लङ बुटको सपना

लङ बुटको सपना

असार १३, २०७८ 2 By शकुन्तला जोशी
शेयर गर्नुहोस्

उनको ढाडमा अडिएका सिमेन्टका बोरा कुन ब्राण्डका थिए, याद गरिनँ । तर त्यो सिमेन्टको धुलोले छोपिएको महिलाको हुलियाले मलाई झट्ट तान्यो । उनी चलमलाइरहेको सिमेन्टकै मूर्तिजस्तो देखिएकी थिइन्, सारा शरीर सिमेन्टकै रंग । सटरबाट बोकेर ल्याएको सिमेन्टको बोरा छेवैमा अडिएको ट्रकमा अपलोड गरिन् । फुत्त बोरा फालेपछि उनी बाटोपट्टि फर्किइन् । उनको अनुहार पनि सिमेन्टकै रंगमा मिलेको थियो, मात्रै आँखाका दाना टल्किए । अग्लो कदकी उनको ज्यानमा टीसर्ट, तल हाफ प्यान्ट, गोडामा चप्पल, टाउकोमा सल थियो । उनी एकपछि अर्को बोरा ट्रकमा ओसार्दै थिइन् । त्यस्तो धूलोमा काम गर्ने उनको मुखमा न मास्क थियो, न त आँखा छोप्न चश्मा ।
तीन वर्षअघिको एक बिहान, कार्यालय नजिकै पुग्दा पहिलो पल्ट मैले उनलाई देखेकी थिएँ । जडिबुटी, नरेफाँटको एउटा सिमेन्ट डिपोमा अरू मजदुरसँगै उनी पनि धमाधम सिमेन्टका बोरा उठाउँदै थिइन् । हुन त यो सहरमा हजारौं मजदुर त्यस्तै हुलियामा काम गर्छन् । उनीहरूले काम गरिरहेको ठाउँमा बेकाम उभिएर हेरिरहनु बेसोमत लाग्यो । म बिस्तारै आफ्नो बाटो लागें । त्यसपछिका दिनमा उनलाई प्रायः म त्यसरी नै बोरा उठाइरहेको देख्थें । बुङबुङ उडिरहेको सिमेन्टको धुलोको कुनै परवाह थिएन । उनलाई देखेपिच्छे लाग्थ्यो, कम से कम मुख त छोप्नु नि केहीले ।

तुलसा दर्जी l तस्विर: शकुन्तला जोशी


म प्रायः उनलाई हेर्दै हिड्थें, सधैँ त्यही बाटो हिँड्ने भएर होला, उनले पनि याद गरेको हुनुपर्छ, पछिल्ला दिनमा यसो आँखा जुधे हामी दुवै मुस्कुराउँथ्यौं तर आआफ्ना गतिमा हुन्थ्यौं । मेरो दिमागबाट फेरि उनको कथा टुंगिन्थ्यो । म आफ्नै काममा हराउँथे । समय बित्दो थियो, उनको काम गर्ने साहुको डिपो र मेरो कार्यालय एउटै बाटोमा केही वरपर थिए । एकदिन उनी आफ्नै रंगमा देखिइन् । गहुँगोरो वर्णकी, लाम्चो अनुहार, त्यस्तै ३५/३६ वर्ष जति उमेर । नाकमा फुली लगाएकी, दुवै कानमा थुप्रै ओटा सुनका मसिना मुन्द्री, पुरानिँदै गएको सेतो सर्ट र हाफप्यान्ट । उनको हुलिया बडो आकर्षक लाग्यो मलाई ।
‘काममा हिँड्नु भो ?’ आँखा जुधेपछि मैले यसै बोलाएँ ।
‘हजुर म्याम, आज भर्खर ।’
यसरी हाम्रो सामान्य संवाद सुरु भएथ्यो । देख्यो कि हाँस्दै एकाध शब्द बोल्दै हिँड्ने । एकदिन ठ्याक्कै उनीजस्तै अनुहारकी कदमा अलिकति होची एउटी केटी सिमेन्टले धुलाम्मे जसो भएर उनीसँगै देखिइन् । उनीहरूको अगाडि ३/४ वर्षका दुई बालक पनि हिँडिरहेका थिए । पछि थाहा भयो, उनीहरू आमाछोरी रहेछन् र दुई बालक एउटा आमाको, अर्को छोरीको । सुनेर एकछिन मेरा आँखा विस्फारित भए ।
हिउँद लाग्यो, अपरान्हसम्म सिमेन्टका बोरा ओसार्ने, साँझ परेपछि डोकोभरी कल्कलाउँदो साग लिएर उनी टोलमा बेच्न निस्कन्थिन् । कहिले टिसर्ट, प्यान्ट, जुत्तामा ठाँटिएर फटाफट हिँडेको पनि देखें । उनलाई फरक–फरक पल्ट देख्दा लाग्यो, उनी चलचित्रको बहुचरित्र निर्वाह गरिरहेकी कलाकार हुन् । उनको ‘ज्याङ्गो’ हुलिया र बाँकी कथानकले मलाई उनीबारे जान्ने इच्छा जाग्यो । तर, आफ्नै जिम्मेवारीका अनेक तानाबाना मिलाउँदा–मिलाउँदै समय यसै बितिगयो । कोरोनाले झन् मान्छे–मान्छेबिच दूरी बनाइदियो ।
यसपालि भने दूरी बनाएरै भएपनि उनीसँग अन्तरङ्ग कुरा गर्न हुटहुटी जाग्यो र म भक्तपुरदेखि हिँडेर नरेफाँट पुगेँ । मोबाइलमा भएको सल्लाहअनुसार गत बुधबार म बिहान ८ः३० बजे नै मेरो कार्यालय पुगें । तर दुई घण्टा बितिसक्दा पनि उनी फोन सम्पर्कमा आइनन् । ‘लौ कहाँ गइन् त ?’ सोच्दै थिएँ, टुप्लुक्क आइपुगिन् । अफिसमा छिर्दाछिर्दै याचनाको स्वरमा भनिन्, ‘हेर्नोस् न म्याम, म त बाहिर निस्केको थिएँ, उतै अलमलमा परेँ, यो टिकटिकै फोन पनि पो घरै छुटेछ आज । तपाईंलाई कुराएँ है ।’ यति भनेर उनले नोकियाका सानो श्यामश्वेत फोन देखाइन् ।
आज उनी मौलिक हुलियामै थिइन् । हामी बसेर कुरा गर्न थाल्यौं । उनी घरी बाल्यकालकालमा डुबुल्की मारेर हुर्किएको लिखु खोलाजस्तो सङ्लो भइन् त, घरी छेवैको बागमतीजस्तो धमिलो ।
‘सधैँ यत्तिकै सिमेन्ट बोक्दा खोकी लाग्दैन ?’, सोधें ।

तुलसा दर्जी l तस्विर: शकुन्तला जोशी


‘खैै म्याम, पचिसक्यो होला । घर त त्यस्तो बन्दिलो बनाएर उभ्याउने धुलो, छातीमा पनि पर्खाल उभ्याइसको कि ? के छ के । तर यै सिमेन्टले बलेको छ चुलो । नबोकेर के गर्नु ! नाम्लो र बोरा त मेरो भाग्यमै रैछ क्यार । आठ वर्षदेखि बोकें, उहिले बालुवा र घाँसको भारी, अहिले सिमेन्ट ।’ फिस्स हाँस्दै एक सासमा बोलिन् ।
उनको कथाको पोयो फुक्दै गयो । ओखलढुंगाको गाम्लुङटार गाविस (हाल लिखु गाउँपालिका), क्षेत्री बाहुन बाहुल्य गाउँमा दुई घर दलित । आमाबाका ६ जनामध्येकी दोस्रो सन्तान थिइन् तुलसा दर्जी(३९) । थोरै जमिनको उब्जाउले मुस्किलले दुई महिना खान पुग्थ्यो । लुगा सिलाएर उस्तो आम्दानी नहुने ।
उनीे स्कूलभन्दा बेसी लिखु खोला धाउँथिन् । घरमा खानकै दुःख, खोलाको बालुवामा पैसा थियो । आमाको पछि लागेर जाँदा मेसो पाएपछि उनी स्कूलबाट भागेर एक्लै खोला पुग्थिन– बालुवा निकाल्न र बोक्न । जति काम गरेपनि ठेकेदारले दिने महिनाको तीन सय रुपैयाँ । खोलाकै बगरमा आमा साना भाइबहिनीलाई सँगै झुन्ड्याएर लान्थिन् । उनीहरू बालुवा निकाल्थे र बेच्थे । आमाले घरखर्च चलाउँथिन् । कहिले आमा–बुबा विष्टका खेतबारीमा बनिबुतो गरेर चारमाना ल्याउँथे, कहिले तिनकै लुगा सिलाइदिन्थे ।
उनलाई कहिल्यै काम गर्न अल्छी लागेन । आफ्नै दामले सरिता खड्काको घाँसको भारी प्रायः उनैले डाँडा कटाइदिन्थिन् । साथीको लागि जे गर्न पनि तयार, फेरि खानेकुरा पनि पाइने । यसै फुरुक्क । १३ वर्षको उमेरसम्म उनले यसरी घाँसका भारी कति ओसारिन्, गन्ती छैन । खड्काका घरमा दही, दूध वा केही खानेकुरा पाएर उनी मख्ख पर्थिन् । कसैले लुगा धुन लाउँथे, कसैको बच्चालाई तेल लाइदिन पथ्र्यो, कोहीका गोडा पनि मिचिदिइन् । भन्छिन्, ‘चलिआएको रीत, घरभित्र पस्न हुँदैन भनेपछि हामीलाई त्यसको मतलबै लाग्दैनथ्यो । तर जे पाके पनि क्षेत्रीबाहुन छिमेकीले हामीलाई दिन्थे । सघाउपघाउ गर्ने घरकाले दशैंमा एक जोर लुगा पनि दिन्थे । एक हिसाबले उनीहरूकै काखमा उनीहरूकै जुठो खाएर हुकिर्यौं हामी ।’

तुलसा दर्जी l तस्विर: शकुन्तला जोशी

रजस्वला नहुँदै विवाह
आक्कलझुक्कल स्कूल गएकै भरमा उनी ४ कक्षासम्म उक्लिइन् । दुःखकै भुवँरीमा खेल्दै हुर्किदै थिइन् । जे भएपनि आमाबुबाको काखमा थिइन् । तर परिवारको त्यो न्यानो उनको जीवनमा चाँडै छुटिहाल्यो । उमेरसँगै बढ्ने शारीरिक संकेतहरू पनि नदेखिँदै अचानक हजुरबाले उनको विवाह गरिदिए । रजस्वला पनि नभइसकेकी १४ वर्षे बालिका ७ वर्ष जेठो श्रीमान्को घरमा पुगिन् । प्रेम भन्ने कस्तो हुन्छ ? थाहा नपाइ २४ वर्षको हुँदासम्म उनी तीन छोराछोरीकी आमा भइन् ।
बिहे भएको एक–डेढ वर्षसम्म उनलाई जतिबेला पनि माइतीघरै जान पाए हुने जस्तो लागिरहन्थ्यो । छोराछोरी हुँदै गए । उनलाई लाग्न थाल्यो, दुःख त गरिबको भाग्यमा यस्तै हो, घर गरिखानु पर्छ । तर सकिनन् । कहिले ज्यामी काम गर्ने, कहिले लुगा सिलाउने उनका श्रीमान् भातभन्दा बढी रक्सी पिउने रहेछन् । रातदिन मातेर झल्लु भएर आएपछि सधैँ उनलाई पिट्न थाले । जेले पायो त्यसैले हिर्काउने, नाकमुखबाट रगतै छदाउने । नीलडामले भरिएको जिउ जताततै छुन नहुने गरी दुख्ने । लुगाफाटो, भाँडाकुँडा, कहिले त भाँडामा हालेको चामलसम्म बेचेर रक्सी खाने । श्रीमान्को पिटाइबाट फुटेर बसेको चोटको खत अहिले पनि उनको टाउकोमा छ । श्रीमानलाई सासुससुराले कति सम्झाए, उनले कति अनुनय गरिन् । तर उनी रक्सीमा परिणत भइसकेका थिए, तुलसाको केही सिप लागेन । विरक्तिएकी उनी २२ वर्षको उमेरमा बच्चाहरू सासुको जिम्मामा छाडेर एकदिन घरबाट भागिन् र काठमाडौं आइन् ।

छोरा र तुलसा दर्जी l तस्विर: शकुन्तला जोशी

बाँदरले रुवायो
गाउँकै चिनारुको सहयोगले पेप्सीकोलामा बालुवा डिपोमा काम पाइन् । गाउँकै टारबारी कान्छी दिदीको घर पनि त्यतै रहेछ, दिदीको घरको काम पनि गर्न थालिन् । उनै कान्छी दिदीले एक बिहान पशुपतिनाथ मन्दिर घुमाउन लगिन् । मन्दिर परिसरमा एउटा माउ बाँदरले एउटा बच्चा ढाडमा र एउटा अगाडि बोकेर हिँडिरहेको थियो । बाँदरले उनलाई बेस्सरी रुवायो । भन्छिन्, ‘बाँदरले त यसरी बच्चा बोकेर हिँड्दो रछ, म मान्छे भएर के भाको होला । बालखा छोराले पनि हिड्ने बेला भनेको सम्झें । ममी, मलाई गोल्ड स्टार जुत्ता किनेर ल्याइदिनु है, तपाईं नआइन्जेल म टारबारी डिलमा पर्खिबस्छु । कठै ! छोराछोरी पर्खिबसेका होलान् । मन असाध्यै पोल्यो । मैले पशुपति भगवानसँग दुःख सहने र गरिखाने शक्ति मागेँ ।’
उनी काठमाडौं आएको एक महिना भइसकेछ । मन्दिरबाट फर्केपछि उनले साहुसँग पैसा मागिन् । मरमसला, छोराको लागि गोल्डस्टार जुत्ता किनिन् । भोलिपल्टै घर पुगिन् । ‘यत्रो दिन हराएर घर फर्किँदा अब बाँच्न दिदैनन् श्रीमान्ले ।’ पिटाइ खाने डरले छोराछोरी लिएर माइती पुगिन् । केही दिन पछि विचार गरिन्, माइतीमा पनि सँधै राम्रो नहोला, उनी बाम्ह्रण बस्तीतिरै आड लिएर बसिन् । त्यसबिच श्रीमान् पटकपटक लिन आएपनि गइनन्, त्यतै गिट्टी कुट्दै गाउँलेहरूको काम गर्दै छोराछोरी पालेर बसिन् । ६ वर्षपछि फेरि श्रीमान्ले आइन्दा नकुट्ने कागजी सर्त गरेपछि उनी घर फर्किइन् । कान्छी छोरी जन्मिइन् । तर लोग्नेको रक्सी र कुटाइको कथा टुंगिएन ।
गाउँमा लिखु जलविद्युत् आयोजना शुरु भयो । एकदिन तीन वटै छोराछोरी टिपेर गिट्टी कुट्न भन्दै तुलसाले सँधैका लागि घर छाडिन् । घर छाडेपछि गाउँमा कतिले कुरा काटे हुन्, त्यसको पछि लाग्ने उनलाई फुर्सद थिएन । आयोजनाको छेवैमा सानो होटल चलाएर बसेकी सैपु गाउँकी एक सुनार आमाले उनलाई आश्रय दिइन् । दुःखमा साथ दिने ती आमालाई उनी आज पनि दोस्रो आमा मान्छिन् ।

तुलसा दर्जी l तस्विर: शकुन्तला जोशी


आयोजनाका हाकिमकी श्रीमतीले एकदिन घरको काम सघाउन बोलाइन् । मासिक १ हजार ५ सय पनि पाउने, छोराछोरीले मिठोमसिनो खान र लुगाफाटो पनि पाउने । उनले लामै समय ‘हाकिम्नी’को सेवा गरिन् ।
उनी रातमा दुई घण्टा मात्र सुत्थिन् । मनमा दुःखको कुलकुले खोला सुसाइबस्थ्यो, बाक्लो निदै नपर्ने । अलिअलि लागे डर मान्छेकै लाग्थ्यो, अरु केहीको डर नलाग्ने उनलाई । केटाकेटी सुताएपछि उनी नजिकै खोलामा बालुवा निकाल्न जान्थिन् । कोशीको बगरबाट ठेकेदारको बालुवा ओसार्दा प्रतिबोरा ३० रुपैयाँ दिन्थे, उनी एकचोटीमा तीन बोरासम्म खप्टेर बोक्थिन् । दिउँसो पनि मौका मिल्यो कि कहिले बालुवा निकाल्ने कहिले नानीहरूले प्लाष्टिकका झोलामा ढुंगा खोजेर ल्याउँथे, उनी गिटी कुट्थिन् । कहिले रामकृष्ण गिरी साहुको पसलका लागि सिरक डसना सिलाइदिन्थन् । कालिका दिदीको किराना पसलका लागि ट्रकमा आएको सामान झार्ने बेला उनैले सघाउँथिन् । त्यताबाट दुईचार पैसा पाउँथिन्, प्याकेट फुटेका तेल, नुन, अण्डाहरू पनि उनलाई नै दिन्थे ।
जाँगरले गरिखाएकी थिइन् उनले । पचास किलोको सिमेन्ट बोरामाथि फलामे छड बोकिनन् कि फर्निचर हाउसबाट दराज ओसारिनन् । भोकको अघि घिनको के मतलब, उनले ढल पनि सोहोरिन् । बालुवा गिट्टी, मसलाका डोकोदेखि रासनका बोरासम्म उठाइन् । कसैका गोडामा चिल्लो घस्नेदेखि जुठोभाँडा माझ्नेसम्म । घाँसको भारी ओसारिदिनेदेखि सहरका टोलटोल साग बेच्दै हिँड्नेसम्म । उमेर त चालिस हो । तर आफ्नै भोगाइहरू सम्झिदै ल्याउँदा उनलाई लाग्छ, ‘त्यो भन्दा धेरै आयु भोगिसकेँ ।’

तुलसा दर्जी l तस्विर: शकुन्तला जोशी

गरिबलाई हैनछन् माओवादी नि !
माओवादी युद्धको प्रभाव उनको गाउँ पनि पुगेको थियो । गरीबको दिन ल्याउन पो बन्दुक बोकेका रे, उनले यदाकदा सुनेकी थिइन् । तर सेना पनि बन्दुक भिरेका, माओवादी पनि । निहत्था उनलाई बन्दुक बोकेकासँग डर लाग्थ्यो । एक रात कालिका दिदीको पसलका लागि सामान लिएर ट्रक बजारमा पुग्यो । उनी सामान अनलोड गर्दै थिइन् । ६/७ जनाको समूहमा आएका माओवादीका स्थानीय कमाण्डर डिल्लीबहादुरले उनीतर्फ संकेत गर्दै कडा चेतावनी दिए, ‘आइन्दा यसलाई काम नदिनु, दिए ठिक नहोला ।’ उनले किन ? भनेर प्रतिवाद गर्ने आँट पनि गर्न सकिनन् । भन्छिन्, ‘उनीहरू निकैबेर त्यही वरिपरि घुमिरहे । मेरो ७ वर्षे छोरो पनि तेलका स–साना कार्टुन मसँगै ओसारिरहेको थियो । अब मलाई त मार्लान्, यो बच्चा पनि मार्दिने भए क्यार भनेर डरले थुरथुर भएँ । पछि थाहा पाएँ, ती माओवादी मेरै लोग्नेले लगाएका रहेछन् । पोर्जेक्टमा दुनियाँ हाकिमसँग लागेर, लोग्नेमान्छे बिगारेर बसेकी छे, कारवाही गरिदिनू भनेका रहेछन् ।’
उनलाई अचम्म केमा लाग्यो भने गरिबका दिन पो ल्याउँछन् भन्थे, आफूजस्ती दुःखीया आइमाईलाई एक वचन सोध्दै नसोधी थर्काए, ज्यानको धम्की दिए । आयोजनाका हाकिमलाई पनि थर्काएका रहेछन् । हाकिमले जवाफ दिएछन्, ‘ठूली त्यस्ती छैन, उसका चिलिला केटाकेटी छन् । यस्ती महिलालाई विनाकारण हामी किन कामबाट निकालौं ?’ त्यस्तो जवाफ फर्काएकै कारण हाकिमसाबले पटकपटक धम्की पनि पाए भन्ने उनले पछि थाहा पाइन् ।
उनको दुःख, मिहिनेती स्वभाव र तीनतीन जना छोराछोरीका कारण उनलाई वरिपरिका प्रायः धेरैले दया-टिठ देखाउँथे । समाजमा कोही न कोही डाहा गर्ने भइहाल्छन् । उनलाई चरित्रहीन साबित गर्न लागि पर्नेको पनि कमी थिएन । हल्लाको भरमा उनलाई घृणाको नजरले हेर्नेहरू पनि उत्तिकै थिए । एक रात उनी खोस्टाको पिरा बुनेर बसिरहेकी थिइन् । रक्सीले टिल्ल भएका पुरुष उनको कोठामा जबरजस्ती पस्यो र उनलाई हातपात गर्न थाल्यो । नियालेर हेरिन्, ती त आफ्नै माइती गाउँका थलबहादुर पौडेल रहेछन् । ती माओवादीमा छन् भन्ने उनलाई थाहा थियो । फेरि उनको श्रीमानले तुलसाविरुद्ध तिनलाई प्रयोग गरेछन् ।

तुलसा दर्जी l तस्विर: शकुन्तला जोशी


पौडेलले भन्यो- ‘तँ दुनियाँसँग सुत्छेस्, मसँग सुत्न के भो तँलाई ?’ त्यतिबेला उनी निकै बलियी थिइन् । ‘ए एउटी आइमाईको जीवन चैं सुत्ने नै मात्रै देखिस् ?’ यति भनेर उनले एक लात्ती हिर्काइन, परतिर लड्यो l फेरि उठेर आएर उनलाई अपशब्द बोल्दै समात्न आयो, उनले प्रतिवाद गरिन्, चिच्याइन् । सुनार आमाका परिवार आए, नजिकै रहेका सेना पनि आए । ती पुरुषलाई बेस्सरी पिटे र चौकीमा जिम्मा दिए । त्यो रात जोगिए पनि उनलाई असुरक्षित छु भन्ने लाग्न थाल्यो । तर, त्यहीँ नभिडी उनको जीवन चल्नेवाला थिएन । आफ्नो नित्यमा जुटिरहिन् । तर भूपि शेरचनको कविता जस्तो त्यो हल्लैहल्लाको देशमा उनलाई गाउँसमाजले टिकी खान दिएनन् । अर्कातिर सानोमा ज्ञानी छोरा वरिपरिको खराब संगतमा पर्‍यो । रक्सीजाँड, गाँजा खाएर झगडा गर्ने, आमालाई नै अपशब्द बोल्ने, हातै हाल्ने गर्न थाल्यो । दुःख गरेर स्कूल पठायो, भागेर कुलतमा पर्‍यो । लोग्नेले दुःख दिए पनि छोराछोरी राम्रो बनाउन पाए सुख हुन्थ्यो भन्ने उनको सपनामा ठेस पुग्यो । उनलाई त्यहाँ बस्न मन लागेन । छोराछोरी सुनार आमाको जिम्मामा छोडेर २०६८ सालमा काठमाडौं आइन् । माइली बहिनीकहाँ केही समय आश्रय लिइन् । त्यो बिचमा उनलाई दलित–गैरदलित पुरुषहरूको विवाह प्रस्ताव आइरहन्थे । एकातिर छोराछोरीका माया, त्यो भन्दा बेसी ‘श्रीमान्’ भन्ने शब्दसँग पनि उनलाई घृणा थियो । वास्ता गरिनन् ।
केही समय उनले एउटा कपडा पसलमा सिलाइकटाइको काम गरिन् । आफनो मिहिनेत र श्रमले बाँचेकै थिइन् । उनलाई कसैको साथ चाहिएको थिएन । त्यसैबैला जिन्दगीले भने फेरि एकपल्ट उल्टो बाटो नै हिँडायो उनलाई । सिन्धुपाल्चोकका आफूभन्दा १० वर्ष कान्छो कुमार केटासँग उनले दोस्रो विवाह गरिन् । परिपक्व महिला भएकाले आफूसँगै विहे गर्ने अड्डी गरेपछि उनले विवाह गरेकी थिइन् । अहिले उनीहरूको ७ वर्षको छोरा छ, जुन उनको नाति (जेठी छोरीको छोरा)भन्दा केही कान्छो हो । उनका छोराछोरी सँगै थिए । अहिले भने तीनै जना विवाह गरेर छुट्टै बसेका छन् ।
विवाहपछि उनको श्रीमान्, पहिलो श्रीमान् पट्टिका छोरा र जेठी छोरीसहित उनी हालको सिमेन्ट बोक्ने ठाउँमा काम गर्न पुगे । अहिले पनि सँगै नै काम गर्छन् । तर, श्रीमान्सँग मन भने न्यानो भएन । अत्यधिक शारीरिक श्रमका कारण पछिल्लो केही वर्षदेखि उनी रोगी भइन् । डाक्टरका अनुसार गह्रौं भारी बोकेकै कारण उनको आन्द्रा च्यातिन पुग्यो, ग्यास्ट्रिकले आन्द्राकै अर्को भागमा अल्सर भएको छ । अहिले मासिक २० हजार जतिको औषधी खान्छिन् । पोहोरको लकडाउन अघि जचाउँदा आन्द्रामा घाउ छ, शल्यक्रिया गरी आन्द्राको एक टुक्रा काटेर फाल्नुपर्छ भनेका थिए । तर त्यसको लागि २/४ लाख रुपैयाँ खर्च लाग्छ । उनलाई खर्चको जोहो गर्ने आतेस छ । उनलाई डर छ, कतै आमाजस्तै क्यान्सर भएर पो मरिने हो कि ?

तुलसा दर्जी l तस्विर: शकुन्तला जोशी


अहिलेको श्रीमानले छोरालाई माया गरेपनि उनलाई खासै वास्ता गर्दैनन् । भन्छिन्, ‘यिनैसँग जिन्दगी कटाउँला भनी दोस्रो बिहे गरेको थिएँ । खुबै माया देलान्, जीवनभरी न्यानो देलान् भन्ने विश्वास थियो । तर खप्परमै कसैको माया नलेखेको होला, उनैले सुरुमा हत्ते हालेर बिहे गरे । अहिले कुनै दिन खाए-नखाएको सोध्दैनन्, बिरामी परेर गाह्रो भएको थाहा पाएपछि झन एक डेढ महिनासम्मै बोलचाल बन्द गर्छन् । सायद उमेर नमिलेर पनि होला । उनले चाहेको जस्तो खुसी, साथ मैले दिन नसकेको उनलाई अब लाग्न थाल्यो होला कि ! मुखले नभने पनि न पछिल्ला दिनमा उनलाई आफ्नो दामले जीवनसाथी पाए हुने भन्ने पो लागेको छ कि ! यसरी सोच्दा लाग्छ, फेरि नगर्ने गल्ति गरेछु कि, दुःख दोहोरिए झैं लाग्छ । मेरो भागमा यस्तै रैछ, जीवनमा न पहिलेकोले न यिनले, एक धरो लुगा पनि मलाई सम्झेर दिएनन् । लोग्नेवाला सम्बन्धले मलाई जुनीभरी न्यानो दिएन ।’ उनी मोनालिसा जस्तो देखिन्छिन्, न हाँस्न सक्ने न आँसु झर्नु ।

लाउनै छ लङ बुट
संघर्षकै बीच उनी आफ्ना दमित इच्छाहरू जगाउने प्रयास गर्छिन् । चालिस वर्ष नहुँदै पाँच नातिनातिनाकी हजुरआमा बनेकी उनी ‘स्मार्ट’ हुन रुचाउँछिन् । उनलाई साडी लगाउन साह्रै झन्झट लाग्छ । कुर्ता सुरुवाल पनि विरलै लगाउँछिन् । आफूलाई मन पर्ने पहिरन टिसर्ट प्यान्ट र जुत्तामै हिँडडुल गर्नु आनन्द लाग्छ । उनको विचारमा टीसर्ट प्यान्ट जतिको सस्तो कपडा अरू छैनन् बजारमा । पाँच सय रुपैयाँमा एकसेट नै आउँछ । गरीबलाई यो लुगा ठिक छ । भन्छिन्, ‘सारी लाउन अनेक थोक जुटाउनु पर्छ, हिँड्नको झमेला उस्तै । कुर्ता सुरुवाल एकजोर किनेर सिलाउँदा तीन/चार हजार रुपैयाँ लाग्छ । तर, प्यान्ट टिसर्ट त सस्तो उस्तै, लगाउन छरितो पनि ।’ उनको रोजाइमा यही लुगा पर्छ । धेरै वर्षदेखि उनलाई ‘लङ बुट’ लाउन मन छ । साग बेचेर जम्मा पारेको पैसा बोकेर तीन वर्षदेखि न्यूरोड, असन इन्द्रचोकतिर पुग्छिन् पनि । तर, कहीँ असाध्यै महँगो, कहीँ उनको खुट्टामा साइज नै नमिल्ने । यसपालि किन्ने सुर गरेकी थिइन्, कोरोनाले छेक्यो उनको बाटो । तर बुट लाउने इच्छा भने जागै छ ।

भत्कियो सपना
जति दुःख भएपनि मान्छेभित्र सपना त हुन्छन् नै । उनको पनि काठमाडौंको कुनै कुनोमा एउटा सानो छाप्रो जोड्ने इच्छा थियो । अलिअति आफ्नो, आमाको र भाइहरूले उनकै जिम्मामा दिएको पाँचतोला जति सुन उनीसँग थियो । केही वर्षमा फर्काउने गरी उनले भाइहरूसँगको सल्लाहमा जग्गा किन्न तिनै सुन पनि चलाउने अनुमति लिएकी थिइन् । सिमेन्ट पसलका साहु रामेश्वर श्रेष्ठले केही पैसा निकालिदिने भएका थिए । अलिकति ऋणपान गरेर भएपनि पनि उनी एकटुक्रा जग्गा जोड्न चाहन्थिन् । उपचारको सिलसिलामा आफ्नै आश्रय लिन आएका आफ्नै ठूलीआमाको छोराले सुनको पोकै चोरी दिए । गत फागुनमा भएको उक्त घटनाले सपनामा त धमिरा लाग्यो नै, उनको पेट झन् पोल्ने भएको छ ।

तुलसा दर्जी l तस्विर: शकुन्तला जोशी

ढोकामाथि आमा छिन्
बाहिर हाँसेर हिड्ने उनको मन पीडाले भरिएको रहेछ, शरीर रोगले गाँजेको । उनी अल्सर मात्रै होइन, पायल्स र थाइराइडबाट पनि पीडित रहिछन् । ज्यान पनि पहिलेजस्तो दह्रो छैन । कहिले हिँड्दाहिँड्दै ढल्छिन्, कहिले जिब्रो बटारिएर हैरान । मनलाग्दी खान नसकेको निकै भयो । तैपनि सिमेन्टका बोरा उठाउन छाडेकी छैनन् । ‘तँ थाकिस् होला, एकछिन थकाइ मार्’ भन्दिने आमा पनि तीन वर्षअघि क्यान्सरले बितिन् । एक गाँस मिठो मसिनो र एक झुम्रो राम्रा लुगा दिन सक्ने भएपछि आमा बितेको बिस्मातले पनि उनलाई चिमोटिरहन्छ । नरेफाँटमै उनले पाँच वर्षलाई जग्गा भाडामा लिएर टहरो हालेकी छिन् । त्यही कोठाको ढोकामा आमाको ठूलो फोटो राखेकी छिन् । भन्छिन्, ‘बाहिरभित्र गर्दैपिच्छे आमालाई देखूँ भनेर फोटो त्यहाँ राखेको । मेरो फोन त यही टिकटिके हो, फोटो आउँदैन । ठूलो फोन भए त आमाको फोटो फोनमै हुन्थ्यो होला ।’ उनी एकछिन भुँईतिर हेरिरहन्छिन् । अनि अलिक दबेको स्वरमा बोल्छिन्, ‘तीन चार लाख रुपैयाँ खर्च गरेर उपचार गर्दा पनि बचाउन सकिएन । बाँचुन्जेल अर्काले दिएको लाएर हिँड्नु भो । अहिले सिमेन्टी बोकेर कमाएर भएपनि आमालाई राम्रो बनाएर राखम्ला भन्ने बेला यस्तो भयो ।’ बोल्दाबोल्दै उनको आवाज रोकिन्छ, एकछिनसम्म म उनको रुवाइ साम्ये हुने बाटो हेरेर चुपचाप भएँ ।
आँसु पुछेर फेरि बोल्न थालिन् । आमा मर्दैछिन् भन्ने थाहा भएपछि र उनी बितेपछि ४ महिना बेस्सरी रक्सी पिइन् उनले । त्यही बेला उनको पेट पोल्ने बेथा झन् बढ्यो । भन्छिन्, ‘मलाई पनि आमालाई जस्तै आन्द्रामा क्यान्सर भयो भने त उपचार गर्दिनँ, यसै मर्ने हो । तर निको हुने अवस्था रहेछ भने अझै पनि केही गर्छु भन्ने आँट छ । अनि बुट जुत्ता लाउन नि त बाँकी नै छ नि म्याम !’ भर्खरै रोएकी उनी धोद्रो आवाजमै जोडले हाँसिन् ।
त्यो छोटो कुराकानीमा मैले उनको दुःखको गहिराइ के नाप्न सक्नु ! उनलाई मनोहरा खोला किनारामा फर्सीको मुन्टा टिप्न जानु थियो, मलाई पनि निस्किने हतार । यो पल्टलाई हामीले संवादको बिट मार्‍यौं । सायद उनको पेटको पोलाइ बढ्दो थियो । हात पेटनिर राखिन् र मसँग हाँस्दै बिदा भइन् ।
܀܀܀