तीन चर्चित गीतका कथा

तीन चर्चित गीतका कथा

असार ४, २०७८ 0 By कला अनुरागी
शेयर गर्नुहोस्

कुनै कुराको अस्तित्व त्यसपछाडिको कथाको परिणाम हो । त्यसैले हरेक अस्तित्वको पछाडि कथा हुन्छ नै । जीवितको मात्रै होइन, हरेक अस्तित्वको कथा हुन्छ । यसै मेसोमा यी तीन गीतको कथा खोजिएको छ । आफ्नो समयमा चर्चित यी तीन गीतका सर्जकसँग भिन्न–भिन्न समयमा गरिएको कुराकानीका आधारमा गीतको कथा उत्खनन गरिएको हो ।

पहिलो श्रोतालाई नै रुवाउने ‘सिमली छाया’

जीवन शर्मा

मैले धेरै गीत लेखेँ, गाएँ । तर सिमली छाया गीतले मलाई फराकिलो परिचय दियो । अहिले पनि कुनै कार्यक्रममा जाँदा यो गीत नसुनाए जीवन शर्माको गीत सुनेजस्तो नै लागेन भन्नेहरू भेटेको छु । त्यसैले यो मैले स्टेजमा धेरै गाएको गीतमध्येमा पर्छ ।
०३९ सालतिर हुनुपर्छ । एकातिर गितार र अर्कोतिर झोला भिरेर काठमाडौबाट घर बागलुङतिर हिडें । पोखरादेखि स्याङ्जाको नागडाँडासम्म गाडी जान्थ्यो । त्यहाँबाट कार्कीनेटाको उकालो चढेर ओरालो झर्दा कालीगण्डकी पुगिन्छ । गण्डकी तरेर अर्को दिन बल्ल बागलुङ पुगिन्थ्यो । यात्रामा कार्कीनेटाको उकालो काल कष्टमय हुन्थ्यो । काठमाडौबाट त्यहाँ पुग्न नै एक दिन लाग्थ्यो । त्यसैले थाकिन्थ्यो । थाकेको बेला घाममा झण्डै तीन घन्टा ठाडो उकालो हिड्नुपथ्र्यो । त्यसैले मानिसहरुले भन्थे, ‘कार्कीनेटा उक्लन पाए त सजिलै घर पुगिन्थ्यो ।’ त्यो उकालोमा एउटा चौतारी थियो । अहिले छ कि छैन, थाहा छैन । धेरै भयो त्यो बाटो नहिडेको । त्यहाँ मैले एकजना भरिया भेटें ।
गरिवको निम्ति लड्नुपर्छ भन्ने राजनीतिक चेत जागिसकेको थियो ममा । त्यसैले निसहाय, गरिव मान्छे भेट्यो भने निकै माया लाग्थ्यो । नजिक हुन र कुरा गर्न मन लाग्थ्यो । उनीहरुको कुरा सुन्न र आफ्नो कुरा उनीहरुलाई भन्न मन लाग्थ्यो । त्यसैले उनीनजिकै बसें । तर उनी त तर्किएर पर पो सरे । अलिअलि भएको पैसा पनि लुट्ला भन्ने सोचे कि जस्तो लाग्यो ।
तैपनि केही कुरा गर्न खोजें । कुरा गर्न पनि मानेनन् । निकै प्रयत्नपछि मसँग अलिअलि बोल्न थाले । खोटाङका राई रहेछन् । घर नगएको कयौं बर्ष भइसकेको रहेछ ।

मझेरीमा टुकी बालेर गाइयो । गोठहरुमा गाइयो । राती स्कूलका चौरहरूमा गाइयो । गीत सुन्दा बुढाबुढी त रुन्थे नै, भावुक युवाहरू पनि रुन्थे ।

उनले भने, ‘छोराहरू कोही असमतिर गए, छोरीहरू पनि पोइल गए । भारी बोकेर हिंड्छु । जहाँ पुग्यो त्यही बस्छु, खान्छु ।’ उनकी श्रीमतीको पनि मृत्यु भइरसकेको रहेछ । श्रीमती मरेपछि घर छोडेर हिडेका रहेछन् । ‘ऊ छँदा दुःख भए पनि पकाएर खान दिन्थी । अब त घर गयो दिनभरी गलेर, कोही छैन । के जानु घर’ यसो भन्दै गर्दा उनको गला अवरुद्ध भयो । टोपी झिकेर आँशु पुछे । उनको हृदयविदारक कुरा सुन्दा मेरो पनि आँशु आयो । निकैबेर कुरा गरेपछि म पनि जानु थियो । हिडें । माथि गएर हेर्दा उनी भारी बोकेर लुख्रुक–लुख्रुक उकालो चढ्दै थिए । एकैछिन हेरिरहें । सिमलीको छाया परेको ठाउँमा भारी अड्याएर एकछिन अडिए र फेरि हिंडे ।
उनी छेल परे । म अर्को चौतारीमा पुगें । त्यहाँसम्म पुग्दा मेरो मनमा ‘सिमली छाया’ गीत बनिसकेको थियो । सरसर्ती डायरीमा लेखें । त्यही शब्द हो । पछि पनि एकशब्द काँटछाँट गरिएन । भाका पनि तयार भइसकेको थियो मनमा ।
भोलिपल्ट पर्वत जिल्लाको फलेबासमाथि सल्लेरी भन्ने ठाउँको चौतारीमा बसेर त्यो गीत गाएँ । कसैलाई सुनाउन गाएको थिइनँ, तर गीत गाइसक्दा नुन लिन आएका एकजना मान्छे रोइरहेका रहेछन् । उनले आँशु पुछ्दै भने, ‘तिम्रो गीत साह्रै घत पर्यो ।’
त्यसपछि यो गीत विभिन्न गाउँमा गाएँ । पञ्चायतको बेला बाहिर गाउन पाइँदैनथ्यो । मझेरीमा टुकी बालेर गाइयो । गोठहरुमा गाइयो । राती स्कूलका चौरहरूमा गाइयो । गीत सुन्दा बुढाबुढी त रुन्थे नै, भावुक युवाहरू पनि रुन्थे । बहुदल आएपछि भने म्युजिक नेपालले मेरा गीतहरू रेकर्ड गरेर बजारमा ल्यायो– रक्तिम भाग १ र २ को नाममा । त्यसमा समेटिएका २२ गीतमा यो पनि छ । क्यासेट हजारौं कपी बिक्रि भएका थिए । बुटवलमा त ठेलागाडामा राखेरसमेत बिक्रि गरियो भन्ने सुनें । अहिले यसको भिडियो पनि बनेको छ, बज्ने गरेको छ । त्यो भने संकटकालका बेलामा भारतको सिम्लामा गएर निर्माण गरिएको हो । भिज्युअलमा जुन जीवन्त अभिनय देखिएको छ । त्यो कुनै तालिमप्राप्त कलाकारले गरेको अभिनय होइन । वास्तविक जीवनमा भारी बोक्ने मान्छे नै हुन् । उनलाई नै भारी बोक्न लगाएर खिचिएको हो ।

आस्थाकै लागि लेखिएको गीत

सुरेश अधिकारी

आस्था राउतलाई गायन क्षेत्रमा मैले छोरीजस्तै हुर्काएको हुँ । स्कुलदेखि नै ‘गाइड’ गर्दै आइरहेको छु । उसले एल्बम गर्ने भनेपछि कस्तो गीत दिँदा राम्रो हुन्छ भन्ने सोचेरै चार वर्षअघि यो गीत लेखेको हुँ ।
मैले यसमा आधुनिक नारीहरूको भावनालाई उतारेको छु । आधुनिक पहिरन र जीवनशैली हुँदैमा देशको माया नहुने होइन भन्ने भाव यसमा बुनेको छु । पछिल्लो समय राष्ट्रियता के हो भन्ने बिषयमा बहस भइरहेकै छ । यो गीत लेख्दा त्यही बहसले मलाई उत्प्रेरित गरेको थियो । राष्ट्रियता पहिरन वा बाहिरी आवरणमा होइन, हृदयमा हुनुपर्छ । कुनै निश्चित पहिरनलाई मात्रै राष्ट्रियता भन्ने परिभाषा अब फेरिनुपर्छ भन्ने आग्रह यो गीतमा मैले गरेको हुँ ।

यसका शब्दका बिषयमा दार्जिलिङ र सिक्किममा केही प्रतिक्रिया पनि आए, नेपाली पहिरनलाई वेवास्ता गरेको भन्ने भावका । त्यो उहाँहरूको धारणा हो, तर पहिरनले मात्रै नेपाली हुने होइन ।

यो गीत मैले पहिले नै पूरै लेखेको होइन । यसको स्थायी लेखेपछि आस्थाको आमा सावित्री राउतलाई देखाएँ र भनेँ, ‘मैले छोरीको लागि यो गीत लेखेको छु ।’ उहाँ आफैं पनि गीतकार हुनुहुन्छ । उहाँले गीत मन पराउनुभयो । त्यसपछि संगीत गरेँ र गाउन लगाएँ । आस्थाको स्वरलाई उपयुक्त हुन सकेन भने गीत अघि बढाउँदिनँ भन्ने सोच थियो । तर उसको स्वरमा गीत राम्ररी खुल्यो । त्यसपछि यसको अन्तरा लेखेको हुँ ।
गीतले सोचेभन्दा राम्रो सफलता पायो । नेपालमा मात्रै होइन, विदेशमा पनि उत्तिकै लोकप्रिय बन्यो । आस्था राउतलाई यही गीतले चिनायो । यसको भिडियो नबनेपछि युट्युबमा विभिन्न कभरहरू बनेका छन् ।
यसका शब्दका बिषयमा दार्जिलिङ र सिक्किममा केही प्रतिक्रिया पनि आए, नेपाली पहिरनलाई वेवास्ता गरेको भन्ने भावका । त्यो उहाँहरूको धारणा हो, तर पहिरनले मात्रै नेपाली हुने होइन । समयक्रमले त्यो प्रमाणित पनि गर्दै गएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपाली टोपी लगाएरै गएका हुन् नि, तर उनी नेपाली हुने त कुरै नगरौं, नेपालीलाई माया गर्ने पनि हुन सकेनन् ।
यो गीतले लोकप्रियता पाएपनि गीतकारका रूपमा भने त्यस्तो धेरै प्रतिक्रिया मैले पाएको छैन । मलाई विचारमा गोपाल योञ्जन निकै राम्रा गीतकार हुनुहुन्थ्यो । तर उहाँको संगीतकार व्यक्तित्वको कारण गीतकार व्यक्तित्व ओझेलमा पर्यो । म पनि त्यसबाट टाढा छैन । तर गीतले जुन सफलता प्राप्त गरेको छ, त्यसले निकै खुशी दिएको छ ।

विरोधमा जुलुसै निस्कियो

कुमार बस्नेत

मैले विभिन्न सन्दर्भ गीत संकलन गरेको छु । कहिले गीत संकलन नै गर्ने काममा लागि हिँडेको छु त कहिले संयोगले गीत भेटिन्छ पनि । ‘आमाभन्दा छोरी तरूनी, लिपिस्टिक पाउडरले’ बोलको गीत पनि यसरी नै संयोगवश भेटिएको हो ।
म घुम्ने क्रममा मलेखु पुगको थिएँ । त्यहाँ नजिकै विवाह रहेछ । मलाई निम्ता त थिएन, तर साथीले जाऊँ भन्यो । मलाई पनि त्यहाँ बजिरहेको सहनाइको धँनले तानिरहेको थियो । त्यसैले गएँ । त्यहाँ गइसकेपछि ‘कुमार दाइ, कुमार दाइ’ भनेर केही केटाहरू आए । त्यहाँ कुराकानी हुँदै थियो । त्यसै क्रममा एउटाले एकजना महिलालाई देखाउँदै भन्यो, ‘हैट्, त्यो त कस्तो सिंगारिएर आइछ, छोरीभन्दा आमा तरूनी ।’
मलाई मौलिक शब्दले तानिहाल्यो । कान ठाडो भन्यो । अनि मैले उसलाई भनेँ, ‘तपाईंले अहिले बोल्नुभएको तुक्काको बारेमा केही गीत होलान् । खोज्नुस् न । म केही दिनपछि आउँछु । अनि कुरा गरौंला ।’
त्यसपछि म त्यहाँ गएँ । उनले केही शब्द खोजिरहेका रहेछन् । हामी नजिकैको खोलामा माछा मार्दै गफ गर्न थाल्यौं । अनि शब्द थपिँदै थयो ।

गीत गाउँदै थिएँ, चुरोटको बट्टामा लेखिएको एउटा चिट आयो, ‘तपाईं नेपाली भएर नेपालीकै बद्नाम गर्ने छोरीभन्दा आमा तरुनी गीत किन गाउनुहुन्छ ?’

प्रजातन्त्र आइसकेपछि ०४८ सालमा गीत रेकर्ड भयो । गीतमा ‘हो कि होइन हो, होइन भन्ने को ?’ भन्ने राम थापाले थप्नुभयो । गीत निकै चर्चामा आयो । तर गीतको विरोध हुन थाल्यो । सुर्खेतमा जुलुसै निकाले । केटाहरूको जुलुस एकातिर, केटीहरूको अर्कातिर । काठमाडौंमा पनि त्यस्तै विरोध भयो । त्यसपछि गीत बन्द नै गरियो ।
म सञ्चय कोषको हाकिमको हैसियतमा धनकुटामा शाखा खोल्न जानुपर्ने थियो । गिरिजा कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले शाखा उद्घाटन गदै हुनुहुन्थ्यो । उहाँ हेलिकोप्टरबाट आउनुभयो र उद्घाटन गरेर जानुभयो । मेरो अफिसियल ड्युटी त सकियो । बेलुका फुर्सद भइहाल्यो । म पुगेको त्यहाँका जनताले थाहा पाइहाले । उनीहरूले भने, ‘तपाईं आएको थाहा पाएर हामीले स्टेज बनाएका छौं । तपाईले गीत गाउनुपर्छ है ।’ मैले हुन्छ भनें ।
बेलुका म खाना खान भनेर निस्केको थिएँ । होटलनजिकै चौरमा कार्यक्रम रहेछ । मनमोहन अधिकारीले भाषण गरिरहनु थियो । तर मलई कसले देखिहालेछ । ‘ओहो, कुमार बस्नेत !’ भनेर चिच्याए । मानिसहरू त ह्वार्रै मतिर आए । उहाँको भाषण एकछिन ‘डिस्टर्ब’ भयो । त्यसले मलाई नराम्रो पनि लाग्यो । म कुनै राजनीतिक पार्टीमा त थिइनँ, तर मलाई उहाँको भाषण बिथोलेको आरोप लाग्छ कि भन्ने पनि लाग्यो । तर त्यस्तो त भएन । खाना खाइसकेपछि मैले स्थानीयले बनाएको स्टेजमा गीत गाएँ । गीत गाउँदै थिएँ, चुरोटको बट्टामा लेखिएको एउटा चिट आयो, ‘तपाईं नेपाली भएर नेपालीकै बद्नाम गर्ने छोरीभन्दा आमा तरुनी गीत किन गाउनुहुन्छ ?’
त्यसपछि मैले स्टेजबाट भनें, ‘दिदीबहिनी मेरो पनि छन् । नेपालका सबै दिदीबहिनी मेरा पनि हुन् । मैले उहाँहरूलाई होच्याउन खोजेको होइन । खराब भन्न खोजेको पनि होइन । तर छोरीभन्दा आमा तरूनी समाजको वास्तविकता हो । त्यो समाजमा देखिन्छ । बाउले कमाएको पैसा आमालाई बुझाउँछ, छोरीले त पाउँदिनँ । त्यसले पनि आमालाई तरुनी बनेर हिँड्न बढी सहज हुन्छ । यो यहाँमात्रै होइन, विश्वभर नै हो । त्यसो त उमेर ढल्कँदै गएपछि बढी श्रृंगार गर्ने चलन हुन्छ नै । यो त्यसैले अपमानको गीत होइन । यदि माइकल ज्याक्सन वा बिटल्सले यस्तै गीत गाएको भए संसारभर प्रसिद्ध हुन्थ्यो ।’ मैले त्यसो भनेपछि त्यहाँ ताली गुञ्जियो । त्यसकै प्रभाव हो या के हो गीत फेरि बज्न थाल्यो ।
܀܀܀