पोर्न नाटकको आरोप !

पोर्न नाटकको आरोप !

कार्तिक २०, २०७४ 0 By कला अनुरागी
शेयर गर्नुहोस्

अमेरिकी नाटककार इभ एन्सलरको नाटक ‘द भजाइना मोनोलग’को नेपालीकरण हो– ‘योनीका कथाहरू’ । यो नाटक अर्कै नाममा पहिले पनि देखाइएको थियो भन्ने त सुनेकी हुँ । तर हेर्ने अवसर भने पाइनँ । एकैचोटी यसमा भूमिका निर्वाह नै गरियो ।
यो नाटकको पछिल्लो मञ्चनको कथा भने ‘मडलेनाज नेपाल’सँग जोडिएको छ । ‘जिआइजेड’मा थिएटर हेर्ने जिम्मा लिएकी जुलिया विगत एक वर्षदेखि मण्डला थिएटरमै छिन् । उनी ‘मडलेनाज’ भन्ने समूहसँग आबद्ध रहिछन् । उनीसँगको सहकार्यको क्रममा नेपालमा पनि रंगमञ्चमा सक्रिय महिलाहरूको समूह बनाउनुपर्छ भन्ने छलफल भयो । त्यसै क्रममा उनकै सक्रियतामा विदेशमा तालिमका लागि पनि साथीहरू जानुभयो ।

नेपालमा पनि कार्यशाला गरियो । सँगै मलडेनाज नेपाल पनि निर्माण भयो । यसको औपचारिक संरचना त छैन, तर सबै रंगमञ्चमा सक्रिय महिलाको ‘सेयरिङ प्लेटफर्म’को रूपमा यसलाई विकास गर्ने कोशिस भइरहेको छ ।
मडलेनाज नेपालको समूह बनेपछि ‘यो त खतरा होला’ भन्ने प्रतिक्रिया आउन थाल्यो । तर यो त्यस्तो ‘खतरा’ केही होइन, ‘सेयरिङ प्लेटफर्म’ हो । जति नै मिल्ने साथी भए पनि कतिपय कुरा केटाहरूलाई सेयर गर्न सकिँदैन । ती कुरा सानाजस्ता लागे पनि भित्रभित्रै पीडा दिइरहेको हुन्छ । त्यसैले हामीले यसलाई आफूबीच सेयर गर्ने थलोको रूपमा विकास गर्न खोजेका हौं ।

हामीले हिउँदमा महिला हिंसाविरुद्धको नाटक पनि गर्यौं । सँगै महिलाले मात्रै नाटक गर्न सकिन्छ कि सकिन्न भनेर छलफल थाल्यौं । हामी समाजलाई केही सन्देश दिने र परिवर्तनको बहस चलाउने ‘कन्टेन्ट’को खोजीमा थियौं । त्यसै क्रममा महिला हिंसाविरुद्ध एन्सलरले चलाएको अभियान ‘भि डे’को सन्दर्भ आयो । भ्यालेन्टाइन दिवसकै सन्दर्भ पारेर यो दिवस मनाइन्छ । यस सन्दर्भमा विश्वका विभिन्न देशमा ‘द भजाइना मोनोलग’ मञ्चन गरिन्छ । त्यसैले हामी पनि यो नाटक मञ्चनको निर्णयमा पुग्यौं । हामीसँग हल पनि थियो, समय र समूह पनि । त्यसमाथि नाटककै अध्ययन सन्दर्भमा भारत रहँदा आकांक्षा कार्की यसको मञ्चनमा निकै पटक सहभागी भइसक्नुभएको थियो । त्यसैले नेपालका सन्दर्भमा यसलाई नयाँ र फरक ढंगले प्रस्तुत गर्न सकिन्छ भन्न सल्लाह भयो ।
यो नाटकको प्रक्रिया निकै लामो थियो । झण्डै एक महिनाजति समय लाग्यो, हामीलाई काम गर्न तयार हुन नै । किनकि यसको ‘कन्टेन्ट’ निकै फरक र सामाजिक कोणबाट असहज थियो । पहिले त ‘योनी’ भन्ने शब्द बोल्न नै गाह्रो थियो । त्यसमाथि अझ यसका पर्यायवाची शब्द बोल्न र अझ त्यसलाई नाटककै रूपमा प्रस्तुत गर्न निकै समस्या थियो । तर हामीले महिला हिंसाविरुद्धको चेतनालाई यसमा जोड्यौं र प्रक्रियामा सहभागी भयौं । महिला कसरी हिंसामा पर्छिन् र कस्तो प्रकारको हिंसा भोगिरहेकी हुन्छिन् भन्ने कुरा आफ्नै जीवनका विविध घटनाप्रक्रियासँग ‘लिंक’ गरेर छलफल र सेयरिङ गरियो । त्यसरी ‘फ्यामिलियर’ भएपछि मात्रै हामी यो नाटक खुलेर गर्न तयार भएका हौं ।
०००

यो नाटकले पहिलो कुरा त हाम्रै मानसिकतामा पनि परिवर्तन ल्याउन सहयोग पुर्यायो । पहिले हामी योनी र यससँग सम्बन्धित विषयमा केटीलाई नै पनि भन्न सक्दैनथ्यौं । केही समस्या देखियो भने त्यसबारे खुलेर कुरा गर्न सक्दैनथ्यौ । अहिले त्यसबाट मुक्त भएका छौं । अझै पनि हामी यौनका विषयमा खुलेर कुरा गर्न सक्दैनौं । तर पनि दृष्टिकोणमा परिवर्तन आएको छ । हामीले विभिन्न ‘क्यारेक्टर’मार्फत कतिपय कुरालाई अभिव्यक्त गरेका छौं । मैले प्रस्तुत गरेको चरित्रले यौनले दिएको खुसीलाई खुलेर अभिव्यक्त गरेको छ । यस्ता कुराले व्यवहारिक जीवनमा पनि कतिपय कुरालाई सहज बनाइदिन्छ ।
०००

यो नाटक हिंसाविरोधी नाटक हो । विभिन्न महिलासँग गरेको अन्तरवार्ताका आधारमा बनाइएको हो । त्यसैले विश्वभरका महिलाका साझा समस्या र पीडा यसमा अभिव्यक्त भएको छ । त्यसमा हाम्रा अनभूतिको पनि सादृश्यता छ ।
नाटक हेरेपछि कतिपय दर्शकले हामीलाई नेपालीकै अनुभवलाई नाटकमा समावेश गर्न सकेको भए हुन्थ्यो भन्ने पनि सुझाव दिए । तर हामीले देखाएको नाटकमा धेरै फेरबदल गर्ने कुरा भएन । तर पनि त्यसलाई नेपालीकरण गर्दा मौलिक अनुभूत गराउने प्रयास गरिएको हो । केही दृश्य अंग्रेजी नै पनि समावेश छ । यो चाहिँ विदेशीलाई पनि लक्षित गरिएको हो । हामी अर्को वर्षचाहिँ नेपाली पनि गर्ने कि भन्ने सोचमा छौं ।
०००

हामीले नाटकको सुरुको प्रोसेसदेखि नाटक मञ्चनको केही दिनअघिसम्म कतिपय भित्री कुरा सेयर गर्नुपर्दा केटाहरूलाई नआऊ भनिरहेका थियौं । तर पछि लाग्यो– हामीले देखाउनुपर्ने उनीहरूलाई नै हो । अहिले नै नआउ भन्यौं भने त सोच नै नकारात्मक हुनसक्छ ।
त्यसैले हामीले पछिल्लो चरणमा केटाहरूलाई पनि आउन दियौं । तर उनीहरू आफैं पनि हच्किन्थे । ‘ए !भजाइना ग्रुप पो हो ?’ भन्थे । थिएटरमा दिदी–बहिनी भनिरहेका हुन्छन् केटाहरूले । नाटकमा जोडी बन्नुपर्दा पनि हच्किने सोसाइटीमा त यस्तो कुरा बोल्न सक्ने स्थिति हुँदैनथ्यो ।
तर नाटक हेरिसकेपछि यस विषयमा खुलेर बोल्न नसके पनि सम्मान गर्नुपर्छ भन्ने धारणाचाहिँ थिएटरमा अझ प्रभावशाली भएको पाएको छु । हिंसा होला भन्ने कुरामा सचेत पनि भएको पाएको छु । कतिपयले ‘इन्टेन्सन’ नहुँदा पनि हिंसा भइरहेको हुन्छ, त्यस्ता कुरामा सचेतता देखिएको छ ।
०००

नाटक सुरु गर्दा नै मलाई लागेको थियो कि युवाहरूले चाहिँ कम्तिमा यो काम मन पराउँछन् । अरूचाहिँ नाम सुनेरै डराउँछन् कि भन्नेचाहिँ लागेको थियो । तर पनि यसप्रति जिज्ञासा त हुन्छ नै भन्नेचाहिँ लागेको थियो । हामीले नाटकअघि नै सल्लाह गरेका थियौं कि गाली पनि सुन्न तयार भएर बस्नुचाहिँ आवश्यक छ ।
त्यसैले हामीले मञ्चन हुनुभन्दा केही अघिदेखि नै नाटकका विभिन्न सन्दर्भलाई फेसबुकमा पोष्ट गरिरहेका थियौं । त्यसमा कतिपयले नकारात्मक ‘कमेन्ट’ गरिरहेका थिए । म्यासेजमा पनि किन यति धेरै ‘एक्स्ट्रििम’ भएको, यति धेरै फेमिनिस्ट भएको ? भनिरहेका थिए कतिले । कतिले त ‘पोर्न’ नाटक नै गर्न लागे भन्नेजस्तो प्रतिक्रिया पनि आएको थियो । त्यसैले हामीलाई अलि डर लागिरहेको थियो । निर्देशकहरू पनि त्यसरी नै डराएका थिए । किनकि पहिलोपटक यसरी ‘रिस्क’ लिएर नेपालमा काम गर्दै हुनुहुन्थ्यो उहाँहरू पनि । त्यसैले त्यो नाटक नै नगर्ने कि भनेर भावुक पनि भएका थियौं । तर त्यसलाई सामान्य रूपमा लिएर हामी अगाडि बढायौं ।
०००

जब हामीले नाटक सफलतापूर्वक मञ्चन गर्यौं, त्यसले हामीलाई बैग्लै आनन्द आयो । हामीलाई नाटकको प्रक्रियामा नकारात्मक प्रतिक्रिया दिने पुरुष थिए, तर नाटक हेर्न आउने ७५ प्रतिशतभन्दा बढी पुरुष थिए । यो कुराले हामीलाई खुसी दिलायो । अर्को चाहिँ, जो हाम्रा नियमित नाटकका दर्शक थिए, तीभन्दा फरक दर्शक आए । हेरिसकेपछि पनि हामीलाई नराम्रो कसैले भनेनन् । हाम्रो पछाडि कति भने थाहा भएन, तर अगाडि भने हाम्रो कामको प्रशंसा नै गरे ।
कतिपय महिलाकै क्षेत्रमा काम गरिरहेकाहरूले हामी पनि साथै छौं भन्नुभएको छ । थिएटरका साथीहरूबाट पनि राम्रो प्रतिक्रिया आएको छ ।
०००

नाटक मञ्चन र त्यसपछि आएका प्रतिक्रियाबाट हामी उत्साहित छौं, त्यत्तिकै जिम्मेवारीबोध पनि गरिरहेका छौं । तर यसैबीच मलाई खट्किरहेको कुराचाहिँ यो हो कि हामीले यसलाई आवश्यक बहसमा लैजान सकेका छैनौं । एउटा नाटक गर्दैमा परिवर्तन हुन्छ भन्ने हुँदैन । त्यसैले हामीले यस विषयमा अभियान नै सुरु गर्नुपर्छ । त्यसको लागि हामी केही तयारी पनि गरिरहेका छौं । अहिले हामीले गरेको यही नाटकलाई उपत्यकाबाहिर प्रदर्शन गर्ने सोचमा छौं । मण्डला थिएटरले ‘मोबाइल थिएटर’को अवधारणासहित गाडी बनाउँदैछ । त्यसैबाट यसलाई विभिन्न सहरमा लैजाने सोचमा छौं । त्यसको प्रतिक्रिया हेरेर नेपाली महिलाकै भोगाइ समेटिएको ‘भजाइना मोनोलग’ पनि बनाउन सकिन्छ कि भन्ने हामी छलफलमा छौं ।
हामीले अहिले कोही पीडित भयो भने उसलाई न्याय दिलाउन लड्ने तरिकाको होइन कि हिंसा नै हुन नदिन के गर्ने भन्ने तरिकाबारे बहस गर्नु आवश्यक छ । त्यसैले हाम्रो ध्यान त्यही कुरामा हुन्छ । त्यसको लागि टिनेजर र कलेज स्कुलका विद्यार्थीसँग अन्तरक्रिया बढाउनुपर्छ भन्ने पनि छलफल भइरहेको छ । यो सबै काम गर्नका लागि पहिलो सर्त भनेको महिला रंगकर्मी पनि एकजुट हुनु आवश्यक छ । अहिले जसरी यो नाटक मञ्चनको क्रममा फ्रिलान्सरको रूपमा सक्रिय आकांक्षा, गुञ्जनलगायतका साथीहरू जोडियौं, त्यसैगरी जोडिँदै जान सक्छौं । हामीले मडलेनाजको कार्यशालामा पनि उपत्यकाबाहिरका विभिन्न जिल्लाबाट रंगकर्ममा सक्रिय साथीहरूलाई ल्याएका थियौं । त्यसको अर्थ हो, हामीले यसलाई महिला रंककर्मीको सामूहिक अभियानको रूपमा विकास गर्न खोजिरहेका छौं । त्यसो गर्न चुनौति छ, यही नाटक गर्न पनि हामीले थुप्रै चुनौति सामना गरेकै हो । तर त्यसलाई सामना गरेर अघि बढ्न सकिन्छ । त्यस क्रममा कसैले नकारात्मक टिप्पणी पनि गर्न सक्छन् । त्यसलाई सुन्नु पनि पर्छ । त्यसको ‘डिफेन्स’ गरेर अघि बढ्नु पनि पर्छ ।


(महिला रंगकर्मीहरूको समूह ‘मडलेनाज नेपाल’को अग्रसरतामा एक वर्षअघि ‘भि डे’को सन्दर्भ पारेर मण्डला थिएटरमा तीन दिन अमेरिकी नाटककार इभ एन्सलरको नाटक ‘द भजाइना मोनोलग’को नेपाली संस्करण ‘योनीका कथाहरू’ मञ्चन भयो । त्यसैगरी अन्तराष्ट्रिय नारी दिवसको सन्दर्भमा रातो बंगला स्कुलमा पनि नाटक मञ्चन गरियो । नाटकले परम्परागत निषेधलाई तोड्दै महिला हिंसाको बहस अघि बढाएको चर्चा भइरहेको छ । तर यो नाटक गर्न सजिलो भने थिएन । यो आलेख कलाकार सिर्जना सुब्बाले नाटक गर्दाको चुनौति र अनुभवबारे कला अनुरागीसँग शेयर गरेको अनुभवको आधारमा तयार पारिएको हो ।)


܀܀܀
तस्विर : अजय रानाभाट/सिर्जनाको फेसबुक

सिफारिस
📍 गर्भावस्थामै जिम, गर्भावस्थामै नाटक
📍 सिर्जना र युगको ‘ड्रामा अफेयर’
📍 विवाहपहिले नै बच्चाको कल्पना