइन्, त्यतिबेला गर्भ साढे पाँच महिनाको थियो । त्यहीबेला अनुप बरालको निर्देशनमा नाटक ‘महाभोज’ मञ्चन हुने भयो । भारतका मन्नु भन्डारीले लेखेको उक्त नाटक पहिलोपटक सन् १९८२ मा नेसनल स्कुल अफ ड्रामा (एनएसडी)मा मञ्चन भएको थियो । नाटकको रिहर्सल एक महिना चल्यो । उनी गर्भवती इन्स्पेक्टरको भुमिकामा थिइन् । नाटकमा अभिनय गरिरहँदा उनलाई ‘घरी जीवन नाटक जस्तो, घरी नाटक जीवनजस्तो’ बोध हुन्थ्यो । उनी भक्तपुर सिर्जनानगरदेखि बिहानै खानेकुरा र पानी बोकेर मध्यबानेश्वरस्थित जिम जान्थिन्, उतैबाट अनामनगर मण्डला थिएटर पुग्थिन् । दुई बजेसम्म रिहर्सल ग-यो । सकिएपछि केहीबेर साथीहरूसँगै आराम गर्थिन्, त्यहीँ खाना खान्थिन् । नाटक एक महिना मञ्चन भयो । त्यतिन्जेल उनको गर्भको आठ महिना सुरु भइसकेको थियो । त्यसपछि मण्डलाको संस्थागत काम, व्यक्तिगत काम सकाएर साँझमा श्रीमानसँग घर फर्कन्थिन् । घर आएर सुप पकाएर–खाएर सुत्थिन् ।

तस्विर सौजन्य: सिर्जना सुब्बा

हरदम श्रीमानको साथ
प्रकृतिले बच्चा जन्माउने जिम्मा सिर्जनालाई दियो । सिर्जनाको रेखदेख गर्ने दायित्व त उनको श्रीमान्सँग थियो । कम बोल्ने तर मृदुभाषी पदम सुब्बाले पनि सिर्जनाको स्याहारसुसारमा कुनै कमी नहोस् भन्नेमा हरदम चनाखो हुन्थे । यो जोडी प्रेम सम्बन्धमा हुँदा त आ–आफ्नै कर्ममा हिँड्थे नै । विवाहपछि पनि कर्म क्षेत्र आ–आफ्नै थियो । तर, सिर्जना गर्भवती भएपछि पदम सुब्बाको सम्पूर्ण ध्यान श्रीमतीको रेखदेखमै हुन्थ्यो । बिहान सिर्जनालाई गाडीमा मण्डला छाडेपछि पनि दिनभरी जसो त्यतै वरिपरि हुन्थे । साँझ सिर्जनाको काम सकेपछि लिएर फर्कन्थे । यो रुटिन बनेको थियो ।

हाल कामको सिलसिलामा बेलायत पुगेका श्रीमानलाई सम्झँदै सिर्जना भन्छिन्, ‘हाम्रो सुब्बासाबलाई कसरी केयर गर्नुपर्छ भन्ने उति नआउने, तर मलाई यस्तो इन्भाइरोमेन्ट चाहिन्छ है भनेपछि त्यसमा कुनै कमी हुन नदिने । उहाँ एकदमै कन्सस हुनुभयो । एक्लै कतै हिँड्न नदिने ।’

गर्भावस्थाका बेला जिम गरेको देखेर कतिलाई अचम्म लाग्थ्यो । यस्तो बेला पनि जिम ? यत्रो पेट लिएर कसरी फटाफट हिँड्न सकेको ? प्रश्नहरू आउँथ्यो । उनलाई लाग्छ गर्भावस्था महिलाको जीवनमा विल्कुल फरक अनुभूति र जिम्मेवारी हो, यद्यपि त्यो अवधिमा उसको नियमित जीवनशैली पूर्णतया छुट्छ भन्ने हैन । मण्डलातिर ‘प्रेग्नेन्सी पीरियड’मा हुने उतारचढाव र अपनाउनु पर्ने सावधानीबारे बच्चा पाउने योजना बनाउँदै गरेका जोडीहरूसँग आफ्नो अनुभव बाँडेकी पनि थिइन् उनले । आफ्ना अग्रज कलाकारहरूबाट उनले पनि त्यो अवधिमा अपनाउनु पर्ने सावधानीबारे थप जानकारी पाइन् । ‘प्रेग्नेन्सी’प्रतिको परम्परागत सोचमा कमसेकम सहरी क्षेत्रमा परिवर्तन आएको उनको बुझाइ छ । नाटक अवधिमा उनले आफ्नो टीमबाट निकै सहयोग र उर्जा पाइन् । भन्छिन्, ‘यसरी उत्साहले काममा नजोडिएको भए कोही नभएको घरमा महिनौं एक्लै बस्नु निकै अत्यास लाग्दो हुन्थ्यो होला ।’

तस्विर सौजन्य: सिर्जना सुब्बा

बच्चा जन्मिने समय नजिकिदै जाँदा उनले आफूलाई अझ व्यस्त बनाइन् । श्रीमान्लाई मनाएर घर सरसफाइलगायत काम आफैं गरिन् । यसो गर्दा आफू र बच्चा दुवै चलायमान हुन्छ जस्तो उनलाई लाग्थ्यो । त्यही गतिका कारण नै आमा भइसकेपछि उनको शारीरिक अवस्था चाँडै नै ‘नर्मल’ हुन सहज भयो भन्ने उनको ठम्याइ छ । उनी तीन दिनका लागि ध्यान गर्न ओशो तपोवन पनि गइन् । रामदेवको प्राणायामलगायत योग गरिन् ।

किताब, सिनेमा र डायरी
किताब पढ्नु, सिनेमा हेर्नु उनको रुचिकै कुरा हो । गर्भवती हुँदा पनि उनले प्रशस्त किताब पढिन् । सिमोन द वोउवरको ‘द सेकेण्ड सेक्स’ दोहो-याएर पढिन् । ‘फेरी टेल्स’, अन्ने फ्रांकको ‘एक किशोरीको डायरी’, शारदा शर्माको ‘ताप’ र गिजुभाइका किताब उनले यो अवधिमा पढेका किताब हुन् । त्यसैगरी महिलाले लेखेका र महिलाका विषयमा लेखिएका अन्य केही किताब पनि पढिन् ।

गभ रहेको तेस्रो महिनाको शुरुदेखि नै उनले नियमित डायरी लेख्न थालिन् । लेख्न त सुरुकै दिनदेखि मन थियो, तर, स्वास्थ्यले साथ दिएन । उनलाई लाग्यो आफूले भोगेको प्रसव पीडा विस्तारै बिर्सिइन्छ, अक्षरमा उतार्नुपर्छ । भन्छिन्, ‘मैले उसलाई जन्माउने जर्नी पार गर्न जे जस्ता सफरिङहरू भोगेँ, त्यो लेखेँ । ताकि मेरो सन्तानले आमाको भोगाइ थाहा पाओस् । छोरा जन्मियो, उसले त झनै थाहा पाउनुपर्छ । ताकि भोली उसले महिलालाई सम्मान गर्न सिकोस् । उसको जीवनमा आउने महिलाको भोगाइलाई बुझोस्, सम्मान गर्न सकोस् ।’

उनले बच्चा जन्मेको एक वर्षसम्म डायरी लेखिन् । त्यसपछि बच्चालाई नै अधिक समय दिनुपर्ने भएपछि लेख्न छोडिन् ।

तस्विर सौजन्य: सिर्जना सुब्बा

बेबी बम्प फोटोसुट
सिर्जनाका लागि मातृत्व एक उत्सव थियो, मज्जाले ‘सेलिब्रट’ गरिन् । गर्भको बच्चा नौ महिना लागेपछि उनले बेबी बम्प ‘फोटोसुट’ गराइन् । यो हाम्रो नेपाली समाजको सन्दर्भमा नयाँ अभ्यास पनि थियो । केही समय उनी सामाजिक चर्चाको विषय बनिन् । दोजिया भएकी महिलाले पेट सकेसम्म छोपेर हिड्नुपर्ने सामाजिक मान्यतालाई उनले भत्काइन् । फुलेको पेटसहितको ग्ल्यामरस् फोटो सुट गराइन् । त्यस कार्यको प्रसंशा र आलोचना गर्ने उत्तिकै थिए । भन्छिन्, ‘ग्ल्यामरको लागि हैन । मैले मातृत्वप्रतिको साँघुरो सामाजिक चिन्तन ब्रेक गर्ने प्रयास गरेकी हुँ । गर्भावस्था सबभन्दा सम्मानित अवधि हो भन्ने सन्देश दिन खोजेकी हुँ । अर्को, म आफ्नो विचारप्रतिको कन्फिडेन्सको स्वयम् परीक्षा गर्न चाहन्थें । जुन मैले गरें । खुसी छु । अहिले थुप्रै सेलिब्रेटी तथा युवतीहरूले यस्तो फोटो सुट गराउने गरेको देखेकी छु ।’

तस्विर सौजन्य: सिर्जना सुब्बा

‘हेडसर’लाई समय !
सिर्जनालाई प्राकृतिक तरिकाले नै बच्चा जन्माउन मन थियो । तर, बच्चाको मुटुको गति तलमाथि भएको हुन सक्ने चिकित्सकहरूको सल्लाहअनुसार शल्यक्रिया गरेर जन्माइन् । जन्मने बित्तिकैको बच्चा नर्सहरूले ‘यी हेर्नोस् तपाईंको पहलमान छोरा’ भनेर देखाएर बच्चा उनको श्रीमानको हातमा दिए । शल्यक्रिया गरेर निकालेको बच्चा ‘नर्सिङ केयरिङ’ राखिने रहेछ । नौ घण्टापछि हातमा पाएको बच्चा देखाउँदै श्रीमान्ले भने, ‘हेर, ल आयो हाम्रो हेडसर ।’ बल्ल उनले बच्चा छुन पाइन्, स्तनपान गराइन् । त्यो पल उनले मनमा अचम्मको शान्तिबोध गरिन् । अहिले पनि जिस्क्याउँदै परिवारमा बच्चालाई ‘हेडसर’ भन्ने गरेको पनि उनी सुनाउँछिन् ।

बच्चा जन्माउनु भन्दा उसलाई मान्छे बनाएर हुर्काउनु जटिल लाग्यो उनलाई । जन्मिनुअघि पूर्ण स्वस्थ, सपाङ्ग बच्चा जन्मेला कि नजन्मेला भन्ने पीर । जन्मेपछि पनि खुट्टा राम्ररी टेक्ला नटेक्ला, बोल्छ कि बोल्दैन ? शरीरको अंगहरू ठीक ढंगले विकास हुँदै छ कि छैन ? हुर्किदै गएपछि कस्तो स्वभावको होला ? कसरी असल बनाउने ? एकातिर तोतेबोली, तातेताते हिँडाइले चरम आनन्द, अर्कातिर ती यावत् चिन्ताले उनको अन्तरमन खाइरहने रहेछ । तर यो महामारीको कहरले गत वर्षदेखि मानिस घरभित्रै कैद हुन बाध्य छ । यो बाध्यता उनका लागि भने छोरालाई भरपूर स्याहार दिने अवसर बनेको छ । बच्चा आफ्नै हातले हुर्किरहेकोमा ढुक्क छिन् । अझै केही वर्ष बच्चालाई आफ्नै स्याहारमा हुर्काउन मन छ । उनलाई चाँडै नियमित कर्ममा पनि फर्कनु परेको छ । केही सिनेमामा काम गर्नुछ, मण्डला थिएटरको अध्यक्षको जिम्मेवारी त छँदैछ । तर सन्तुलन मिलाएर बच्चालाई बढी समय दिने उनको सोच छ ।
०००
सिफारिस
📍 विवाहपहिले नै बच्चाको कल्पना !
📍 सिर्जना र युगको ‘ड्रामा अफेयर’
📍 पोर्न नाटकको आरोप !