सिर्जना र युगको ‘ड्रामा अफेयर’

सिर्जना र युगको ‘ड्रामा अफेयर’

जेष्ठ ७, २०७८ 0 By कला अनुरागी
शेयर गर्नुहोस्

सिर्जना सुब्बाले युग पाठकको अगाडि राखिदिएकी छन् ‘युमा’ ।

युगको मुहारमा परैबाट चिनिने खुसी फैलिन्छ । तर, आश्चर्यका मिहिन रेखा पनि उत्तिकै छन् । आफ्नै सिर्जना, आफैंले राखेको नाम । युगलाई ‘युमा’ सुन्दर लाग्नु त स्वाभाविक नै हो । तर आश्चर्य–रेखाको रहस्य के हो ? खोतल्न मैले सोधें, ‘तपाईंको अनुहारमा किन आश्चर्य–रेखा दौडिरहेका छन् ?’

उनले मुस्कुराउँदै भने, ‘हो, ब्रो । म आश्चर्यचकित छु । मलाई यो मेरै सिर्जना हो भनेर विश्वास गर्न गाह्रो परिरहेको छ । मैले दिएको निर्जीव प्रतीत हुने बीज यसरी जिउँदोजाग्दो हेर्न पाउँदा छक्कै परेको छु ।’ कुराकानी सुनिरहेकी सिर्जना थकित त देखिन्थिन् नै, उत्तिकै चकित पनि थिइन् । उनको मुहारमा फैलिरहेको ज्योति सन्तान प्राप्तिमा आमाको अनुहारमा पैदा हुने सन्तुष्टिको आभाझैं थियो । सिर्जना र युगको दुई वर्षदेखिको ‘गुपचुप ड्रामा अफेयर’ सबैसामु सार्वजनिक हुँदै थियो । त्यसैले युगकै भाषामा उनीहरू ‘थ्रिल’ अनुभूत गरिरहेका थिए ।

मण्डला नाटकघरमा नाटक हेर्न आउने दर्शकबीच भेटेकी थिइन् सिर्जनाले युगलाई । तर युग आम दर्शक मात्रै थिएनन् । सिर्जनाजस्ता पाठकको हृदय हल्लाइदिने उपन्यास ‘उर्गेनको घोडा’का लेखक थिए । सिर्जनाले समकालीन साहित्यकारका लेखन पढिरहेकै थिइन् । राम्रा पनि लागेका हुन् कति । तर कता–कता एउटा असन्तोषका लागि रिक्त स्थानजस्तो बनिरहेको उनले पाउँथिन् । जब युग पाठकको उपन्यास पढिन्, उनले आफूभित्रबाट सन्तुष्टिको उच्छवास बाहिर निस्किरहेको पाइन् । ‘यो लेखक ठीक छ,’ उनले मनमनै बोलेको संवाद थियो त्यो ।

त्यसपछि उनले युगलाई नाटक हेर्न आउने दर्शकबीच अलि विशेष चासोका साथ खोजिन् । एक–दुई भेटमै निकै पुरानो परिचितको जस्तो व्यवहार देखाइन् र आफ्नो मनको कुरा भनिहालिन् । उनले अनुभूति गरेकी थिइन् कि युगले सबै कुरालाई सजिलो रूपमा लिइरहेका छैनन् । तर पनि सिर्जनालाई विश्वास थियो कि एक दिन युगलाई मनाउनेछु ।युग तर्किंदै भाग्थे, सिर्जना उनलाई पछ्याइरहन्थिन् । ‘फेसबुक र फोनका कारण आजभोलि मान्छे भाग्न त्यति सजिलो कहाँ छ र ?’ सिर्जनाले यसो भन्दै गर्दा युगअघिको भन्दा फरक अन्दाजमा मुस्कुराए ।

त्यसपछिका दिनमा धेरैजसो सिर्जनाको पहलकदमीमा र अनेकपटक युगकै चाहना र सन्दर्भखुसीमा मण्डला नाटकघर र नजिकैका चियापसलमा उनीहरूको ‘डेट’ हुन थाल्यो । ‘झन्डै दुई वर्ष भएछ हामी भेट्न थालेको,’ दुवैले समयमा सहमति जनाए । भूकम्पपछिका दिनमा युग सिर्जनाको प्रस्तावमा पूर्णत: सहमत भए र परिणामत: नाटक ‘युमा’को जन्म भयो ।

‘युमा’ को एक दृश्य

सिर्जनासँग ‘ड्रामा अफेयर’ सुरु हुनुअघि युगको मनमा नाटककार बन्ने कुनै योजना थिएन । तर पनि रंगकर्मी सुनील पोखरेलसँग उनको अन्तरक्रिया भइरहन्थ्यो । उनले युगलाई नाटक लेख्न आग्रह गरिरहन्थे । त्यसो त युगसँग स्कुल र कलेजमा केही नाटक खेलेको, लेखेको र निर्देशन गरेको अनुभव पनि थियो । तर नाटक नै लेख्न भने अन्य समकालीन लेखकझैं जाँगर चलाइरहेका थिएनन् ।

नाटक हेर्न भने गइरहन्थे मण्डला थिएटर । त्यसै क्रममा सिर्जनाले उनलाई नाटक लेख्न प्रस्ताव गरेकी थिइन् । उनले हाँसै–हाँसोमा ‘हुन्छ’ त भनेका थिए, तर लेख्ने जाँगर देखाएका थिएनन् । ‘दोस्रो उपन्यासको तयारीमा थिएँ । त्यस्तै ननफिक्सन किताब पनि तयार हुँदै थियो । त्यसैले नाटक लेख्नेबारे सोच्नै भ्याएको थिइनँ,’ उनले स्पष्टीकरण दिए । तर ०७२ वैशाखको भूकम्पले पुराना योजना भत्काइदियो । अपूरा काम तुरुन्तै पूरा हुने सम्भावना देखिएन । त्यसैले के गर्ने भन्ने अलमलबीच युगले निर्णय लिए– नाटकबाट काम सुरु गर्ने । त्यसपछि उनले सिर्जनासँग नाटकबारे अन्तरक्रिया बढाए । मण्डला थिएटर र त्यसवरिपरिका चियापसलमा घन्टौं नाटकबारे छलफल गर्न थाले । सिर्जनाले रंगमञ्चको प्रकृति र प्रवृत्तिबारे युगलाई बुझाइन् । आख्यान लेखकले नाटक लेख्दा गर्न सक्ने कमजोरीबारे सुझाइन् । नेपाली साहित्यमा महिला पात्र मुख्य भएका नाटक अत्यन्तै न्यून भएको पनि सुनाइन् ।

युगलाई लेख्न मन थियो– वर्तमान समयमा वैदेशिक रोजगारीले समाजमा सिर्जना गरिरहेको जटिलताको विषयमा । यसै कारणले महिलाहरू ‘बिग्रिए’ भन्ने सामाजिक चर्चाप्रति उनको चाख थियो । ‘महिलालाई बिग्रिए भन्न यौनको विषय उठाइन्छ । तर यौनको मामिलामा त्यसो भनिएको हो भने बिग्रनेमा पुरुष नै बढी हुन्छ । त्यसैले यो विषयलाई महिलाको दृष्टिकोणबाट लेखौं भन्ने लागेको थियो,’ उनले सुनाए । 

उनलाई मिथकसँग खेलेर वर्तमानको विषय लेख्न मन पर्छ । त्यसैले पहिलो उपन्यास ‘उर्गेनको घोडा’मा तामाङ मिथकमा खेले । नाटकमा पनि त्यस्तै केही गर्न चाहन्थे । नाटक लेख्ने मनस्थितिमा पुग्दा उनलाई लिम्बू मिथकले आकर्षण गरिरहेको थियो । त्यसैले लिम्बू समुदायबाट आएका कवि स्वप्निल स्मृति र चन्द्रवीर तुम्बापोसँग उनले अन्तरक्रिया गरे । उनीहरूले भने, ‘हाम्रो संस्कृतिमा युमा निकै शक्तिशाली मिथकीय महिला पात्र हो । त्यही भएर हाम्रो समुदायमा विवाह गरेर आउँदा कुलदेवता नै छोरीले लिएर आउँछिन् ।’ कविहरूको कुराले उनलाई उत्साहित पारिदियो । आफूले चाहिरहेको विषयमा लेख्न युमाको मिथक उपयुक्त हुने उनको ठहर रह्यो । उनले आफ्नो ठहर सिर्जनालाई सुनाए । सिर्जना उत्साहित हुनु स्वाभाविक थियो । सिर्जना पनि लिम्बू समुदायकै थिइन् । त्यसैले मुन्धुम र युमासम्बन्धी अध्ययन सामग्री जुटाउन सहयोग गरिन् । त्यति हुँदा पनि युगले नाटक दिन ढिलो गरिरहेकोमा भने उनको गुनासो कायम थियो । ‘मैले लेखिरहेको छु त भनेँ । तर खासमा लेख्न सुरु गरेकै थिइनँ । अध्ययन गरिरहेको थिएँ,’ युगले कारण खुलाए ।

त्यसबीच उनले मुन्धुम पढे । युमासम्बन्धी व्याख्या गरिएका पुस्तक पढे । सेक्सपियर पढें । एरिस्टोटल पढे । नाटकसम्बन्धी लेखिएका संसारप्रसिद्ध विभिन्न पुस्तक पछ्याए । बंगलादेश जाँदा पनि त्यहाँ भेटिएका नाटकसम्बन्धी किताब किनेर ल्याए र पढे । ‘म दिमागमा स्पष्ट चित्र नभईकन काम नै गर्न सक्दिनँ । फेरि कथामात्रै स्पष्ट भएर हुँदैन, त्यसको सिद्धान्त पनि स्पष्ट हुनुपर्छ,’ उनले आफ्नो प्रवृत्ति खुलाए, ‘आख्यान लेखकले दृश्यमा खोला बगाइदिन्छन्, तर स्टेजमा खोला बनाउन सकिँदैन नि भनेर सचेत पारिरहनुहुन्थ्यो सिर्जनाजीले। त्यसैले आफ्नो लेखनलाई कसरी स्टेजमा प्रस्तुत गर्न योग्य बनाउन सकिन्छ भनेर पनि अध्ययन गरेँ । युट्युबमा भेट्रान थिएटर कलाकारको अन्तरवार्ता हेरेँ, अलि बढी बेलायती र जर्मन निर्देशकहरूको हेरेँ ।’ त्यसपछि बल्ल उनले नाटक लेख्न सुरु गरे ।

मिथक प्रयोग गर्दा पुरानै स्वरूपमा होइन, त्यसलाई आधुनिक स्वरूप दिन मिहिनेत गरे । ‘चार महिनाअघिमात्र मैले नाटकको पहिलो ड्राफ्ट पाएकी थिएँ,’ सिर्जनाले सुनाइन् । आफूले रोजेको लेखकले नाटक दिँदा उनी निकै खुसी भइन् । उनी त्यस्तो नाटकमा काम गर्न चाहन्थिन्, जसको विषय गम्भीर होस्, तर प्रस्तुति रोचक । त्यसका लागि ‘उर्गेनको घोडा’मा जस्तै प्रेम कथामा गम्भीर विषय उनियोस् भन्ने उनी चाहन्थिन् । युगलाई नाटक लेख्न प्रस्ताव गर्नुको अर्को कारण त्यो पनि थियो । 

‘नाटकको पहिलो ड्राफ्ट नै उहाँले निकै सचेततापूर्वक लेख्नुभएको थियो । तर त्यो प्रस्तुतिको दृष्टिकोणले चाहिँ गज्याङगुजुङ थियो । त्यसमा मैले थिएटरको कोणबाट सुझाव दिएँ । दोस्रो ड्राफ्ट आउँदा नाटक प्रस्तुत गर्न योग्य भयो,’ उनले भनिन् । मण्डला थिएटरले निश्चित अवधि कलाकारितामा सक्रिय भइसकेका आफ्ना कलाकारलाई निर्देशकको रूपमा विकास गर्ने योजना बनाएको थियो । त्यसैले सिर्जनालाई यही वर्ष जसरी पनि नाटक निर्देशन गर्नु नै थियो । उनीसँग विकल्प थियो, विदेशी नाटक छनोट गर्ने वा नेपाली लेखककै नाटक गर्ने । उनले दोस्रो बाटो रोजिन् । त्यो बाटो सजिलो भने थिएन । उनी समसामयिक विषयको नाटक गर्न चाहन्थिन्, त्यो पनि महिला पात्र मुख्य भएको । त्यस्तो नाटकका लागि समकालीन लेखकलाई नै लेख्न अनुरोध गर्नुको विकल्प थिएन । तर समकालीन लेखकहरूमध्ये अत्यन्तै कममात्रै नाटक लेखनमा सक्रिय छन् । त्यसैबीच युगले दिएको नाटक उनले फुत्काउन चाहिनन् । 

‘मैले मेरो लागि नै नाटक लेखिदिनुस् त भनेकी थिइनँ । तर नाटकबारे र लेखनको प्रक्रियामा निरन्तर छलफल गरेका कारण उहाँले लेखेको नाटक मैले नै निर्देशन गर्ने भन्ने मानसिकता स्वत: दुवैतर्फ बन्यो,’ सिर्जनाले भनिन् । प्रस्ताव वा स्वीकृतिको औपचारिकताबिना व्यवहारबाटै व्यक्त प्रेमझैं सिर्जना युगले लेखेको पहिलो नाटकको निर्देशक बनिन् । युगलाई पनि सिर्जनासँग निरन्तर अन्तरक्रिया भइरहेको कारण आफ्नो नाटकलाई न्याय गर्ने निर्देशक को होला भन्ने चिन्ता गरिरहनु परेन ।

‘युमा’ को अर्को दृश्य

आफूले रोजेकै लेखकको नाटकबाट निर्देशन सुरु गर्नुको खुसी सिर्जनामा छल्किरहेकै छ । भन्छिन्, ‘कलाकारको रूपमा मेरो पहिचान बने पनि निर्देशन पहिलोचोटि गर्दै थिएँ । उहाँले जसरी बिनाहिच्किचाहट विश्वास गर्नुभयो, त्यसले मेरो करियरमा पनि निकै महत्त्व राख्छ ।’ त्यसैले उनको मनमा एउटा चर्चित लेखकको लेखनलाई न्याय गर्न सकेँ कि सकिनँ भन्ने चिन्ताको धर्सोचाहिँ कोरिइरहेको छ । तर उनको चिन्ता दूर गर्न युग भन्छन्, ‘म त नाटक हेरेर सन्तुष्ट छु । मैले नाटक मार्फत समाजसँग जसरी संवाद गर्न खोजेको थिएँ, त्यसलाई मञ्चमा उतार्न निर्देशकको रूपमा सिर्जना र कलाकार साथीहरूले कुनै कसर बाँकी राख्नुभएको देख्दिनँ ।’ 

सिर्जना ‘युमा’की निर्देशकमात्रै होइनन्, मुख्य कलाकार पनि हुन् । तर मुख्य चरित्र उनको रोजाइ होइन, एक हिसाबको बाध्यता हो । उनले निकै दिन मुख्य चरित्रबारे सोचिन् र केही कलाकारसँग कुरा पनि गरिन् । तर त्यसका लागि उपयुक्त चरित्र भेट्न सकिनन् । बरु त्यतिबेलासम्म उनले आफैंभित्र एउटा ‘युमा’ जन्मिरहेको पाइन् ।

युग पनि त्यसमा मुख्य चरित्रमा सिर्जनाले नै अभिनय गरेकामा सन्तुष्ट छन् । नाटकमा कतै ‘टेक्स्ट’मै लिम्बू मुन्धुम र मिथकका बिम्ब प्रयोग गरिएका छन्, त कतै ती दृश्यमा देखिन्छन् । त्यसकारण नाटकको प्राथमिक स्वरूपमै बहस हुन्छ भन्नेमा नाटककार युग ढुक्क छन् । भन्छन्, ‘नेपाल होस् या भारत नारीलाई शक्तिशाली देखाउनुपर्‍यो भने हिन्दू देवीको स्वरूपमा प्रस्तुत गरिन्छ । तर यसमा लिम्बू मिथकको अवतारमा देखाइएको छ । यसले नेपालमा विभिन्न संस्कृति छन् र ती संस्कृतिमा शक्तिशाली महिला पात्र छन् भन्ने तथ्य स्थापित गर्छ । त्यस्तै उक्त संस्कृतिमै प्रचलित संगीत, वाद्यवादन र दृश्यसंकेतले सीमान्तमा पारिएका संस्कृतिको वैभवलाई नाटक मार्फत उजागर गरिएको छ । यो आफैंमा बहसको विषय हो ।’ नाटकले नारीवाद र मार्क्सवाद, प्रेम र यौन, जनयुद्ध र राजनीति, जातीय विभेदलगायतका समसायिक विषयमा बहस आमन्त्रण गरेको उनको दाबी छ । निर्देशक सिर्जना पनि यसमा सहमत छिन् । ‘निर्देशक भएका नाताले पहिलो प्राथमिकता त नाटकलाई कसरी राम्रो बनाउने भन्नेमै मेरो जोड रह्यो । तर यसले वर्तमानका गम्भीर विषय पनि उठाएकाले बहस पनि उत्तिकै हुनेमा ढुक्क छु,’ उनले भनिन् ।

भनेपछि, लामो ‘ड्रामा अफेयर’पछिको परिणामबाट दुवैजना सन्तुष्ट हुनुहन्छ ? पछिल्लो प्रश्नको उत्तर योजनाबद्ध संवादझैं सिर्जना र युग दुवैको मुखबाट फुत्कियो, ‘शतप्रतिशत ।’ ‘तर यो प्रतिशत दर्शकको प्रतिक्रियापछि घटबढ हुन सक्छ,’ सिर्जनाले थपिन् र युगतिर हेरिन् । युग मुस्कुराए, सिर्जना पनि मुस्कुराइन् । त्यो मुस्कानको इन्द्रेणीअघि बसेर मैले कामना गरेँ, ‘नेपाली रंगमञ्चलाई समृद्ध पार्न धेरै साहित्यकार र रंगकर्मीबीच यस्तै ड्रामा अफेयर चलोस् ।’

(यो कथा ७ जेठ २०७३ को हो l त्यस दिन मण्डला थिएटर, अनामनगर, काठमाठौंमा युग पाठक लिखित तथा सिर्जना सुब्बा निर्देशित नाटक ‘युमा’ मञ्चन सुरु भएको थियो । जेठ महिनाभर मञ्चन भएको नाटकले दर्शक र समीक्षक दुवैको ध्यान खिचेको थियो । त्यसै मेसोमा मैले नाटकको पृष्ठकथा खोतलेर यो आलेख तयार पारेको थिएँ, जो कान्तिपुर दैनिकको कोसेलीमा प्रकाशित भएको थियो ।)