कान्छा र कान्छीको ठट्टामात्रै होइन लोकगीत

कान्छा र कान्छीको ठट्टामात्रै होइन लोकगीत

असार २२, २०७८ 0 By कला अनुरागी
शेयर गर्नुहोस्

नेपाल लोकवार्ता र संस्कृतिको हिसाबले निकै सम्पन्न मुलुक हो । यहाँको जातीय, भाषिक र भौगोलिक विविधताले यसलाई समृद्ध तुल्याइरहेको छ । तथापि लोकसम्पदाको खोज अनुसन्धान गर्ने र संरक्षण गर्ने कार्य भने सोचेजति भएको छैन ।

यसलाई नजिकबाट बुझेका साहित्यकार तथा संस्कृतिविद् तुलसी दिवसले लोकवार्ताको अध्ययन अुनसन्धानको अगुवाइ गरिरहेका छन् । त्यसको लागि उनको नेतृत्वमा नेपाली लोकवार्ता तथा संस्कृति समाजले सक्रियताको साथ काम पनि गरिरहेको छ ।

लोकवार्ताको एउटा विधा लोकगीत र त्यसमा प्रतिविम्बित हुने समाजको बिषयमा कला अनुरागीसँग भएको कुराकानीका आधारमा दिवस यसरी प्रस्तुत भएका छन्ः

लोकगीतसँगै हुर्किएँ
मेरो घर धनकुटा । त्यहाँको गोकुण्डेश्वर हाइस्कुलमा पढेँ । स्कुल पढ्दादेखि नै हामी जात्रा, चाडपर्व र उत्सवहरूमा नेपाली लोकगीत गाउने, त्यसैमा नाच्ने आदि गर्थ्यौं ।

मौलिक लोकगीत गाएकै कारण अखिल नेपाल लोकसंगीत प्रतियोगितामा हामी प्रथम भएका थियौं । ‘कान्छी मट्याङ्ट्याङ्’, ‘रिटिङरिटिङ नबजाऊ बिनायो’ जस्ता चर्चित लोकगीत त्यतिबेला नै संकलन भएको हो ।

एसएलसी परीक्षा सकिएपछि गाउँघरमा गएर गीत संकलन पनि गर्न थाल्यौं । करिब १७–१८ सालतिर प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रिय संगीत प्रतियोगिता, नृत्य प्रतियोगिता आदि हुने गर्थ्यो ।

त्यसमा म पूर्वी जिल्लाहरूको नेतृत्व गरेर काठमाडौं आउने गर्थें । त्यसमा हामीले भरसक ठेट लोकगीत तथा नाचहरू ल्याउन सकौँ भनेर प्रयास गर्थ्यौं । विभिन्न जातजाति तथा आफ्नो नजिकका क्षेत्रमा बसोबास गर्ने समुदायका गीत र नाचहरू अध्ययन तथा संकलन गरियो । त्यो क्रममा धेरै लोकगीत संकलन भए ।

मौलिक लोकगीत गाएकै कारण अखिल नेपाल लोकसंगीत प्रतियोगितामा हामी प्रथम भएका थियौं । ‘कान्छी मट्याङ्ट्याङ्’, ‘रिटिङरिटिङ नबजाऊ बिनायो’ जस्ता चर्चित लोकगीत त्यतिबेला नै संकलन भएको हो ।

ठेट लोकगीतको खोजी
हाम्रो त्यतिबेलाको खोजी भनेको ठेट लोकगीत थियो । त्यसैले विशुद्ध लोकभाकालाई प्राथमिकता दिन्थ्यौँ ।

हामीले त्यो बेला गाउँघरमा बेठी लगाउँदा, रोपाईं गर्दा, दाईं हाल्दा तथा अन्य काम गर्दा गाइने गीतहरू पनि संकलन गर्यौं । त्यसमा छोटो भाकाका चुट्का र लामा भाकाका लम्बरी दुवै प्रकारका गीतहरू थिए ।

फत्तेमान र तारादेवीले गाएको ‘घिन्ताङमा घिन्ताङ मादलै बज्यो ढोल बज्यो दुम्दुम्ती’ भन्ने गीत पनि त्यही क्रममा संकलन भएको हो । यो गीत आठपहरिया राईको लोकगीत हो । यसलाई च्याब्रुङ गीत पनि भन्छौँ ।

त्यसैबेला मेरी बहिनी समी जोशी टेलिभिजनमा काम गर्थिन् । उनले ‘माछा मारी हुर्रा’ भन्ने भन्ने गीतमा नाचेकी थिइन् । त्यो गीत विराटनगरमा निकै लोकप्रिय भएको थियो । कार्यक्रममा नुपुर भट्टाचार्य गीत गाएकी थिइन् । पछि उनकै श्वरमा रेकर्ड पनि भयो ।

त्यस्तै हामीले त्यो बेला गाउँघरमा बेठी लगाउँदा, रोपाईं गर्दा, दाईं हाल्दा तथा अन्य काम गर्दा गाइने गीतहरू पनि संकलन गर्यौं । त्यसमा छोटो भाकाका चुट्का र लामा भाकाका लम्बरी दुवै प्रकारका गीतहरू थिए ।

अध्ययन, अध्यापन र अनुसन्धानतिर
बिए पास गर्नेबित्तिकै मैले धनकुटा क्याम्पसमा पढाउन सुरु गरेँ । त्यसपछि ०२३ सालमा काठमाडौ आएर पद्मकन्या क्याम्पसमा पढाउन थालेँ । त्यहाँ म नेपाली पढाउँथे ।

तर लोकगीतसँगको गहिरो नाता भएको र त्यसको महत्व बुझेको कारण नेपाली लोकसंगीतलाई पनि नेपाली संगीतको पाठ्यक्रममा समावेश गरेर पढाउनुपर्छ भन्ने दृष्टिकोणलाई अगाडि बढाइयो । त्यसको पाठ्यक्रम पनि निर्माण गरियो । त्यसपछि नै संगीतमा लोकसंगीतलाई पनि समावेश गरेर अध्ययन गर्न थालिएको हो ।

मैले ०२३ सालमा काठमाडौं आइसकेपछि ‘नेपाली लोकगीत: एक ऐतिहासिक मूल्यांकन’ भन्ने लेख लेखेँ । त्यसले नेपाली लोकगीतलाई अवधारणागत रूपमा अध्ययन, अनुसन्धान, व्याख्या र विष्लेषण गर्नुपर्छ भन्ने दृष्टिकोण अघि बढाउन सहयोग पुग्यो ।

पहिले त यो अतिरिक्त क्रियाकलापको बिषयमात्रै थियो । पछि गएर संगीत बिषयको पाठ्यक्रमको अभिन्न अंग नै बन्यो ।

त्यसै क्रममा लोकनृत्यलाई पनि नृत्यको पाठ्यक्रममा समावेश गरेर अध्ययन गर्न थालियो । त्यसपछि स्नातकोत्तरको साहित्यको पाठ्यक्रममा नेपाली लोकसाहित्य पनि समावेश गरियो ।

लोकसाहित्यअन्तर्गत लोककथा, लोकगाथा, उखान टुक्का, गाउँखाने कथा आदि समावेश गरेर अध्यापनको थालनी भयो ।

समाज र लोकगीत
त्यसबेलासम्म लोकगीतलाई सामाजिक, साँस्कृतिक, राजनीतिक वा आर्थिक क्षेत्रको सूचकको रूपमा हेर्ने दृष्टिकोण विकास भएको थिएन ।

हामी लोकगीतलाई भावुक भएर मन त पराउँथ्यौँ, मनोरञ्जन त लिन्थ्यौँ । त्यसलाई हामी जनगीत, ग्रामगीत पनि भन्ने गर्थ्यौं। तर त्यसको पनि सामाजिक, साँस्कृतिक विकाससँग सम्बन्ध हुन्छ भन्ने धारणाको विकास भएको थिएन ।

त्यसैले मैले ०२३ सालमा काठमाडौं आइसकेपछि ‘नेपाली लोकगीत: एक ऐतिहासिक मूल्यांकन’ भन्ने लेख लेखेँ । त्यसले नेपाली लोकगीतलाई अवधारणागत रूपमा अध्ययन, अनुसन्धान, व्याख्या र विष्लेषण गर्नुपर्छ भन्ने दृष्टिकोण अघि बढाउन सहयोग पुग्यो । त्यस्तै ०२४ सालमा ‘नेपालमा लोकवार्ता: एक गतिशील वैज्ञानिक शाश्त्र’ भन्ने लेख लेखेर छपाएँ ।

नेपालमा लोकवार्ताको सामग्रीहरू त प्रशस्त मात्रामा थिए । त्यसो त लोकवार्ताको दृष्टिकोणले हेर्दा नेपाल एउटा जीवित संग्रहालय नै हो ।

त्यो नेपालको लोकवार्ताको क्षेत्रमा लेखिएको पहिलो लेख हो । त्यसबेलासम्म नेपालमा लोकवार्ता एउटा अध्ययनको विधाको रूपमा विकास भएको थिएन । नेपालमा लोकवार्ताको सामग्रीहरू त प्रशस्त मात्रामा थिए । त्यसो त लोकवार्ताको दृष्टिकोणले हेर्दा नेपाल एउटा जीवित संग्रहालय नै हो । तर पनि लोकवार्ताको विभिन्न विधाहरूको वैज्ञानिक संकलन भएको थिएन ।

तिनीहरूको व्याख्या र विष्लेषण भएको थिएन । तिनीहरूको सिद्धान्तको प्रतिपादन भएको थिएन । र, तिनीहरूलाई निश्चित पद्दतिअनुसार अध्ययन गर्ने परम्परा विकसित भइसकेको थिएन ।

लोकगीतका बिषय
त्यसबेलासम्म हामीले लोकगीतलाई प्रेम, मनोरञ्जन र रमाइलो बिषयमा मात्रैमा सीमित गरेका थियौं । अथवा भनौं कान्छा र कान्छीको ठट्टा, साईंला र साईंलीको कथा, च्याङ्बा र च्याङ्माको कुरामै मात्रै सीमित राखेका थियौँ ।

तर यसले हाम्रो लोप हुन लागेको ऐतिहासिक, सामाजिक, साँस्कृतिक, आर्थिक बिषयका विभिन्न पाटालाई पनि समेट्छ भन्ने कुरालाई त्यति ध्यान दिइएको थिएन । त्यतिमात्रै होइन, लोकगीतमा समाजको प्रचलन, आस्था पनि प्रतिविम्बित हुने गर्दछ ।

त्यसो त त्यो सन्दर्भ बुझ्न कुन क्षेत्र, जाति, भाषाको लोकगीत हो भन्ने बिषयको सान्दर्भिक व्याख्यासहित संकलन गर्नु आवश्यक छ । त्यो सन्दर्भलाई जनाउन नै लोकगीतमा स्थानीय वनजंगल, खोलानाला, रूखपात, पशुपन्छी आदिको सन्दर्भहरू प्रयोग गरिन्छ ।
जस्तो,
अरुणै तरेँ बरुणै तरेँ, सुनकोसी तर्नुछ
आमाको कोखमा जनमै लिएँ कहाँ गइ मर्नुछ

यो गीत अरुण बरुणको छेउमा बसोबास गरेका मान्छे वा त्यहाँ पुगेको मान्छेले मात्रै गाउन या बुझ्न सक्छ ।

हिमालैचुली त्यो पल्लोपटि सुकेको पराल छ
घरमा स्वास्नी, छोराको पास्नी, मन मेरो बराल्छ

यो गीतमा हिमालको कुरा आएको छ । यसले हिमालसँग सम्बन्ध भएको स्थानीय क्षेत्रको बिषय बोलेको छ ।

भन्नुमात्रै माछापुछ्रे धौलासिरी अल्को
आज भेट हुनु रैछ, हिजै लाथ्यो झल्को

यो पश्चिम क्षेत्रको गीत हो भने बुझ्न सकिन्छ । यहाँ आएको माछापुछ्र्रे र धौलागिरिले त्यसको प्रतिनिधित्व गरेको छ ।

सेतीले ल्यायो धूलो र मैलो कालीले गेगरू
काँकरी भए चिरनु हुन्थ्यो, हृदय के गरूँ

अब सेती र कालीको कुरा आउनेबित्तिकै यो पूर्वको परिवेशमा गाइने गीत त हुन सक्दैन ।

त्यस्तै गीतहरू पनि विभिन्न प्रकारका हुन्छन् । त्यसले पनि त्यसको अर्थ र समाजसँगको सम्बन्धमा प्रभाव व्यक्त गरेको हुन्छ ।

महिलाहरूले गाउने, महिलाहरूको विभिन्न उमेर समूहले गाउने, विभिन्न जातिले गाउने, पुरुषले गाउने, महिला र पुरुषले गाउने, प्रश्नोत्तर गर्ने, जुहारी खेल्ने आदि गीतले भिन्न–भिन्न अर्थ र सन्दर्भ बोक्छ । त्यस्तै व्रत बस्दा गाउने, घाँसपात गर्दा गाउने, रोपाईं गर्दा गाउने, ढिकीजाँतो गर्दा गाउने, खेतमा काम गर्दा गाउने गीतले त्यही सन्दर्भलाई समेटेको हुन्छ ।

त्यस्तै ऋतुकालीन गीत, चाडपर्वसँग सम्बन्धित गीतले पनि त्यहाँको समाजलाई जोडेको हुन्छ ।

त्यस क्रममा इतिहासका कुराहरू पनि लोकगीतमा आउने गर्दछ ।
हिमालैचुली त्यो पल्लोपटि जोरजोरै सल्ला छ
मातृकाबाबु खुस्किए भन्ने बहुतै हल्ला छ

मातृकाप्रसाद कोइरालाको मृत्यु भएको सन्दर्भमा यो लोकगीत त्यही समयमा रचिएको हो । यसले इतिहासको एउटा खण्डको प्रतिनिधित्व गरेको छ ।

त्यस्तै चेतनाको कुरा पनि लोकगीतमा आउँछ । लैंगिक अधिकारका लागि लोकगीतमा पहिलेदेखि नै आवाज उठ्ने गरेको थियो ।
दाइ तिमी अंशको धनी
बहिनी म त धुरीको बलेनी

यसमा महिलाले अंश नपाउँदाको पीडालाई उठाइएको छ । त्यस्तै यसमा हाम्रो समाजको केटाले विवाह गरेर ल्याउने र केटी विवाह गरेर जाने संस्कृतिलाई पनि प्रतिबिम्बित गरेको छ ।

अंश नपाएको कुराको समाजशाश्त्रीय र मावनशाश्त्रीय विष्लेषण गर्न सकिन्छ । यो विषयलाई अझ ‘बोल्ड’ भएर पनि अभिव्यक्ति भएको पाइन्छ:
खेतैमा रोप्नु छुपु र छुपु आलीमा मुगी मास
छोरालाई भने अंश र बन्डा, छोरीलाई वनिबास

यसले किन यस्तो विभेद भइरहेको छ भन्ने प्रश्नलाई अझ बढी प्रभावकारी ढंगले उठाएको छ । त्यस्तै सरकारको कामको समर्थन वा आलोचनाको बिषयमा पनि लोकगीत बनेका छन् ।


हाम्रो सरकार क्या अक्कलदारी
ल्यायो मोटर चुरेमा प्वाल पारी

यो गीतले सरकारले गरेका राम्रो कामको प्रशंसा गरेको छ । जनताले सरकारको काम आफ्नो ढंगले रेकर्ड राखेको हुन्छ र त्यसको प्रशंसा वा आलोचना गर्दोरहेछ भन्ने प्रमाण हो यो । त्यस्तै जनतामाथि भएको शोषणको कुरा पनि लोकगीतमा व्यक्त हुन्छ ।

काली उखु पेलेर खुदो
गरिबलाई देखेर सुधो
भन्छ कुरो हुँदो र नहुँदो

यो गीतले गरिवलाई सोझो ठानेर उखुजस्तै पेलिरहेको बिषयमा विद्रोहात्मक अभिव्यक्ति दिएको छ । यसमा अधिकार र मानिसले मानिसलाई गर्ने व्यवहारको विषयको उठान भएको छ ।

समाजसँग जोडौं
लोकवार्ताको दुई वटा खण्ड छ, एउटा मौखिक र अर्को अमौखिक । मौखिकअन्तर्गत लोकगीत पर्छ । यो केवल मनोरञ्जन गर्ने साधनमात्रै होइन, समाजको विकासक्रमको सूचक पनि हो ।

सन्दर्भअनुसार गीतको व्याख्या र विष्लेषण गरिएन गीतको अर्कै अर्थसमेत लाग्छ । त्यसैले लोकगीतको अध्ययन गर्दा सूचनामा कुन जाति, कुन ठाउँ, कुन सन्दर्भमा संकलित भएको हो भन्ने स्पष्ट हुन जरुरी छ ।

जसलाई प्रष्ट पार्न अध्ययन र अनुसन्धान गर्दा समाजसँगको सम्बन्धलाई केलाउनुपर्छ । त्यसो गर्न अध्ययनको क्रममा वैज्ञानिकता अपनाउनुपर्छ । र, त्यसको सान्दर्भिक सूचनाहरू संकलन गर्नुपर्छ ।

जस्तो मैले गन्धर्वहरूको अध्ययन गर्ने क्रममा ०२२/२३ सालतिर ‘कहाँ गयो मामाको छोरी टप्पै टिपेर लैजाउँला’ भन्ने गीत सुनेँ । मलाई अचम्म लाग्यो– हाम्रो त मामाको छोराछोरी त दाजुभाइ दिदीबहिनी हुन्छन्, हाडनाता नै पर्छ । कसरी टप्पै टिपेर लाने कुरा आयो ?

अध्ययन गर्दा थाहा भयो, त्यो जातिमा मामा चेला र फूपू चेला विवाह हुँदोरहेछ । त्यही भएर पो त्यस्तो गीत गाइएको रहेछ ।

त्यसैले सन्दर्भअनुसार गीतको व्याख्या र विष्लेषण गरिएन गीतको अर्कै अर्थसमेत लाग्छ । त्यसैले लोकगीतको अध्ययन गर्दा सूचनामा कुन जाति, कुन ठाउँ, कुन सन्दर्भमा संकलित भएको हो भन्ने स्पष्ट हुन जरुरी छ ।

तब मात्रै त्यसको विष्लेषण र व्याख्या सही हुन सक्छ । सही व्यख्या र विष्लेषणले नै लोकगीतलाई समाज विकासको सूचक प्रमाणित गर्न सक्छ ।
०००