एक सादगी पिताको सम्झना

एक सादगी पिताको सम्झना

साउन ८, २०७८ 0 By शकुन्तला जोशी
शेयर गर्नुहोस्

दिल्लीको घाट, ब्रम्हनालमा सुताइएको ख्याउटे शरीर । अन्तिम बिदाइमा जम्मा भएका मलामी ।
उद्यमी हुनुका नाताले प्रायः व्यस्त रहने उमेशलाल श्रेष्ठको दिमागमा आइरहने दृश्य । आफ्नो निजी गाडी काठमाडौंको सडकमा गुडिरहँदाको शून्य समयमा यो दृश्य बढी आउँछ ।
त्यो ख्याउटे शरीर उनकै पिता पुष्पलाल श्रेष्ठको थियो । पिता सम्झँदा सबैभन्दा बढी उनी त्यही दिन सम्झन्छन् । आफ्ना सादगी पिताले सिंगो राजनीतिक जीवनकालमा कस्ता आर्थिक अभाव झेलेछन्, थाहा पाउँदा पीडाबोध हुन्छ उनलाई । लाग्छ, ‘अलिक समय बचाउन सकिएको भए छोरोले दिनुपर्ने केही सुख त दिन सक्थेँ होला ।’
उनले पिताको राजनीतिक जीवनबारे १२ वर्षजतिको हुँदा अलिअलि थाहा पाए । पुष्पलाल भारतमा निर्वासनमा थिए, उनी यता नेपालमा । धेरै समय सँगै बिताउन पाएनन् ।


आफूसँगैका साथीहरू आफ्नो पिताको हात समातेर हिँडिरहेका हुन्थे । कोही जात्रा हेर्न गइरहेका, कोही कोही बजार घुम्न निस्केका । स्कूलमा पु-याउन र छोड्न गएका साथीका पिता देख्थे । तर उनले त्यस्तो अवसर कहिल्यै पाएनन् । मुस्किलले कहिलेकाहीँ घर आइपुग्ने, फेरि हिँडिहाल्ने ।
‘मेरो बुबाचैं कहाँ जानुभएको होला ? किन मलाई यसरी हिडाउनुहुन्न ? जिज्ञासा हुन्थ्यो । बुबा सधैँ हामीसँग भइदिए हुन्थ्यो भन्ने लाग्थ्यो’, उनी सम्झिन्छन्, ‘आमा भन्नुहुन्थ्यो– भारत जानुभएको छ । अलिक पछि आउनुहुन्छ ।’ उनलाई पिताको अभाव खट्किरहन्थ्यो, नरमाइलो लाग्थ्यो, सम्झना आइरहन्थ्यो । केटाकेटी न हो, साथीभाइसँग खेल्न पाएपछि भुलिन्थे । कतिपय साथीका पिता भारतमा व्यापारको सिलसिलामा गएको थाहा थियो उनलाई । त्यसैले लाग्थ्यो– आफ्ना पिता पनि व्यापार गर्न गएका होलान् । पछि थाहा पाए– कुरो राजनीतिक रहेछ ।
पुष्पलालका जेठो दाइ गंगालाल श्रेष्ठ राणाविरोधी आन्दोलनमा लागेकै कारण माघ १५, १९९७ मा सहिद भए । त्यो घटनाले १५ वर्षे युवा पुष्पलालमा व्यवस्था परिवर्तनका निम्ति जीवन समर्पित गर्ने संकल्प उत्पन्न गरायो । राष्ट्रिय कांग्रेसमा आबद्ध भएर सांगठनिक गतिविधिमा सक्रिय भएका उनी अध्ययन गर्दै जाँदा माक्र्सवाद नै वैज्ञानिक विचार हो भन्ने निष्कर्षमा पुगे । त्यसैको उपज उनले बैशाख १०, २००६ मा नेपाल कम्युनिष्ट पार्टीको अवधारणा प्रस्ताव गरे । त्यो सिलसिलालाई मोतीदेवी श्रेष्ठ, नरबहादुर कर्माचार्य , नारायणविलाश जोशी र निरञ्जन गोविन्द श्रेष्ठले साथ दिए । भारतको कलकत्तामा पार्टी घोषणा गर्दैै पुष्पलाललाई नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव बने ।

  • हरेक वर्ष जाडो बिदामा उनीहरू भारतको बनारस जान्थे । त्यसबेलामात्रै उनी पिताको सान्निध्य पाउँथे । पुष्पलाल सादगी नेता थिए ।


राणा शासन गएर प्रजातन्त्र आयो । तर राजाको शासन व्यवस्थामा पनि जनताको जीवनमा खासै सुधार आएन । २०१७ सालमा त राजा महेन्द्रले दलीय व्यवस्था नै खारेज गरिदिए । व्यवस्थामा आमूल परिवर्तनको आवश्यकताबारे पुष्पलालको मत झन् पुष्टि भयो । उनको मतलाई पञ्चायतले अवैधानिक ठहर गर्नु स्वाभाविक थियो । त्यसैले उनी भारतमा राजनीतिक–निर्वासित जीवन बिताइरहेका थिए ।
उमेशलाल त सानै थिए, बुबाको ती गतिविधिबाट अनभिज्ञ थिए । उनी आमा र दिदी उषाको रेखदेखमा हुर्किए । आमाले पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्यापन गर्थिन् । त्यसो उनको आमा सहाना प्रभानको पनि राजनीतिक जीवन निकै उचाइको छँदै थियो ।
हरेक वर्ष जाडो बिदामा उनीहरू भारतको बनारस जान्थे । त्यसबेलामात्रै उनी पिताको सान्निध्य पाउँथे । पुष्पलाल सादगी नेता थिए । विरलै पाउने निकटताले उनले बोध गरे कि पिताको जीवन त योगीको जस्तो रहेछ । त्यो कुरा बोध भएपछिचाहिँ उनले एउटा पिताको रूपमा बालकले पाउने उपहारजन्य वस्तुको आशा गर्न छोडिदिएका थिए ।
सन् १९७२ मा उनले एसएलसी पास गरे । त्यही बेला उनी पितालाई भेट्न भारतको दरभंगा पुगे । छोराको प्रगतिको खबरले पुष्पलाल खुसी भए । त्यो बेला भने उनले एउटा उपहार पाए । ‘बुबाले खुसी हुँदै मलाई बधाई दिनुभयो । तर उहाँसँग मलाई दिन मायाबाहेक केही थिएन । उहाँले आफ्नै हातमा लगाइराखेको घडी दिनुभयो’, त्यो पल सम्झँदा अहिले पनि भावुक हुन्छन् उनी । बुबाले दिएको माया र प्रेम उनको हृदयमा छ, त्यो घडी पनि उनले सम्हालेर राखेका छन् पुष्पलाल स्मृति प्रतिष्ठानमा ।
पिताको महानताको विषयमा त उनले पछि विभिन्न किताब र पत्रपत्रिकामा पढेर थाहा पाएका हुन् । अहिले पनि उनी ठूलोबुबा गंगालाल र बुबाको योगदान, महानताबारे अध्ययन गरिरहेका हुन्छन् । भन्छन्, ‘उहाँहरूलाई जति चिन्दै जान्छु, उहाँहरूप्रति मेरो प्रेम अगाध आस्थामा बदलिँदै जान्छ ।’

उमेशलाल आफ्ना पिता, माता र दिदीसँग l तस्वीर सौजन्य: पुष्पलाल स्मृति केन्द्र


उमेशलाल आफूचाहिँ औषधी व्यवसायी हुन् । उद्यमी हुनुलाई उनी आमाबुबाकै बाटो हिँड्नु ठान्छन् । भन्छन्, ‘उहाँहरू सिंगो देश, समाज र व्यवस्थालाई परिवर्तन गर्न विशाल विचार र सिद्धान्त लिएर हिड्नुभयो । यसर्थ तुलना त हुन सक्दैन । तर, उहाँहरू जुन आमूल परिवर्तन चाहनुहुन्थ्यो, त्यसको एउटा हिस्सा आर्थिक रूपान्तरण पनि हो । त्यसैको एउटा अंशकै रूपमा म काम गरिरहेको छु । यसमा गर्व छ मलाई ।’ उनको कम्पनी क्वेस्ट फर्मास्यूटिकल्स प्रालिले अहिले लगभग आठ सय जनाले प्रत्यक्ष रोजगार पाइरहेका छन् । अहिले आफूले गरिरहेको व्यवसायिक क्षेत्रप्रति उनी पूर्ण सन्तुष्ट छन् । राजनीतिक रुपमा भने कतै आबद्ध छैनन् । आजभन्दा दश वर्षअघिसम्मचाहिँ कम्युनिष्ट पार्टी सदस्य थिए । संस्थागत रूपमा भने नेपाल उद्योग वाणिज्य महासंघको यसअघिको कार्यकालमा वस्तुगततर्र्फ उपाध्यक्ष थिए । उनी पिताले भनेको कुरा याद गर्छन्, ‘जे मन लाग्छ त्यो गर्ने, खराब नगर्ने । जेमा काम गर्ने हो, त्यसमा राम्रो गर्ने ।’ त्यही वचनलाई उनी आफ्नो कर्म व्यवसायको मन्त्र मान्छन् ।
साउन ७, ०३५मा पुष्पलालको निधन भयो । पितासँगको अन्तिम भेट सम्झन्छन् उनी ‘बुबा बिरामी पर्दा नयाँ दिल्ली पुगेर भेटेको थिएँ । त्यसबेला म जागिरे थिएँ । त्यही बाध्यताले बुबाको निरन्तर सेवा गरेर बस्न पाइनँ । डाक्टरले बुबालाई निको हुँदैछ भने । त्यसैले अलिक ढुक्क भएर नेपाल फर्किएँ । तर म फर्केको केही दिनमै बुबालाई गाह्रो भएको खबर आयो । म पोखरा थिएँ । त्यसबेलाको कठिन आवागमन व्यवस्था, काठमाडौँ आएर दिल्ली पुग्दा बितिसक्नु भएको थियो ।’


उनी पुग्दा पुष्पलालको शव अन्तिम संस्कारका लागि घाटमा लगिसकिएको थियो । बुबा गुमाउनुको गहिरो पीडा त छँदै थियो, अचम्म पनि लाग्यो । उनलाई आफ्ना पिता कम्युनिष्ट पार्टीको नेता भन्ने त थाहा थियो । तर ‘त्यति ठूलो नेता पो हो ?’ भन्ने कुराको एउटा ज्योति मनमा स्वाट्ट छिरेजस्तो भयो । अन्तिमपटक हेर्दा उनले बुबाको अनुहार प्रदिप्त भएको पाए ।
घाटमा भारतीय जनता पार्टीका नेता चन्द्रशेखरलगायत धेरै नेता अन्तिम श्रद्धाञ्जली दिन आएका थिए । नेपालबाट गणेशमान सिंहलगायतका धेरै नेता थिए । त्यसैले उनको आँखाबाट वियोग र गर्व मिसिएको आँसु खसेको थियो । भन्छन्, ‘बुबालाई सम्मान गरिन्छ भन्नेसम्म त थाहा थियो । तर त्यति धेरै सम्मान पाउने नेता हो भन्ने त घाटमा मात्रै थाहा पाएँ । बनारस र भारतका विभिन्न सहरमा रहेका कांग्रेस–कम्युनिष्टका थुप्रै नेता त्यहाँ उपस्थित थिए ।’
जब, पिताको भौतिक साथ टुट्यो, उमेशको मनमा बुबाबारे अझ जान्ने इच्छा जाग्यो । त्यसपछि उनी निरन्तर बुबाको जीवन र उहाँसँग जोडिएको विषयमाथि अध्ययन गरिरहेका छन् ।
पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस सम्पन्न भएको छ । उनले स्थापना गरेको कम्युनिष्ट पार्टी अहिले विभिन्न पार्टी बनेका छन् । विभिन्न कम्युनिष्ट खेमाले उनलाई आ–आफ्नै तरिकाले सम्झिए ।
कम्युनिष्ट पार्टी एक हुन नसकेकोप्रति उमेश दुःख व्यक्त गर्छन् । कमसेकम आर्थिक मुद्दामा एकरूपता आए विकासको बाटो खोलिन्थ्यो भन्ने उनलाई लाग्छ । अहिलेको विश्वमा अघि बढ्न पार्टीगत स्वार्थभन्दा पनि माथि उठ्नुपर्ने आवश्यकता देख्छन् । त्यसो गर्न आफ्ना पिता पुष्पलालको जस्तै सादगी जीवनशैलीसहित जनताको स्वार्थमा समर्पित नेता तयार हुनुपर्छ भन्ने उनलाई लागिरहन्छ ।
०००