जनता जगाउने किताबको अनुवाद

जनता जगाउने किताबको अनुवाद

असार १९, २०७८ 1 By शकुन्तला जोशी
शेयर गर्नुहोस्

राजनीतिक दल र अभिव्यक्ति स्वतन्त्रता प्रतिबन्ध लगाएर निर्बन्ध अघि बढ्ने सोचबाट निर्देशित पञ्चायतले दशक पार गरेको थियो ।

यस अवधिमा जनतामा भने स्वतन्त्रता र परिवर्तनको भोक भुसको आगोझैं सल्किन थालेको थियो । क्रान्तिका लागि वस्तुगत परिस्थिति अनुकूल बनिरहेको विष्लेषण गरिरहेका थिए कम्युनिष्टहरू ।

भलै, विभिन्न धार–समूहमा विभाजित थिए, तापनि क्रान्तिको सपना सबैले देखिरहेका थिए । क्रान्तिसम्बन्धि किताबहरू पाठ्यक्रम बनाएरै कार्यकर्ता र जनतालाई पढाउन सक्रिय थिए ।

किताब–पत्रपत्रिका पाउने स्थान सीमित थिए । त्यसैमध्येको एउटा थियो– नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य निरञ्जन गोविन्द वैद्यको भोटाहिटीस्थित प्रगति पुस्तक भण्डार ।

पेइचीन रिभ्युदेखि युवाहरूको गीतसम्म, गोर्कीको बहुचर्चित उपन्यास ‘आमा’देखि रादुगा प्रकाशन, मस्कोबाट आउने विभिन्न किताब उनको पसलमा पाइन्थे । कतिपय किताब खुलेर पढ्न वा खरिद गर्न पाइने, कतिपय लुकिछिपीमात्रै ।

‘उपन्यास पढिसक्दा एउटा सिंगै क्रान्ति भोगेजस्तो, देखेजस्तो बोध भयो । गज्जब आनन्द र उर्जा मिल्यो’, उनी सम्झन्छन्, ‘चिनियाँ क्रान्तिको एक कालखण्डलाई आख्यानीकरण गरिएको दस्तावेज नै थियो त्यो ।’

विदेशी किताब प्रायः हिन्दी वा अंग्रेजी भाषामा आउँथे । त्यही माचोमा आइपुगेको थियो लि शिन–तियन लिखित लघु आकारको उपन्यास– ब्राइट रेड स्टार ।

चाइनिज भाषामा लेखिएको उक्त उपन्यासले सन् १९७४ मा अंग्रेजी भाषामा अनुवाद भएपछि विश्व–यात्रा सुरु गरेको थियो ।

अंग्रेजी भाषाका किताबको पाठक स्वाभाविक रूपमा कम हुन्थे । त्यही कममध्येमै पर्थे– तत्कालीन नेकपा (चौथो महाधिवेशन)का नेता सीताराम तामाङ्ग ।

उनलाई उछिनेर किताब पढिसकेका युवाहरूबाट चर्चा सुनेपछि उनले पनि बैद्यको पसलबाट ‘रेड ब्राइट स्टार’ उठाए । किताब उनलाई मन पर्यो ।

‘उपन्यास पढिसक्दा एउटा सिंगै क्रान्ति भोगेजस्तो, देखेजस्तो बोध भयो । गज्जब आनन्द र उर्जा मिल्यो’, उनी सम्झन्छन्, ‘चिनियाँ क्रान्तिको एक कालखण्डलाई आख्यानीकरण गरिएको दस्तावेज नै थियो त्यो ।’

ब्राइट रेड स्टारको गाता

निर्मल लामाको प्रेरणा
तामाङ २०२२ सालदेखि विद्यार्थी आन्दोलनमा सक्रिय थिए, नेकपा (चौम)का शीर्ष नेता निर्मल लामाको निकट पनि । निर्मल लामा–सुकन्या वाइवा दम्पत्ति र साहित्यकार पारिजातको बसाइ म्हेपीमा थियो ।

हाल सुकन्या बस्ने घरभन्दा केही पर ठूलो कुखुरा फार्म भएको स्थानमा घर थियो । निर्मल लामा भने राजनीतिक मुद्दामा जेल परेका थिए, उनी २०२८ सालमा छुटे र घर आए ।

पार्टीसँग जोडिएकाहरू निर्मल लामा र साहित्यकारहरू पारिजात भेट्न उक्त घरमा पुगिरहन्थे ।


तामाङ्ग लामालाई भेट्न त्यहाँ पुगेका बेला ‘ब्राइट रेड स्टार’को प्रसंग निस्कियो । सोही सन्दर्भमा लामाले उक्त पुस्तक नेपालीमा अनुवाद गर्न तामाङलाई भने ।

माओत्सेतुङ नेतृत्वको चिनियाँ क्रान्तिमा एउटा बालक कसरी सहभागी हुन्छ भन्ने कथानक रहेको किताब नेपाली क्रान्ति जगाउने बलियो माध्यम हुने ठहर लामाको थियो । तामाङ व्यवसायिक अनुवादक थिएनन् । तर अंग्रेजी भाषामा पकड भएका कारण उनले जिम्मेवारी पूरा गर्न सक्छन् भन्ने विश्वास लामालाई भएको हुँदो हो ।

पार्टीको बुद्धिजीवि मोर्चामा आबद्ध तामाङलाई पनि पढिसकेपछि लागेकै थियो, ‘जनतालाई सजिलोगरी क्रान्ति बुझाउन किताब उपयुक्त छ ।’ त्यसैले उनी पनि तयार भए ।

‘उपन्यासको पात्र बालक तुङ च कुनै पार्टीमा आबद्ध त छैन । तर क्रान्तिकारी बा–आमाको सपना आत्मसात् गरेर वर्गशत्रुसँग भिड्ने योद्धा बन्छ । त्यसक्रममा उसको भोगाइ, सिकाइ र उत्सुकता एकदम प्रभावशाली छ ।

भन्छन्, ‘एउटा भाषाका मौलिक कृतिलाई अनुवाद पढेर अर्को भाषामा उतार्नु जटिल थियो । तैपनि आँट गरेँ । पहिलो चरणमा त्यतिबेलाको आवश्यकता पूर्ति गर्न सामान्य भाषामा अनुवाद गरेँ । झण्डै सात महिनामा अनुवाद सकेको थिएँ ।’

र, नेपाली पाठकले आफ्नै भाषामा ‘रेड ब्राइट स्टार’लाई ‘चम्किलो रातो तारा’को रूपमा पढ्न पाए ।

अनुवाद थाल्नुअघि उनले उपन्यास चार पटक पढे । चीनमा माओत्सेतुङले जनक्रान्ति विस्तार गर्न र जापानी दमनबाट जनतालाई बचाउन जनमुक्ति सेना बनाएर सन् १९३४ अक्टोबर १६ देखि १९३५ अक्टोबर २२ सम्म ‘लङमार्च’ गरेका थिए ।

त्यो रणनीतिक मार्चमा कस्ता जनता जोडिएका थिए ? त्यो अभियानले कसरी बालबालिकासम्मलाई क्रान्तिमा लाग्न उत्साहित गरेको थियो ? भन्ने कथाले तामाङलाई तानेको थियो ।

उनी भन्छन्, ‘उपन्यासको पात्र बालक तुङ च कुनै पार्टीमा आबद्ध त छैन । तर क्रान्तिकारी बा–आमाको सपना आत्मसात् गरेर वर्गशत्रुसँग भिड्ने योद्धा बन्छ । त्यसक्रममा उसको भोगाइ, सिकाइ र उत्सुकता एकदम प्रभावशाली छ ।’

चम्किलो रातो तारा किताबको गाता

क्रान्तिको आगोमा उर्जा
त्यसबेला भारतमा चारु मजुमदारको नेतृत्वमा किसान क्रान्ति चर्किरहेको थियो । जसको प्रभाव नेपालमा पनि परेको थियो । पञ्चायतविरोधी आन्दोलन उठ्न सुरु भएको थियो ।

दल प्रतिबन्धित भएकाले विरोध गर्न निस्कनेमा विद्यार्थीहरू हुन्थे । उनीहरूभित्र सल्किरहेको क्रान्तिको आगोलाई थप उर्जा चाहिएको थियो । अर्थात क्रान्तिकारी पठन सामग्री चाहिएको थियो ।

‘चम्किलो रातो तारा’ त्यसमध्येको एउटा बन्ने विश्वास लामा र तामाङको थियो । त्यसैले किताब जसरी पनि छाप्नु थियो ।


तामाङ भन्छन्, ‘पार्टीसँग पनि आर्थिक स्रोत बलियो थिएन । मलाई ठ्याक्कै सम्झना त छैन तर पार्टीले केही सहयोग गर्यो, मैले ९/१० हजार रूपैयाँ आफैँ खर्च गरेर किताब छापियो ।’

काठमाडौंबाहिर किताब पठाउन गाह्रै थियो । तर साथीहरुले खोजेर– किनेर पढ्न थाले । एकजनाले किनेको किताब धेरैले बाँडेर पनि पढे । नभन्दै किताबले क्रान्तिकारी मुटुहरूलाई उर्जा दिने काम गर्न थाल्यो ।

त्यसबेला उनी कृषि विकास बैंकमा जागिरे थिए र कलेजहरूमा प्राध्यापन पनि गर्थे । त्यसैले त्यति खर्च जुटाउन धेरै गाह्रो परेन । पहिलो संस्करण एक हजार एक सयप्रति छापिएको उनलाई सम्झना छ । तर छापिएको प्रेसको नामचाहिँ उनले भुले ।

‘त्यतिबेला लिथो मेशिनवाला छापाखाना हुन्थे । वामपन्थी आन्दोलनलाई सघाउने केहीको पनि त्यस्ता छापाखाना थिए, जसमा वामपन्थी धारका पत्रिका पनि छापिन्थे । त्यसैमध्ये क्षेत्रपाटीमा रहेको एउटा प्रेसमा आफैं धाएर किताब छापेको थिएँ’, उनले भने ।


किताब छापिएर हात पर्दा उनलाई निकै खुसी लागेको थियो । लगत्तै उनले किताब नेता लामालाई दिए, उनी पनि खुसी भए । प्रकाशकले दिएका केही प्रति किताब उनले फटाफट पार्टीकै साथीहरूलाई बाँडिदिए ।


त्यस कालमा काठमाडौंबाहिर किताब पठाउन गाह्रै थियो । तर साथीहरुले खोजेर– किनेर पढ्न थाले । एकजनाले किनेको किताब धेरैले बाँडेर पनि पढे । नभन्दै किताबले क्रान्तिकारी मुटुहरूलाई उर्जा दिने काम गर्न थाल्यो ।

अनुवादक सीताराम तामाङ्ग

भाषाको भेउ
क्रान्तिको ज्वारसँगै किताबको प्रसार बढे पनि उनी किताबको भाषाप्रति भने तामाङलाई असन्तुष्टि थियो । ‘त्यो कामचलाउ भाषामात्रै थियो’, उनी भन्छन्, ‘चिनियाँ भाषाको मोडेलमा अनुवाद गर्नुपर्ने, नेपाली मोडेलमै अनुवाद भएको थियो ।’ पछि उनले चिनियाँ भाषाको मौलिकता दिने गरी उपन्यास अनुवादको सम्पादन पनि गरे ।

त्यसो गर्नुको कारण स्पष्ट पार्दै उनी भन्छन्, ‘हामी दुई भाषा बोल्छौं– तिब्बत बर्मेली र भारोपेली । मेरो मातृभाषा पनि तिब्बत बर्मेली भाषिक परिवारमै पर्छ । उदाहरणका लागि, भारोपेली भाषामा काकालाई कान्छाबाउ भनेर सम्बोधन गर्ने चलन हुन्छ भने हाम्रो तिब्बत बर्मेली भाषिक परिवारमा ‘बाउकान्छा’ वा ‘काका कान्छा’ भन्नुपर्ने हुन्छ । बाउको सन्तानमा कान्छो भन्ने अर्थमा त्यसरी भनिन्छ । तर कान्छा पहिले जोडियो भने हाम्रो संस्कृत आधारित भाषामा कुटाइ पो खाइन्छ । अनुवादकले ध्यान दिनुपर्ने विषय रहेछ यो । किताबप्रति भाषिक हिसाबले पनि न्याय गर्नुप-यो भन्ने लागेर मैले बहुदल आएपछि सम्पादन गरेँ ।’

हाल प्रगति पुस्तक सदनको प्रकाशनमा उपलब्ध किताब सोही सम्पादित भाषाको हो ।

उपन्यासकार लि शिन-तियन

किताबको कीर्ति
‘चम्किलो रातो तारा’ले उनलाई देशैभरका युवामाझ चिनायो । देशका विभिन्न ठाउँमा अनेक जिम्मेवारीले पुग्दा किताबका पाठक प्रशस्तै भेटे । किताबकै कारण सम्मान र प्रेम पाए ।


‘जहाँ पुग्दा पनि तपाईंको किताब पढेँ, त्यही किताब पढेर म आन्दोलनमा जोडएँ भन्ने युवा भेटिन्थे । कतिपय किसानले पनि मलाई यस्तो प्रतिक्रिया दिए । अझ माओवादी जनयुद्धकालमा किताब धेरै नै पढियो । किताबले आन्दोलन बुझ्न जनतालाई मद्दत पुगेको देख्दा खुसी लाग्थ्यो’, उनले भने ।

लेखकको स्मृति
आज अर्थात् जुलाई ३ तारिख लेखक लि शिन–तियनको दोस्रो स्मृति दिवस हो । अनुवादकको पहिचान निर्माण गरिदिने किताबका लेखकलाई तामाङ सम्मानपूर्वक सम्झन चाहन्छन् । तामाङलाई लाग्छ, ‘लि शिन–तियन सामान्य तरिकाले महान् विषयलाई उठान गर्ने लेखक हुन् ।’


तर उनको किताब जति चर्चित छ, त्यति नै गुमनाम छन् उनी । नेपालमा उनलाई सम्झने कष्ट गरेको देखिँदैन । धेरैलाई त उनको निधन दुई वर्षअघिमात्रै भएको भन्ने पनि थाहा छैन होला ।

‘अहिले त संसदीय व्यवस्थाका नेतृत्वमा पुगेकाहरू विचारको धरातलबाट विचलन भएर राम मन्दिर बनाउने, पशुपतिनाथमा सुनको जलप चढाउने चरणमा पुगे । उनीहरूलाई यस्ता किताबको सम्झना हुन पनि गाह्रो होला ।

चीनमै पनि उनको चर्चा कम हुँदोरहेछ जस्तो लाग्यो तामाङलाई । भन्छन्, ‘एउटा गोष्ठीमा सहभागी हुन सन् १९८० मा चीनको सांघाइ पुगेको थिएँ । अर्कै सन्दर्भमा गएकाले पनि हुनसक्छ, उनीबारे कतै चर्चा सुनिनँ ।’


नेपालमा चर्चा नहुनुलाई चाहिँ स्वाभाविक नै मान्छन् तामाङ । ‘आन्दोलनको बेला यस्तो किताबको खोजी हुने हो बढीजसो । अब नेपालको कम्युनिष्ट आन्दोलन नै दिशाहीन भएको बेला, भनौं कम्युनिष्ट नामधारी पार्टीहरु पूँजीवादी दिशामा अग्रसर भइसकेको यो सन्दर्भमा उनको सम्झना हुन नसक्नु स्वभाविक हो ।’ उनले भने ।


उनलाई सम्झना छ– त्यो बेलाका चौथो महाधिवेशन, माले, माक्र्सवादी केन्द्रलगायतका पार्टी क्रान्तिकारी धारका थिए र पढिन्थे चम्किलो रातो तारा’का साथै गोर्की, चेखब, लु सुनहरूका किताबहरू । उनी व्यंग्य कस्छन्, ‘अहिले त संसदीय व्यवस्थाका नेतृत्वमा पुगेकाहरू विचारको धरातलबाट विचलन भएर राम मन्दिर बनाउने, पशुपतिनाथमा सुनको जलप चढाउने चरणमा पुगे । उनीहरूलाई यस्ता किताबको सम्झना हुन पनि गाह्रो होला ।’

तर उनी आशावादी छन्, फेरि यस्ता किताबको महत्व बढ्नेबारे । उत्साहित हुँदै भन्छन्, ‘हाम्रो नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)को पाठ्यक्रममा त अहिले पनि चम्किलो रातो तारा समावेश छ ।’
०००