पारिजात दिदीको सधैँ प्रिय ‘वानीराजी’

पारिजात दिदीको सधैँ प्रिय ‘वानीराजी’

जेष्ठ १५, २०७८ 0 By लेखक
शेयर गर्नुहोस्
  • सुकन्या वाइबा

पारिजात दिदी र म पुतलीसडकमा डेरा लिएर बस्थ्यौं । वानीराजी पनि खर्साङबाट विश्वविद्यालय अध्ययनका लागि यतै आउनु भएछ । उहाँको र हाम्रो बसाइ नजिकै थियो । एक दिन उहाँ हाम्रो कोठामा आउनु भयो । हामी एउटै भेगको भएर होला, पहिलो भेटमै मलाई पनि आत्मीय अनुभूति भयो । उहाँ बडो फुर्तिलो र उज्यालो अनुहारको हुनुहुन्थ्यो ।


दिदी र उहाँ लामो समय गफिइरहनु हुन्थ्यो । म उहाँहरूलाई चिया, खाजा बनाएर ल्याइदिन्थेँ । मैले अरू थुप्रै काम भ्याउनुपर्ने हुँदा चाहेर पनि उहाँहरूको सिंगै वार्तालाप सुन्न पाउँदैनथेँ । जति सुन्थेँ, बडो आत्मीय पारामा उहाँहरू लेखनका बारेमा, कहिले उता दार्जीलिङतिरकै बारेमा, कहिले जीवन भोगाइका सुखदुःखको छलफल गर्नुहुन्थ्यो । हामी पुतलीसडक बसुन्जेल उहाँ हाम्रो कोठामा आइरहनुहुन्थ्यो ।

पारिजात दिदीको नाटक रेडियो नेपालबाट प्रशारण हुन्थ्यो । वानीराजीले रेडियोमा पनि काम गर्नुहुन्थ्यो । उहाँले दिदीका केही नाटकमा खेल्नु पनि भयो । त्यसपछि हामी कीर्तिपुर डेरा स-यौं । उहाँ त्यतै हुनुहुन्थ्यो, त्यहीबीच उहाँको विवाह भयो ।


मैले पुतलीसडकको बसाइमै उहाँको उपन्यास ‘कारागार’ पढेँ । दिदीले पनि पढ्नु भयो । म त एक पाठक भएको हुँदा उहाँको लेखनको विश्लेषण गर्ने क्षमता छैन । तर, मलाई खुब छोएको थियो कारागार पढ्दा । दिदीले पनि खुब चर्चा गर्नुभयो उपन्यासबारे । ‘महिलाको मुद्दालाई राम्रो तरिकाले उठायो वानीराले’ भन्नुहुन्थ्यो । उहाँले अमेरिका गएर किताब विमोचन गर्नुभयो । कति आँटिली लाग्थ्यो मलाई उहाँ ।


पछि पद्मकन्या क्याम्पस पढाउन थाल्नु भयो । एकदिन म कतैबाट आउँदै थिएँ, बागबजारतिर बाटोेमा जम्काभेट भयो । उहाँले ‘सुुकन्याजी आउनुहोस्’ भन्नुभयो र हामी एउटा होटलमा पस्यौं । उहाँले होटलवालालाई भन्नुभयो – ‘ल यहाँ नरिवलको केक र कफी ल्याऊ त ।’ उहाँसँग बसेर खाएको त्यो केकको स्वाद मेरो जिब्रोमा आज पनि बसेको छ । अब पनि पाएँ भने खान्छु जस्तो लाग्छ ।


हामी म्हेपी घरमा सरेपछि पनि उहाँ दुई–तीनचोटि हामीकहाँ आउनुभयो । म स्कूल हेर्थें, त्यसो भएर त्यति उहाँहरूको बातमा ध्यान दिन पाइनँ । तर पछिबाट उहाँहरूको विचारमा भिन्नता आएको चाहिँ मैले बोध गरेँ । दिदी प्रगतिशील विचारमा लाग्नु भयो, उहाँलाई त्यो मन परेन । तर विचारमा फरक भएपनि उहाँहरूको व्यवहार मित्रवत् रहिरह्यो । उहाँहरूले एकार्काको विद्वताको सम्मान गर्नुहुन्थ्यो ।

ती ‘सेल्फमेड’ स्वास्नीमान्छे सधैँ मेरो प्रिय पात्र हुनुहुन्थ्यो । उहाँ आफूलाई चित्त नबुझेको कुरामा लोग्नेमान्छेहरूसँग ठाडै जवाफ दिने, निडर, हठी हुनुहुन्थ्यो । दिदीभन्दा उहाँ उमेरमा सानो भएपनि वानीराजीले दिदीलाई ‘पारिजातजी’ नै भनेर सम्बोधन गर्नुहुन्थ्यो । हाम्रो दिदी पनि उमेरले जति सानो भएपनि ‘भाइ–बहिनी’ नभनी नामबाटै सम्बोधन गर्नुहुन्थ्यो । उहाँलाई पनि ‘वानीराजी’ भन्नुहुन्थ्यो । दिदीले छोडेर गएको वर्षौं बित्यो । अहिले वानीराजी पनि जानु भयो । उहाँहरू दुवैको सम्झनामा पुराना दिनका पाना मनमा पल्टिरहेछ ।
०००